Now Reading:
एकै परिवारका चार जना हत्याकाण्डका योजनाकार पक्राउ
Full Article 3 minutes read

एकै परिवारका चार जना हत्याकाण्डका योजनाकार पक्राउ

Arrest_

असोज १५, बुटवल । प्रदेश नं ५ को प्रहरीले नेपालगञ्जमा १३ वर्ष अघिको चर्चित सुनचाँदी व्यवसायी दिपक हेमकार परिवारका चार जनाको हत्या काण्डका मुख्य योजनाकारलाई पक्राउ गरेको छ । मुख्य योजनाकार हेमकारका आफ्नै ससुरा किशोरलाल सोनीलार्इ पक्राउ गरेको हो ।

२०६२ साल फागुन २३ गते नेपालगंजको सदरलाईनमा ८२ वर्षीय गुलाबदेवी हेमकार, ६२ वर्षका जगदेव हेमकार , ४२ वर्षकी सीता देवी हेमकार , ३२ वर्षका दीपक हेमकार र बाँके कुसुमका कामदार राम शनिच्चर चौधरी सहित पाँच जनाको घाँटी रेटेर हत्या गरिएको थियो ।

प्रदेश प्रहरीले जिल्ला प्रहरी कार्यालय बाँकेको समन्वयमा मृतक दीपकका ससुरा किशोरलाल सोनीलाई मुख्य योजनाकारका रूपमा १३ वर्ष पछि पक्राउ गर्न सफल भएको हो । बाँके जिल्ला प्रहरी प्रमुख एसपी अरुण पौड्यालका अनुसार दीपकका ससुरा किशोरलालले आर्थिक कारणबाट ज्वाइँ सहित एकै परिवारका चारजना र एकजना कामदारको समेत हत्या गर्ने योजना बनाएको खुलेपछि पक्राउ गरिएको हो ।

किशोरलालले सुरुमा अर्काकोमा सुन चाँदीको मिस्त्रीका रूपमा काम गर्थे । नरसंहार हत्या काण्ड पछि उनी लखनउको प्रिया दर्शन कोलोनीमा बसोबास गर्दै त्यसको भुईँ तलामा ‘दीप ज्वैलर्स’ सुनचाँदी पसल सञ्चालन गर्दै आएका थिए । दीपक हेमकारसँग उनकी छोरी दीपाको विवाह भएको एक वर्षपछि जघन्य हत्या काण्ड घटाइएको थियो ।

श्रीमान सहित पाँच जनाको हत्यापछि उनकी श्रीमती दीपाले दुई वर्ष पछि जम्मा ८७ लाखमा दीपकको सबै सम्पत्ति बेचेर भारत तिर बेपत्ता भएकी थिइन् । बाँके प्रहरी प्रमुख पोखरेलले उनको खोजी कार्य भईरहेको बताए । त्यति बेला माओवादी जनयुद्ध र संकटकाल लागेको बेला सेना सहित सुरक्षा निकायको बाक्लो उपस्थितिका बाबजुद पनि व्यस्त नेपालगञ्ज बजारको माथिल्लो तलामा रहेको सुन चाँदी पसलमा तिन जनाको समूह प्रवेश गर्दै ५ जनाको हत्या गरी २९ लाख बराबरको सम्पत्ति लुटिएको थियो ।

त्यस राती सेनाको गस्ती भई रहेको थियो । अपराध अनुसन्धान विभागले कुकुर सहितको टोली झिकाएर अनुसन्धान गर्दा पनि अपराधीहरू पत्ता लगाउन सकेको थिएन । तत्कालीन अञ्चल प्रहरी प्रमुख राजेन्द्र सिंह भण्डारीले त्यस घटनाको अनुसन्धान गरेका थिए । लामो समय सम्म घटनाका अपराधी पत्ता नलागे पछि फाईल नै बन्द गरिएको थियो ।

लामो समय देखि बन्द रहेको फाइल रहस्यमय त्यस चर्चित हत्या काण्डलाई कार्यभार सम्हालेको दिन देखि प्रदेश प्रहरी प्रमुख डिआईजी शेरबहादुर बस्नेतले आफ्नो पहिलो मिसन बनाउँदै आएका थिए । त्यस मिसनमा उनले बाँके प्रहरी प्रमुख पोखरेल लगायत मातहतका पूरै टिमको साथ लिँदै आएका थिए ।

अन्ततः बन्द फाइल र सर्वसाधारणमा गुमनाम बनेको १३ वर्ष पछि हत्याको मुख्य योजनाकार पत्ता लगाए । यति बेला नेपालगञ्जबासीमा खुसी छाएको छ । हत्यामा संग्लग्न दीपककी श्रीमती दीपा सहित अरू संलग्नहरूको खोजी कार्य तीव्र पारिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सम्पत्ति कै कारण एकवर्ष अघि छोरी दीपा सँग विवाहको नाटक र पूरै परिवारको बंशनास गर्ने ससुरा किशोरलाल अहिले बाँके प्रहरी हिरासतमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Input your search keywords and press Enter.