Now Reading:
तरकारीले उचित मूल्य नपाउँदा किसान चिन्तामा
Full Article 2 minutes read

तरकारीले उचित मूल्य नपाउँदा किसान चिन्तामा

Vegetable

असोज २६, लमही । उत्पादन भएको तरकारीले बजार भाउ राम्रो नपाउँदा लमहीका किसान चिन्तित भएका छन् । किसानको उत्पादित तरकारीले उचित बजार र मूल्य नपाउँदा तरकारी सस्तोमा बेच्न बाध्य भएका छन् ।

अहिले तीतेकरेला प्रतिकिलो पाँच रुपियाँदेखि १०, काँक्रा प्रतिकिलो १० रुपियाँदेखि १५, लौका प्रतिकिलो ५ रुपियाँदेखि १०, बोडी प्रतिकिलो १५ देखि २० रुपियाँमा बेच्नु परेको लमही नगरपालिका–७ घुम्नाकी गौरी कुमालले बताउनुभयो ।

सस्तोमा तरकारी बेच्दा उत्पादनमा लाग्ने खर्च पनि नउठ्ने उहाँको भनाइ थियो । “हामीले धेरै परीश्रम गरी तरकारी उत्पादन गरेका हुन्छौ” कृषक कुमालले भन्नुभयो, “तर सस्तो मूल्यमा तरकारी बेच्दा उत्पादन गर्न लाग्ने खर्च पनि उठ्दैन ।”

त्यही तरकारी बेच्न बजारभर डुलाउनुपर्ने सोही ठाउँ निवासी अञ्जना चौधरीले बताउनुभयो । तरकारी भण्डारण गर्ने तथा जिल्ला बाहिर ढुवानी गर्ने व्यवस्था नहुँदा अहिले त्यस क्षेत्रका सबै किसान मारमा परेका छन् । यो याममा लमहीमा हजारौं टन तरकारी उत्पादन हुने गर्छ । तर त्यो तरकारीले उचित बजार र मूल्य नपाउँदा किसान मारमा पर्नेगरेका हुन् । तरकारी व्यवसायी खुशीराम चौधरीले भन्नुभयोे,“ हाम्रो तरकारीले बजार मूल्य नपाउने भएकाले बिचौलियाले घरमै आएर न्यून मूल्यमा तरकारी लिएर महँगोमा बेच्ने गरेका छन् ।”

तरकारी उत्पादनका लागि बीउ खरिद गर्न, सिँचाइ गर्न, तरकारीलाई गोडमेल गर्दा निकै दुःख खेप्नुपर्ने र उत्पादन गरिसकेपछि पनि बजार नपाउँदा आफूहरु दुखी भएको उहाँको भनाइ थियो । लमही क्षेत्रमा राम्रो तरकारी उत्पादन हुने भएकाले उत्पादन भएको तरकारीलाई भण्डारण र बजारीकरण गर्न स्थानीय सरकारले पहल गर्नुपर्नेमा व्यवसायी चौधरीले जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Input your search keywords and press Enter.