काठमाडौँ, २२ माघ – सरकारले चालु आर्थिक वर्षको उखुको न्यूनतम मूल्य तोकेपनि अधिकांश चिनी मिलले किसानलाई तोकिएको मूल्य दिएका छैनन्। मुलुकका १४ वटा चिनी कारखानामध्ये पाँचवटा कारखानाले मात्रै सरकारले तोकेको प्रति क्वीन्टल उखुको चार सय ७१ रुपैयाँ २८ पैसा मूल्य राखेर उखु किसानलाई चलानी पुर्जी वितरण गरेका छन्।

सरकारले तोकेको चार सय ७१ रुपैयाँ २८ पैसा उल्लेख गरेर उखुको चलानी पुर्जी दिनेमा राजेश केडियाको इन्दुशंकर चिनी उद्योग सर्लाही, शशिकान्त अग्रवालको एभरेष्ट सुगर मिल महोेत्तरी र हिमाल चिनी उद्योग सिरहा, राजकुमार अग्रवालको रिलायन्स चिनी उद्योग बारा र बाबा वैद्यनाथ सुगर मिल रौतहट रहेका छन्।

अन्य मिलहरुले चलानी पुर्जीमा सरकारले तोकेको मूल्य उल्लेख नगरि उखु लिइरहेको उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले बताए। चिनी मिलबाट पाउने मूल्यबाहेक प्रतिक्वीन्टल ६५ रुपैया २८ पैसा अनुदानको रुपमा किसानले सरकारबाट प्राप्त गर्नेछन्।

तर, यस्तो अनुदान सरकारले गतवर्षदेखि नै उखु किसानलाई भुक्तानी गर्न बाँकी रहेको छ। मुलुकका १५ जिल्लामा उखु खेती गरिरहेका झण्डै एक लाख किसानलाई सरकारले गत वर्षकै अनुदान एक अर्ब २८ करोड भुक्तानी गर्न बाँकी रहेको थियो।

त्यसमध्ये अहिलेसम्म ६० करोड जति भुक्तानी भएको उखु उत्पादक महासंघका अध्यक्ष मैनालीको भनाई छ। झण्डै ७० करोड रुपैयाँ अझै पनि उखु किसानलाई सरकारले भुक्तानी गर्न बाँकी रहेको देखिन्छ।

अर्थ मन्त्रालयले बनाएको उखु कृषकलाई अनुदान दिने सम्बन्धी कार्यविधि २०७५ को अप्ठ्यारो प्रावधानका कारण किसानले सरकारबाट पाउनुपर्ने अनुदान पाउन नसकेको मैनालीको गुनासो छ। कार्यविधिले उखु किसानले पाउने अनुदानलाई सरकारले सिधै किसानको खातामा पठाउने व्यवस्था त गरेको छ। तर, त्यो चिनी मिलमार्फत जानुपर्ने र विभिन्न खालका झन्झटिला प्रावधानहरु पुरा गर्नुपर्ने भएकाले किसान समस्यामा परेका छन्।

आर्थिक वर्ष २०७४/०७५ को बजेटमार्फत किसानलाई उखु उत्पादनमा अनुदान दिने व्यवस्था गरेअनुरुप कार्यविधि बनाएर यो प्रक्रिया सुरु गरिएको हो। कार्यविधिमा किसानले पाउने अनुदान सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मा पठाउने र कोलेनिकाले उक्त रकम चिनी मिलले उखु क्रसिङ सिजनमा कृषकबाट खरिद गरेको उखुको परिमाण, नामथर पठाएपछि सोही अनुरुपको अनुदान रकम मिलमा पठाउने व्यवस्था उल्लेख छ।

यतिमात्रै नभएर उखु किसानले आफुले उत्पादन गरेको उखुको परिमाण, जग्गाको चार किल्ला, लालपूर्जाको फोटोकपी सबै पेश गरेपछि मात्रै अनुदानको भुक्तानी गर्ने नियम पनि कृषि मन्त्रालयले बनाएको छ। यिनै झन्झिटिला प्रक्रियाका कारण किसानले अहिलेसम्म अनुदानको रकम पाउन नसकेको मैनालीले बताए।

यो अनुदान उपलब्ध गराउनका लागि सरकारले उखु मिल भएका जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा भुक्तानी समिति गठन गरेको छ। यो समितिले यही कार्यविधिलाई देखाएर अहिलेसम्म किसानलाई अनुदान दिन आलटाल गर्दै आएको छ।

यद्यपि, बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईले जिल्लाका सबै किसानलाई सजिलैसँग अनुदान रकम उपलब्ध गराएको मैनालीको भनाई छ।

यसअघि सरकारले चिनी उद्योगलाई भ्याट छुट दिएर त्यही वापतको रकम किसानलाई अनुदानका रुपमा दिने व्यवस्था गरेको थियो। तर, चिनी उद्योगीले भ्याट छुट लिएर पनि किसानलाई अनुदान नदिएपछि सरकारले सिधै किसानलाई अनुदान दिने व्यवस्था गरेको हो।

यो कार्यविधिबाट किसानले अनुदान लिन कठिनाई भोगेपछि पुस १९ गते मन्त्रिपरिषदको निर्णय सुनाउँदै सरकारका प्रवक्ता सञ्चार मन्त्री गोकुल बास्कोटाले कार्यविधिमा जे लेखिएको भएपनि अब क्याबिनेट निर्णयबाट उखु किसानले पाउने अनुदान सिधै किसानको खातामा जाने व्यवस्था गरिएको बताएका थिए। तर, यो निर्णयलाई कृषि मन्त्रालयले अहिलेसम्म पनि लागु गरेको छैन।

कृषि मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदी भन्छन्, ‘अनुदान कार्यविधिले प्रक्रियालाई झन्झटिलो बनाएकाले कार्यविधि नै संशोधनका लागि अर्थ मन्त्रालयमा लेखेर पठाएका छौं। अब चाँडै नै सजिलैसँग किसानले अनुदान रकम पाउनेछन्।’

तर, कृषि मन्त्रालयका वरिष्ठ बाली विकास अधिृकत एवम् अनुदान शाखाका प्रमुख भोजराज सापकोटा भन्छन्, ‘अहिलेसम्म हामीले ९२ करोड रुपैयाँ अनुदान वितरणका लागि जिल्ला जिल्लामा कोलेनिकालाई पठाएका छौं। वितरण पनि भइरहेको छ।

तर, गत वर्ष भारतबाट पनि उखु आएको र चिनी उद्योगीले भारतबाट ल्याइएको उखुमा पनि अनुदान लिन खोजेपछि अप्ठ्यारो परेको हो। तर अब विस्तारै यो विषयलाई सल्ट्याउने छौं।’

सरकारले अनुदानबाहेक मिलले भुक्तानी गर्नुपर्ने प्रतिक्वीन्टल चार सय ७१ रुपैयाँ २८ पैसा तोकेको भएपनि नेपालको प्रतिष्ठित औद्योगिक घराना गोल्छा अर्गनाइनेशनबाट सञ्चालित इस्टर्न सुगर मिलले ३० रुपैयाँ ५६ पैसा कम गरेर चलानी पुर्जी किसानलाई बाँडेको छ।

त्यसैगरी, कञ्चनपुरको महाकाली र भागेश्वर मिलले प्रतिक्वीन्टल ३ सय ८५ रुपैयाँमा किसानसँग उखु खरिद गरिरहेको छ। यीबाहेक महालक्ष्मी सुगर मिलले रिकभरी कम आउँछ भनेर पाँच सय रुपैयाँ र श्रीराम सुगर मिल, अन्नपूर्ण सुगर मिल, इन्दिरा सुगर मिल, बागमती सुगर मिलले मूल्य नराखी किसानलाई चेपुवामा पारेर चलानी पुर्जी काटेका छन्।

चिनी मिलहरुले ढिलोगरी क्रसिङ सुरु गर्दा त्यसैपनि किसानले लगाएका उखु खेतबारीमै सुक्ने अवस्थामा पुगेका थिए। जति उखु सुक्दै गयो त्यति नै तौल कम हुनभएकाले त्यसमा पनि किसानलाई घाटा नै भएको छ।

यसबाहेक अनेकथरि बहानामा मिलवालाहरुले किसानले काटिसकेको उखु समयमा तौल नगर्ने र तौलमा पनि १० किलोदेखि २० किलोसम्म मार्जिन राख्ने गर्नाले उखु किसानहरु चिनी उद्योगीहरुको शोषणमा परिरहेको अध्यक्ष मैनालीले बताएका छन्।

लोकप्रिय

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

२०७६, ३२ श्रावण शनिबार १५:१८

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

२०७६, ३१ श्रावण शुक्रबार ०७:३३

विविध घटनामा चारको मृत्यु

विविध घटनामा चारको मृत्यु

२०७६, ३१ श्रावण शुक्रबार १७:५५

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

२०७६, ३२ श्रावण शनिबार ०८:३७

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

२०७६, ३२ श्रावण शनिबार १०:२८

उमेर १०३, कमाइ तीन हजार

उमेर १०३, कमाइ तीन हजार

२०७६, ३२ श्रावण शनिबार ०७:२९

समतल रात

समतल रात

२०७६, ३१ श्रावण शुक्रबार १७:२२

नेपाल-भारत एजेन्डा पुरानै

नेपाल-भारत एजेन्डा पुरानै

२०७६, ३१ श्रावण शुक्रबार ०८:१६

‘नारी स्रष्टाहरु आफैँमा प्रशंसनीय र धन्यवादका पात्र छन्’

‘नारी स्रष्टाहरु आफैँमा प्रशंसनीय र धन्यवादका पात्र छन्’

२०७६, ३१ श्रावण शुक्रबार १७:३५

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

२०७६, ३१ श्रावण शुक्रबार ११:०५

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

२०७६, ३१ श्रावण शुक्रबार १३:५७

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

२०७६, ३२ श्रावण शनिबार १४:१९

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

२०७६, ३२ श्रावण शनिबार ११:३३

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

२०७६, ३२ श्रावण शनिबार ०७:१९

कश्मीरमा गोली हानाहान, ८ जना सैनिकको मृत्यु

कश्मीरमा गोली हानाहान, ८ जना सैनिकको मृत्यु

२०७६, ३१ श्रावण शुक्रबार ०६:४३