काठमाडौँ, १ फागुन – नेपाली उखान छ, ‘परिश्रमको फल मिठो हुन्छ।’ जीवनमा जति नै उतारचढाव आएपनि धैर्यताका साथ सामना गर्न सक्नुपर्छ। अनि सफलता प्राप्त गर्न सकिन्छ। त्यसरी नै जीवनमा अनेकौँ उतारचढावको सामना गर्दै मेहनत र परिश्रम गरेर सफलता प्राप्त गरेका व्यक्ति हुन्, धनगढीका व्यवसायी तथा राजनीतिकर्मी दिनेशराज भण्डारी।

सामान्य आर्थिक हैसियत भएको परिवारमा जन्मेका भण्डारीले पढाई खर्चको जोहो गर्नका लागि ट्युशन पढाउनेदेखि क्यान्टिन सञ्चालन गरे। उनले अहिले एउटा सफल व्यवसायीको परिचय बनाएका छन्। साथै राजनीतिक क्षेत्रमा पनि उनको सक्रियता सुरु भएको छ। समाज बदल्नका लागि राजनीतिनै सर्वोत्तम माध्यम भएको उनको बुझाई छ।

गैर-सरकारी संस्थाको जागिर छाडेर व्यवसायमा लागेका भण्डारीको मेहनत, परिश्रम, लगनशीलता र आत्मबलले अहिले उनलाई यो स्थानमा पुर्याएको हो। हो, भण्डारीको प्रेरक जीवनकथा यसरी नै सुरु हुन्छ।

बुद्धिराम भण्डारी र स्व.हरिमाया भण्डारीको कोखबाट विसं २०२९ सालमा धनगढी–२ तिल्केतालमा जन्मिएका दिनेशराज भण्डारीको बाल्यकाल अभावै-अभावमा बित्यो।

आर्थिक अभावका कारण धनगढीबाट बेहडावावा गाउँमा बसाई सरेका भण्डारीले १० कक्षासम्म त्यहीँ पढे। गाउँमा १० कक्षाभन्दा माथि पढ्न स्कूल थिएन। १० कक्षापछि पढ्न धनगढी आउनुपर्ने बाध्यता थियो।

आर्थिक अभावका कारण घरपरिवारले उनलाई धनगढी पठाएर पढाउन सक्ने अवस्था थिएन। तर, उनी एउटा हिम्मत बोकेर उच्च शिक्षा अध्ययन गर्नका लागि धनगढी पुगेर कैलाली बहुमुखी क्याम्पसमा पढ्न थाले।

उच्च शिक्षा अध्ययनका लागि उनी धनगढी आएपछि बेहडावावामा बसाइँ सरेको भण्डारी परिवार पनि २०४८ सालमा धनगढीमै बसाई स¥यो। उनको पिताले बेहडावावामा सानो किराना पसल गरेका थिए।

धनगढी आएपछि सोही किराना पसललाई उनका बुवाले ‘बेहडावावा किराना पसल’ नाम राख्दै सञ्चालन गरे। आम्दानीको अन्य कुनै स्रोत थिएन। किराना पसलको साधारण कमाईले भण्डारीको पढाई खर्च धान्न र घरपरिवार चलाउन धौँ–धौँ पर्यो।

त्यसपछि भण्डारीले कक्षा ११ मा पढ्न सुरु गरेसँगै उनी धनगढीकै एक व्यक्तिको घरमा बस्ने थाले। ‘घरधनीका छोराछारी पढाइदिन्थेँ, र त्यसबापत पैसा पनि लिन्थेँ, त्यही पैसाबाटै मैले प्रविणता प्रमाणपत्र तह (आइकम) को पढाई खर्च चलाए,’ उनले भने।

क्याम्पस पढ्दै क्यान्टिन चलाउँदै

व्यवस्थापन विषयमा आइकम गरेका भण्डारी सोही विषयको स्नातक अध्ययनका लागि कैलाली बहुमुखी क्याम्सप धनगढीमै भर्ना भए।  उनले नेपाली पब्लिकसँग भने, ‘स्नातक तहमा पुगेपछि खर्च पनि बढ्यो। बढेको खर्च धान्न बिकम पढ्दा मैले क्याम्पसमै क्यान्टिन चलाउन सुरु गरेँ।’

पहिले क्याम्पसमा पढ्दै गरेका बेला क्यान्टिन सञ्चालन गरेका भण्डारीलाई जिस्क्याउने, होच्याउने साथीहरु अहिले उनको प्रगति देखेर डाहा गर्छन्, कतिपयले प्रेरणाको रुपमा पनि लिने गरेका छन्।

व्यवस्थापनमा स्नातक र समाजशास्त्रमा स्नातकोत्तर गरेका भण्डारी २०५३ सालदेखि नै जागिर खान थालेका थिए। तत्कालिन स्थानीय विकास मन्त्रालय, विश्व खाद्य कार्यक्रम र ग्रामीण सामुदायिक पूर्वाधार विकास कार्यक्रम अन्तर्गत उनले कार्यक्रम प्रमुखको जिम्मेवारी समालेको बताउँछन्। उनले त्यहाँ ०६२ सालसम्म जागिर खाए।

अब जागिर खाएर हुँदैन, आफैले केही गर्नुपर्छ भन्ने सोचेर व्यवसाय सुरु गरे। भण्डारीले जागिर अवधिमै २०५७ सालमा धनगढीमा व्यवसायी प्रकाश भट्टसँगको साझेदारीमा होटल चलाउन सुरु गरेका थिए। जागिर छोडेर त्यही होटलमा सेवा सुविधा र लगानी बढाउँदै जाँदा धनगढीकै व्यवसायी सञ्जयकुमार चौधरी पनि जोडिए। ‘साथी होटल’का नामले आज धनगढीमा प्रसिद्ध छ।

भण्डारीले २०६० सालदेखि नेपालगञ्जमा अफसेट प्रेस र स्टेशनरी पसल समेत सञ्चालनमा ल्याए। १० वर्षअघि उनले बेरोजगारलाई शीप सिकाउने उद्देश्यले धनगढीमै ‘वी पोलिटेक्निकल इन्स्टिच्यूट’ सुरु गरे। त्यो अहिले पनि सञ्चालनमा छ।

एकातिर दक्षजनशक्ति नभएको अवस्था र अर्कोतिर बेरोजगारको संख्या बढिरहेका यो समयमा यहि संस्था मार्फत उनले विभिन्न किसिमका शीपमूलक काम सिकाउँदै बेरोजगारलाई रोजगारदातासँग जोड्ने काम गर्दै आइरहेका छन्।

व्यवसायलाई विस्तार गर्दै लैजाने क्रममा धनगढीमै ‘सञ्जिवनी हाउस एण्ड एग्रो’ सञ्चालनमा ल्याएका भण्डारीले मसला उत्पादनको काम पनि गरे । स्थानीय मसलाजन्य उत्पादनको प्रयोग गरेर ‘ईजा र खुशी’ ब्राण्डमा अहिले तयारी मसला उत्पादन भइरहेको छ। मसलाका लागि चाहिने कच्चा पदार्थ पहाड, हिमाल र तराईबाट संकलन गर्ने उनले बताए।

‘पहाड र हिमालबाट संकलन गरी तयार पारिएका मसलालाई ‘ईजा’ र तराईबाट संकलन गरी तयार पारिएका मसलालाई ‘खुशी’को नाम दिइएको छ। विसं २०७२ सालदेखि धनगढीमै नौलो व्यवसायको रुपमा उनले ‘फिस रिसोर्ट’ पनि सञ्चालन गरिरहेका छन्।

भण्डारी अब थप दुई नयाँ व्यवसाय सञ्चालनको तयारीमा रहेको बताउँछन्। ‘नेपालगञ्जमा निर्माण कार्य भइरहेको ‘वाटर पार्क’ आगामी वैशाखदेखि सञ्चालन गर्ने योजनामा छु,’ उनले भने, ‘करिव ३० करोड रुपैयाँको लागतमा ‘वाटरपार्क’ सञ्चालन गरिने छ।’ त्यस्तै, केही भारतीय लगानीकर्तासँग मिलेर कैलालीको पहलमानपुरमा ‘स्टिल इण्डष्ट्रि’ सञ्चालनको प्रक्रिया अगाडि बढेको भण्डारीले जानकारी दिए। यसका निम्ति ७ विगाह जमीन भाडामा लिएर तयारी हुँदैछ।

उनले भने, ‘उग्रतारा नाम दिएको यो उद्योगमा वैदेशिक लगानी स्वीकृतिका लागि नेपाल उद्योग विभागमा अनुमतिका लागि पेश गरिएको फाइल स्वीकृत भएर राष्ट्र बैंकमा पुगेको छ। राष्ट्र बैंकले स्वीकृत गरेपछि अबको ४ महिनाभित्रमै उत्पादन गर्ने लक्ष्य लिइएको छ।

जागिर छाडेर पूर्ण रुपमा व्यवसायमा लागेका भण्डारी विसं ०६२ सालमा कैलाली उद्योग वाणिज्य संघको महासचिव बने । महासचिव हुँदै उनी ०६६ सालदेखि ०६९ सम्म संघको अध्यक्ष पदको जिम्मेवारी सम्हाले। महासचिव, अध्यक्ष हुँदै संघको सल्लाहकार संयोजक भएर संघमा १२ वर्ष बिताएका भण्डारीको कार्यकालमा संघले सम्झनलायक धेरै काम गरेको छ।

उक्त अवधिमा कैलाली उद्योग वाणिज्य संघ देशकै उत्कृष्ट हुनुदेखि निकै महत्वपूर्ण अभियान सञ्चालन भए। नयाँ तरिकाले सञ्चालन गर्ने भन्दै संघमा छिरेका भण्डारीले महासचिव हुँदा एयरपोर्ट निमार्णका लागि ‘एक दिनको श्रम एयरपोर्टलाई’ भन्ने अभियान सञ्चालन गरे। सो अभियान अन्तर्गत एकदिनको कमाई वा खर्च गेटा विमानस्थल (हाल धनगढी विमानस्थल)का लागि छुट्याउनुपर्ने थियो।

अभियान सञ्चालनपछि कर्मचारीले एकदिनको पारिश्रमिक दिए, विद्यार्थीले एकदिनको खाजा खर्च कटाएर दिए, होटल सञ्चालकले एकदिनको एककोठा भाडाको पैसा दिए, सामान्य मजदुरले पनि एकदिनको ज्याला उक्त अभियानलाई दिए। भण्डारी सम्झन्छन्, ‘अभियानले गति लियो र करिब एक करोड रुपैयाँ ‘एक दिनको श्रम एयरपोर्टलाई’ भन्ने अभियान अन्तर्गत संकलन भयो।’

एयरपोर्ट सञ्चालनका लागि संघले सरकारसँग गरेको सहमति अनुसार ५० प्रतिशत नागरिक उड्यन प्राधिकरणले, २५ प्रतिशत नेपाल सरकार तथा २५ प्रतिशत संघले संकलन गर्नुपर्थ्यो। सो अनुसार रकम संकलन भएपछि एयरपोर्ट निमार्ण भई सञ्चालनमा आयो र हाल धनगढी विमानस्थलबाट दैनिक ४ हवाई कम्पनीले ५ उडान भर्दै आएका छन्। एयरपोर्ट सञ्चालन ल्याउनुमा संघको ठूलो योगदान छ।

भण्डारी उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा पर्यटकीय गन्तव्य चिनाउनका लागि सुदूरपश्चिम क्षेत्रका पर्यटकीय क्षेत्रको फोटो संकलन गरेर देश विदेशमा प्रदर्शनी गरियो। सुदूरपश्चिमबाट छुट्ने बसमा सुन्दर सुदूरपश्चिमका फोटोहरु लगाइयो। यसले सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्यो। त्यसका लागि ‘सुन्दर सुदूरपश्चिम अभियान’ नै सञ्चालन गरिएको थियो। नभन्दै यस अभियानले सार्थकता पनि पायो ।

त्यस्तै, विकाशका लागि ठूलो रकम आवश्यक पर्दैन भन्ने उदाहरण प्रस्तुत गर्नका लागि भण्डारीकै नेतृत्वमा थालिएको ‘मिसन एक पैसा’ अभियानबाट १२ लाख रुपैयाँ भन्दा बढी संकलन गरियो। त्यसबाट उठेको रकम पर्यटन प्रर्वद्वनमा लगानी गरिएको उनले बताए।

यहि अवधिमा संघले भारतको कोलकातामा १५ देश सहभागी नयाँ पर्यटकीय गन्तव्य सम्बन्धि फोटो प्रदर्शनी गरेको थियो। जसमा कैलाली उद्योग वाणिज्य संघ उत्कृष्ट घोषित भएको थियो।

त्यस्तै, उनकै नेतृत्वमा धनगढी–दिपायल सडक खण्डको विकल्पमा खुटिया–दिपायल ‘फाष्ट्र ट्रयाक’को अवधारण अगाडी सारियो। दुई सय किलोमिटर दुरीको धनगढी–दिपायल सडक खण्डलाई ‘खुटिया–दिपायल फाष्ट्र ट्रयाक मार्फत ८२ किलोमिटरमा समेटियो।

त्यसका लागि व्यक्तिगतदेखि अन्यबाट रकम संकलन गरि सर्वे लगायतको काम गरियो। हाल उक्त फाष्ट्र ट्रयाकको ट्रयाक खोल्ने काम भईसकेको छ । प्रदेश सरकारको सिफारिसमा यस फाष्ट्र ट्रयाकलाई केन्द्र सरकारले निर्माण गर्ने भएको छ।

सफल व्यवसायीको पहिचान बनाइसकेका भण्डारी अहिले विवेकशील साझा पार्टीको सुदूरपश्चिम प्रदेश सह–संयोजक बनेका छन्। साथै उनी विकेकशील कै प्रशिक्षण विभाग र उद्यमशीलता तथा रोजगारी विभागको प्रदेश प्रमुख पनि हुन्। उनी २०७४ साल भदौ महिनामा विवेकशील साझा पार्टीमा संलग्न भएर राजनीतिमा प्रवेश गरेका हुन्।

व्यवसायमा लागेको मान्छे किन राजनीतिमा लाग्नुभयो भनेर सोधिएको प्रश्नको जवाफमा भण्डारी भन्छन्, ‘राजनीतिलाई फोहोरी खेल भनेर सधैँ आफू चुप लागेर बस्ने होइन। यसरी राजनीति कहिल्यै सफा हुँदैन। यो फोहोरी खेललाई सफा गर्न राजनीतिमा लागेको हुँ।’

व्यवस्था परिवर्तन भएपनि नेपालमा आम मानिसको अवस्था परिवर्तन नभएकोमा उनी चिन्तित छन्। ‘अब व्यवस्थासँगै अवस्थामा पनि परिवर्तन आउनुपर्छ भन्ने हाम्रो मान्यता हो, त्यसका लागि आगामी दिनमा व्यवसायसँगै राजनीतिलाई पनि अगाडि बढाउछु,’ भण्डारीले आफ्नो आगामी लक्ष्य प्रष्ट पारे।

लोकप्रिय

कठै ! हिमानी राज्यलक्ष्मी शाह

कठै ! हिमानी राज्यलक्ष्मी शाह

२०७६, ३० आश्विन बिहीबार १०:५०

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

२०७६, ३० आश्विन बिहीबार १५:०२

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

२०७६, ३० आश्विन बिहीबार २०:३३

मोहम्मद अफताब आलमको पक्षमा देउवा

मोहम्मद अफताब आलमको पक्षमा देउवा

२०७६, १ कार्तिक शुक्रबार २०:३२

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

२०७६, ३० आश्विन बिहीबार १४:२५

म्याच फिक्सिङः  युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

म्याच फिक्सिङः युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

२०७६, ३० आश्विन बिहीबार १३:२३

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

२०७६, १ कार्तिक शुक्रबार १५:४०

एनआरएनए निर्वाचन : सकियो मतदान

एनआरएनए निर्वाचन : सकियो मतदान

२०७६, ३० आश्विन बिहीबार १७:५९

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

२०७६, १ कार्तिक शुक्रबार १७:११

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

२०७६, १ कार्तिक शुक्रबार १४:२०

विश्वकी नयाँ राजकुमारी

विश्वकी नयाँ राजकुमारी

२०७६, ३० आश्विन बिहीबार १५:४०

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

२०७६, १ कार्तिक शुक्रबार २०:४०

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

२०७६, १ कार्तिक शुक्रबार १९:०६

एनओसी अब अनलाईबाटै

एनओसी अब अनलाईबाटै

२०७६, ३० आश्विन बिहीबार ११:२९

अन्यौलमा सिजनको पहिलो ‘एल क्लासिको’

अन्यौलमा सिजनको पहिलो ‘एल क्लासिको’

२०७६, ३० आश्विन बिहीबार १२:५६