अनारसिंह कार्की

फागुन ७ गतेको प्रजातन्त्र दिवसका बारेमा एकपटक फेरि गम्भीर बहस र छलफल हुन जरुरी छ। धेरै दिनसम्म नेपालका कम्युनिष्टहरूले ‘२००७ सालको क्रान्ति अपूर्ण हो, दिल्ली सम्झौता धोका हो’ भन्ने नारा लगाइरहे। तर, अहिले कम्युनिष्टहरूले पनि छोडेकाले त्यो नारा बेवारिसे जस्तै बनेको छ।

२००७ सालको क्रान्तिपछि पहिलोपल्ट आधुनिक नेपालको ढोका खोलेको हो र त्यस क्रान्तिले जेजति उपलब्धि दिनसक्यो, तुलनात्मक रूपमा त्यसपछिका आजसम्मका कुनै पनि क्रान्ति वा आन्दोलनले त्योभन्दा बढी उपलब्धि दिन सकेको छैनन् अथवा ऋणात्मक वा प्रतिउत्पादक उपलब्धि मात्रै छ। बहसको मूल विषय यही हुनुपर्छ।

२००७ सालको क्रान्तिका एक जना प्रमुख नायक बीपी कोइरालाले भनेका छन्, ‘राजा पृथ्वीनारायण शाहले एउटा राष्ट्रको भौगोलिक आकार र आवरण खडा गरेका थिए। त्यसलाई २००७ सालको क्रान्तिले राष्ट्रियतारूपी प्राण भर्ने काम गर्‍यो।’ उनका अनुसार २००७ सालको क्रान्ति नै यस्तो पहिलो घटना हो, जसले मेचीदेखि महाकाली, हिमालदेखि तराईसम्मका सबै क्षेत्र, जाति, भाषा र संस्कृतिका मानिसलाई एउटै उद्देश्य प्राप्तिका लागि सामूहिक प्रयत्नमा उतारे।

बीपीले २००७ सालको क्रान्तिलाई अपूर्ण भन्नेहरूको जवाफमा भनेका छन्, यस क्रान्तिप्रति बढी लक्ष्य आरोपित गरेर अपूर्ण भन्नेहरूले वस्तुगत यथार्थलाई उपेक्षा गरेका छन्। उनको यो भनाइ निराधार छैन। २००७ सालको पृष्ठभूमि र त्यसबेलाको वस्तुगत यथार्थकै आधारमा प्रतिफलको अपेक्षा गर्नुपर्छ। पृष्ठभूमिलाई हेर्दा नेपालमा सीमा विस्तारको विजय अभियानलाई समाप्त पारेको परिणाम सुगौलीको सन्धि थियो र त्यो सन्धिले नेपालको आकांक्षा, उत्साह र आवेगलाई पूर्णविश्राम लगाएर साम्राज्यवादको छायाँभित्र बस्न बाध्य पारेको थियो।

शासक गोराकाला जुनसुकै रंगका भए पनि आफ्नो प्रभुत्व त्याग्न तयार हुँदैन भन्ने कुराको प्रमाण नयाँ भारतका शासकको नेपालजस्ता साना छिमेकीप्रतिको नीति हो। तथापि, यति मात्रै भन्नु पनि पर्याप्त हुँदैन। त्यसबेलाको विश्व परिस्थिति, यातायात तथा सञ्चारको अवस्था र नेपालको भू–राजनीतिक स्थितिको यथोचित विश्लेषण हुन जरुरी छ।

भारतमा शासन गरेका कारण बेलायतसँग जोडिएको बाहेक नेपालको अरू कुनै देशसँग सम्बन्ध थिएन। अर्कोतर्फ विशाल चीनका बीचमा पनि तिब्बत थियो र त्यसबेलामा तिब्बत पूर्णरूपले चीनको अधीनमा भइसकेको पनि थिएन। तिब्बत नेपालभन्दा पनि कमजोर र पिछडिएको अवस्थामा थियो। त्यसमाथि पनि तिब्ब्तसँग जोडिएको सीमा अत्यन्त विकट भएकाले त्यसबेलाको नेपाल यथार्थमा पूर्ण भारतवेष्टित वा भारतबाट घेरिएको भू अवस्थामा थियो।

भर्खर राणा शासकका सुविधाका लागि शुरु भएको ठूलो गौचरनको हवाई यातायात पनि भारतसँग मात्रै सीमित थियो भने नेपालको शैक्षिक व्यवस्था भारतीय विश्वविद्यालय मातहत थियो। यस्तो भू–राजनीतिक अवस्थामा भारतमा शिक्षित र प्रशिक्षित नेतृत्व वर्ग र भारतीय भूमिलाई आधार बनाएर गरिएको २००७ सालको क्रान्तिमाथि झन् राजा त्रिभुवनले भारतमा शरण लिन गएपछि त निर्णयको तालाचाबी नै भारतको हातमा पुग्यो।

त्यसैबेला लेखिएको ‘क्रस रोड’ भन्ने पुस्तकमा निकै अच्चमलाग्दा प्रसङ्गहरू उल्लेख भएका छन्। एउटा प्रसङ्ग यस्तो छ, सुरक्षा निकायमा प्रमुखहरू र गुप्तचरका प्रमुखहरू सहितको एउटा गोप्य बैठकमा त्यस समयमा अत्यन्त प्रभावशाली नेता एवम् गृहमन्त्री बल्लमभाइ पटेलले ‘नेपालका श्री ५ महाराजाधिराज त्रिभुवन सपरिवार भारतको शरणमा आएका छन्, उनलाई स्थायी रूपमा राख्न हिमाञ्चल प्रदेश र उत्तर प्रदेशको उत्तराखण्डका केही स्थानहरू हेर्न लगाइएको छ। यही मौका नेपाललाई पनि भारतमा मिसाउने उपयुक्त समय हो’ भन्ने प्रस्ताव राखेका थिए।

त्यसबारेमा केहीबेर छलफल र बहस भएपछि प्रधानमन्त्री जवाहरलाल नेहरुले बीचैमा हस्तक्षेप गर्दै ‘नेपाल अरू राज्यभन्दा भिन्न अवस्थामा रहँदै आएको राज्य हो। अंग्रेजले पनि नेपालसँग छुट्टै व्यवहार गरेको थियो। विकट भौगोलिक अवस्था भएको त्यस राज्यका बासिन्दाहरू अत्यन्त लडाकु छन्। भौगोलिक विकटता, अशिक्षा र गरिबी व्यापक छ। हिमालपारिको तिब्बतमाथि कम्युनिष्ट चीनले कब्जा जमाउन थालेको छ। त्यस्तो गरिबी, अशिक्षा र बेरोजगारी भएको मुलुकका छेउमा आएको कम्युनिष्टको प्रभाव पर्ने ठूलो सम्भावना छ। त्यहाँका जनता राजालाई विष्णुको अवतार भनेर पूजा गर्छन्। त्यसकारण नेपाललाई भारतमा मिलाउनभन्दा ‘वफर स्टेट’का रूपमा स्वतन्त्र रहन दिनु भारतको सुरक्षाका निम्ति उपयोगी हुनसक्छ। मेरो विचारमा राजालाई फकाएर नेपाललाई स्वतन्त्र रहन दिनु भारतको हितमा छ,’ भनेका थिए।

नेहरुको यो भनाइपछि केहीबेर छलफल भयो र नेहरुकै विचारलाई स्वीकार गरियो भन्ने उल्लेख छ। त्यसबेला नेहरुको वफर स्टेटको विचार नआएको भए नेपालको अस्तित्व संकटमा पर्न लागेको रहेछ। यदि राजा त्रिभुवनले भारतमा शरण लिन नगएका भए राणा शासनको अन्त्य हुन केही समय बढी लागे पनि भारतको त्यस हदसम्मको निर्णयमा भूमिका हुने थिएन होला। त्यसबेलाको विश्व परिस्थिति र भूखण्डमा आएको स्वतन्त्रताको लहरअनुसार एक–दुई वर्षको मात्रै ढिलो चाँडो राणा शासन जानु त अपरिहार्य नै थियो।

जे होस्, त्रिभुवनको भारतमा शरण लिएको कदमले राणा शासन जान छिटो भए पनि भारतीय दबाब र हस्तक्षेपका लागि पनि सजिलो ढोका खोलिदिने काम गर्‍यो। फलस्वरूप २००८ साल जेठ २ गतेको नेपालको मन्त्रिपरिषद्को बैठक दिल्लीमा भएको थियो र राजा त्रिभुवनका सचिव भारत सरकारबाट खटाइएका गोविन्दनारायण भन्ने थिए। तर, प्रजातन्त्रोत्तर नेपालले भने निरन्तर आफ्नो स्वतन्त्र र सार्वभौम हैसियतका लागि संघर्षरत रह्यो। तिब्बत चीनको स्वशासित प्रदेश भएपछि नेपाल पनि विशाल र शक्तिशाली चीनको छिमेकी बन्न पुग्यो भने तत्कालीन देशभित्रको राजनीतिक अस्थिरता र भारतको दबाबलाई दृष्टिगत गरी चीनसँग सम्बन्ध बढाउँदै लान र नेपालको स्वतन्त्र हैसियतलाई उकास्न उल्लेखनीय काम हुँदै गए।

खास गरेर टंकप्रसाद आचार्यको नेतृत्वको सरकार र निर्वाचित बीपी कोइरालाको सरकारको समयमा चीनसँगको सम्बन्ध र नेहरुको उत्तरी सीमासम्बन्धी भारतीय संसदको व्यक्तव्यप्रतिको कडा प्रतिरोध र भारतको इच्छाविरुद्ध इजरायललाई मान्यता दिनुजस्ता ऐतिहासिक कामहरूले नेपालको स्वतन्त्र हैसियतलाई उठाउने निकै ठूलो काम गर्‍यो।

त्यस्तै राजा महेन्द्रको शासनकालमा पनि चीनसँगको सम्बन्धमा कोदारी राजमार्ग जस्ता अभूतपूर्व ऐतिहासिक निर्णय, असंलग्न राष्ट्रहरूको अभियानमा उनको नेतृत्वदायी भूमिका, नेपाल–चीन सीमामा रहेको भारतीय सुरक्षा मिसनलाई हटाउने जस्ता ऐतिहासिक निर्णयहरूले नेपालको स्वतन्त्र हैसियत र छविलाई अझै अघि बढाउन सफल भयो। त्यसैको फलस्वरूप नेपालले भारतबाहेक अन्य देशबाट पनि सामरिक सरसामान मगाउनु र भारतको अनिच्छालाई दृटिगत गरी शान्तिक्षेत्रको प्रस्ताव राखेर ११६ देशबाट अनुमोदन गराउन सफल हुनु सानो उपलब्धि थिएन।

वस्तुत: त्यसबेलाको अत्यन्त कमजोर भूराजनीति अवस्था, व्यापक अशिक्षा, गरिबी तथा बेरोजगारीको सामाजिक अवस्था र भारतबाहेक अर्को विकल्प नभएको अवस्थामा भएको २००७ सालको क्रान्तिले जेजति उपलब्धि दिन सकेको थियो र तिनै उपलब्धिमाथि टेकेर जसरी अघि बढिरहेको थियो, त्यसपछि पनि जेजति आन्दोलन र क्रान्ति भए, ती २००७ सालको क्रान्तिको उपलब्धिभन्दा बढी हासिल गर्न होइन तिनलाई अझ कमजोर बनाउन र समाप्त पार्नका लागि हँुदै आएको छ।

आधुनिक नेपालको सबैभन्दा ठूलो समस्या हो, हरेक आन्दोलन र क्रान्तिमा व्यापक जनसहभागिता भएपछि त्यसलाई घोषित लक्ष्यसँग पुग्न नदिई बीचैमा सम्झौतामा टुङ्ग्याउनु र त्यस्ता सम्झौता विदेशी शक्तिको संलग्नता र निर्देशनमा हुनु तथा सम्झौतापछि एउटा सानो समूह विदेशीको निर्देशनमा सत्तामा पुग्नुबाहेक देशका समस्या भने झन् जटिल र दुरुह बन्दै जानु नै हाम्रो नियति भएको छ। जे होस्, नेपालमा २००७ सालको क्रान्तिबाट जेजति उपलब्धि हासिल भए, त्यसपछिका आन्दोलन वा क्रान्तिले तिनलाई थाम्न मात्रै नसकेको होइन अझ ऋणात्मक वा प्रतिउत्पादक उपलब्धि थप्दै गएकाले नेपाल झन् झन् कमजोर र संकटग्रस्त बन्दै गएको छ।

लोकप्रिय

राष्ट्रपति  बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री  एस जयशंकरबिच भेट

राष्ट्रपति बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेट

२०७६, ५ भाद्र बिहीबार १४:०८

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

२०७६, ६ भाद्र शुक्रबार १५:५४

प्रधानमन्त्री ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

प्रधानमन्त्री ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

२०७६, ५ भाद्र बिहीबार १४:५८

नयाँ बरियतामा नेपाल एक स्थान तल

नयाँ बरियतामा नेपाल एक स्थान तल

२०७६, ६ भाद्र शुक्रबार १५:२५

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

२०७६, ५ भाद्र बिहीबार १२:३४

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

२०७६, ६ भाद्र शुक्रबार १३:५६

नेपालमा यसरी खोल्न पाइन्छ हतियार कारखाना !

नेपालमा यसरी खोल्न पाइन्छ हतियार कारखाना !

२०७६, ६ भाद्र शुक्रबार १४:३७

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

२०७६, ५ भाद्र बिहीबार ०९:१०

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

२०७६, ५ भाद्र बिहीबार १२:२२

प्रधानमन्त्री ओलीले सिंगापुरबाट भिडियोमार्फत मन्त्रिपरिषद् बैठकको नेतृत्व गर्ने

प्रधानमन्त्री ओलीले सिंगापुरबाट भिडियोमार्फत मन्त्रिपरिषद् बैठकको नेतृत्व गर्ने

२०७६, ५ भाद्र बिहीबार १८:००

आयुष्मानको पारिश्रमिक ३ गुणाले बढ्यो

आयुष्मानको पारिश्रमिक ३ गुणाले बढ्यो

२०७६, ६ भाद्र शुक्रबार १३:१८

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

२०७६, ५ भाद्र बिहीबार १३:२२

मिना निरौलाको स्वरमा ‘तीज आयो’ सार्वजनिक

मिना निरौलाको स्वरमा ‘तीज आयो’ सार्वजनिक

२०७६, ५ भाद्र बिहीबार १५:५९

नेकपा नेतामा अनुशासनको कमीः प्रचण्ड

नेकपा नेतामा अनुशासनको कमीः प्रचण्ड

२०७६, ६ भाद्र शुक्रबार १४:२१

सभापति देउवाद्वारा गौरा पर्वको शुभकामना

सभापति देउवाद्वारा गौरा पर्वको शुभकामना

२०७६, ६ भाद्र शुक्रबार १४:४९