डमरुबल्लभ भट्टराई


म ताप्लेजुङ जिल्लाको साँघुमा जन्मेको– मधेश, पहाड गर्दा धेरैपटक धरानसम्मको उकाली–ओराली गरेको छु। मन नै प्रफुल्ल पार्ने लालीगुराँसको रस लिएको छु। झ्याउँपोखरी, गुफापोखरी, लामपोखरीको पानीले तिर्खा मेटेको छु। हिँउ, वर्षा, हुरी, बतास, जाडो सबै सहेको छु। साँगुरीभञ्ज्याङको उकाली–ओराली, सेउतीको बगरै बगर, मूलघाटको उकाली–ओराली, हिलेदेखि नै बीच–बीचमा फाट्टफुट्ट घर, गोठ भए पनि मिल्के फलाँटेसम्मको पट्यारलाग्दो सुनसान बाटो कुम्लो कुटुरो बोकेर सानो बेलादेखि नै एक्लै पनि हिडेको छु।

बाटोमा कतै बुढो रूखमा त कतै ओडारमुनि रात बिताएको छु। बाटामा कहिलेकहीँ भेटिने भरियाको साथलाई स्वर्गीय आनन्दका रूपमा लिएको छु। कतै पानी खान नपाएर तिर्खाले रोएको छु, कहिले लेक लागेर लर्‍याक लुरुक भएको छु। जंगलका एकान्त स्थलमा गोठालाहरू ठूलो आवाजमा कराएको, बोलेको, केही खोजेजस्तो लाग्ने। वारिपारि जंगल, गुफा, कन्दरा हुँदै आउने त्यसको प्रतिध्वनिले मन नै चस्किने, ढक्क फुल्ने। त्यो बेला कयौँ पटक डरले सुरक्षित ठाउँ खोज्नु, लुक्नु, दौडनु सामान्य थियो।
त्यसबेला यो न सुखको कुरा थियो न दुःखको। कुनै विकल्प थिएन। सबै त्यसै गर्थे। यो सामान्य दिनचर्या थियो, कर्तव्य थियो, यात्राको अनिवार्य आवश्यकता थियो। अहिले लाग्छ, त्यसबेला वास्तवमा नै सुनसानको साम्राज्य रहेछ। यथार्थमा मानिसहरू प्रकृतिमा नै बाँच्दा रहेछन्।

अब पुराना कुरा इतिहास भइसकेका छन्। अब त्यो क्षेत्र नै नयाँ दिशातर्फ उन्मुख हुन थालेको छ। बाँकी दुनियासँग मिसिँदै छ। संसारका घटनाक्रमसँग यो क्षेत्र पनि अपरिचित रहेन।

आधुनिक दुनियाँदेखि धेरै टाढा आफ्नै सानो संसारमा। अब त्यहाँ ठूल्ठूला डोजर, ट्रकलगायत निर्माण सामग्री यत्रतत्र छन्। अनेकौँ घार्रघुर्र छ, प्रदूषण छ, विनाश छ, विसङ्गतिहरू छन्। जङ्गल फाडिँदैछन्, पानीका स्रोतहरू भत्किएका, पुरिएका, सुकेका छन्, कति पोखरीहरू हराइसकेका छन्। अब पुराना कुरा इतिहास भइसकेका छन्। अब त्यो क्षेत्र नै नयाँ दिशातर्फ उन्मुख हुन थालेको छ। बाँकी दुनियासँग मिसिँदै छ। संसारका घटनाक्रमसँग यो क्षेत्र पनि अपरिचित रहेन।

एकातर्फ समृद्धिको उच्च आकांक्षा र अर्कोतर्फ यसका नकारात्मक असरहरूबाट उत्पन्न खिन्नताबीच लामो अन्तरालपछि गाडीमै चढेर साँघु हुँदै भक्तिधाम आराध्यदेवी पाथीभराको फेदीसम्म पुगेको छु। यो राजमार्गले विशेष गरेर संखुवासभा, तेह्रथुम र ताप्लेजुङ तीनवटै जिल्लाको समृद्धिको धरातल तयार गर्दैछ। सरोकार राख्ने सबैले भोलिका सपना देख्न थालेका छन्। कृषि उत्पादनमा विविधता देखिन थालेको छ। व्यावसायिकता बढ्दै छ। अलैँची आर्थिक समृद्धिको महत्त्वपूर्ण पक्ष भइसकेको छ। विद्युतको पर्याप्त सम्भावना हुँदा राष्ट्रिय अर्थतन्त्रमा पनि जिल्लाहरूको ठूलो भूमिका हुने निश्चित छ। यो शुरु भइसकेको पनि छ।

समाजमा खानपिन, रहनसहन, वेशभूषा, बोलचाल गर्ने शैली तथा व्यवसायमा नवीनता देखिन थालेको छ। घरको छाना खर वा झिँगटीको हुने गरेकोमा कर्कटपाताले ठाउँ लिएको छ। उच्च माध्यमिक शिक्षासम्मको अध्ययन सहज भएको छ। सबैको हातमा मोबाइल छ। टेलिफोन, टीभी पनि सहज पहुँचमै छ। स्वास्थ्य, सफाइ जस्ता कुरामा पर्याप्त जागरुकता आएको छ। काम नगर्ने, गफ गरेर दिन बिताउने प्रवृत्ति घट्दै गएको छ। घरघरमा बिजुली र पानी पुगेको छ। यद्यपि सही व्यवस्थापनको अझै खाँचो पर्ला। गाउँघरहरू हरियालीले छोपिँदै गरेका छन्। गाउँ शान्त लाग्छ, सँगसँगै शून्यतातिर उन्मुख छ।

वैदेशिक रोजगारीको आम्दानीले राम्रो टेवा दिएको छ। यी सबै हुँदाहुँदै पनि गाउँघरमा सबैभन्दा बढी खड्किने कुरा युवाको अभाव हो। शिक्षा र व्यवसायको खोजीमा बाहिरिनेको जमात ठूलो छ। गाउँमा सीप र व्यावसायिकताको कमी खड्किँदो छ। त्यो निरन्तर बढ्दै पनि छ। पहाड र तराईमा अन्तरसम्बन्ध कायम राख्नेहरूको पनि कमी छैन।

सामाजिक रूपमा भन्नुपर्दा समाज चाँडो चाँडो चलायमान भएजस्तो लाग्छ। मैले देखेको साँघुको ठिङ्ग एक्लो ‘साँघुपाटी’ अब घरहरूका बीचमा खोज्नु परेको छ। त्यहाँ घरहरू थपिँदै रहेछन्, चाँडै बजारको रूप लिने तयारीमा छ। वैदेशिक रोजगारको लगानीले पनि यसलाई बल पुर्‍याएको छ। बिजुली, पानी, स्वास्थ्य केन्द्र, प्रहरी, उच्च मावि, गाउँपालिका, बैङ्क, हाटबजार लगायतले बजारीकरणलाई प्रोत्साहन गरेको छ। राजमार्ग त्यही भएर जाने हुँदा सामाजिक, शैक्षिक, राजनीतिक लगायत गतिविधिहरू सहज बन्दै गएका छन्। चहलपहल बढ्दै गएको छ।

निकै ठूलो र राम्रो स्कूल ग्राउन्डले पनि सुगन्ध थपेकोझैँ लाग्छ। वारिपारि सहायक बाटा बनेका, बन्दै गरेका रहेछन्। मोटरसाइकल प्रायः सबैतिर पुग्ने रहेछ। मैले पनि भण्डारी भाइको सौजन्यताबाट मोटरसाइकलमा चढेर जन्मभूमि घर–आँगनमै टेक्ने अवसर पाएँ। त्यहाँ हुँदै गाडीको मार्ग पनि तेम्बेतिर जाँदो रहेछ। 

समाजमा सद्गुणको मात्रा बढी नै थियो, त्यो समाज विश्रृंखलित हुँदै गएको छ। समाज जोड्ने तन्तुहरू कमजोर देखिन थालेका छन्। अब ती पुराना साथी, इष्टमित्र, दाजुभाइ, हितचिन्तक पातलिएझैँ भएका छन्।

घर–आँगनमा उभिएर चारैतिर हेरेँ, सुनसान लाग्यो। आमाले पूजा गर्ने गरेको मोठतिर हेरेँ, अब त्यहाँ शून्य छ। कता कता दुखेछ होला, रुन पुगेछु, रोक्नै सकिनछु। मानिस जति बलियो देखिए पनि निर्बल नै हुनेरहेछ क्यार! बारीमा काम गर्ने बहिनीसँग दुई शब्द बोल्ने ताकत पनि आएन। कसैसँग नभेटी पाटीतिरै फर्किएँ। आफैंलाई प्रश्न गर्छु, ‘कहाँ छ घाउ!’

ती दिनहरू रहेनन्। अब केवल स्मृति मात्र बाँकी छ। ती दिन जहाँ भ्रातृत्व, सहिष्णुता, सहयोग, बन्धुत्व, प्रेम थियो। विविधता साथै एकता पनि थियो। समाजमा सद्गुणको मात्रा बढी नै थियो, त्यो समाज विश्रृंखलित हुँदै गएको छ। समाज जोड्ने तन्तुहरू कमजोर देखिन थालेका छन्। अब ती पुराना साथी, इष्टमित्र, दाजुभाइ, हितचिन्तक पातलिएझैँ भएका छन्।

मेरो छोटो र स्पष्ट परिचय ‘पिता पं. बैजनाथ भट्टराईको माइलो छोरा’को नाताले नै भयो। त्यो बेला म सामान्य अरू यात्रीसरह भए पनि प्रेमपूर्वक नयाँ पुराना कुराहरू गरियो। माया स्नेह, ममताको बन्धन पुनः बलियो बनाउने काम भयो। सम्बन्ध, सम्पर्क बनाउँदै रहने विश्वास आदानप्रदान गरियो।

त्यो अतीत कति रमाइलो र आफैमा पूर्ण थियो! सम्झँदा मात्रै पनि मन प्रफुल्ल भएर आउँछ। अब मसँग कुनै तृष्णा बाँकी छैन। सायद अब मन स्थिर भएको छ। सम्भव भएसम्म देख्नुपर्ने जति देखियो, भोग्नुपर्ने जति भोगियो, गर्नुपर्ने जति गरियो पनि होला, अब समय रहेन।

विकसित देशका केही भागहरू घुमेको छु। संयोगले केही दिनको पर्यटकीय क्रुज यात्रा पनि गरेको छु। त्यो थियो– अमेरिकाको फ्लोरिडादेखि बहामा द्वीपसम्मको यात्रा। त्यो आठतले भीमकाय पानीमाथि दौडने महाघर, जसको छतमा एकै पटक ४–५ वटा हेलिकप्टर उतार्न सकिन्छ, ४ हजार जति यात्रु र १ हजार ५ सयभन्दा बढी स्टाफसहित कयौँ दिनका लागि खाद्य सामग्री, इन्धन र अन्य आवश्यक सेवा तथा सुरक्षा सामग्रीसाथ पूर्णसुसज्जित भएर यात्रा गरिँदो रहेछ।

त्यो यात्राको अन्तिम लक्ष्य भनेको स्थगित एवं व्यस्त जीवनका मानिसलाई भौतिक सुखको चरम् रसास्वादन गराई आराम प्रदान गर्नु हो, त्यसको वातावरण तयार गर्नु हो। त्यसको गन्तव्य नै त्यही हो। हामी स्वर्ग भन्नासाथ यस्तै केही कल्पना गर्न सक्दछौँ। राम्रो काम गरेमा स्वर्ग पुगिएला भन्ने सोच हुन सक्दछ। स्वर्ग सुख–सुविधाको थलो मानेको स्थितिमा त्यो क्रुज यात्रामा यी सबै साधन थिए। क्रुज यात्रा बुक गरेपछि सबै फ्री। अझ भनौँ भौतिक स्वर्गको ढोका खुला।

ठूलाठूला हल, अलगअलग ठाउँमा सजाइएका अलगअलग रसका परिकार, समुद्रको लहर नियाल्ने आरामदायी कुर्सी, सेवा सुश्रुषाका मिष्ठ वाणीहरू, मधुर संगीतका धुनहरूले केही दिनका लागि सम्पूर्ण बोझ बिसाएका फुर्सदिला यात्रुको हरपल स्वागत गरिरहेका लाग्थे। त्यहाँ जुटाइएका सबै साधन मानवका अधिकतम आराममा केन्द्रित थिए, जसले जे चाहन्छ, सबै गर्ने छुट छ। अर्काेलाई हानि नपुगे हुन्छ। खाना खाँदै गर्दा स्वीमिङ गर्न मन लागेमा बीचैमा छाडेर जान सकिन्छ। फर्केर पुनः नयाँ खाना लिन सकिन्छ। अर्काे स्टलको अर्काे खाना पनि लिन सकिन्छ।

ईश्वर आफैँ उपस्थित भएर यात्रालाई थप के सुविधा दिनु भनेमा के माग्ने होला? यसमा अलमल हुन सक्ला। मलाई लाग्यो, यात्रुले जति पनि पचाउन सक्ने र भोग गर्न सक्ने सामर्थ्य ईश्वरसँग माग गर्ने होलान्।

मेरो लागि यो नयाँ कुरा थियो र छक्क पर्ने पनि थियो। एकै थलोमा संसारभरिका खाद्य एवं पेय सामग्री एकै पटक छानीछानी मन लागे जति खान पाइने, पिउन पनि पाइने, साथै रुचि नभएमा फ्याँक्न पनि पाइने। कसैले प्रश्न नगर्ने। मेरो अनुमान थियो, ५० प्रतिशत जति खाना फ्याँकेको हुनुपर्छ।

यस्तै अन्य भौतिक सुखसुविधा तथा आरामका लागि भरपूर प्रयास हुँदो रहेछ। सर्वाङ्ग नाङ्गै भए पनि केही लगाएको हो कि भन्ने भान पारे मात्रै पनि पुग्ने, पूर्ण स्वतन्त्रता साथै पूर्ण स्वच्छन्दताका साथ चाहेको कुरा भोग गर्न सकिने, अङ्कमाल, सहयात्रा, सह–नृत्य, सह–खेल, सह स्वीमिङ, सहभोजन, सहमनोरञ्जन, सहबन्धन, फिजका कुण्डहरूमा पानीको भूमिगत फोहराको मसाजसहित युगलको घण्टौँ सहवास लगायतका कुराको विनाअवरोध एवं निसङ्कोच खुसीका क्षणहरू भोग गर्न उन्मुक्त वातावरण दिने प्रकाश रहेछ– क्रुज यात्रा।

त्यो बेला मैले कल्पना गरेँ, ईश्वर आफैँ उपस्थित भएर यात्रालाई थप के सुविधा दिनु भनेमा के माग्ने होला? यसमा अलमल हुन सक्ला। मलाई लाग्यो, यात्रुले जति पनि पचाउन सक्ने र भोग गर्न सक्ने सामर्थ्य ईश्वरसँग माग गर्ने होलान्। कर्णप्रिय, उदरप्रिय, नेत्रप्रिय, रसनाप्रिय, स्पर्शप्रियलगायत सबै अङ्गलाई प्रिय लाग्ने वस्तुको मनोवाञ्छित भोग गर्न पनि सामर्थ्य नै चाहिएला। अर्काे मूल्यवान् कुरा, सुदूरको समुद्री लहरबीचको त्यो अर्कै दुनियाँमा पनि चार जना नेपाली कार्यरत रहेछन्। त्यसमा पनि एक तामाङ बहिनी ताप्लेजुङकै परिछन्। कुरै कुरामा भनिन्, ‘अङ्कल मलाई विवाह गर्ने फुर्सद नै छैन।’

सानो गाउँमा जन्मेको एउटा ठिटोले संसारको विकसित मुलुकका सबै सुविधा सम्पन्न क्रुजको यात्रासम्म नजिकबाट नियालेपछि भौतिक इच्छा के नै बाँकी रहन्थ्यो होला र! त्यहाँ सबै कुरा थियो तर सन्तुष्टि थिएन। मलाई लाग्छ, त्यहाँ जे जति कमी थियो, त्यो सबै यो यात्राले पूरा गरिदिएको छ। सायद जन्मथलोको पुरस्कार मेरो झोलीमा आएको छ। दोभान हुँदै मेदिबुङ जाँदा बाटोमा तेल्लाबुङ र चाँगेको ओराली–उकालीमा राम्रा झुप्प परेका ठूला बरपीपलका छायाँदार रूखको लहरै चौतारीहरू थिए, तिनीहरूले क्षणभरमै कति सजिलै शीतलता दिन्थे, थकान मेटिदिन्थे। नवजीवन दिएर कति चाँडै मानवलाई रसिलो र फुर्तिलो बनाइदिन्थे।

सम्झनामा कति ताजै छन् त्यी चौतारीहरू। अब ती पनि क्रमशः स्मृतिमा मात्र रहनेछन्। कुनै बेला फुङलिङ तोक्मेडाँडामा पानीले भरिएको पोखरी थियो। समाजसेवी गङ्गाप्रसाद दाहालको सौजन्यताबाट एउटा साइकल त्यहाँ पुगेको थियो। तोक्मे पोखरीको छेउमा त्यो साइकल दौडाउने गरिन्थ्यो। म पनि त्यसलाई छोएर भाग्यमानी भएको ठान्थेँ। अहिले तोक्मेडाँडामा न पोखरी छ, न पहिलाको त्यो ठाउँ। तोक्मेडाँडा वसोवासले ढाकिएछ, पूरै शहरीकरण भएछ, पुरानो त्यो तोक्मेडाँडा अब रहेन।

यस्तैयस्तै कुराको स्मृतिमात्र अब बाँकी छ। कुनै कुराले प्रशन्नता दिएको छ भने कुनै कुराले खिन्नता। लामो अन्तरालपछिको मिलनमा सायद सबैलाई यस्तैयस्तै लाग्दो हो। अब अतीतबाट बिदा लिने बेला भएको छ। चाहना छ, चाँडै यो क्षेत्र समृद्ध होस्।

लेखक भट्टराई नेपाल सरकारका पूर्व सचिव हुन्।

लोकप्रिय

‘भुइँमान्छेले देख्ने सपना नै कविले देख्ने सपना हो’

‘भुइँमान्छेले देख्ने सपना नै कविले देख्ने सपना हो’

२०७६, ७ बैशाख शनिबार ०७:५३

‘आक्रोदो’बाट शुरु भएको अभिनय यात्रा, अब फिल्म निर्देशनतर्फ

‘आक्रोदो’बाट शुरु भएको अभिनय यात्रा, अब फिल्म निर्देशनतर्फ

२०७६, ७ बैशाख शनिबार २०:३२

राष्ट्रिय फोटोपत्रकार अवार्ड बैशाख १३ गते

राष्ट्रिय फोटोपत्रकार अवार्ड बैशाख १३ गते

२०७६, ७ बैशाख शनिबार ०७:२९

साक्षरता अभियान: ५ अर्ब सकियो, अवस्था फेरिएन

साक्षरता अभियान: ५ अर्ब सकियो, अवस्था फेरिएन

२०७६, ७ बैशाख शनिबार ०७:१५

वैशाख ९ गते पार्टी एकताको टुँगो लाग्छ : नेता रायमाझी

वैशाख ९ गते पार्टी एकताको टुँगो लाग्छ : नेता रायमाझी

२०७६, ७ बैशाख शनिबार १८:५७

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

२०७६, ८ बैशाख आईतवार १८:२५

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

२०७६, ८ बैशाख आईतवार १५:५२

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

२०७६, ८ बैशाख आईतवार १५:५९

नागरिकता प्रावधान खुकुलो बनाउनु देशलाई धोका: सुनिता बराल

नागरिकता प्रावधान खुकुलो बनाउनु देशलाई धोका: सुनिता बराल

२०७६, ७ बैशाख शनिबार ०८:३८

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

२०७६, ८ बैशाख आईतवार १३:१४

एनआरएनए नर्थ क्यारोलिनाको अध्यक्षमा पहाडीको उम्मेदवारी

एनआरएनए नर्थ क्यारोलिनाको अध्यक्षमा पहाडीको उम्मेदवारी

२०७६, ७ बैशाख शनिबार ०९:२०

घाटमा पुर्‍याइएको शव प्रहरीद्वारा नियन्त्रण

घाटमा पुर्‍याइएको शव प्रहरीद्वारा नियन्त्रण

२०७६, ७ बैशाख शनिबार ०७:४९

‘झुमा झुमा’मा प्रमोद खरेलसँगै प्रिज्मा, प्रिन्सी र पल (भिडियोसहित)

‘झुमा झुमा’मा प्रमोद खरेलसँगै प्रिज्मा, प्रिन्सी र पल (भिडियोसहित)

२०७६, ७ बैशाख शनिबार ०७:२१

२४ वटा सरकारले नदेखेको बालुवाटारको जग्गा हिनामिना

२४ वटा सरकारले नदेखेको बालुवाटारको जग्गा हिनामिना

२०७६, ७ बैशाख शनिबार ०६:५९

पृथ्वी एउटा खेतबारी भएको भए…

पृथ्वी एउटा खेतबारी भएको भए…

२०७६, ७ बैशाख शनिबार १२:०४