अनारसिंह कार्की

दश वर्षको माओवादी सशस्त्र द्वन्द्वले नेपालका सबै पूर्वाधार र विकासका संरचनामा क्षति पुगेको थियो। माओवादीको त्यस विद्रोहलाई अवतरण गराउन जुन १२ बुँदे सहमति भयो, त्यो सहमतिपछिको कहिले नटुङ्गिने गोलचक्करजस्तो संक्रमणकालले नेपालका सम्पूर्ण संरचनालाई थप क्षति पुर्‍याएकाले नेपालको स्थायित्व र विकासको गतिलाई पचासौँ वर्ष पछाडि धकेलेको अवस्था छ। यस्तो स्थिति र परिवेशमा गरिएको संविधानसभाको निर्वाचन र संविधानसभाबाट बनाइएको संविधानले समेत अनेक विवाद सिर्जना गर्न पुग्यो। देशका कुनै भागमा जलाउने र कुनै भागमा दीपावली गरिएको वातावरणमा बनेको संविधानबाट भएको पहिलो संसदीय निर्वाचन पनि विवादमुक्त रहन सकेन।

त्यही निर्वाचनबाट दुईटा कम्युनिष्ट पार्टी एक भएर पूर्ण बहुमत र अर्को क्षेत्रीय पार्टीलाई समेत समावेश गरेर दुई तिहाइ बहुमतको सरकार बनेको १५ महिना पुग्नै लाग्दा चारैतिर असफल हुँदै गएको वर्तमान सरकारले अहिले दुईदिने लगानी सम्मेलन गरेको छ। आफ्नो चारैतिरको असफलता र भ्रष्टाचारले सिर्जना गरेको व्यापक असन्तुष्टि, निराशा र आक्रोशलाई मत्थर पार्न पनि यो लगानी सम्मेलन निकै ठूलो तामझाम र प्रचारप्रसार साथ गरिएको हुनुपर्छ।

वस्तुत: सशस्त्र द्वन्द्व र त्यसपछिका संक्रमणकालीन अवस्थाले बिथोलिएर थलालिंग र भताभुंग भएको नेपालको राजनीतिक, सामाजिक र आर्थिक अवस्थालाई ठीक गर्ने र संक्रमणकाल समाप्त भएको विश्वास नदिलाएर गरिएको यस्तो सम्मेलन कति उपयोगी हुन्छ, भविष्यले नै बताउला। तथापि, यो सम्मेलनको प्रचारप्रसार चर्को स्वर र सरकारका नजिकमा रहँदै आएका र सरकारसँग राम्रो सम्बन्ध बनाउन चाहने बुद्धिजीवीहरू, व्यापारी र व्यवसायीहरूको एउटा जमातको कोलाहलले आम जनतामा रहेको निराशा, असन्तुष्टि र आक्रोशका स्वरलाई के धिमा पारेको छ?

नेपालमा गरिएको यो तेस्रो सम्मेलन हो। योभन्दा अगाडिका दुईवटा सम्मेलनले अपेक्षित परिणाम दिन सकेका थिएनन्। विदेशी होस् वा स्वदेशी होस्, लगानीको मूल मौलिक प्रेरक तत्त्व भनेको प्रतिफल वा मुनाफा हो। यसका निम्ति केही अपरिहार्य आधारहरू पनि हुनुपर्ने हुन्छ।

धार्मिक, सामाजिक, भौगोलिक, क्षेत्रीय र सांस्कृतिक विविधता भएका देशहरूमा चर्को विवाद र कलहको अवस्था नभएर परस्पर सामञ्जस्यको अवस्था हुन जरुरी हुन्छ।

नेपालमा माओवादीले सिर्जना गरेको जातीय, क्षेत्रीय, धार्मिक लगायतका विवादहरू कटु हुँदै गएको यथार्थ हाम्रासामु छ। यस्तोमा कति सुरक्षा महसुस होला, हेर्नुपर्ने हुन्छ।

माथि नै उल्लेख भएअनुसार मुलुकमा नेकपाको बलियो बहुमतको सरकार छ भने अहिले त अर्को एउटा सानो पार्टीलाई समेत सामेल गरेपछिको दुई तिहाइ बहुमतको सरकार छ। चारैतिरबाट सरकारप्रति असन्तोष र व्यापक विरोध भइरहेका बेलामा विदेशी लगानी भित्र्याउन गरिएको प्रयासले केही समयका लागि भने पनि जनताको ध्यान अर्कोतिर मोड्नका लागि मात्रै होइन, आफ्ना असफलताबाट जनताको ध्यान हटाउन पनि लगानी भित्र्याउनुपर्ने भएकाले कम्युनिष्ट सिद्धान्तविरुद्ध नै भए पनि लगानीका केही ऐन कानूनहरू सजिलो बनाउन सरकारलाई आवश्यक परेको थियो। बनाएको पनि छ।

तर, तत्कालीन अवस्थामा जतिसुकै बलियो सरकार भए पनि नेपालको राजनीतिक पार्टीहरूको संस्कार र संस्कृति हेर्ने हो भने लामो दिन बहुमतलाई कायम राख्न नसकेर बारम्बार समस्या आउने गरेको इतिहास साक्षी छ। त्यसमाथि वर्तमान संविधान निर्माणका प्रक्रिया र नीतिसँग असहमत राख्ने ठूलो संख्या देशभित्र छ। कतिले संविधानभित्रै रहेर त्यसको विरोध गरिरहेका छन् भने केही संविधानबाहिरको हिंसात्मक बाटो अवलम्बन गरेर विरोधमा क्रियाशील छन्। यो अवस्थालाई विदेशी लगानीकर्ताहरूले कसरी लिने हुन्, भविष्यले नै देखाउला।

कुनै पनि वस्तु वा सेवाको उत्पादन बजारलाई हेरेर मात्रै गरिन्छ। बजारविनाको उत्पादन सम्भव हुँदैन। त्यसैले लगानीकर्ताहरूले बजारको अवस्था नबुझी लगानी गर्ने प्रश्नै आउँदैन। विश्वका दुई ठूला बजार भारत र चीनको बीचमा रहेको नेपालका लागि यी दुई बजारलाई नै लक्षित गरेर ठूलो लगानी आउने हुन्। त्यसका निम्ति नेपालको आन्तरिक नीतिले मात्रै पुग्दैन, भारत र चीनसँगको सम्बन्धलाई पनि हेर्नुपर्ने हुन्छ। त्यसैले भारत र चीनका लगानीकर्ताहरूको अपेक्षा तेस्रो देशका लगानीकर्ताहरूलाई त्यति सजिलो अवश्य नै हुने छैन।

नेपालमा दक्ष श्रमशक्तिको अभाव भए पनि साधारण कामदारको भने कुनै अभाव छैन र अन्यन्त्रको तुलनामा सस्तो पनि छ। तर, अन्य पूर्वाधारहरूमा सडक, सञ्चार र बैंकिङ व्यवस्था धेरै भरपर्दा छैनन्। यसलाई ठूला लगानीकर्ताहरूले कसरी बुझ्ने हुन्, प्रतीक्षा गर्नुपर्ने हुन्छ।

छिमेकी चीनसँग भर्खर भर्खरै केही नाकाहरूसँग जोडिएर पनि भौगोलिक, भाषिक र सांस्कृतिकजस्ता अनेक कारणले भारतको ठाउँ चीनले लिइहाल्ने सम्भावना छैन। यस्तो अवस्थामा नेपालको सुगम भूभागसँग तीनतिरबाट जोडिएको भारतको नीति र उससँगको सम्बन्धले अत्यन्त ठूलो महत्त्व राख्छ। विगतमा नेपालका केही उत्पादनहरू भारतीय बजारमा लोकप्रिय भएपछि भारत सरकारले तिनलाई कसरी निरुत्साहित गर्‍यो भन्ने उदाहरण सबैले जाने बुझेकै हुन्।

नेपालको कृषि उत्पादन अलैँची र अदुवाले हालै भोग्नु परेको कठिनाइले पनि स्पष्ट पार्दछ कि भारत आफ्ना साना छिमेकीहरूलाई आफू सँगसँगै हिँडाउनभन्दा आफ्नो एकलौटी बजार बनाएर राख्न चाहन्छ। दोस्रो महत्त्वपूर्ण कुरो, सामरिक महत्त्व राख्ने नेपालका केही पूर्वाधार विकासका क्षेत्रमा चीनले र धेरै क्षेत्रमा भारतले निर्माण गर्नुभन्दा निर्माण नै हुन नदिनका लागि ओगटेर राख्ने कामसमेत गर्दै आएका छन्। यसका उदाहरणमा लामै सूची देखाउन सकिन्छ। यस्तो अवस्थामा भारत र चीनका बजारलाई हेरेर तेस्रो देशका लगानीकर्ताहरूले ठूलो लगानी गर्ने सम्भावना न्यून छ। त्यसैले भारत र चीनकै लगानीकर्ताहरूलाई आकर्षण गर्न सक्नुपर्छ।

नेपालजस्ता देशको प्रगति, विकास र समृद्धिको बाटोको सबैभन्दा ठूलो बाधक भ्रष्टाचार हो। भ्रष्टाचार नेपालको सबैभन्दा पुरानो रोग हो। नेपालका निरंकुश शासकहरूले देशभित्र लूट मच्चाएर विदेशमा सम्पत्ति थन्क्याउने संस्कार नै बसाएका थिए। त्यस संस्कारबाट आधुनिक नेपालका शासकहरू पनि मुक्त हुन सकेनन्।

विदेशीलाई रिझाउने र स्वदेशीलाई कजाउने नेपालका शासकहरूको मूलमन्त्र नै बन्दै आएको छ। त्यसमा पनि कम्युनिष्टको नामलाई मात्रै अठ्याएर बसेका तर आफ्नो जात, धर्म र चरित्र गुमाइसकेका नेपालका कथित कम्युनिष्ट शासकहरूले त भ्रष्टाचारका चारै ढोका खुला गरेका छन्। दक्षिण एसियामा जति पनि कम्युनिष्टहरूका नाममा सत्तामा पुगे, तिनले भ्रष्टाचार गरेर देश–विदेशमा सम्पत्ति थुपार्ने काममा पुस्तौँपुस्ता शासन गर्दै आएका शासकहरूलाई पनि उछिनेको छ।

नेपालमा १२ बुँदेभन्दा पहिले पनि कम्युनिष्ट सत्तामा पुगेका थिए। १२ बुँदेपछि त राज्यसत्ताको केन्द्रविन्दु नै कम्युनिष्टहरू बन्दै आएका छन्। चाहे जनयुद्धका नाममा लुटेको सम्पत्ति होस् वा सत्तामा पुगेर जम्मा गरेको सम्पत्ति होस्। यतिबेला आफ्ना सबै पूर्ववर्ती शासक वर्गभन्दा कम्युनिष्ट शासक वर्गको ठाँटबाँट र रहनसहन सबै कुरामा उच्च छ। त्यसमाथि पनि दुई तिहाइको कम्युनिष्ट सरकार बनेपछि त भ्रष्टाचार बेरोकटोक चलिरहेको छ बरु भ्रष्टाचारको विरोध गर्नेहरूको जीउधन संकटमा पर्न थालेको छ। खुला भ्रष्टाचार गर्ने र त्यसको चर्को प्रतिरक्षामा उत्रने क्षमता कम्युनिष्ट नेताहरूमा जति अरू कसैमा पनि पाइँदैन। उदाहरणका रूपमा केही घटनालाई यहाँ उल्लेख गर्नु अप्रासंगिक हुने छैन।

पूर्ण बहुमतको सरकार बन्नासाथ स्वदेशी चिनी उद्योगहरूको संरक्षण गर्ने भनेर चिनीको आयातको कोटा घटाएर तोकियो। जसले गर्दा भारतीय सीमामा ५२ रुपैयाँमा पाउने चिनीलाई नेपालमा ७० देखि ९० रुपैयाँसम्ममा विक्री गरिँदै आएको छ। त्यसको चारैतर्फ विरोध भएपछि कम्युनिष्ट पार्टीकै ठूला नेताको संयोजकत्वमा एउटा आयोग बनेर त्यस आयोगले दिएको रिपोर्टलाई समेत थन्क्याएर अहिलेसम्म भारतीय चिनीलाई नेपाली चिनी उद्योगको छाप लागेको बोरामा हालेर बेचिँदै छ।

वर्षौंदेखि चल्दै आएको यातायातको सिन्डिकेट हटाउने ठूलो प्रचार गरियो। तर, एउटा मन्त्रीले हटाउने भन्ने र अर्को मन्त्रीले संरक्षण गर्ने जुहारी चल्यो तर सिन्डिकेट यथावत् छ। त्यस्तै समयमा काम पूरा नगर्ने ठेकेदारलाई कारवाही गर्ने हल्ला चलाइयो। जब त्यस्ता ठेकेदारहरूले रकम उठाएर पुर्‍याउँदै छन् भन्ने हल्ला चलेसँगै अहिले गुपचुप भएको छ। नेपाल एयरलाइन्सको वाइडबढी विमान किन्दा भ्रष्टाचार भएको कुरा निर्माण कम्पनीसँग सोझै खरिद नगरी एउटा दलाल कम्पनी खडा गरेर भनिएकोभन्दा कम भारवहन क्षमताका जहाज किन्नुले प्रस्ट हुन्छ। जब संसदीय समितिले भ्रष्टाचार भएको सार्वजनिक गरिसकेपछि अर्को छानबिन समिति बनाएर त्यसलाई ओझेल पार्ने काम भयो। त्यसले भ्रष्टाचारलाई प्रमाणित गरे पनि कारवाही नहुने कुरा प्रस्ट भएको छ।

यस्तै काठमाडौँबासीको तीन दशकदेखिको मेलम्चीको पानी खाने सपना काम सम्पन्न हुनै लाग्दा सरकारको तर्फबाट ठूलो कमिसनको माग गरिएकाले विदेशी ठेकेदार भागे। त्यसैले मेलम्ची खानेपानी अनिश्चित बन्न पुगेको कुरा सबैका सामु छ। यस्तो सरकारबाट संरक्षित र परिचालित भ्रष्टाचार व्याप्त भएको मुलुकमा कति लगानीकर्ता ढुक्क भएर लगानी गर्लान् भन्ने आशा गर्नु। त्यसैले सरकारले प्रचार गरेजस्तो यसबाट ठूलो आश गर्नु निरर्थक छ।

लोकप्रिय

राष्ट्रपति  बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री  एस जयशंकरबिच भेट

राष्ट्रपति बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेट

२०७६, ५ भाद्र बिहीबार १४:०८

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

२०७६, ६ भाद्र शुक्रबार १५:५४

प्रधानमन्त्री ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

प्रधानमन्त्री ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

२०७६, ५ भाद्र बिहीबार १४:५८

नयाँ बरियतामा नेपाल एक स्थान तल

नयाँ बरियतामा नेपाल एक स्थान तल

२०७६, ६ भाद्र शुक्रबार १५:२५

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

२०७६, ५ भाद्र बिहीबार १२:३४

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

२०७६, ६ भाद्र शुक्रबार १३:५६

नेपालमा यसरी खोल्न पाइन्छ हतियार कारखाना !

नेपालमा यसरी खोल्न पाइन्छ हतियार कारखाना !

२०७६, ६ भाद्र शुक्रबार १४:३७

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

२०७६, ५ भाद्र बिहीबार ०९:१०

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

२०७६, ५ भाद्र बिहीबार १२:२२

प्रधानमन्त्री ओलीले सिंगापुरबाट भिडियोमार्फत मन्त्रिपरिषद् बैठकको नेतृत्व गर्ने

प्रधानमन्त्री ओलीले सिंगापुरबाट भिडियोमार्फत मन्त्रिपरिषद् बैठकको नेतृत्व गर्ने

२०७६, ५ भाद्र बिहीबार १८:००

आयुष्मानको पारिश्रमिक ३ गुणाले बढ्यो

आयुष्मानको पारिश्रमिक ३ गुणाले बढ्यो

२०७६, ६ भाद्र शुक्रबार १३:१८

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

२०७६, ५ भाद्र बिहीबार १३:२२

मिना निरौलाको स्वरमा ‘तीज आयो’ सार्वजनिक

मिना निरौलाको स्वरमा ‘तीज आयो’ सार्वजनिक

२०७६, ५ भाद्र बिहीबार १५:५९

नेकपा नेतामा अनुशासनको कमीः प्रचण्ड

नेकपा नेतामा अनुशासनको कमीः प्रचण्ड

२०७६, ६ भाद्र शुक्रबार १४:२१

सभापति देउवाद्वारा गौरा पर्वको शुभकामना

सभापति देउवाद्वारा गौरा पर्वको शुभकामना

२०७६, ६ भाद्र शुक्रबार १४:४९