अनारसिंह कार्की

सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पत्रकारहरूलाई ‘आफ्नो धोती खुस्केको थाहा छैन, सरकारलाई ट्याँउ ट्याँउ’ भने भनेर सार्वजनिक भएको छ। सत्ता सञ्चालन गरिरहेको सरकारका एक मन्त्री पनि यति आक्रामक हुन सक्छन् भनेर अच्चम मान्नुभन्दा पनि भाषा प्रयोगको दरिद्रता र असभ्यता देख्दा जिब्रो काड्नुपर्ने हुन्छ। केवल यो भनाइ नै पहिलो होइन, खास गरेर वर्तमान प्रधानमन्त्री र सञ्चारमन्त्रीका आफ्ना विरोधी र आलोचकप्रतिको भनाइ यति रुखो, कर्कश र असभ्य हुन्छ कि कि त मारपिटमै उत्रनुपर्ने हुन्छ कि त उठेर हिँड्नुपर्ने हुन्छ।

सामान्यतः संसारभरि के प्रचलन छ भने जसले सत्ता सञ्चालनको नेतृत्व गरिरहेको छ, त्यो शालीन र विनम्र हुन्छ भने प्रतिपक्षमा बस्ने पार्टी र सत्ताबाहिर रहेका सञ्चारमाध्यम, नागरिक समाज, बुद्धिजीवीहरू चाहिँ सरकारका गलत कामका विरोधमा आक्रामक रूपले प्रस्तुत हुने गर्छन्। तर, हाम्रोमा त्यसको ठीक उल्टो सत्ताको सर्वोच्च स्थानका प्रधानमन्त्री लगायतका मन्त्रीहरू जतिबेला पनि कोहीसँग झगडा गर्ने मुडमा देखिन्छन्। किन यस्तो होला?

मनोविज्ञानले भन्छ– जो दुर्बल र भयभित छ, त्यो आक्रामक हुन्छ। अथवा आफ्नो दुर्बलता र भयलाई लुकाउन मानिस आक्रामक रूपले प्रस्तुत हुन्छ। भनिन्छ, अपराध बोधको मानसिकताले ग्रस्त मानिस आफ्नै छायाँसँग पनि डराउँछ। त्यस्तै भएको छ सरकारको नेतृत्व। नक्कली राष्ट्रवादको षडयन्त्रबाट जनतालाई ढाँटेर सत्तामा पुगेपछि तत्कालका सन्दर्भमा मृगमरिचिकाजस्ता लाग्ने ठूलाठूला केही सपना देखाउनुबाहेक एउटा पनि राम्रो काम गरेको देखाउन नसक्ने अवस्थाबाट गुज्रिरहेकाले होला, आफूबाहेक सबैलाई शत्रु देख्ने मनोविकारबाट सरकारमा बसेकाहरू ग्रस्त छन्।

पूर्णबहुमत प्राप्त एवम् हालको दुई तिहाइ संसदीय बहुमतको सरकार गठन भएको १५ महिना बित्न लाग्दाको अवस्था यस्तो छ। अहिलेसम्म सरकारले पूँजीगत खर्च ३० प्रतिशत पनि गर्न सकेको छैन भने व्यापार घाटा द्रुतगतिमा बढेको छ। भ्रष्टाचारका कुरा गर्ने हो भने देखादेखी भएका केही घटना यस्ता छन्– सरकार बनेकै केही दिनमा एउटा मोटर कम्पनीको डिलरले बेच्ने दामभन्दा प्रत्येक गाडीमा ६ देखि १२ लाख रुपैयाँसम्म बढी (ठगी) लिएको प्रमाणसहित पत्ता लाग्यो। अब कारवाही नगरी छोड्दिनँ भन्ने सम्बन्धित विभागका महानिर्देशकको सार्वजनिक रूपमा अभिव्यक्ति आयो। त्यसको केही दिनमै ती महानिर्देशकको सरुवा भयो। त्यसपछि त्यसको चर्चा त्यसै हराएर गयो। यसको कारण के हो?

तीजदेखि छठ पर्वसम्मको अवधि चिनीको सर्वाधिक बढी माग हुने समय हो। ठीक त्यही बेलामा भारतबाट आयात गर्ने चिनीको कोटा घटाइयो र भारतमा ५२ रुपैयाँमा विक्री भइरहेको चिनी नेपालमा ९० रुपैयाँसम्ममा बेचिँदै आएको देखिन्छ। त्यससम्बन्धी छानबिन गर्न पूर्वमन्त्री तथा नेकपाका नेता लेखराज भट्टको संयोजकत्वमा एउटा छानबिन समिति बन्यो र त्यस संसदीय समितिले भ्रष्टाचार भएको ठहर गरेर रिपोर्ट पेश गरेको कुरा संयोजकबाटै सार्वजनिक भएपछि त्यो रिपोर्टलाई बाहिर ल्याइएन र आजसम्म कुनै कारवाही भएन वा भएको छैन किन?

योभन्दा अघिल्लो सरकारसमेत संलग्न भएर वाइड बडी हवाईजहाज खरिद प्रक्रियामा निर्माता कम्पनीसँग सोझै खरिद नगरेर एउटा शंकास्पद दलाल कम्पनीबाट खरिद गर्नुको कारण के थियो र लोड क्षमता पनि पहिले भनेकोभन्दा कमको खरिद गर्नुको कारण के थियो? यसबारेमा संसदीय समितिले छानबिन गरी करिब ४ अर्ब रुपैयाँजति भ्रष्टाचार भएको भन्ने सार्वजनिक भएपछि त्यसलाई थन्क्याएर अर्को छानबिन समिति गठन गर्नुपर्ने कारण के हो?

झन्डै ३ दशकदेखिको मेलम्ची खानेपानी आयोजना सम्पन्न हुनै लाग्दा मन्त्रीले ठूलो कमिसनको माग गरेको भनाइ सार्वजनिक भएसँगै ठेकेदार काम छोडी भागेकाले मेलम्ची खानेपानी काठमाडौँमा आउने कुरो अनिश्चित बन्न पुगेको छ। यो के हो? हालै ट्रान्सपरेन्सी इन्टरनेशनलले प्रकाशित गरेको रिपोर्टमा दक्षिण एसियामा नेपाल तेस्रो र संसारभरमा १२४औँ स्थानमा रहेको छ। पूर्णबहुमतको कम्युनिष्ट सरकार बनेपछि थोरै भए पनि घट्नुपर्नेमा झन् किन बढ्यो?

पूर्णबहुमतको सरकार बनेपछिको यी १५ महिनामा महँगी व्यापक बढेको छ भने जघन्य अपराधहरू बढेका छन् र संविधान र कानूनको चारैतिरबाट उल्लङ्घन हुँदै गएकाले शान्तिसुरक्षाको अवस्था कमजोर बन्दै मात्रै होइन, दण्डहीनतासमेत बढेको छ। बहुमतको सरकार बनेपछि २ दशकदेखिको हत्या–हिंसा र संक्रमणकालीन अवस्थाबाट अब मुक्ति पाइन्छ भन्ने आशमा आम नेपाली थिए।

नेपालको राजनीतिमा यो गत १५ महिना सरकारका लागि कुनै बाधा र अवरोधको समय थिएन। प्रतिपक्ष मानसिक रूपमा पनि यति कमजोर भएको छ कि विरोधमा उत्रने मनोबल नै छैन। आफ्ना आन्तरिक विवाद र झगडाबाट बाहिर निस्कनै नसक्ने अवस्थाको प्रतिपक्षबाट मात्रै होइन, आफ्नो कमजोरी लुकाउन ठूलो हौवाका रूपमा खडा गरिएको नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका गतिविधि पनि आफ्नो अस्तित्वलाई जीवित राख्न गरिएका स–साना विस्फोटका घटनाभन्दा सरकारको कामकारवाहीलाई नै ठप्प पार्न सक्ने खालका छैनन्।

सरकारले यातायातमा रहेको सिन्डिकेट हटाउने कुरा गर्दा देशभरबाट यति व्यापक जनसमर्थन उर्लेर आयो कि यस्तो जनसमर्थन सरकारले दुर्लभ अवस्थामा मात्रै पाउने गर्छ। यस्तो दुर्लभ सुनौलो मौका पाउँदा पनि वर्तमान नेकपाको सरकार आफ्नै घोषणापत्र र बजेट भाषणमा प्रतिबद्धता गरेका कामहरू गर्नुको सट्टा माथि उल्लिखित प्रकारका भ्रष्टाचारहरूलाई लुकाउने, छिपाउने र विभिन्न आपराधिक घटनामा संलग्न भएर छानबिनमा परेका आफ्ना मानिसलाई छानबिन भइरहेकै अवस्थामा प्रधानमन्त्री नै त्यस्ताका पक्षमा उभिने गर्नाले अपराध र भ्रष्टाचार मौलाउने मौका पाउनु स्वाभाविक हो।

त्यस्तै नक्कली राष्ट्रवादको मुखुण्डो लगाएर आफूलाई छक्याएको कुरा जनताका अगाडि त्यतिबेला उदांग भयो, जब सरकारले अत्यन्त आपत्तिजनक राष्ट्रघाती नागरिकता विधेयक ल्यायो। आम जनताको धैर्यताको बाँध त्यतिबेला भत्कन थाल्यो, जब सरकारले देशको भूराजनीतिक स्थितिको उपेक्षा गरेर एउटा संसारभर विवादास्पद रहँदै आएको एसिया प्यासिफिक फेडेरेशन नामक इसाई धर्मसँग सम्बन्धित संस्थाको सहसंयोजक भएर संसद्को लोगोसहित सम्मेलन गराउने काम गर्न पुग्यो।

सत्तासीन पार्टीकै अर्का अध्यक्षले नेपालसँग सम्बन्ध नभएको भेनेजुएलाका बारेमा व्यक्तव्य दिएलगत्तै जसको विरुद्धमा वक्तव्य दिएका थिए, त्यही देश अमेरिकाले उनको श्रीमतीको उपचार गर्न उनीसहितलाई अमेरिका जान भिसा मात्रै दिएन, मानवअधिकार हननका अनेक आरोप लागेकालाई अभयदान दिने घोषणासमेत गर्‍यो। सरकारमा बसेका मानिसका यस्ता रहस्यमय कामले जनतामा राष्ट्र र राष्ट्रियताको चिन्ता हुनु स्वाभाविक हो।

कम्युनिष्टहरूको सबभन्दा विरोधी मानिएको अमेरिका किन नेपालका कम्युनिष्टप्रति यति उदार? किन अमेरिकी परराष्ट्रमन्त्रीले नेपालको कम्युनिष्ट सरकारका परराष्ट्रमन्त्रीलाई निम्ता गरेर इन्डो प्यासिफिक सुरक्षाको कुरा गर्दै छ? किन अमेरिकी सेनासँग नेपालका संवेदनशील भूभागमा संयुक्त अभ्यास गरिन्छ? आदि इत्यादि सरकारका कामकारवाहीको आम जनतामा राष्ट्रको अस्तित्वमाथि नै खतरामा पार्ने आशंका उब्जिएका कारण व्यापक असन्तुष्टि र विरोध पैदा भएको छ।

यसरी चारैतिरबाट असफल भएको, भ्रष्टाचारभित्र जेलिएको र भू–राजनीतिक स्थितिलाई उपेक्षा गरेर राष्ट्रियता र स्वतन्त्रतामाथि आँच आउन सक्ने शंकास्पद कामकारवाहीका कारण अत्यन्त अलोकप्रिय हुँदै गएको वर्तमान सरकार र त्यसको नेतृत्व विस्तारै सबैलाई शत्रु देख्ने मनोरोगको विकारबाट ग्रस्त हुँदै गएको छ। खासगरेर प्रधानमन्त्री ओली र सञ्चारमन्त्री बाँस्कोटा त मिगुयल सर्वान्टेराको प्रसिद्ध पुस्तक डन कुइजेटको मूल पात्र डन कुइजेट जसले मध्ययुगीन युरोपियन वीरगाथाका कथा पढेर यति विक्षिप्त भएको थियो कि आफूलाई वीरको प्रतीक ‘नाइट’मानेर अरू सबै अत्याचारी शत्रु हुन्, तीबाट संसारलाई मुक्त गर्ने काम मेरो हो भन्दै काल्पनिक शत्रुहरूसँग युद्ध गर्दै हिँड्ने गर्थ्याे। त्यस्तै हुन बेर छैन। अन्यथा सत्ताका आलोचकहरूप्रति किन यत्रो असहिष्णुता र आक्रोश?

एउटा स्वतन्त्र देशको कार्यकारी प्रमुख अथवा सर्वोच्च स्थानमा बसेपछि स्वाभाविक रूपमा विरोध, समर्थन र आलोचना हुन्छन्। आफ्नो पार्टीभित्रका आलोचक हुन् कि प्रतिपक्षका विरोधी र अन्य आलोचकहरू सबैको कुरा सुन्ने शालीनता र शिष्टताका साथ सबैलाई समेटेर आफ्नो पक्षमा पार्ने र सबैको सहयोग लिने काम सत्तामा बस्नेको हो। समाजमा सरकारका विरोधी मात्रै हुँदैनन्, कतिले त राम्रोसँग कुरा नबुझेर पनि सरकारको विरोध गरिरहेका हुन्छन्। त्यस्तालाई आफ्नो कुरा बुझाउने काम पनि सरकारमा बस्नेकै हो।

हाम्रोजस्तो असमानता, अभाव र गरिबी बाहुल्य भएको समाजमा जनताका अनगिन्ती आवश्यकता पूरा गर्न नसकेर जनता पीडित हुन्छन्। त्यस्ता जनताले सरकारसँग अपेक्षा गर्नु र त्यस्तो अपेक्षा पूरा नहुँदा विरोध गर्नु पनि स्वाभाविक हो। ती सबैलाई शत्रु मानेर आक्रोशित हुने र सधैँ आक्रामक हुनुलाई सन्तुलित व्यवहार मान्न सकिँदैन।

वर्तमान सरकारले दर्तै नभएको पार्टीलाई प्रतिबन्धित घोषणा गर्नु हिंसात्मक घटनामा संलग्नै नभएका त्यसका समर्थकहरूलाई आस्थाकै आधारमा धरपकड गर्नु भनेको १०१७ सालमा राजा महेन्द्रले गरेको भन्दा के फरक छ? विप्लवप्रति आस्था राखेका बाहेक रूपन्देहीका अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष रामजी आचार्य, मोरङका इञ्चार्ज कृष्णकुमार श्रेष्ठ, रामेछापका इञ्चार्ज लगायतका विप्लवका नेता–कार्यकर्ता कुन विस्फोटका घटनामा संलग्न भएकाले पक्राउ परेका हुन्? प्रस्ट पार्नुपर्छ कि पर्दैन? नपार्नुपर्ने हो भने पञ्चायतभन्दा के फरक त?

स्वयं प्रधानमन्त्री ओली अहिले कमल थापामाथि खनिन्छन् भने कहिले पूर्वराजा ज्ञानेन्द्रले देशभित्रका विभिन्न भागमा घुमेकोमा उनलाई आपत्ति छ र हिँड्डुल गर्न प्रतिबन्ध लगाइदिन्छु भन्ने धम्की दिन्छन्। विनाहातहतियार देशका विभिन्न भागमा जान आउन पाउने संवैधानिक अधिकारमाथि कसरी प्रतिबन्ध लगाउँछन् उनले? शान्तिपूर्ण रूपले संगठित भएर आफ्नो विचार जनतासँग राख्न पाउने र देशका कुनै पनि भू–भागमा निर्वाध हिँड्डुल गर्न पाउने अधिकार खोस्छु भन्दा पनि नबोल्ने प्रतिपक्ष, कथित बुद्धिजीवी र नागरिक समाज लगायतलाई के भन्ने? आफ्नो अकर्मन्यता र अपराध बोधका कारण प्रधानमन्त्री ओलीको सरकार यति भयभित र त्रसित छ कि विप्लव, थापा, पूर्वराजा सबैबाट डराएकाले आक्रामक भएको छ।

लोकप्रिय

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

२०७६, ३० भाद्र सोमबार १७:२१

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

२०७६, २९ भाद्र आईतवार १७:४०

अमेरिका–उत्तर कोरिया वार्ता तत्कालै सम्भवत नहुने

अमेरिका–उत्तर कोरिया वार्ता तत्कालै सम्भवत नहुने

२०७६, ३१ भाद्र मंगलवार १७:३०

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

जहाज कुराउँछन् नेता

जहाज कुराउँछन् नेता

२०७६, ३० भाद्र सोमबार १०:००

ईपीएलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल ‘डी स्पोर्ट्स’मा

ईपीएलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल ‘डी स्पोर्ट्स’मा

२०७६, ३१ भाद्र मंगलवार १६:००

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

२०७६, ३१ भाद्र मंगलवार १२:०४

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

२०७६, ३० भाद्र सोमबार १०:४३

हतियारधारी समूहद्धारा एक वृद्ध दम्पती लुटिए।

हतियारधारी समूहद्धारा एक वृद्ध दम्पती लुटिए।

२०७६, ३० भाद्र सोमबार १८:१५

किन तुहिन्छ गर्भ : यसलाई राेकथाम गर्न निम्न विषयमा ध्यान दिनुपर्छ

किन तुहिन्छ गर्भ : यसलाई राेकथाम गर्न निम्न विषयमा ध्यान…

२०७६, ३० भाद्र सोमबार १७:३४

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

२०७६, ३१ भाद्र मंगलवार ०९:२१

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

जलाउदै गरिएकोे शव प्रहरी नियन्त्रणमा

जलाउदै गरिएकोे शव प्रहरी नियन्त्रणमा

२०७६, ३० भाद्र सोमबार १७:४७

१ करोड भन्दा बढीको लागतमा सिसीटिभी जडान

१ करोड भन्दा बढीको लागतमा सिसीटिभी जडान

२०७६, ३० भाद्र सोमबार १७:३१

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ टिमले गर्याे रंगशाला निर्माणमा सहयोग

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ टिमले गर्याे रंगशाला निर्माणमा सहयोग

२०७६, ३१ भाद्र मंगलवार १४:०७