वीरगञ्ज – डाक्टर बन्न लागेको केटा। आर्थिक रूपमा सबल परिवार। यत्तिको घरमा दिँदा त छोरीले सुख नै पाउँछे भनेर सुनीताकोे परिवारले उनको विवाह सचितानन्दसँगै गरिदिने निर्णय गर्‍यो।

सुनीता आईएस्सी पढेकी एक अब्बल छात्रा। बाबु कमल यादव गाउँका हुनेखाने जमिन्दार। काका रामानन्द यादव, पञ्चायतकालका वनमन्त्री। दाइ जयप्रकाश र मोहन यादव विभिन्न दलका नेता। यत्तिको परिवारसँग साइनो जोड्न पाउँदा सचितानन्दको परिवार पनि पछि हट्ने कुरै भएन।

केटाको परिवारलाई केटीको परिवार मन पर्‍यो भने केटीको परिवारलाई केटाको। तर, केटालाई केटी वा केटीलाई केटा मन पर्‍यो कि परेन सायद न कसैले सोध्यो न सोच्यो। दाइजोका विषयमा भने राम्रै मोलमोलाइ भयो।

१२ लाख ५० हजार नगद, २ लाख ५० हजारका गरगहनासहित दराज, पलङलगायत खत्र्याकखुत्रुक दाइजोमा कुरा मिलेपछि लगन जुराएर छेका (टीकाटालो) गरियो। टीकाटालो गरेर सचितानन्द रसियातिर लागे एमबीबीएस गर्न। त्यसको ४ वर्षपछि उनीहरूको विवाह भयो, विसं २०५९ फागुन ९ गते।

सचितानन्द पढाइ सकेर फर्किए। पर्साकै हरपतगञ्ज मूल घर भएका उनको वीरगञ्ज आदर्शनगरमा पनि घर छ। सचितानन्द र सुनीता त्यही घरमा बस्न थाले। सचितानन्द निजी क्लिनिकहरूमा काम गर्थे, सुनीता घरगृहस्थी सम्हाल्थिन्। सचितानन्द रसियाबाट फर्किएपछिको ४–५ महिना यसरी नै कट्यो।

सचितानन्दले सुनीतासँग एक दिन अचानक यस्तो कुरा गरे जसले सुनीतालाई अचम्मित बनायो। उनले सुनीतालाई एउटा मारुती कार र वीरगञ्जमा घर किनिदिनका लागि आफ्नो माइतीमा कुरा गर्न भने। सचितानन्द एउटा निजी क्लिनिक खोल्न चाहन्थे।

क्लिनिक चलाउनका लागि चाहिने घर ससुरालीले किनिदिनुपर्ने उनको इच्छा थियो। आफ्नो पतिको यस्तो इच्छा सुनेर सुनीता अकमक्क परिन। केही बोल्न सकिनन्। त्यसको केही दिनपछि उनी माइती गइन्।

बुवासँग सचितानन्दले भनेका कुरा अप्ठ्यारो गरेर सुनाइन् छोरी सुनीताले। छोरीको कुरा सुनेर कमल पनि अकमकिए। विवाह गर्दा नै खेत बेचेर अनि ऋण लिएर गराएकाले फेरि त्यति खर्च गर्न नसकिने जवाफ दिए उनले छोरीलाई। बुवाको जवाफ बोकेर उनी घर फर्किइन् अनि जस्ताको त्यस्तै सचितानन्दलाई सुनाइन्।

त्यसै दिनदेखि सचितानन्दले सुनीतासँग गर्ने व्यवहारमा परिवर्तन देखिन थाल्यो। सानो–सानो कुरनमा पनि उनी झर्किन र रिसाउन थाले। गाली गर्न थाले। बारम्बार घर, गाडी किनिदिन दबाब दिइरहन्थे। त्यो दबाब बिसाउन कहिले सुनीता माइती पुग्थिन् भने कहिले आफैँभित्र दबाएर राख्थिन्। कहिले प्रतिकार पनि गर्थिन्। सिलसिला जारी थियो।

बारम्बार दबाब दिँदा पनि ससुरालीबाट घर तथा गाडी नकिनिदिएपछि सचितानन्दले सुनीतालाई उनको हरपतगञ्जस्थित घर गएर बस्न भने। आफ्ना बाबुआमा बुढा भएकाले उनीहरूको स्याहारसुुसार गर्न र घरबार सम्हाल्न भनी उनले सुनीतालाई त्यहाँ पठाए।

बाबुआमाको स्याहारका लागि भने पनि घर र गाडी नकिनिदिएको रिसमा सचितानन्दले सुनीतालाई आफूसँग नराख्न खोजेका थिए। यसले ससुरालीमा अझै दबाब पर्छ भन्ने मानसिकताले काम गरेको पनि हुनसक्छ। जे होस्, सुनीता अब श्रीमान्सँग छुट्टिएरै बस्नुपर्ने भयो।

सुनीतालाई आफ्ना श्रीमान्सँग छुट्टिएर बस्न भने पटक्कै मन थिएन। श्रीमान्ले राख्न नचाहेपछि उनी केही गर्नसक्ने अवस्थामा पनि थिइनन्। उनी चुपचाप हरपतगञ्ज गइन्। सासुससुराको स्याहारसुसार, गोठ–भान्छाको काम लगायतमा उनको दिन बित्न थाल्यो।

क्षमताले भ्याएसम्म परिवार खुसी राख्ने प्रयास गर्थिन् उनी। तर, सचितानन्दको परिवार सुनीताबाट खुसी भने थिएन। सुनीता सासु–ससुराबाट सधैँजसो गाली खान्थिन्। अपमानित हुन्थिन्। पिटाइ खान्थिन्। अपहेलित हुन्थिन्।

सचितानन्द पनि कहिलेकाहीँ हरपतगञ्ज आउँथे। घर आउँदा उनी सुनीतासँग खासै बोल्थेनन्। बरु कुटपिट गर्थे। माइतीबाट घर र गाडी नल्याएको भन्दै उनलाई शारीरिक र मानसिक यातना दिन्थे। यहाँसम्म कि सुनीतासँग सुत्दैनथे पनि। आफू पलङमा सुतेर सुनीतालाई भुइँमा सुताउथेँ। जब कि त्यो पलङ सुनीताकै माइतीबाट दाइजो स्वरूप आएको थियो।

नचाहँदा–नचाहँदै सुनीता हरपतगञ्ज गएको करिब ३ वर्ष भइसकेको थियो। श्रीमान्को हेलाभाव अनि सासु–ससुराको दुव्र्यवहार सहेरै उनले यतिका समय कटाइन्। कुनै न कुनै दिन श्रीमान्को मन फर्किएला भन्ने आशा बुनेर बसिरहिन्। तर, २०६२ मा सुनीतामाथि ठूलै आक्रमण भयो, आफ्नै श्रीमान् र उनको परिवारबाट।

बेस्सरी कुटिइन् उनी, २०६२ जेठ २१ गते। मट्टीतेल छर्किएर मार्नेसम्मको प्रयास गरियो। २०६२ असार २ गते जिल्ला प्रशासन कार्यालय पर्सामा सचितानन्द र उनको परिवारविरुद्ध दिइएको निवेदनमा यी कुराहरू उल्लेख छन्।

अत्याचारले सीमा नाघेपछि उनी न्याय खोज्न प्रशासन गुहार्न पुगेकी थिइन्, माइतीको सहयोगमा। जीउज्यानको सुरक्षा र अंश माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दिएकी थिइन्, सुनीताले।

त्यहाँबाट उनले न्याय पाइनन्, आश्वासनमात्र पाइन्। अबदेखि सुनीतालाई यातना नदिने, थप दाइजो नमाग्नेजस्ता बुँदाहरू उल्लेख गरेर सहमति गराइयो। यो सहमति जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन सुब्बा शिवशंकर पटेलको रोहवरमा भएको थियो। त्यसपछि सुनीता हरपतगञ्ज गइन्। सचितानन्द वीरगञ्जस्थित घरमै बसिरहे।

सायद यति भएपछि आफूमाथि फेरि दुव्र्यवहार होला भनेर सुनीताले सोचेकी थिइनन् होला। त्यसैले उनी पुरानै दिनचर्यामा फर्किइन्। चुल्होचौका अनि सासुससुराको स्याहार सुसारमा। घरको लगभग सबै काम उनैले भ्याउँथिन्।

तर, फेरि सानोतिनो गल्तीमा पनि कुटपिट हुन थाल्यो। उनले घरमा दुई छाक खानुबाहेक अरू केही पाउँदैन थिइन् नै, अब त लगाउने लुगादेखि दाँत माझ्ने मञ्जनसम्म माइतीबाटै मगाउनुपर्ने भयो सुनीताले। उनी एक्लिइन् त्यसपछि। जिल्ला प्रशासनसम्म पुर्‍याएको बदला लिन थाल्यो सचितानन्दको परिवारले।

आफ्नै श्रीमानकाे घरमा नोकर सरहको जीवन बिताउन बाध्य भइन् सुनीता। विभिन्न यातना र दुव्र्यहार सहँदै घर सम्हाल्थिन्, बधुवा मजदुरसरह उनी।

सचितानन्द वीरगञ्जमा, सुनीता हरपतगञ्जमा। श्रीमान्–श्रीमती सँगै नबसेको, एउटै खाटमा नसुतेको ४ वर्ष पुग्दै थियो। श्रीमान्को घरको छाना, दुई छाक खाना, एक थान ओड्ने–ओछ्याउने र एउटा सिरानीको भरमा जीवन जिउँदै थिइन् उनी, कुनै दिन श्रीमान्को माया र साथ पाउने आशा लिएर।

विसं २०६३ मा सुनीताको आशामाथि ठूलै वज्रपात पर्‍यो, सचितानन्दले अर्को विवाह गरे। भारत जोगबलियाकी एक युवतीसँग। सचितानन्दले दोस्री श्रीमती दुई वर्षसम्म भारततिरै लुकाएर राखे। पछि ल्याएर वीरगञ्जस्थित घरमा राख्न थालेपछि मात्र सुनीता र उनको माइतीले चाल पायो।

तर, उनीहरू केही बोलेनन्। ढिलै भए पनि श्रीमान्को माया पाइएला भन्ने सुनीताको आशाको झीनो त्यान्द्रो पनि चुँडिएर गयो।

आफन्तको साथ छैन। श्रीमान्को गाथ छैन। न त व्यथा पोख्ने ठाउँ नै। त्यसमाथि परिवारले दिने चरम् यातना। भित्रभित्रै गुम्सिएकी थिइन् सुनीता। मनमा अनेकथरि कुरा खेलाउँथिन्। दिमागमा आउने नानाथरि विचारसँग लड्थिन्। डिप्रेसनमा पुगिसकेकी थिइन् उनी।

सचितानन्द र उनका परिवारले पनि सुनीताको मानसिक अवस्था ठीक थिएन भन्छन्। तर, उनीहरूले भनेजस्तो विवाहअघि नै उनको यही मानसिक अवस्था थियो भन्नेचाहिँ होइन।

दाइजोको निहुँमा बारम्बार कुटिएपछि, अनेक खालका लाञ्छना खेपेपछि, आफूमाथि सौता लागेपछि, धेरैपटक पानीले पेट भरेर बस्नु परेपछि उनी विस्तारै मानसिक रूपमा कमजोर बन्दै गइन्, मानसिक रूपमा विक्षिप्त भइन्।

‘विवाह गरेर गएकी छोरी माइतमा आएर बस्दा नाक काटिन्छ,’ सिङ्गो नेपाली समाजमा नै स्थापित यो मान्यताले मधेसी समुदायमा विशेष जरा गाडेको छ। सुनीताको मृत्युको कारणमध्ये एक यही मान्यता पनि हो।

सुनीतामाथि वर्षौंदेखि अत्याचार भइरहेको कुरा उनका माइतीलाई पनि राम्ररी थाहा थियो। विसं २०६२ मा सुनीताले छोडपत्र माग्दै प्रशासनको शरणमा पुग्दा मिलापत्र गराउने मध्येको एक उनका आफ्नै दाइ पनि थिए। जे भए पनि विवाह गरेर गएकी चेलीले आफ्नो श्रीमान्को घर छाड्नु हुँदैन भन्ने मानसिकताले अभिप्रेरित भएर उनले यो कदम उठाएको देखिन्छ।

त्यसपछि पनि सुनीताको अवस्थाबारे उनको माइती पक्ष अनभिज्ञ रहेको देखिँदैन। धेरै कुरा सुनीताले आफूभित्रै दबाएर राखे पनि उनले भोगिरहेको पीडा लुकाएर लुक्ने खालको थिएन। तर, माइतीको नाक जोगाउनका लागि सम्झौता गर्दागर्दै सुनीताले आफ्नो प्राण भने जोगाउन सकिनन्। सुनीताको मृत्युपछि उनका मामा नागेन्द्र यादवले भनेका थिए, ‘इज्जत जोगाउनका लागि पनि परिवार चुप थियो।’

सञ्चारमाध्यममा १० गते भनिए पनि सुनीतामाथि ६ गते नै कुटपिट भएको थियो। श्रीमान् र उनका परिवारको हातबाट पिटाइ खानु सुनीताका लागि नयाँ कुरा थिएन। स–सानो कुरामा नै पिटिइन्थिन् उनी।

त्यस दिन भने सुनीतामाथि सामान्य कुटपिट मात्र भएन। श्रीमान्, सासु आशादेवी, ससुरा नागेन्द्र यादव, देवर अचितानन्द लगायतले मरणासन्न हुनेगरी कुटपिट गरेका थिए। आइरन, तातो फलाम लगायतले डामेको पनि बताइन्छ।

घटना भएको पर्सिपल्ट सचितानन्दका बुवा नागेन्द्रले सुनीताको दाजु मनोहरलाई फोन गरे। लडेर सुनीता घाइते भएको भन्दै लिएर जान भने। ८ गते मनोहर लिन सुनीता ८ अचेत अवस्थामा थिइन्। उनले सुनीतालाई त्यहाँबाट लिएर गए। मनोहरले बहिनीलाई अस्पतालको सट्टा घर नै लगे। त्यहाँ उनको अवस्था झन्झन् बिग्रँदै गयो।

सुनीताका मामा नागेन्द्र लगायतका आफन्त त्यहाँ पुगेपछि मात्र उनलाई अस्पताल लैजाने निधो भयो। मामाले एम्बुलेन्स बोलाएर नारायणी अस्पताल पु¥याउँदा रातको ८ बजिसकेको थियो। नारायणी अस्पतालमा उपचार सम्भव नभएपछि तत्काल रिफर गरेर गण्डक हस्पिटल लगियो। त्यहाँ उनलाई करिब २४ घण्टा राखेर काठमाडौँ शिक्षण अस्पतालमा ल्याइयो।

यसबीच सुनीताको माइती पक्षले प्रहरीमा सचितानन्द र उनका परिवारविरुद्ध जाहेरी दिइसकेको थियो। प्रहरीले सचितानन्दलाई पक्राउ पनि गर्‍यो। उनलाई हिरासतको सट्टा अस्पतालमा राखियो। स्वास्थ्य अवस्था बिग्रिएको भन्दै चिकित्सककै रिपोर्ट आएपछि कानूनतः बाध्य भएर प्रहरीले सचितानन्दलाई अस्पतालमा राखेको थियो।

चैत १५ गते साँझ ५ बजे शिक्षण अस्पतालमा उपचाररत सुनीताले प्राण त्यागिन्। लगत्तै प्रहरीले सचितानन्दलाई अस्पतालबाटै प्रहरी हिरासतमा लियो। प्रहरीले सचितानन्दका आमा, बुवा र भाइलाई खोजिरहेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी रेवती ढकालका अनुसार उनीहरू अहिले फरार छन्। उनीहरू वीरगञ्जको सीमावर्ती सहर रक्सौलको आदापुर थानानजिक भवानीपुर भन्ने गाउँमा लुकेर बसेको जानकारी नेपाली पब्लिकलाई प्राप्त भएको छ।

यता सुनीताको परिवार भने अधिकारकर्मीहरूको साथमा न्यायको लडाइँ लड्न मैदानमा उत्रिएको छ। सुनीताको पोस्टमार्टम रिपोर्टबाट मृत्युको कारण खुल्न नसकेपछि रगत जाँचका लागि पठाइएको छ। सम्भवतः वैशाख २ गते आउने रगतको रिपोर्टबाट थप कुरा खुल्नेछन्।

सुरज खनाल सुरज खनाल
नेपाली पब्लिकका कार्यकारी सम्पादक हुन्।

लोकप्रिय

सप्तकोशीमा पानीको बहाव उतारचढाव

सप्तकोशीमा पानीको बहाव उतारचढाव

२०७६, ३० असार सोमबार १८:३९

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

२०७६, ३१ असार मंगलवार १९:२२

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

२०७६, ३० असार सोमबार १३:२५

चिकित्सक सुरक्षा माग्दै धनगढीमा

चिकित्सक सुरक्षा माग्दै धनगढीमा

२०७६, ३० असार सोमबार १६:३३

साउन १ देखि प्यान अनिवार्य, १ हजारभन्दा माथिको पारिश्रमिक नगदमा नपाइने

साउन १ देखि प्यान अनिवार्य, १ हजारभन्दा माथिको पारिश्रमिक नगदमा…

२०७६, ३१ असार मंगलवार १९:३८

शान्तिश्री परियारको आवाजमा अर्को गीत सार्वजनिक

शान्तिश्री परियारको आवाजमा अर्को गीत सार्वजनिक

२०७६, ३१ असार मंगलवार १४:२७

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

२०७६, ३० असार सोमबार १९:४२

१३औँ इक्यान मेला: वर्षाका कारण न्यून सहभागिता

१३औँ इक्यान मेला: वर्षाका कारण न्यून सहभागिता

२०७६, ३० असार सोमबार १४:११

सुदूरपश्चिम सरकारले किन्यो ३० करोडका गाडी

सुदूरपश्चिम सरकारले किन्यो ३० करोडका गाडी

२०७६, १ श्रावण बुधबार १६:५७

शितल शर्माको तीजगीत ‘चौतारी’ बजारमा

शितल शर्माको तीजगीत ‘चौतारी’ बजारमा

२०७६, १ श्रावण बुधबार ०९:२६

धादिङ : राजधानीबाट कति नै टाढा छ र?

धादिङ : राजधानीबाट कति नै टाढा छ र?

२०७६, ३१ असार मंगलवार १९:३०

चन्द्रागिरिलाई २० लाख जरिवाना, सञ्चालन गर्न नपाउने

चन्द्रागिरिलाई २० लाख जरिवाना, सञ्चालन गर्न नपाउने

२०७६, १ श्रावण बुधबार ०८:३९

पशुपति विकास कोषका निम्ति बोझ बनेको सञ्चालक परिषद् र कर्मचारी

पशुपति विकास कोषका निम्ति बोझ बनेको सञ्चालक परिषद् र कर्मचारी

२०७६, ३० असार सोमबार १८:०९

भारतको चन्द्रयान–२ उड्नु एक घण्टाअघि स्थगन

भारतको चन्द्रयान–२ उड्नु एक घण्टाअघि स्थगन

२०७६, ३० असार सोमबार १३:४४

प्रतिबन्धपछि पहिलोपटक सरकार र नेकपा विप्लवबीच वार्ता

प्रतिबन्धपछि पहिलोपटक सरकार र नेकपा विप्लवबीच वार्ता

२०७६, ३१ असार मंगलवार ०६:२५