नेपाली र अङ्ग्रेजी भाषाका माध्यमबाट साहित्य, समालोचना तथा अनुवाद कार्यमा विशिष्ट योगदान पुर्‍याउँदै आएका गम्भीर अध्येता महेश पौडेल कवि, गीतकार, कथाकार र समालोचकका रूपमा नेपाली पाठकमाझ सुपरिचित छन्। त्रिभुवन विश्वविद्यालको अङ्ग्रेजी विभागमा लामो समयदेखि प्राध्यापनमा संलग्न पौडेलका आख्यान र कविता विधामा गरी सिर्जनाका चार र एउटा समालोचना कृति अङ्ग्रेजीमा प्रकाशित छन्। उनका कृतिहरू ‘अनामिक यात्री’ (२०६७) र ‘त्यसपछि फुलेन गोदाबरी’ (२०७४) दुई कथासङ्ग्रह, ‘तादी किनारको गीत’ (२०७१) उपन्यास तथा ‘शून्य प्रहरको साक्षी’ (२०७५) कवितासङ्ग्रह हुन्। उनका सिर्जना र समालोचनाका विषयमा केन्द्रित रहेर नेपाली पब्लिकका लागि डा. गीता त्रिपाठीले गरेको कुराकानी:

‘शून्य प्रहरको साक्षी’भित्रका कविता रचनामा तपाईंको समालोचकीय मुख्य मान्यता के हो?

–अनुभूति त आइरहन्छन्। तर, ती अनुभूतिमा विचारको झिल्को नहुन सक्छ। दर्शनको टेको नहुन सक्छ। नवीन कुनै कथ्यको पुट नहुन सक्छ अथवा अरूको अनुभूतिसँग मिल्न सक्छ। अथवा, शैलीको कुनै नयाँ प्रक्षेपण नभेटिन सक्छ। त्यसैले कुनै अनुभूति आइसक्दा अथवा घटना–परिघटनाका बारेमा सुनिसक्दा वा देखिसक्दा म कविता लेख्दिनँ। जबसम्म अनुभूतिले कुनै नवीन कथ्यको आधार भेट्दैन अथवा दर्शनको टेको पाउँदैन, तबसम्म म कविता लेख्दिनँ। कसैकसैले शैलीको नवीनताबाट अनि निजत्वको दाबी गर्छन्। म त्यसको त्यति ठूलो हिमायती होइनँ।

तपाईंको कथामा जीवनको सर्वोच्चता भेटिने र कवितामा पनि जीवनको सौन्दर्य अनभूत हुने हुन्छ, यो बहुमुखी लेखन र दृष्टिकोणबीच कस्तो सम्बन्ध बनाइरहनुभएको छ?

–रचनामा म आफू हुँ। समालोचनामा म अरूको अधिवक्ता वा व्याख्याता हुँ। मान्छे आफैँ हुनुमा जति खुल्छ, कसैको अधिवक्ता वा व्याख्याता हुनुमा खुल्दैन। त्यसैले, मेरो दूरगामी परिचय मेरो सिर्जना नै हो भन्ने लाग्छ। समालोचनाचाहिँ मेरो कर्तव्य हो। समयले मलाई दिएको एउटा जिम्मेवारी हो। जहाँसम्म विधागत लेखनबीचको सम्बन्धको कुरा छ, म विविध विधा सँगसँगै लेखिरहेको हुन्छु।

कस्तो कुरा वा अनुभूति मनमा उठ्छ, त्यसको प्रकृतिले आफ्नो विधा आफै माग्छ। कथा बनाइनुपर्ने कुरा कविता बन्दैन। गीत बनाइनुपर्ने कुरा कथा बन्दैन। कथा लेखिरहँदा बीचबीचमा कविताजस्ता झिल्का आउँछन्, कवितातिर लाग्छु। गीतका हरफजस्तो केही आउँछ, गीत लेख्छु। कविता लेख्दालेख्दै तर्क गर्नुपर्ने कुनै कुरा मनमा आउँछ, सैद्धान्तिक समालोचनातिर लाग्छु। यस्तै ढुल्मुले छु। छरिएको छु।

तपाईंले नेपाली समाजको भोगाइ र अङ्ग्रेजी साहित्यको पठन संस्कृतिले आफ्नो रचनाकारितामा के कस्तो सकारात्मक नकारात्मक प्रभाव परेको पाउनुहुन्छ?

–लेख्ने त आफ्नै समाजको भोगाइ हो। मलाई नेपाली समाजको यथार्थले लेखनका विषय दिएको छ, अनूभूति दिएको छ। अङ्ग्रेजी साहित्यको विद्यार्थी भएका कारण मलाई समालोचना र सिर्जनाका वैश्विक सिद्धान्त अङ्ग्रेजी मूलमै पढ्ने अवसर प्राप्त भयो। विश्व साहत्यको परिवेश के कस्तो छ, त्यो पनि धेरथोर बुझ्न पाएँ। यसबाट मैले पुनरावृत्ति दोषबाट बच्ने बाटो फेला पारेको छु। अर्को कुरा, सीधै अङ्ग्रेजी साहित्यसँग साक्षात्कार गर्ने मौकाले म कलिलै उमेरमा रवीन्द्रनाथ ठाकुर, ओस्कर वाइल्ड, भर्जिनिया वुल्फ, आन्तोन चेखभ आदि लेखकबाट मज्जाले प्रभावित भएँ। मेरा कथामा यिनको यथेष्ट प्रभाव छ, विशेषगरी भाषा र शैलीमा। त्यसैले, निजी अनुभूति र वैश्विक सिद्धान्त दुवैसँग धेरथोर निकट रहँदा ममा सकारात्मक प्रभाव नै परेको छ।

विश्वविद्यालयमा तयार पारेका नयाँ पुस्ताको साहित्यतिरको आकर्षण, अभिरुचि र लेखन प्रक्रियासम्बन्धी तपाईंको अनुभव के कस्तो छ?

–हामी साहित्य विभागमा पढाउँछौँ। ठूलो सङ्ख्यामा विद्यार्थी भर्ना हुन्छन्। तर, उत्तीर्ण भएपछि हराउँछन्। भाषा साहित्यको मैदानमा भेटिँदैनन्। सिर्जना वा समालोचनाको क्षेत्रमा अत्यन्त थोरै आउँछन्। हामीले विगत केही वर्षदेखि अङ्ग्रेजी विभागभित्रै नेपाली साहित्यका स्रष्टा बोलाउने र विविध पक्षमा कार्यक्रम गर्ने क्रम चलायौँ। यसको एउटा प्रत्यक्ष प्रभाव के छ भने, विद्यार्थीले स्रष्टासँगै उठबस गर्न, भेटघाट गर्न पाएपछि परिचय बन्दो रहेछ, सञ्जाल बन्दो रहेछ। त्यसबाट उनीहरू साहित्यमा लाग्दा रहेछन्।

पछिल्लो दशकमा हाम्रा थुप्रै विद्यार्थी लेखनमा आएको मैले देखेको छु। अविनाश भट्टराई, प्रज्ज्वल अधिकारी, अनुप जोशी, स्वर्णीम लम्साल, निर्जला अधिकारी, प्रकाश धामी, सुवास अधिकारी, विनोद सुवेदी, क्षितिज चैरेल, शिरीश आदि नाम सम्झन्छु। यसबाट मैले के बुझेको छु भने पाठ्यक्रम मात्रै पढाएर नहुने रहेछ। विश्वविद्यालयमा विद्यार्थीलाई साहित्य सिर्जना, समालोचना र छलफलमा सहभागी गराउने र उनीहरूका रचना प्रकाशित गरेर प्रोत्साहन गर्‍यो भने सर्जकको नयाँ पुस्ता जन्मने रहेछ। नत्र, यतातिर आउने विद्यार्थीको सङ्ख्या न्यून हुने रहेछ।

आज नेपाली साहित्यमा लेख्न छुटेका खास विषय वा कथ्य के के होलान् भन्ने तपाईंलाई लाग्छ?

–हामीले त हाम्रा कुरा लेखेकै छैनौँ। दोस्रो विश्वयुद्धपछिको हाम्रो साहित्यमा वैश्विक विषयको बढी प्रभाव छ। फलस्वरूप अस्तित्ववाद, आधुनिकतावाद, विसङ्गतिवाद र उत्तरआधुनिकतावाद आदि आयातित सिद्धान्तका आधारमा धेरै लेखियो। यसैगरी उतैबाट आयातित माक्र्सवादलाई मूल भँगालो बनायौँ। नेपाली दर्शन, मिथक र लघु इतिहासलाई लेखनको मूल आधार बनाउनै बाँकी छ।

हाम्रो शैलीको समाजवाद, नारीवाद, प्रकृतिवाद, हाम्रो विशिष्ट सांस्कृतिक आधुनिकतावाद, हाम्रा लोक अनुभव, अनुभूति र साझा अवचेतनको जग अझै पनि हाम्रो केन्द्रीय लेखनको आधार बनेको छैन। अमेरिकामा सन् १९२० को दशकतिर हार्लेम पुनःजागरण भन्ने एउटा आन्दोलन चलाए कालाहरूले। त्यो छोटो आन्दोलनको जगमा विशाल साहित्य भण्डार खडा भयो। हामीकहाँ यत्रो विशाल जनआन्दोलन भयो, जनयुद्ध पनि भयो, ग्रन्थ आकारका ५० वटा पुस्तक पनि आएनन्। हामी समयलाई पनि समाउन सकिरहेका छैनौँ। सारमा, नेपाली साहित्यको मूल प्रभाव नेपालको अन्तर्यतिर फर्कन बाँकी नै छ।

साहित्यमा मिथक प्रयोगको आवश्यकता र सीमा के कति हो? यसले तयार पार्ने विम्बले आजको समाजलाई पुनर्व्याख्या गरेको पाउनुहुन्छ?

–म त मिथकको हिमायती नै हुँ। साहित्यमा मिथकको स्थान केन्द्रीय हुन्छ। हामी पश्चिमा साहित्य हेरौँ। त्यसको जग तीनवटा चिन्तनमा टिकेको छ– ग्रिक मिथक, इसाई मिथक र मार्क्सवाद, जसलाई समालोचक जर्ज स्टेनरले ‘मानवीय अवस्थितिको मिथक’ नै मानेका छन्। मिथकको यो जग हटाइदिनु हो भने पश्चिमा साहित्यमा के रहन्छ? मिथकले एउटा सभ्यताको आदिम चिन्तनको परिचय दिन्छ, विश्वदृष्टि चिनाउँछ, मानवीय सम्बन्धको आधार बताउँछ। मिथक प्रतीकात्मक कुरा हो र यसलाई अविधात्मक अर्थमा बुझेर अन्धविश्वास भन्नु मूर्खता हो। मिथकको वैज्ञानिक व्याख्या गर्ने जिम्मेवारी हाम्रो हो।

मूलधारका सबै साहित्यले मिथक प्रयोग गरेका हुन्छन्– पठन, विपठन, पुनरपठन, पुनरप्रयोग, विनिर्माण आदिका माध्यमबाट। नेपाली साहित्यमै हेरौँ – महाभारत, रामायण, पुराणहरूको वा ण्मुन्धुमको प्रयोग ! मिथकलाई छोडेर पनि साहित्य सिर्जना गर्न सकिन्छ तर मिथकले साहित्यलाई समाज र सभ्यतामा स्थापित गराउन सजिलो बाटो दिन्छ। जहाँसम्म सीमाको प्रश्न छ, मिथकबाट स्थापित सत्य, तथ्य वा विम्बको विपठन भयो र त्यसको औचित्यलाई उचित ढङ्गबाट पुष्टि गर्न सकिएन भने त्यो साहित्य असफल पनि हुनसक्छ। अर्को कुरा, मिथकको राम्रो अध्ययन नभएको र फेरिँदो समयसँग त्यसलाई अनुकूलन गर्ने सीप नभएको लेखकले मिथकलाई न्यायोचित ढङ्गले प्रयोग गर्न सक्दैन।

मैले नेपाली साहित्यमा मिथकीय विषयको विपठित प्रयोगले समयलाई नयाँ ढङ्गमा हेरेको जरुर पाएको छु। नवराज लम्सालको महाकाव्य ‘कर्ण’ले आजको अधिकारको लडाइँ र अन्यायमा परेकाहरूको न्यायको मागलाई आजको सन्दर्भमा पस्केको छ। नीलम कार्की ‘निहारिका’को ‘चीरहरण’ महाभारतको जगमा आजका नारीको राजनीतिक–सामाजिक यथार्थ हो। राजन मुकारुङको ‘हेत्छाकुप्पा’लाई जातीय संघर्षको यस्तै नवीकृति सन्दर्भमा हेरिनुपर्छ। मदनमणि दीक्षितको माधवी, देवकोटाको शाकुन्तल, सिद्धिचरण श्रेष्ठको उर्वशी, माधव घिमिरको अस्वत्थामा, बालकृष्ण समको प्रह्लाद, मोदनाथ प्रश्रितको देवासुर सङ्ग्राम, हरिराज भट्टराईको याङ्सिला, कृष्ण धरावासीको राधा, नवीनबन्धु पहाडीको कृष्णा, घनश्याम कँडेलको धृतराष्ट्र, यी सबै कृति मिथकको विपठन वा पुनरपठन गरेर लेखिएका कृति त हुन्। यी सबै पुस्तकमा नेपाली समयको पछिल्लो कालखण्डको व्याख्या मिथकको प्रयोगमार्फत गरिएका छन्। यिनलाई हटाइयो भने नेपाली साहित्यको भण्डार कस्तो देखिएला?

समकालीन समालोचनाका चुनौती र सम्भावताबारे तपाईंको अभिमत के छ?

–नेपाली समालोचनाको परम्परा समृद्ध छ। स्वस्थ पनि छ। तर, हामीले ध्यान दिनुपर्ने केही कुरा छन्। पहिलो, हाम्रो हातमा विद्यमान अधिकांश सिद्धान्त र मूल्याङ्कन पद्धति आयातित हुन्। हामीले समालोचनाको मौलिक जग बनाउनुपर्छ। दोस्रो, हाम्रा केही समालोचकहरू पश्चिममा क्रमैसँग जुन जुन वादहरू आए, नेपालमा पनि त्यसै क्रममा तिनै वाद विद्यमान भएको जिकिर गरिदिन्छन्, जुन अनुचित हो। तेस्रो– हाम्रो समालोचनालाई हामीले राजनीतिक आग्रहबाट अक्षुण्ण राख्न त्यति सकेका छैनौँ। र, चौथो– पछिल्लो समयका युवा समालोचनातिर पस्ने जोखिम उठाइरहेका छैनन्। साहित्यका सिद्धान्त पढेर नै आएका मान्छेहरू यस कर्ममा नलागेको अवस्थामा समालोचना अचेल पत्रकारहरूको झोलीतिर पसेको भेटिन्छ।

तपाईं समालोचक र कृति समीक्षक दुई सूक्ष्म र सतही कर्ममा हेलिनुभएको छ। समीक्षा गर्दाका छुटाउनै नहुने आवश्यक पक्षहरू के के हुन्छन् भन्ने तपाईंको मान्यता छ?

–समालोचना दृष्टि र पद्धति दिने काम पनि हो। त्यसैले समालोचकीय दृष्टि दिँदा कुनै कृतिमा नटेकेर समयको प्रवृत्तिमा टेक्दा पनि हुन्छ। यसबाट सिद्धान्त जन्मन्छ। जहाँसम्म कृति समीक्षाको कुरा छ, त्यो अलि सतही काम नै हो र त्यसले कुनै एउटा किताब पठनयोग्य छ वा छैन भनेर पाठकलाई मार्गदर्शन गर्ने काम गर्छ। समीक्षा गर्दा एउटा समीक्षकले तटस्थत रहेर कृतिका गुण र दोष भन्दिनुपर्छ। कृतिले साहित्यको भँगालोमा आफ्नो स्थान कहाँनिर दाबी गर्छ, त्यसले परम्परालाई निरन्तरता दिन्छ र क्रमभङ्ग गर्छ, त्यसबाट साहित्यिक अभ्यासमा प्रभाव पर्ने सम्भावना छ वा छैन, त्यस कृतिलाई कुन कुन कोणबाट पढिने सम्भावना छ र कृतिकारको साहित्यिक भविष्यबारे यस कृतिले के सङ्केत गरेको छ, त्यो भन्दिनुपर्छ। साथै, कृति वा कृतिकारमा नपुग के छ, त्यो पनि खुलस्त भनिदिनुपर्छ।

हाम्रा समालोचकले मौलिक सिद्धान्त तयार पार्न सकेनन् भन्ने आरोप बढिरहेका बेला तपाईंको प्रतिक्रिया के कस्तो रहेको छ?

–यस कुराप्रति म सहमत छु र आफू पनि दोषी रहेको कुरा विनम्रताका साथ स्वीकार गर्छु। समालोचक मित्रहरूलाई म केही आह्वान पनि गर्छु। पश्चिमका ज्ञानोदय, स्वच्छन्दतावाद, आधुनिकतावाद (यसभित्रका शून्यवाद, अस्तित्ववाद, विसङ्गतिवादसहित), उत्तरआधुनिकतावाद, भूमण्डलीकरण आदि जुन क्रममा आए, त्यसै क्रममा यिनै वादको प्रभाव नेपाली साहित्यमा खोज्ने काम आजैबाट बन्द गरौँ। कुन आन्दोलन वा वाद आउँछ, त्यो हाम्रो देशको सामाजिक अथवा राजनीतिक अवस्थितिले निदृष्ट गर्ने हो, पश्चिमी इतिहासले होइन। अर्को, हामीले लीलालेखनजस्तो केही मौलिक पद्धतिलाई अन्तर्राष्ट्रियस्तरमा विकास गरेर लानु जरुरी छ।

हामीले सैद्धान्तीकरण गर्नुपर्ने तीन सुन्दर विषय छन्, त्यो गरौँ। १. हिन्दू, किराँत र बौद्ध धर्मजस्ता तीन विराट् धर्मको साझा उद्भव भूमि भएर पनि हामीले कहिल्यै धर्मयुद्ध गरेनौँ। अँगालो मारेरै अगाडि बढ्यौँ। पश्चिमको जेरुसलेम वरिपरि इशाई, यहुदी र इस्लाम धर्म जन्मे र सधैँ युद्ध गरेरै आजसम्म आइरहेका छन्। नेपालीको सहिष्णुताको अन्तर्यमा खास के छ? २. बेलायती साम्राज्यवादको उत्कर्षमा पनि नेपाल पराधीन भएन। यसको वास्तविक कारण के थियो, कसैले भन्न सकेका छैनन्। यसबारे सबै इतिहास र इतिहासकार कि त मौन छन्, कि अनुमानमै रुमल्लिएका छन्। यो स्वतन्त्र रहने नेपाली शैली एउटा नयाँ सिद्धान्तको जग बन्न सक्छ। र, ३. नेपालमा भएको माओवादी जनयुद्धको निष्कर्ष नेपाली शैलीमै गरियो। यहाँ आएका सबै विदेशी फर्मुला असफल भए। द्वन्द्व व्यवस्थापनको यो नेपाली शैलीको आत्म के हो? हामीले यस्ता नवीन विचार दिन सक्छौँ। काम गर्न बाँकी छ।

समकालीन लेखनमा विधागत सिर्जन–क्षमतामा के कस्तो ह्रास वा उत्थान भएको पाउनुभएको छ? आजको सिर्जनकारिताको जिम्मेवारी के के हुनुपर्छ भन्ने लाग्छ तपाईंलाई?

–दुःखको कुरा, अलि ह्रास भएकै देख्छु। सङ्ख्या बढेको छ, गुणस्तर घटेको छ। चर्चित बनेका वा पुरस्कृत भएका कृतिकारका अन्य कृति आउँदा क्रमशः कम लोकप्रिय हुँदै गएको हामी सबैले महसुस गरिरहेका छौँ। कुनै गहिरो दर्शन वा विचारसहित आउने साहित्य दुर्लभप्रायः हुँदै गएको छ। केही अपवादबाहेक फास्ट फूड शैलीका छन्। लेखकको ठूलो सङ्ख्या अचेल तरुण वा युवा वयकाहरूको छ। वास्तवमा उनीहरूले जीवन, जगत्, दर्शन, इतिहास, अध्यात्म, ब्रह्माण्ड…बुझ्नै बाँकी छ। अनुभव र अध्ययन पुगेकै छैन। तर, लेखक बन्ने हतारोचैँ धेरै छ। अर्को कुरा, बढ्दो व्यवसायीकरणका कारण लेखन बजारमुखी भएको छ।

एउटा लेखकसँग भन्न बाँकी कुनै वैकल्पिक कुरा वा कथा भएपछि कलम उठाउने हो। कलम उठाइसकेपछि लेखकले आफैँसँग प्रतिस्पर्धा गर्ने हो, र आफ्नो अघिल्लो कृतिभन्दा राम्रो लेख्ने हो। लेखकले धेरै पढ्ने, धेरै विचार गर्ने, गहन चिन्तन गर्ने, लेखेपछि पुनरलेखन गर्ने, केही समय परख र प्रतीक्षा पनि गर्ने गर्नुपर्छ। पाठकको रुचि, लेखनको वैश्विक धार, समयको माग र लेख्न बाँकी रिक्त विषयको जानकारी पनि लेखकले राख्नु जरुरी छ जस्तो लाग्छ।

लोकप्रिय

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

२०७६, २९ भाद्र आईतवार १७:४०

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

२०७६, २८ भाद्र शनिबार १६:५४

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

२०७६, ३० भाद्र सोमबार १७:२१

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

जहाज कुराउँछन् नेता

जहाज कुराउँछन् नेता

२०७६, ३० भाद्र सोमबार १०:००

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

२०७६, ३० भाद्र सोमबार १०:४३

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

२०७६, २८ भाद्र शनिबार १२:४९

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

२०७६, २८ भाद्र शनिबार १७:१४

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

२०७६, २९ भाद्र आईतवार १७:४८

स्काभेटरले किचेर १ जनाको मृत्यु

स्काभेटरले किचेर १ जनाको मृत्यु

२०७६, २९ भाद्र आईतवार १५:५०

ट्युबमा लुकाएर मदिरा तस्करी

ट्युबमा लुकाएर मदिरा तस्करी

२०७६, २९ भाद्र आईतवार १७:४०

यी बिरामीका लागि कागती पानी खतरा:

यी बिरामीका लागि कागती पानी खतरा:

२०७६, ३० भाद्र सोमबार १५:३१

ब्लेनम प्यालेसबाट सुनको ट्वाइलेट चोरी

ब्लेनम प्यालेसबाट सुनको ट्वाइलेट चोरी

२०७६, २९ भाद्र आईतवार १७:४४

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

२०७६, २९ भाद्र आईतवार १३:१८