काठमाडौँ – अमेरिकी पूर्व ‘फर्स्ट लेडी’ तथा राजनीतिज्ञ एलानर रोजभेल्टले भनेकी थिइन्, ‘यदि जिन्दगी पूर्वअनुमानित हुन्थ्यो भने यो जिन्दगी जेलसरह निरस हुन्थ्यो।’ हुन पनि हो, जीवन भनेकै एक अज्ञात यात्रा हो। विभिन्न कालखण्डमा आइपर्ने घटनाक्रमहरूले जता डोर्‍याउँछ, त्यतै लम्किन्छ।

कहिले सफलताको उकाली उकाल्छ, कहिले असफलताको ओराली ओराल्छ। कहिले सुखको सगरमाथा चढाँउछ, कहिले दुःखको सागरमा चोपल्छ। जिन्दगीको यात्रा यस्तै हुन्छ। यस्तै यात्रा तय गरिरहेका एक पात्र हुन्– जीतबहादुर केसी। नेपाललाई पहिलो अन्तर्राष्ट्रिय मेडल दिलाउने केसीको जीवन कथा:

मजदूर दिवसका अवसरमा खेल क्षेत्रसँग सम्बन्धित मजदूरबारे सामग्री तयार पार्ने सम्पादकीय टोलीको निर्णयपछि त्रिपुरेश्वरस्थित दशरथ रगंशाला पुग्दा भेटिए जीतबहादुर।

‘मजदूरबारे समाचार सामग्री बनाउनुपर्ने छ, एक जना मजदूरसँग भेटाइदिनुहोस् न’ भन्ने आग्रहमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का एक कर्मचारीलाई रगंशालाका पुराना कर्मचारी भन्दै जीतबहादुरसँग भेटाइदिए।

उनी रंगशालाको प्रवेशद्वारको दायाँपट्टि रहेको गोदाममै भेटिए। उनी गोदामको ताला लगाउँदै थिए। परिचयको औपचारिकता पूरा भएपछि उनी गोदामभित्र पसे। दुईवटा पुराना कुर्सी निकाले। कुर्सीमा बस्दै गर्दा आफूलाई मजदूरका रूपमा चिनाउँदा नरमाइलो लाग्ने बताए। ‘बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन रहेछ,’ भावुक हुँदै उनले भने, ‘मभन्दा जुनियर खेलाडीहरूको नाम देशभरि गुञ्जयमान छ। मेरो पहुँच पुगेन, मजदूर भनेर पो चिन्न थाले।’ त्यतिबेला उनको आँखा रसाएका थिए।

‘के गर्दै हुनुहुन्छ आजकल ?’ भन्ने प्रश्नको भावुक जवाफ दिँदै जीतबहादुरले भने, ‘नुन बोक्न बनेपा आएँ… अनि घुम्न भक्तपुर। आर्मी अफिसरले थर्काएर जागिरमा लगायो… अञ्जानमै खेलाडी बनेँ। प्रशिक्षण पनि गरेँ… अहिले मजदूर भनेर चिनिन्छु।’

दोलखाको पोगटी गाविसमा सामान्य किसान परिवारका हुन् जीतबहादुर। बिर्खबहादुर केसी र बन्दना केसीको कान्छो छोराका रूपमा विसं २००४ साल भदौ ४ गते उनको जन्म भएको हो। पहाडका कान्लाहरू उक्लिँदै–ओर्लिंदै बालापन बित्यो। समय बित्दै गयो, किशोर भए। ‘स्कुलहरू थिएनन्, पढ्न पाइएन। तर, अँगार घोटेर पाटीमै भए पनि सामान्य नामसम्म लेख्न सक्ने भएँ,’ स्कुले जीवनबारे सोध्दा उनले मुस्कुराउँदै भने, ‘राजीनामा लेख्न सक्ने भए हुन्छ भन्थे, त्यत्ति सिकेँ।’ घरको कान्छो छोरा त्यही भएर होला खेल्न, कुद्न खासै रोकतोक थिएन।

बनेपादेखि ढाकरमा नुन बोकेर खाने जमाना थियो। दोलखाको कुरा त परै छोडौँ, गाडी भक्तपुरदेखि बनेपासम्म पुग्न पनि बाटोमा ढुंगा हाल्नुपर्थ्याे। धमिलिएको स्मृतिमा जोड दिँदै उनले भने, ‘२०२० सालतिर होला, गाउँबाट साथीभाइ नुन बोक्न बनेपा आउँदा म पनि सँगै आएँ।’

पहिलोचोटि बनेपा आएका जीतबहादुर लक्ष्यविहीन थिए। साथीहरूको लहैलहैमा उनी बनेपाबाट पनि हिँडेर भक्तपुर आए। सुन बनाउने काम गर्न भनेर। त्यहीँ बाँडा (सुनको काम गर्ने) कैमा बसे।

एक दिनको कुरा हो, उनका साथीहरू व्यस्त थिए। जीतबहादुरलाई भने फुर्सद मिलेको थियो। बसिराख्न अल्छी लागेपछि एक्लै घुम्न हिँडे। घुम्दै जाँदा सिद्धपोखरीछेउमा आर्मीले परेड खेलिरहेको देखे। कुनामा बसेर परेड हेरिरहेका जीतबहादुरलाई एक जना आएर सोधेँ, ‘तेरो घर कहाँ हो? जागिर खान्छस्?’ एक्कासि अनपेक्षित प्रश्न सुनेर उनी अकमकिए। प्रश्न सोध्ने व्यक्ति थिए मेजर। ‘डरले खान्छु नि भन्न सकिनँ, खान्न नि भन्न सकिनँ,’ जीतबहादुरले थपे, ‘कहिल्यै घरबाट बाहिर हिँडेको थिइनँ, आर्मी त देख्दै डर लाग्थ्यो। लगेर कुट्छन् भन्ने डरले मेरो त बोली नै फुटेन।’

‘आइज उठ,’ जीतबहादुरलाई मेजरले बोलाएर ब्यारेक लगे। शरीरको चेकजाँच गर्दा उचाइ २ इञ्च पुगेन। ‘जागिर पाउने कुराले खुशी भएको थिएँ’ उनी भन्छन्। ‘२ वर्ष भैँसीको दूध खाएर आइज’ भन्दै सेकेन्ड लेफ्टिनेन्टले घोक्र्याएर निकाले,’ केहीबेरअघिसम्म फुरुङ्ग भएको मन क्षणभरमै भारी भयो।

निन्याउरो अनुहार लिएर बाहिर निस्कँदै थिए फेरि तिनै मेजर भेट भए। मेजरले सोधेपछि उनले सबै कुरा बेलीविस्तार लगाए। मेजरले पाखुरा समाएर फेरि भित्र लगे। ‘हस्पिटलमा लगेर मेडिकल चेक भयो, त्यसपछि मेरो जागिर पनि पक्का,’ उनले सुनाए।

त्यसपछि फेरि उनले मेजरलाई बिन्ती गरे, ‘घुम्न भनेर निस्केको साथीहरू पर्खिरहेका होलान्।’ एक जना आर्मीको साथ लगाएर उनलाई पठाइयो तर खबर मात्र गरेर फर्किने शर्तमा। उनले त्यसै गरे।

ब्यारेकको जिन्दगी उनका लागि नयाँ थियो। जति नयाँ त्यति नै अप्ठ्यारो पनि। केही दिन त उनले मेलोमेसो नै पाएनन्। घुमेर खाएको बानी, ब्यारेकमा कडा अनुशासन। ‘शुरू-शुरूमा त घरको याद औधि आउँथ्यो,’ जीतबहादुर भन्छन्, ‘विस्तारै ब्यारेक नै रमाइलो लाग्न थाल्यो।’

आर्मी बन्छु भन्ने उनले कहिल्यै चिताएका पनि थिएनन्। ती क्षण सम्झँदा उनलाई अझै पनि आश्चर्य लाग्छ। आर्मीमा उनले १३ वर्ष बिताए। २०३४ सालमा आएर जागिर छोडे।

घुम्न निस्केका जीतबहादुर आर्मी बने। आर्मी बनेपछि उनी खेलाडी बने। यी सब कुरा निकै आश्चर्यजनक रूपमै भइरहेको थियो। ब्यारेकमा ३ सय ६० जना थिए। उनीहरू ५ माइल दौडिनुपर्थ्याे। त्यो दौडमा उनी प्रथम भए। त्यसपछि उनको जीवनमा नयाँ मोड आयो। भक्तपुरमा भएको छनोटबाट गणको प्रतिस्पर्धाका लागि छानिए।

प्रतियोगिता धनगढीमा थियो। उनी त्यहाँ पनि प्रथम भए। त्यसपछि काठमाडौँमा ५ माइल दौडमा सहभागी हुँदा पनि उनी प्रथम नै भए। ‘धावक बनेछु, पत्तै भएन,’ उनी भन्छन्, ‘खेलाडीका रूपमा राखेर निरन्तर प्रशिक्षणका लागि चिट्ठी आउँदा मात्र थाहा भयो।’

जीतबहादुरले मधु शमशेर र लक्ष्मणविक्रम शाहको प्रशिक्षणमा निरन्तर अभ्यास गर्न थाले। त्यसपछि ६ महिना तालिम गरेपछि रंगशालामा २५ राउन्ड लगाएर नागढुंगा पुगेर आउँदा सकिने दौडमा प्रथम भए। एशियन गेमका लागि नेपालबाट छनोट हुँदै थाइल्यान्डको बैंकक पुगेका जीतबहादुर सातौँ भए। त्यसपछि सन् १९७२ को ओलम्पिक खेल्न जर्मनी गए।

प्रतियोगिता शुरू हुनुभन्दा ३ महिनाअघि नै कोलोन भन्ने स्थानमा रहेर निरन्तर तालिम गरेका जीतबहादुर एशिया छनोटमा प्रथम भए। त्यस क्रममा उनले पहिलो अन्तर्राष्ट्रिय दौडमा आफूलाई बैंककमा हराउने धावकलाई पनि जिते।

‘त्यहाँ मेरो बदला पूरा भयो। जर्मनीकै विभिन्न पत्रपत्रिकामा नाम छापियो। धेरै म्याराथुनमा एशियाले पदक जित्नेमा विश्वास देखाए।’ त्यसपछि ओलम्पिक गेम हुने स्थान जर्मनीको म्युनिख लगियो। खेलमा सहभागी पनि भए। दुर्भाग्य, उनको खुट्टामा चोट लाग्यो। ‘१९ किलोमिटर दौडिसकेको थिएँ। खुट्टा फुट्यो। अरु कुद्न सकिनँ,’ विगत सम्झिँदै उनले भने। साँप्रामा रगत जमेको थियो। चिरेर जमेको रगत निकालेर तीनवटा टाँका लगाइयो। चोटग्रस्त भएर नेपाल फर्किएका उनको खुट्टामा गरिएको प्लास्टर यहीँ खोलियो।

ओलम्पिक खेल्न जर्मनी पुगेका जीतबहादुरले एशिया छनोटका क्रममा देखाएको दौडको गतिले उनलाई सगरमाथासँग जोडेर ‘हिमाली’ नाम दियो। ‘नेपाल देश भनेर धेरैलाई थाहा थिएन,’ उनी भन्छन्, ‘त्यसो हुनाले सगरमाथा हिमाल भएको देश भनेर चिनाउँदा नाम नै हिमाली राखिदिए।’ नेपालले मात्र होइन, एशियाले नै उनीबाट पदकको आशा राखेको थियो। दुर्भाग्यपूर्ण चोटले सबैलाई निराश बनायो।

चोट निको भयो। उनी फेरि दौडिन तयार भए। एशियाली ट्रयाक एन्ड फिल्ड च्याम्पियनसिपमा सहभागी हुन १९७३ मा फिलिपिन्सको मनिला गए। ओलम्पिकको छनोटको उत्साह र ओलम्पिकमा चोटका कारण भोगेको असफलतालाई उल्ट्याउने अठोट गरेर दौडिएका जीतबहादुरले तेस्रो हुँदै नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक जिते।

‘ओलम्पिकमा दौडिँदा लाएको जुत्ता फाटेको थियो,’ उनी सम्झन्छन् ‘त्यसपछि दौडिनकै लागि स्पेशल जुत्ता थिएन।’ उनी थोत्रो नाइलनको जुत्ता लगाएर कुदे। अलि पर नपुग्दै फाट्यो, खाली खुट्टै कुदेँ। गोल्ड मेडल जित्ने अवसर थियो जुत्ताको कारणले तेस्रो हुनुपर्‍यो।

त्यसपछि उनी विनातयारी नै इरानको तेहरानमा भएको सातौं एशियन गेममा सहभागी हुन गए। तर, दौड भएन। त्यत्तिकै फर्किनुपर्‍यो। त्यसपछि कोरियामा भएको एशियाली ट्रयाक एन्ड फिल्ड च्याम्पियनसिपमा तेस्रो नै भए। त्यसपछि आठौं एशियन गेम बैंककमा भएको थियो। तर, उनले उमेर हदका कारण सन्न्यास लिइसकेका थिए। त्यसपछि केही वर्ष प्रशिक्षणमा पनि बिताए।

केही महिनाअघि नेपालका युवा धावक अजितकुमार यादवले हङकङमा भएको तेस्रो एशियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा देशका लागि पहिलो एशिया स्तरको स्वर्ण जिते। चर्चाको विषय बन्यो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका धेरै मान-सम्मान पाए।

खुशीको कुुरा हो। तर, आजभन्दा ४५ वर्षअघि नेपालका लागि पहिलो ऐतिहासिक पदक जितेका जीतबहादुरले त्यो अवसर कहिल्यै पाएनन्। विभिन्न संघ-संस्था तथा राजनीतिक पार्टीहरूले उनको योगदानको कदर गरेर सम्मान गरे। तर, सरकारले कहिल्यै उनको योगदानको मूल्याङ्कन गरेन।

जीतबहादुरले खेलाडीका आधारमा सहभागिता जनाएका प्रतिस्पर्धा तथा सफलताका प्रमाणपत्रको फाइल बनेको छ। त्यही फाइल उनी आफ्नो झोलामा बोकेर हिँड्ने गरेका छन्। सदस्यसचिवले पनि सिफारिस गरे। तर, राज्यले सुनेन। उनी भन्छन्, ‘सहभागी मात्र हुनेले पाएका छन्, मेरो पनि अधिकारको कुरा हो कि भन्ने लाग्छ।’

१३ वर्षमा विवाह गरेका जीतबहादुरका ४ छोरा र १ छोरी छन्। २ छोरा र १ छोरी अमेरिकामा छन्। अर्का १ छोरा कतारमा र कान्छा आफूसँगै घरैमा। करिब १६-१७ वर्षअघि उनका जेठा छोरा अमेरिका जानका लागि अन्तरवार्ता दिन अमेरिकी दूतावास पुगे। काउन्सिलरको कक्षमा पुग्नासाथ ‘जीतबहादुर केसीको छोरा हो?’ यही प्रश्न गरियो। ‘हो’ भनेपछि काउन्सिलरले अमेरिका जान पाउँछौ तर बुबालाई लिएर आउ भने।

कारण थियो, १९७२ मा वेस्ट जर्मनीमा भएको ओलम्पिक। ती काउन्सिलर त उनीसँगै ओलम्पिकमा दौडिएका खेलाडी पो रहेछन्। ‘हिमाली’ धावक भनेर चिनेपछि उनीसँग भेटघाट गरी छोरालाई सहजै अमेरिकाको भिसा लगाइदिए।

जेठा छोरा अमेरिका गएपछि माइला छोरा र सबैभन्दा जेठी दिदीलाई पनि अमेरिका नै बोलाए। अहिले उनी कान्छा छोरासँग काठमाडौँमै बस्दै आएका छन्। झट्टै घर सोधिहाले ‘रंगशाला’ बताउने उनी कान्छा छोरा, बुहारी, नाति र श्रीमती लक्ष्मी केसीसँगै काठमाडौँको कलंकीमा बस्दै आएका छन्।

राज्यबाट अब केही आश नरहेको बताउँछन् उनी। तर, आफ्ना प्रमाणपत्रका फाइलको अन्तिम पानामा उनीभन्दा जुनियर केही खेलाडीलाई सरकारले सम्मानस्वरूप दिएको रकमको सूचीले उनलाई अपहेलना गरेको महसुस हुँदोरहेछ। ‘विदेशमा भएको भए सम्मानका साथ राख्थे, यहाँचाहिँ मजदूर बनाएर राखिदिए,’ उनले कुरा टुङ्ग्याए।

लोकप्रिय

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

२०७६, ३२ श्रावण शनिबार १५:१८

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

२०७६, ३२ श्रावण शनिबार ०८:३७

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

२०७६, ३२ श्रावण शनिबार १०:२८

उमेर १०३, कमाइ तीन हजार

उमेर १०३, कमाइ तीन हजार

२०७६, ३२ श्रावण शनिबार ०७:२९

‘रन फर एजुकेशन’ प्रतियोगिता सम्पन्न

‘रन फर एजुकेशन’ प्रतियोगिता सम्पन्न

२०७६, ३२ श्रावण शनिबार १३:०४

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

२०७६, ३२ श्रावण शनिबार १४:१९

मस्त ‘मर्निङ वाक’, स्वस्थ जीवन

मस्त ‘मर्निङ वाक’, स्वस्थ जीवन

२०७६, ३२ श्रावण शनिबार १६:४६

इन्साफ

इन्साफ

२०७६, ३२ श्रावण शनिबार १२:००

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

२०७६, ३२ श्रावण शनिबार ११:३३

नेकपाका यी नेताले पाए केन्द्रीय विभागको जिम्मेवारी (सूचीसहित)

नेकपाका यी नेताले पाए केन्द्रीय विभागको जिम्मेवारी (सूचीसहित)

२०७६, ३२ श्रावण शनिबार १४:१६

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

२०७६, ३२ श्रावण शनिबार ०७:१९

पुडासैनीको घटनाबारे छानवीनको माग गर्दै प्रदर्शन

पुडासैनीको घटनाबारे छानवीनको माग गर्दै प्रदर्शन

२०७६, ३२ श्रावण शनिबार १०:४१

लुम्बिनी विकास कोषमा बेथिति, कार्यान्वयन भएन गुरुयोजना

लुम्बिनी विकास कोषमा बेथिति, कार्यान्वयन भएन गुरुयोजना

२०७६, ३२ श्रावण शनिबार ०९:३४

कुमार पौडेल ‘इन्काउन्टर’: थन्कियो गृहको प्रतिवेदन

कुमार पौडेल ‘इन्काउन्टर’: थन्कियो गृहको प्रतिवेदन

२०७६, ३२ श्रावण शनिबार ०९:०७

रोजगारीका नाममा आफ्नैले ठग्छन्

रोजगारीका नाममा आफ्नैले ठग्छन्

२०७६, ३२ श्रावण शनिबार ०७:१०