काठामाडौँ – सरकारले आर्थिक कूटनीति सञ्चालनका लागि देशगत रणनीतिको मस्यौदा तयार गरेको छ । परराष्ट्र मन्त्रालयले गठन गरेको देशगत रणनीति तर्जुमा कार्यदलले तयार गरेको मस्यौदामाथि अन्तिम चरणको छलफल भइरहेको छ । कुन देशसँग कस्तो आर्थिक सम्बन्ध राख्दा त्यसले राष्ट्रलाई सबैभन्दा बढी फाइदा गर्छ भन्ने निक्र्योल गर्न यो रणनीति तयार गरिएको हो ।

नेपालको प्राथमिकतामा रहेका देश, अलगअलग देशसँगका आर्थिक सम्भावनाका क्षेत्र र आर्थिक कूटनीतिका आधार पनि रणनीतिमा पहिल्याइएको छ । विगतमा सबै नियोगलाई बजेट भाग लगाएर दिने, उस्तै कार्यक्रम सञ्चालन गर्ने र प्रतिफल नहुने भएकाले देश छानेर तीसँग अगलअलग आर्थिक सम्बन्ध सञ्चालन गर्न देशगत रणनीति तयार भएको हो ।

आर्थिक कूटनीतिका लागि देशगत रणनीतिको अन्तिम मस्यौदा सम्पादन भइरहेको छ । सम्पादन सकिएलगत्तै परराष्ट्र मन्त्रालयले जारी गर्छ (शंकरदास वैरागी ,परराष्ट्रसचिव

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निर्देशनअनुसार कार्यदलले अन्तिम मस्यौदा सरोकारवाला मन्त्रालय र विज्ञको सुझाब लिएर सम्पादन गरिरहेको छ । परराष्ट्रसचिव शंकरदास बैरागीले अन्तिम मस्यौदा सम्पादन भएलगत्तै मन्त्रालयले जारी गर्ने जानकारी दिए । उनका अनुसार मन्त्रीस्तरीय निर्णयबाट देशगत रणनीति कार्यान्वयनमा आउनेछ ।

परराष्ट्रमन्त्री ज्ञवाली उच्चस्तरीय आर्थिक कूटनीति अनुगमन तथा सञ्चालन समितिका संयोजक हुन् । समितिले आर्थिक देशगत रणनीति बनाउन कार्यदल गठन गरेको थियो, जसको संयोजन परराष्ट्रको नीति, योजना, विकास कूटनीति महाशाखाले गरेको छ । १६ जेठ ०७५ मा देशगत रणनीति तर्जुमा कार्यदलले विषयगत समूह गठन गरेर प्रतिवेदन तयार गरेको थियो । प्रस्तावित रणनीतिमा भारतलाई पहिलो प्राथमिकतामा राखिएको छ । त्यसपछि चीन, बंगलादेश, अमेरिका, जापान र संयुक्त अधिराज्यसम्बन्धी रणनीति तयार भएको छ ।

कुन देशसँग कस्तो सम्भावना ?

भारत : वैदेशिक व्यापार, पर्यटन, वैदेशिक रोजगारी, वैदेशिक लगानी, प्रविधि हस्तान्तरण । वाणिज्य, पारवहन, नेपालको हितअनुसार रेलसम्बन्धी सम्झौता पुनरावलोकन, कोलकाता, हल्दिया, विशाखापटनमबाहेक थप बन्दरगाह र व्यापार बिन्दुको खोजी, जलमार्गमार्फत समुद्रसम्म सहज पहुँच, पानीजहाज सञ्चालन, तेस्रो मुलुकको पहुँच, अवैध चोरीपैठारी नियन्त्रण । जलविद्युत्मा थप भारतीय लगानी प्रोत्साहन, द्विपक्षीय लगानी सम्झौता पुनरावलोकन, लगानीकर्ताबीच थप संवाद, भारतीय तीर्थयात्रीलाई नेपाल भ्रमणमा प्रोत्साहन, कृषिलगायतका क्षेत्रमा सहकार्य ।

चीन : वैदेशिक व्यापार, पर्यटन, वैदेशिक लगानी, प्रविधि हस्तान्तरण, पाँच सय १२ वस्तु चिनियाँ बजारमा पहुँच सुनिश्चित, पारवहन यातायात सम्झौता कार्यान्वयन, सुक्खा बन्दरगाह निर्माण, काठमाडौं–केरुङ रेल्वे निर्माण, दार्चुला, मुस्ताङ, संखुवासभास्थित व्यापारिक नाका सञ्चालन, सांघाई, बेइजिङ, ग्वान्जाओमा हवाई सेवा विस्तार, चिनियाँ भाषामा प्रचारप्रसार, भिसा सहजीकरण, सफल चिनियाँ बिउबिजन आयात, उच्च कृषि प्रविधि हस्तान्तरण ।

बंगलादेश : फूलबारी बंगलाबन्ध नाका सञ्चालन, चटगाउँ र मोङ्ला बन्दरगाहको प्रभावकारी प्रयोग, हवाई सेवा विस्तार, भारतलाई विश्वासमा लिएर जलविद्युत्मा सहकार्य, पारहवहन सम्झौता तथा व्यापारिक सम्झौता, विराटनगर र भद्रपुरमा बंगलादेशबाट सीधा हवाई सेवामार्फत पर्यटक आवागमन प्रवर्द्धन ।

अमेरिका : पर्यटन, वैदेशिक व्यापार, वैदेशिक लगानी, प्र्रविधि हस्तान्तरण, जलवायु परिवर्तनमा सहकार्य । द्विपक्षीय व्यापारिक सम्झौता, सीधा हवाई यातायातको प्रयास, चिया, कफी, मह, जडीबुटीको निर्यात प्रवर्द्धन, अमेरिकी लगानीकर्तालाई आकर्षित गर्ने परियोजना सञ्चालन, अमेरिकी सेलेब्रिटीको नेपाल भ्रमण, पर्वतारोहणका लागि प्रोत्साहन ।

जापान : पर्यटन, वैदेशिक लगानी, वैदेशिक व्यापार, वैदेशिक रोजगार, प्रविधि हस्तान्तरण, जलवायु परिवर्तनमा सहकार्य । जापानी भाषामा लगानी प्रवर्द्धनसम्बन्धी सामग्रीसहित रणनीतिक सञ्चार, जलविद्युत्, उत्पादन, खनिज, भण्डारण, भौतिक पूर्वाधार विस्तारका लागि प्रोत्साहन, डिजिटल कूटनीतिमार्फत लगानीकर्ता कम्पनी छनोट, विश्वप्रसिद्ध जापानी कम्पनीलाई आमन्त्रण, बौद्धमार्गी जापानीको भ्रमण सहजीकरण, साहसिक पर्यटन, पर्वतारोहण, दृश्यावलोकनका लागि प्रोत्साहन, जापानी बजारमा नेपाली युवालाई रोजगारको पहल, हरित अर्थतन्त्रमा सहकार्य, जलवायु परिवर्तन, कार्बन व्यापारमा सहयोगको प्रयास, जापानी प्रविधि भित्र्याउन पहल ।

बेलायत : पर्यटन, वैदेशिक लगानी, वैदेशिक व्यापार, प्रविधि हस्तान्तरण, जलवायु परिवर्तन । मह, पस्मिना, कार्पेट, तयारी पोसाक निर्यातका लागि द्विपक्षीय लगानी सम्झौता कार्यान्वयन, व्यापारिक मेला प्रदर्शनीमा नेपालका लगानी क्षेत्रको प्रचारप्रसार, ठूला परियोजनामा लगानीका लागि उच्चस्तरीय व्यापारिक भ्रमण आदानप्रदान, बेलायतका नेपाली समुदायमार्फत पर्यटन प्रवद्र्धन कार्यक्रम । लन्डन, स्कटल्यान्ड, ब्रिस्टोल, लिभरपुल, म्यानचेस्टरजस्ता स्थानमा सीधा हवाई सेवामार्फत पर्यटन प्रवर्द्धन, राजपरिवारको भ्रमणको प्रचारप्रसार, कृषि उपकरण भित्र्याउन पहल, हरित अर्थतन्त्र सुरक्षामा अनुदान सहयोगको प्रयास, हिम क्षेत्र संरक्षणमा सहायताको पहल ।

महालेखा भन्छ– आर्थिक कूटनीति सञ्चालन चुनौतीपूर्ण

महालेखापरीक्षकको पछिल्लो प्रतिवेदनले आर्थिक कूटनीति कार्यक्रम कार्यान्वयन चुनौतीपूर्ण रहेको औँल्याएको छ । परराष्ट्रको तथ्यांकअनुसार पाँच वर्षमा आर्थिक कूटनीतिक कार्यक्रम सञ्चालन गरेबापत नियोगहरूले ३२ करोड ७५ लाख रुपैयाँ खर्च गरेका छन् । यो वर्ष मात्रै पर्यटन प्रवर्द्धन, रोजगारीको नयाँ सम्भावनाहरूको पहिचान गर्ने, पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रम र नेपाली डायस्पोराको परिचालन गर्ने कार्यक्रम तय गरी सरकारले आठ करोड ३० लाख रुपैयाँ खर्च गरेको छ । तर, यो प्रभावकारी नरहेको महालेखाको ठम्याइ छ । ‘आर्थिक क्रियाकलापको दायरा वृद्धिअनुसार आर्थिक कूटनीति परिचालन गर्न नसक्नु र प्रत्येक वर्ष बजेट बढ्दै गए पनि आर्थिक कूटनीतिमा रहेका अवसरहरू पहिचान गरी यसलाई प्रभावकारी बनाउनुपर्ने प्रमुख चुनौती रहेको छ,’ प्रतिवेदनमा भनिएको छ ।

आर्थिक कूटनीतिका आधार

प्रत्यक्ष वैदेशिक लगानी स् नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने प्रमुख लक्ष्य राखेर रणनीति तयार भएको छ । गत आर्थिक वर्षमा चार हजार चार सय ७७ परियोजना सुरु भएका छन् । जसको खर्च २३ अर्ब डलर पुगेको छ । पछिल्लो वर्ष विश्वमा प्रत्यक्ष वैदेशिक लगानीमा २३ प्रतिशत गिरावट आएकोमा नेपालजस्तो भूपरिवेष्टित देशमा ३ प्रतिशत बढेको तथ्यांकसहित परराष्ट्रले देशगत रणनीतिको औचित्य पुष्टि गर्न खोजेको छ । देशबाहिर रहेका ३९ वटा कूटनीतिक नियोगका एक सय ४३ जना कूटनीतिक कर्मचारीले द्विपक्षीय सम्बन्धसहित आर्थिक कूटनीति सञ्चालन गरिरहेका छन् ।

वैदेशिक व्यापार: प्रस्तावित रणनीतिमा नेपालमा आयात घटाउने र नेपालबाट निर्यात बढाउने उल्लेख छ । ०७९ सम्म नेपाललाई अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति गर्न प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने सरकारी रणनीति छ । परराष्ट्र स्रोतका अनुसार भारत, चीन, अमेरिका, जर्मनी, बेलायत, फ्रान्स, टर्की, इटली, बंगलादेश र जापानलाई प्रमुख व्यापारिक साझेदारका रूपमा औँल्याएर रणनीति बनाइएको छ । व्यवसाय गर्न सहज भएका मुलुकमध्ये दक्षिण एसियामा भारत र भुटानपछि नेपाल तेस्रो स्थानमा रहेको उल्लेख गरिएको छ ।

पर्यटन स् हरेक देशसँगको रणनीतिमा पर्यटन प्राथमिकतामा परेको छ । पर्यटक भित्र्याउन नेपाली नियोग, गैरआवासीय नेपालीको संलग्नता र सूचना प्रविधिको अधिकतम प्रयोग गरिने रणनीतिमा उल्लेख छ । नेपालमा गएको वर्ष अहिलेसम्मकै सबैभन्दा बढी पौने १२ लाख पर्यटक आएका छन् ।

वैदेशिक रोजगार स् वर्षेनी चार लाखभन्दा बढी युवाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिइरहेका छन् । पछिल्लो सरकारी आँकडाअनुसार ४६ लाख नेपाली युवा वैदेशिक रोजगारमा छन् । प्रस्तावित रणनीतिमा नेपालको कुल गार्हस्थ उत्पादनमा ३२ प्रतिशत योगदान भएको वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाइने उल्लेख छ । यो समाचार नयाँ पत्रिका दैनिकले छापेको छ।

लोकप्रिय

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

२०७६, ९ असार सोमबार १९:३५

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

२०७६, ९ असार सोमबार १७:२०

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

२०७६, ८ असार आईतवार १९:२०

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

२०७६, ९ असार सोमबार २०:२६

३० रुपैयाँमै विशेषज्ञ सेवा !

३० रुपैयाँमै विशेषज्ञ सेवा !

२०७६, ८ असार आईतवार १९:५०

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

२०७६, ८ असार आईतवार ०६:४२

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

२०७६, ८ असार आईतवार १०:०५

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

२०७६, ८ असार आईतवार ०९:२८

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

२०७६, १० असार मंगलवार ०७:५७

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

२०७६, ९ असार सोमबार १५:५८

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

२०७६, १० असार मंगलवार ०७:००

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

२०७६, ९ असार सोमबार १८:४७

नियत साफ नभएपछि नियति बिग्रन्छ

नियत साफ नभएपछि नियति बिग्रन्छ

२०७६, ८ असार आईतवार १३:१७

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

२०७६, ८ असार आईतवार १३:३९

कास्कीमा राज्यपक्षबाट ६ महिनामा ६१ पीडित

कास्कीमा राज्यपक्षबाट ६ महिनामा ६१ पीडित

२०७६, १० असार मंगलवार १०:१८