रमेश श्रेष्ठ – हरेक राज्य व्यवस्थाले आफ्नो व्यवस्थाको जग बलियो बनाउनको लागि आदर्श व्यक्तिहरू निर्माण गर्ने गर्दछ। आफ्नो व्यवस्था बलियो बनाउनको लागि व्यवस्था अनुकूलको विचार प्रवाह गर्ने अथवा कार्य सम्पादन गर्ने व्यक्तिहरूलाई आदर्शको रुपमा प्रचार–प्रसार गरी जनतालाई सो अनुकूल व्यवहार र चिन्तन गर्न प्रोत्साहित गर्ने काम हरेक राज्य व्यवस्थाले गर्दछ।

सामन्तवादी व्यवस्थामा सामन्तवादलाई प्रोत्साहित गर्ने नीति लागू गरिन्छ भने त्यसका पृष्ठपोषकहरूलाई आदर्शको रुपमा स्थापित गर्ने प्रयत्न गरिन्छ। पूँजीवादी व्यवस्थामा व्यक्तिवादलाई प्रोत्साहित गरिन्छ र पूँजीवादी व्यवस्थाका अनुयायीहरूलाई आदर्शको रुपमा स्थापना गरिन्छ।

त्यसैगरी, समाजवादी व्यवस्थामा कामदार वर्गको पक्षमा वकालत गर्ने व्यक्तिहरू आदर्शको रुपमा स्थापित हुन्छन्। राज्य व्यवस्थाको हितविपरीत काम गर्ने र विचार प्रवाह गर्नेहरूलाई दबाइन्छ। तिनीहरूलाई जेलमा कोचिइन्छ या मृत्युदण्ड दिइन्छ।

ग्यालिलियोले विज्ञान, तर्क र गणितका आधारमा पृथ्वी गोलो छ भन्ने तथ्य प्रस्तुत गरे। तर, उनको विचार तत्कालीन सामन्तवादी व्यवस्थाको आधार बनेको धर्मको प्रतिकूल ठहरियो र उनलाई जेलमा कोचियो। त्यसैगरी, जर्डानो ब्रुनोलाई पनि पृथ्वी गोलो छ भन्ने विचार राखेकै आधारमा जिउँदै जलाइयो।

बालिग मताधिकार, वाक स्वतन्त्रता तथा धर्म निरपेक्षताको वकालत गर्नेहरू सामन्तवादी व्यवस्थाको तारो बने र उनीहरूलाई दबाउने प्रयत्न गरियो। पूँजीवादी व्यवस्थामा आइपुग्दा समाजवादी चिन्तकहरू र मजदुर वर्गको पक्षमा लड्ने योद्धाहरूलाई दबाइयो भने समाजवादी व्यवस्थामा शोषणका पक्षधर र व्यक्तिवादी चिन्तनलाई दबाइन्छ।

राणाकालीन समयमा शिक्षाको प्रचार–प्रसार गर्नु पनि व्यवस्थाविरोधी कार्य हुन्थ्यो। अतः शिक्षाको प्रचार–प्रसार गर्ने, पुस्तकालय खोल्ने र पुस्तक लेखन तथा प्रकाशन गर्नेहरूलाई राणाहरूले जेलमा कोचे। निर्दलीय पञ्चायती व्यवस्थामा बहुदलको प्रचार गर्नु नै अपराध मानिन्थ्यो र बहुदलवादीहरूलाई दमन गरिन्थ्यो।

अर्कोतिर राजा, महाराजा, ठूल्ठूला सामन्तहरू तथा तिनका पृष्ठपोषक विचारकहरू सामन्तवादी व्यवस्थाका आदर्श हुने गर्दछन्। राजा–महाराजा अथवा शासकहरूलाई भगवानको रुपमा प्रचार गरिनु सामन्तवादी व्यवस्थाको आदर्श निर्माणको उच्चतम् नमूना हो। हिटलरको नाजीवादी समयमा हिटलर स्वयं नाजीवादका आदर्श थिए भने फ्रान्सेली क्रान्तिपछि नेपोलियन बोनापार्टलाई फ्रान्समा आदर्शको रुपमा मानियो। पूँजीवादका समर्थकहरूले एडम स्मिथ, केन्स तथा म्याकिननजस्ता अर्थशास्त्रीहरूलाई व्यापक प्रचार–प्रसार गरी पूँजीवादी अर्थ व्यवस्थाको औचित्य प्रमाणित गर्न खोज्नु स्वाभाविक हो। यता समाजवादका समर्थकहरू मार्कस्, एङ्गेल्स, लेनिन, स्तालिनजस्ता हस्तीहरूलाई आदर्श मान्छन्।

एउटा व्यवस्थाले मानेको आदर्श त्यसका विरोधीहरूका निम्ति आदर्श नहुन सक्छ। त्यसैगरी, व्यवस्थाविरोधीका आदर्श शासकहरूका निम्ति अपराधी हुनसक्छ। त्यसैले त मार्गरेट थ्याचरको निधनमा पूँजीवादीहरू शोकमा डुबेका थिए भने अर्को ध्रुवमा खुसीयाली मनाइएको थियो। गंगालालहरू मारिँदा राणाहरू खुसी भएका थिए तर प्रजातन्त्रका निम्ति लड्नेहरू दुःखी भए।

आदर्श निर्माणको प्रक्रिया तत्कालीन समय र परिस्थितिमा निर्भर गर्दछ। एउटा विचारका पक्षधरहरूले एउटा व्यक्तित्वलाई आदर्शको रुपमा प्रस्तुत गर्दछ भने त्यसका विरोधीहरूले त्यस्तो आदर्शको आलोचना गर्दै अर्कै आदर्शको स्थापना गर्ने गर्दछ।

शाहकालीन राजतन्त्रमा पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माताको रुपमा प्रस्तुत गर्नु अथवा त्रिभुवनलाई राष्ट्रपिताको उपमा दिनु स्वाभाविक छ र त्यस्तो गर्नु राजतन्त्र जोगाउन आवश्यक पनि हुन्छ। विभिन्न सहर तथा चोकहरूलाई राजाहरूको नामबाट नामाङ्कन गर्नु, सडक, राजमार्ग तथा दरबारहरूलाई राजा अथवा कुलीन व्यक्तिहरूको नामबाट नामाङ्कन गर्नु आदि तिनीहरूको प्रभुत्व स्थापित गर्ने प्रयत्नहरू हुन्। महेन्द्रनगर, वीरेन्द्रनगर, चन्द्रनिगाहपुरजस्ता सहरहरू राजा–महाराजाहरूकै नामबाट नामकरण गरिएका हुन्। त्यसैगरी महेन्द्र राजमार्ग, पृथ्वी राजमार्ग, त्रिभुवन राजपथ आदि पनि तिनीहरूकै नामबाट स्थापित भए।

त्रिभुवन विश्वविद्यालय मात्र होइन कि अधिकांश सरकारी आङ्गिक क्याम्पसहरू राजा, रानी अथवा राणाहरूको नाममा छन्। त्रिभुवन, महेन्द्र र वीरेन्द्रको नाममा देशभर असंख्य चोक र गल्लीहरू छन्। पछिल्लो समयमा तात्कालीन राजा ज्ञानेन्द्रले आफ्ना छोरा पारसलाई स्थापित गर्न भरतपुरको बसपार्कलाई पारस टर्मिनल नामकरण गराएका थिए।

यसरी विभिन्न स्थान, सहर, सडक, विद्यालय तथा क्याम्पसहरूको नामकरणले जनतामा एक खालको मनोवैज्ञानिक प्रभाव उत्पन्न गर्दछ। यही मनोवैज्ञानिक प्रभावको मूल्याङ्कन गर्दै राजा ज्ञानेन्द्रको प्रतिगमनविरुद्ध आन्दोलनरत दलहरूले राजाहरूको नाममा रहेका चोक र सहरहरूको नाम फेर्ने आन्दोलन नै घोषणा गरेका थिए। परिणामस्वरुप साइनबोर्डहरू मेटिए वा भत्काइए। त्यसैगरी, राजाका शालिकहरू पनि भत्काइए। यसबाट राजतन्त्रविरोधी भावना जनमानसमा पुर्याउन बल मिलेको थियो।

गणतन्त्र स्थापनापछि क्यालेण्डरमा व्यापक हेरफेर गर्नु आवश्यक देखियो। राजा–महाराजाका जन्मदिनहरू दुई–चार जोर लुगा तथा फलफूल बाँडेर मनाउन थालिएका दिवसहरू, जनतामाथि दमन गरेर विजय प्राप्त गरेका अवसरहरू हटाउन आवश्यक भयो। त्यसैगरी, पाठ्यक्रममा राजा–रानीको फोटो तथा राजाको गुणगान गाउने सामग्रीहरू पनि हटाउन आवश्यक भयो।

त्यतिमात्र होइन, पुरानो व्यवस्थालाई टेवा दिने ऐन, कानुन, पुलिस, प्रशासन, सेना, कर्मचारीतन्त्र आदिमा पनि व्यापक हेरफेर गर्नु वा नयाँ ढाँचाको व्यवस्था गर्न आवश्यक हुने गर्दछ।

पुरानै बनिबनाउ राज्ययन्त्रमा नयाँ व्यवस्था अगाडि बढ्न सक्दैन। पुराना आदर्श, मूल्य–मान्यता र संस्कृतिलाई रद्दीको टोकरीमा फालेर नयाँ मूल्य, मान्यता, आदर्श र संस्कृतिको निर्माण गर्नु आवश्यक हुने गर्दछ। त्यसो गर्न नसकिएमा सत्ताबाट फालिएको पुरानो शक्ति बलियो भइरहन्छ। गद्दीबाट राजा फालिए पनि राजतन्त्रवादीहरू अझै कमजोर बनिसकेका छैनन्। राजा तथा राजावादीहरू आफ्नो ‘गुमेको स्वर्ग’ पुनः स्थापना गर्न लागिरहन्छन्।

गणतन्त्र स्थापनापछि सरकारमा गएका पूँजीवादी पार्टीहरूले कम्तीमा पूँजीवादी व्यवस्था अनुरुपको राज्ययन्त्र स्थापना गर्ने प्रयत्न गरेको भए कमल थापाहरूले टाउको उठाउने मौका पाउने थिएनन्। राजतन्त्रका बनिबनाउ यन्त्र तथा त्यसकै पुलिस, सेना र कर्मचारीहरूको माध्यमबाट गणतन्त्र संस्थागत हुनसक्दैन। राजाको ठाउँमा राष्ट्रपति हुनुमात्र गणतन्त्र होइन। जनताको आम धारणा तथा सामाजिक स्वरुपमा परिवर्तन नभएसम्म नयाँ व्यवस्था संस्थागत हुन सक्दैन। राज्यले जबरजस्त ढङ्गबाट पुरानो व्यवस्थाका अवशेषहरूलाई कुल्चेर नयाँ मान्यता र आदर्शको स्थापना गर्न नसकेसम्म न त नयाँ व्यवस्था संस्थागत वा शक्तिशाली हुनेछ न त पुरानो व्यवस्थाका मतियारहरू चुप लागेर बस्नेछन्।

पुस २७ गते राष्ट्रिय एकता दिवसको रुपमा पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउने वा नमनाउने भन्ने विषयमा विवाद रहिआएको छ। पृथ्वीनारायण शाह राष्ट्र निर्माता हुन् वा साम्राज्यवादी हुन् भन्ने विषयमा पनि मतभेद छ। पृथ्वीनारायण शाहको राज्य एकीकरण अभियानबाट नै आजको आधुनिक नेपाल बनेको एकथरीको तर्क छ भने पृथ्वीनारायण शाहले तात्कालीन साना–साना राज्यहरूलाई बलजफ्ती नियन्त्रणमा लिई आफ्नो साम्राज्य विस्तार गरेको अर्को थरीको विश्लेषण छ।

सामान्यतया इतिहास भनेको विजेताहरूको लेखिन्छ। विजेताहरूले आफ्नै गुणगान र पौरखको इतिहास लेख्नु अस्वाभाविक होइन। पृथ्वीनारायण शाह वंशले जनतामाथि गरेका दमन, उत्पीडन तथा काला कर्तुतहरूको लेखाजोखा अध्ययनको विषय अथवा उत्खनन्को विषय हुन सक्दछ। नेपाल निर्माणमा उनको भूमिका अध्ययन र छलफलको विषय हुन सक्दछ अथवा पृथ्वीनारायणले राज्य एकीकरण वा साम्राज्य विस्तार नगरेका भए वा उनी असफल भएको भए आजको नेपालको चित्र कस्तो हुने थियो भन्ने कुरा बौद्धिक कसरतको विषय हुन सक्दछ।

तर, उनको जन्मदिनलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउनु भनेको उनीद्वारा विजित राज्यका जनतामाथि गरेका अन्याय र उत्पीडनको समर्थन हुन जानेछ। उनीद्वारा हत्या गरिएका, अङ्गभङ्ग गरिएका र देश निकाला गरिएका विभिन्न जातजाति र भाषाभाषीका जनताका भावनाको निष्पक्ष मूल्याङ्कन हुनु जरुरी छ।

पृथ्वीनारायण रणनीति र कूटनीतिका चतुर खेलाडी थिए। उनको रणनीतिक र कूटनीतिक कौशलताकै कारण तुलनात्मक रुपमा बलिया काठमाडौं उपत्यकाका राज्यहरू जितेका हुन्। तर, विजेता र सफल हुँदैमा असल हुन जरुरी छैन। उपत्यकाको सुन्दरताबाट मोहित भएर काठमाडौंको राजा बन्ने महत्वाकांक्षा बोकेका पृथ्वीनारायणको कदमले आधुनिक नेपालको निर्माणमा एउटा महत्त्वपूर्ण मोड ल्याएको अवश्य हो। त्यसकै आधारमा उनलाई राष्ट्रिय एकताको प्रतीक मान्नुको कुनै तुक छैन। उनलाई ‘राष्ट्र निर्माता’ को दर्जा दिनु भनेको सैन्य शक्तिको उपासनामात्र हुनेछ अर्थात् शक्तिको आडमा जे गर्दा पनि ठीक हुन्छ भन्ने मान्यता स्वीकार गर्नु हुनेछ।

यदि यही मान्यता स्वीकार गर्ने हो भने तात्कालीन अंग्रेजहरूलाई ‘विश्व एकीकरणकर्ता’ मान्नुपर्ने अवस्था आउनेछ भने वर्तमानमा संयुक्त राज्य अमेरिकाद्वारा विभिन्न देशमाथि गरिरहेको आक्रमणलाई ‘विश्व एकीकरण अभियान’ मान्नुपर्नेछ।

अतः कूटनीतिक चातुर्यता, रणनीतिक कौशल र व्यक्तिगत महत्वाकांक्षाबाहेक जनताको हितमा एक सिन्को नभाँच्ने पृथ्वीनारायणलाई ‘राष्ट्र निर्माता’ मान्ने कि नमान्ने भन्ने बहस निरर्थक छ।

सन् १९१७ मा बोल्शेविक क्रान्तिको सफलतापश्चात् रुसको तात्कालीन राजधानी पेट्रोग्राडको नाम नै परिवर्तन गरेर लेनिनग्राड राखिएको थियो। तर १९९० मा लेनिनद्वारा स्थापित सोभियत सङ्घको पतन भएपछि लेनिनका शालिकहरू ढालिए। एउटा समाजवादी आन्दोलनका अगुवालाई पूँजीवादी व्यवस्थाले सम्मान नगर्नु अत्यन्तै स्वाभाविक कुरा हो। एउटा व्यवस्थाको पतन भएपछि अर्को व्यवस्थाले पुरानो व्यवस्थाका नाइकेहरूलाई सजाय दिएको तथा पुरानो व्यवस्थाका आदर्शहरू भत्काइएको इतिहासमा कैयौं उदाहरणहरू छन्।

गणतान्त्रिक नेपालमा सामन्तवादका एक नाइकेको जन्मदिवस मनाउनुको कुनै अर्थ छैन। अझ त्यही दिनलाई राष्ट्रिय एकता दिवस मान्नु त एउटा रमाइलो चुट्किलोमात्र सावित हुनेछ।

लोकप्रिय

हावाहुरी पीडितका समस्या स्थायी रूपमा समाधान गर्नुपर्छ : सांसद राना

हावाहुरी पीडितका समस्या स्थायी रूपमा समाधान गर्नुपर्छ : सांसद राना

२०७६, ३० जेष्ठ बिहीबार १९:२७

तेल ट्याङ्कर आक्रमणमा इरानमाथि आशंका

तेल ट्याङ्कर आक्रमणमा इरानमाथि आशंका

२०७६, ३२ जेष्ठ शनिबार १७:५०

‘बादल दाई दास बनेर बाँच्नु छैन’

‘बादल दाई दास बनेर बाँच्नु छैन’

२०७६, ३२ जेष्ठ शनिबार ०७:४०

‘स्रष्टा चराजस्तै स्वतन्त्र र क्षितिजजस्तै फराकिलो हुनुपर्छ’

‘स्रष्टा चराजस्तै स्वतन्त्र र क्षितिजजस्तै फराकिलो हुनुपर्छ’

२०७६, ३१ जेष्ठ शुक्रबार २०:०४

नेपाल प्रहरीः ‘न दिनु, न लिनु’

नेपाल प्रहरीः ‘न दिनु, न लिनु’

२०७६, ३० जेष्ठ बिहीबार १५:१२

‘नो अब्जेक्सन’मा अब्जेक्सन!

‘नो अब्जेक्सन’मा अब्जेक्सन!

२०७६, ३० जेष्ठ बिहीबार १८:३२

लोकसेवा विज्ञापन: नेकपा भ्रातृ संगठनका नेता विभाजित

लोकसेवा विज्ञापन: नेकपा भ्रातृ संगठनका नेता विभाजित

२०७६, ३० जेष्ठ बिहीबार १४:२७

महावीर पुनको आइडिया र नयाँ उत्पादनको अभियान

महावीर पुनको आइडिया र नयाँ उत्पादनको अभियान

२०७६, ३१ जेष्ठ शुक्रबार १२:५१

वरिष्ठ कलाकार मिनबहादुर शाहीको निधन

वरिष्ठ कलाकार मिनबहादुर शाहीको निधन

२०७६, ३२ जेष्ठ शनिबार ११:५५

३० वर्षदेखि फरार हत्यारा बारामा पक्राउ

३० वर्षदेखि फरार हत्यारा बारामा पक्राउ

२०७६, ३० जेष्ठ बिहीबार १९:५५

वाइडबडी खरिदसम्बन्धमा नागरिक आयोगको प्रतिवेदन सार्वजनिक

वाइडबडी खरिदसम्बन्धमा नागरिक आयोगको प्रतिवेदन सार्वजनिक

२०७६, ३१ जेष्ठ शुक्रबार २०:३२

नेकपा विप्लवका घाइते कार्यकर्ताको निधन

नेकपा विप्लवका घाइते कार्यकर्ताको निधन

२०७६, ३२ जेष्ठ शनिबार १४:१९

छात्रालाई मासिक ५ सय छात्रवृत्ति दिने प्रदेश २ को योजना

छात्रालाई मासिक ५ सय छात्रवृत्ति दिने प्रदेश २ को योजना

२०७६, ३१ जेष्ठ शुक्रबार १८:००

दुर्व्यसनबाट मुक्तिका लागि नेपाल प्रहरीको आसरा सुधार केन्द्र

दुर्व्यसनबाट मुक्तिका लागि नेपाल प्रहरीको आसरा सुधार केन्द्र

२०७६, ३० जेष्ठ बिहीबार १२:४३

‘विश्व अमेरिका-नेपाल म्युजिक अवार्ड २०१९’ को आयोजना हुने

‘विश्व अमेरिका-नेपाल म्युजिक अवार्ड २०१९’ को आयोजना हुने

२०७६, ३१ जेष्ठ शुक्रबार १६:५९