रामचन्द्र उप्रेती


नेपालमा राजनीतिक अस्थिरताको युग समाप्त भएको र अब विकासको युग शुरु भएको भन्ने भनाइसँग सबै नभए पनि धेरै सहमत छन् र छौँ। तर, विकास कस्तो र कसका लागि भन्ने प्रस्ट हुनुपर्छ। विकास जनताका लागि अर्थात् आमजनताका लागि। विकास के हो? यसमा फरकफरक धारणा आउनु स्वाभाविक रहेछ। बाटो, बिजुली, अस्पताल, स्कूल, ठूला महल, चिल्ला गाडी आदिलाई विकासको पर्याय बनाएको पाइन्छ। अहिले धेरै विभिन्न तहका सरकारले यिनै कुरामा जोड दिएको पनि देखियो। अझ अहिले त पर्यटकलाई आफ्नो क्षेत्रमा भित्र्याउने र विकास भोग्ने सोच धेरै छ। त्यसका लागि बाटो, बिजुली र होटलले मात्रै नपुगेर टावरको अवधारणा बाक्लै आउने गरेको छ। पुरानो उखान छ, ‘अरूले हात्ती चढे भनेर आफूले धुरी चढ्नु हुँदैन।’

टावरको उपयोगिता, लागत, प्रभाव सबै विषयमा ध्यान दिएर टावर निर्माण गर्नु नराम्रो होइन। तर, टावरलाई विकासको प्रतीक मानियो भने टावर घाँडो अथवा सेतो हात्ती बन्न पुग्छ। जस्तो अरूको ठूलो घर देखेर आफूले पनि ठूलो घर बनाउने तर घरमा नियमित रंगरोगन गर्न नसक्ने, मर्मतसम्भार गर्न नसक्ने र उपयोग पनि उचित तरिकाले गर्न सकिएन। अझ ऋण गरेर बनाएको रहेछ र ब्याज तिर्न पनि हम्मे भयो भने त्यस्तो घरले सम्पन्नता दिने होइन, भएको सम्पन्नता, सुख र खुशी लिएर जान्छ। यस्ता उदाहरण धेरै पाइन्छ।

मैले सुनेको थिएँ, नेपालको सीमावर्ती भारतको एउटा गाउँमा त्यहाँका नेतालाई बाटो, बिजुली पुर्याएर विकास गर्ने जाँगर चलेछ र गाउँमा पहिला बाटो र पछि बिजुली पुर्याएछन्। बिजुलीका पोलपोलमा उज्यालोका लागि बल्ब पनि राखिएछ। तर, ती बल्ब तुरुन्तै फुटाइँदो रहेछ। निकै पटक बल्ब फेरिरहने काम भएछ। सधैँ बल्ब फुटेकाले किन बल्ब फुटाइयो भनेर खोजी भएछ। कारण पत्ता लागेछ। कारण रहेछ, गाउँका महिलाले राति गएर लामो झट्टी प्रयोग गरेर ती बल्ब फुटाउँदा रहेछन्। किन त्यसो गरियो भनेर अनुसन्धान गर्दा कारण पत्ता लागेछ। महिलाहरू कि राति कि बिहानको झिसमिसेमा दिसा गर्न त्यो बाटोको छेउछाउमा गएर बस्दा रहेछन् तर त्यहाँ बत्ती बलेपछि समस्या भएछ र मिलेर बल्ब फुटाएका रहेछन्। त्यो गाउँमा विकासको नाउँमा बालिएका बत्तीले त्यहाँका जनताको जीवनमा सहज होइन, समस्या ल्याएकाले बल्ब फुटाइयो। त्यहाँ वास्तवमा आवश्यकता के को थियो? त्यसको खोजी भएन।

भारतको विकासको त्यो अवस्था देखेका नेपाली नेताले नजिकैको सीमामा पर्ने नेपाली गाउँमा घरघरमा शौचालय निर्माणको अभियान नै चलाएछन्। शौचालय बनाउन अनुदान दिए। शौचालय बनिए। सबैको घरमा शौचालय बनेको खुशियालीमा विकासे नेताले गाउँमा धूमधामका साथ उत्सव मनाए। छ महिनापछि त्यहाँको अवस्था बुझ्न जाँदा गाउँका धेरै शौचालय प्रयोगविहीन भएको पाएछन्। यसको खोजी भयो। कारण रहेछ, पानीको अभाव र सांस्कृतिक मूल्य एवं मान्यता। गाउँका मानिसले खोलाको पानी प्रयोग गर्ने भएकाले खोलाबाट पानी बोकेर ल्याउने र शौचालयमा प्रयोग गर्ने कुरा व्यावहारिक नभएकाले शौचालयको प्रयोग गरिएनछ।

बर्दिवासमा धुर्मुस सुन्तली फाउण्डेशनले बनाइदिएको घरमा बस्ने मुसहरको अवस्थाका बारेमा समाचार आलेख छापिएको पढेँ। मुसहरले राम्रो घर पाए तर उनको जीवनमा राम्रो घरबाहेक अरू कुनै कुरामा सुधार आएन। अझ केहीले त त्यहाँ सुँगुर पाल्न नपाएको गुनासो गरेछन्। कारण थियो –उनीहरूको आम्दानीको एउटा स्रोत सुँगुर पालेर हुने आम्दानी पनि रहेछ।

त्यस्तै घरका महिला र पुरुषले एकै स्थानमा शौच गर्नु हुँदैन भन्ने चलन वा सांस्कृतिक मान्यताका कारण घरमा भएको एउटा शौचालयमा या त महिलाले या त पुरुषले मात्रै शौच गर्न मिल्ने भएछ। महिला बेलुका हुल बाँधेर गफिँदै शौच गर्न निस्कने र पुरुष बिहान लोटा बोकेर खोला जाने गरेकाले शौचालयको आवश्यकता नै परेनछ र ती शौचालय प्रयोगविहीन भएछन्। त्यसैले ती अधिकांश शौचालयमा त दाउरा, कुखुरा, कुकुर आदिलाई राख्ने गरिएको रहेछ। त्यहाँ शौचालयसँगै खानेपानी र चेतनाको आवश्यकता थियो। तर, त्यो भएन, पुगेन।

अस्ति भर्खर रेडियोमा सुनेँ, कर्णालीका कतिपय जिल्लामा गाउँपालिकाको अगुवाइमा छाउगोठ भत्काइयो। कति गोठ त घरधनीलाई थाहै नदिईकन भत्काइएछ। महिनावारी भएका महिला छाउगोठमा बस्न जाँदा छाउगोठ भत्काएको थाहा पाएपछि सेउलाले बारेर बस्नु परेको र जोखिम झन् बढेको भन्ने सुनियो। त्यहाँ विकासका लागि छाउघर भत्काइए तर त्यसले झन् विपत आइलाग्यो। अहिले धेरै पहाडि गाउँमा विकासको होडले डाँडा, पाखा र भित्तामा डोजर चलाइँदैछ। त्यसले पहिरोको खतरा बढेको र पानीका मुहान सुक्न थालेको सुनिन थालेको छ।

विकास सबैका लागि एउटै मोडलको आवश्यक हुँदो रहेनछ। भोकालाई खान, नाङ्गालाई लुगा, बेघरलाई घर, रोगीलाई उपचार, बेरोजगारलाई रोजगारी, हेपिएकालाई न्याय, विभेदमा परेकालाई समानता भएमात्र विकासको अनुभूति हुने हो। विकास मानिसको आवश्यकताभन्दा पर खोजेर, दिएर र देखाएर नहुने कुरा रहेछ। विकासको पहिलो खुट्किलो भनेको मानिसको हातमा काम हुनुपर्‍यो, त्यसले जीवन चलाउन पुग्ने आम्दानी दिन सकोस्। शिक्षा र स्वास्थ्य शुलभ होस्। सुरक्षित भएको महसूस होस्। हेपिनु नपरोस्। यी आधारभूत कुरा हुन्। यसका लागि सबै तहका सरकारको ध्यान जान सक्नुपर्छ।

आफूले भोग्नै नसक्ने विकासको कुनै अर्थ हुँदैन। जस्तै आफू बसेको गाउँ हेर्दाहेर्दै शहर भयो। बाटो, बिजुली, महँगा स्कूल, अस्पताल, महल, टावर, विलासी वस्तुको व्यपार आदि आदि। यही विकासका कारण यहाँ जिउन नसकिने भएर फेरि अर्को कुनै गाउँको खोजीमा पुर्खादेखि बसेको थातथलो छाडेर हिँड्नुपर्ने भयो भने त्यो विकासको के अर्थ? त्यसैले विकास आम मानिसको जीवनसँग जोडिएर आउनु पर्छ। रहनसहन, वातावरण, चेतना, आवश्यकता, अनुकूलता, संस्कार, संस्कृति, मेलमिलाप, समान अवसर, न्याय, सुरक्षा, रोजगारी जस्ता विषयसँग जोडिएर विकास गर्न सके मात्रै दिगो र सबैका लागि विकास हुन्छ।

हुनेले नहुनेलाई दिएर विकास हुन्छ जस्तो लाग्दैन। जस्तै– जोसँग छैन, उसलाई दिएर समस्याको समाधान हुँदैन भन्ने मेरो विश्वास हो। जोसँग छैन उसको क्षमताको विकास गरेर, उसलाई सक्षम बनाएर, आफ्नो समस्या आफैँ समाधान गर्न सक्ने बनाएर मात्रै समस्याको समाधान गर्न सकिन्छ। त्यसका लागि नहुनेलाई दान होइन उपाय सिकाउने, गर्न लगाउने, गर्न सक्ने बनाउने, आवश्यक सहयोग गर्ने। यो काम सरकारको हो, समाजको हो। जब अधिकांश मानिस आफ्नो आधारभूत समस्या आफैँ समाधान गर्नसक्ने हुन्छन्, तब विकासको अनुभूति सबैले गर्न सक्छन्। विकास सबैले समान रूपले उपभोग गर्दैनन् र आवश्यकता पनि पर्दैन। मानिसको क्षमतामा विकास, अनुकूल वातावरण र अवसर भए व्यक्ति, परिवार तथा समाजले विकास भोग्न सक्छ। त्यस्तो विकासको लाभ मानिसले आफ्नो आवश्यकता अनुकूल उपभोग गर्न सक्छन्।

कुनै पनि व्यक्ति, परिवार, संस्था, समाज, समुदाय, सम्प्रदाय, देश कसैले धन, दान र अनुदान दिएर धनी भएको र विकास गरेको छ भन्ने मलाई लाग्दैन। यदि त्यसरी विकास भएछ नै भने पनि त्यो दिगो हुँदैन। जस्तै, कुनै घर नभएको परिवारलाई घर बनाएर सित्तैमा दिने हो भने त्यो घर सफा गरिदिने, मर्मत गरिदिने, जोगाइदिने, रेखदेख गरिदिने काम पनि गरिमाग्न सक्छन्। तर, आफ्नै मेहनतको कमाइले घर बनाएको रहेछ भने त्यो घरको सम्भार, सफाइ, रेखदेख सबै घरमा बस्नेले गर्छन्। त्यसैले घर सित्तैमा होइन घर सस्तोमा बनाउने वा खरिद गर्ने गरी सहयोग गर्न सक्नुपर्छ। आवश्यक र उपभोग्य वस्तु सित्तैमा होइन, सस्तोमा दिन प्रयास गरौँ। आम्दानी नभएकालाई अनुदान होइन, रोजगारी र कामसँग जोडेर जिउने कला सिकाउने गरौँ। यसले विकासको जग बलियो बनाउँछ।

केही दिन अगाडि एउटा पत्रिकामा बर्दिवासमा धुर्मुस सुन्तली फाउण्डेशनले बनाइदिएको घरमा बस्ने मुसहरको अवस्थाका बारेमा समाचार आलेख छापिएको पढेँ। मुसहरले राम्रो घर पाए तर उनको जीवनमा राम्रो घरबाहेक अरू कुनै कुरामा सुधार आएन। अझ केहीले त त्यहाँ सुँगुर पाल्न नपाएको गुनासो गरेछन्। कारण थियो– उनीहरूको आम्दानीको एउटा स्रोत सुँगुर पालेर हुने आम्दानी पनि रहेछ। यसको अर्थ यो होइन कि उनीहरूको जीवनमा कुनै सुधार भएन, विकास भएन । पहिला बासको चिन्ता थियो, अहिले छैन। त्यसमा फरक भएको छ। फरक उनको जीवन जिउने कुरा, स्वास्थ्य, शिक्षा, उपभोग, सञ्चयमा, पेशा व्यवसायमा, सामाजिक पहुँचमा पनि आवश्यक छ। एउटा सुविधा थपिँदा अर्थात् एउटा पक्षको विकास हु्ँदा अर्को पक्षको विनाश हुनु हुँदैन। केहीलाई लाग्छ, धनी भएपछि स्वतः विकास हुन्छ। त्यस्तै अरू केहीलाई लाग्छ, चौडा बाटो, बाटामा चिल्ला गाडी, ठूला महल, जताततै ठूल्ठूला पसल, बिजुलीको चमक, मेट्रो, जहाज, ठूला स्कूल, अस्पताल, कारखाना, मानिसको भीडभाड आदि विकास हुन्।

हो, यी पनि विकासका सङ्केत हुन् तर विकासको अन्तिम सीमा यो होइन भन्ने हो। यी सबै हुँदा यसको उपभोग गर्ने क्षमता समाजका केही सीमित मानिसमा मात्रै हुने र बहुसङ्ख्यक मानिस त्यस्तो विकासबाट लाभान्वित हुन सकेनन् भने विकास अधुरो हुन्छ। विकास धन र सुविधाका साधन मात्रै होइनन्, विकास मानिसको मनभित्रको सन्तुष्टि, खुशी, ओँठमा आउने मन्द मुस्कान, तनावरहित जीवन र जीवनको सन्तुष्टि हो। त्यो सबैका लागि हुनसके मात्रै विकास भएको मान्न सकिन्छ। हामीसँग धन भयो, सुविधा थपियो तर खुशी हराउँदै गयो र तनाव थपिँदै गयो भने कसरी भनुँ यहाँ विकास हुँदैछ भनेर।

लोकप्रिय

मन्त्रिपरिषदद्वारा पारित ऊर्जा दक्षता रणनीति आज सार्वजनिक

मन्त्रिपरिषदद्वारा पारित ऊर्जा दक्षता रणनीति आज सार्वजनिक

६ फाल्गुन २०७५, सोमबार

पर्वतीय उद्वारका लागि सशस्त्रको ‘तालिम शिक्षालय’

पर्वतीय उद्वारका लागि सशस्त्रको ‘तालिम शिक्षालय’

५ फाल्गुन २०७५, आईतवार

लागूऔषधसहित २ जना पक्राउ

लागूऔषधसहित २ जना पक्राउ

५ फाल्गुन २०७५, आईतवार

अनेरास्ववियूमा पनि उमेर हदबन्दीको बहस सुरु

अनेरास्ववियूमा पनि उमेर हदबन्दीको बहस सुरु

६ फाल्गुन २०७५, सोमबार

सामूहिक राजीनामा दिने तयारीमा सरकारी चिकित्सक

सामूहिक राजीनामा दिने तयारीमा सरकारी चिकित्सक

५ फाल्गुन २०७५, आईतवार

बाख्रापालनले गाउँको मुहार नै फेरियो

बाख्रापालनले गाउँको मुहार नै फेरियो

५ फाल्गुन २०७५, आईतवार

२००७ साल र त्यसपछिका क्रान्ति

२००७ साल र त्यसपछिका क्रान्ति

५ फाल्गुन २०७५, आईतवार

जीप दुर्घटनामा घाइते भएका बाराका प्रजिअ भट्टराईको निधन

जीप दुर्घटनामा घाइते भएका बाराका प्रजिअ भट्टराईको निधन

६ फाल्गुन २०७५, सोमबार

‘लुट्न सके लुट’ गीतलाई पुन: यूट्यूबमा राख्न प्रतिष्ठानको आग्रह

‘लुट्न सके लुट’ गीतलाई पुन: यूट्यूबमा राख्न प्रतिष्ठानको आग्रह

५ फाल्गुन २०७५, आईतवार

व्यावसायिक नाटक निर्माण गर्ने मोफसलकी पहिलो रंगकर्मी

व्यावसायिक नाटक निर्माण गर्ने मोफसलकी पहिलो रंगकर्मी

६ फाल्गुन २०७५, सोमबार

युवा संघको धम्कीपछि पशुपतिले आफ्नो गीत युट्युवबाट हटाए

युवा संघको धम्कीपछि पशुपतिले आफ्नो गीत युट्युवबाट हटाए

५ फाल्गुन २०७५, आईतवार

मनकारी डा. जोशीको अभिनन्दन गरिँदै

मनकारी डा. जोशीको अभिनन्दन गरिँदै

६ फाल्गुन २०७५, सोमबार

स्ववियु निर्वाचनको मागसहित अनेरास्ववियुले सुरु गर्यो आन्दोलन

स्ववियु निर्वाचनको मागसहित अनेरास्ववियुले सुरु गर्यो आन्दोलन

६ फाल्गुन २०७५, सोमबार

सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दो

सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दो

५ फाल्गुन २०७५, आईतवार

‘सिएनएन हिरो’ म्यागीको पहलमा प्रविधियुक्त विद्यालय निर्माण

‘सिएनएन हिरो’ म्यागीको पहलमा प्रविधियुक्त विद्यालय निर्माण

६ फाल्गुन २०७५, सोमबार