अनारसिंह कार्की


केही वर्ष अघिसम्म पनि सामाजिक अपराधका दृष्टिले नेपाल शान्त देश मानिन्थ्यो। तर, माओवादी सशस्त्र विद्रोहपछि यसमा ठूलो परिवर्तन आएको छ। यसमा केही हदसम्म विश्वव्यापी रूपमा सञ्चार र यातायातमा आएको विकासले अथवा भूमण्डलीकरणको प्रभावले समाजको स्वरूपमा आएको परिवर्तन कारक हुन सक्छ र विशाल भारतसँगको खुला सिमानाका साथै तीव्र गतिमा फैलिँदै गएको शहरीकरण पनि एउटा कारक हुन सक्छ। अपराधको अर्को कारक असमानता र बेरोजगारी पनि हुन सक्ला। तर, जुन अनुपातमा जघन्य अपराधहरूको संख्या बढिरहेको छ, त्यो मूलभूत रूपमा माओवादीको दशवर्षे सशस्त्र विद्रोह र त्यसलाई अवतरण गराउने जस्तो नीति र प्रक्रिया अपनाइयो, त्यसबाट बढी प्रभावित छ।

अहिलेको सामाजिक अवस्था: दशवर्षे युद्धको बेलामा माओवादीबाट भएका बाँदरमुढे र शिक्षक मुक्तिनाथ हत्याजस्ता अमानवीय बर्बर घटना देशभरि नै भएका छन्। प्रचारमा आउन नसके पनि त्यस्तो पीडा खपेर बस्न विवश ठूलै जनसंख्या देशव्यापी छरिएर रहेको छ। अर्को, राज्यले अन्धाधुन्ध रूपमा माओवादीका नाममा मारिएका मैना सुनुवार जस्ताका परिवार पनि देशभरि छरिएर रहेका छन्। अहिले युवावस्थामा पुगेका तर आफ्नो बाल्यकालमा माओवादीले सशस्त्र भिडन्तमा मानव ढालका रूपमा प्रयोग गर्दा आफ्नो बाल्यपन र शिक्षाको अवसरबाट बञ्चित हुनु परेको पीडा बोकेकाको संख्या पनि देशव्यापी रूपमा कम छैन। सेना र प्रहरीमा जागिर खाएका परिवारका नाममा माओवादीबाट भएका हत्या र यातना भोगेकाहरू प्नि त्यतिकै छन्। छोरो वा छोरी माओवादी भएका कारण सरकारका तर्फबाट हत्या र यातना भोगाइएकाहरू प्नि त्यतिकै छन्।

त्यस्तै एउटा ठूलै संख्या माओवादी शिविरबाट फर्किएको छ। तीमध्य केही युवा नै छन् भने केही प्रौढ उमेरतिर बढ्दै गरेका छन्। कति स्वेच्छाले र कति करकापले माओवादी लडाकु बनेकाहरू युद्धकालमा सबैभन्दा बढी जोखिम उठाएका र सबैभन्दा बढी दुःखकष्ट भोग्ने तिनीहरू नै थिए। अर्का एकैपटक सेनामा अफिसर बन्ने सपना देखाएर गलैँचा कारखाना र गार्मेन्ट कारखानाबाट लगिएकाहरूसमेत छन्। तिनले संसारलाई मुक्ति दिन ज्यान अर्पण गरेको भन्ने आफ्ना नेता र कमान्डरहरूको सक्कली अनुहार र चरित्र देखेर आफ्नो सपना, आदर्श र आस्थाहरू चकनाचुर र धुलोपीठो भएकोसँग साक्षात्कार भएकाहरू पनि यही समाजभित्र बस्न बाध्य छन्। विगतको चोटको पीडा एकै प्रकारका भए पनि माथिको आदेशमा आफ्नै पल्ला घरको काकाको छोरालाई सुराकी भन्दै गोली हानेर मारेको अपराध बोधको पीडा बोकेर तिनै काकासँग उनको असिम घृणा सहँदै सँगै बस्नु परेको छ। आफ्नै तिनै कमान्डर नेताहरूमध्ये केही अहिले त्यही प्रतिक्रियावादी भनेको सत्तामा बसेर नवधनाड्य बनेको, तिनका छोराछोरी, जुवाइँ, सालासाली जम्मै लाभका पदमा रहेका र सिंगापुर र अमेरिकाबाहेक अन्यन्त्र औषधि उपचार नगर्ने र तातोपानी नुहाउन हेलिकप्टर चढेर गएको देख्दा आफू ठगिएको मात्रै होइन, शिक्षा, सीप, घरव्यवहार, पारिवारिक प्रेम, स्नेह सबै केको लागि गुमाएछु भन्ने निरर्थकता बोधको पीडा बोकेको ठूलो जमात पनि यही समाजमा छ।

यसरी जीवनमा सबै कुरा गुमाइसकेपछि शून्य होइन, ऋणात्मक उपलब्धिको पीडामा बाँच्न बाध्य यिनीहरूसँग कुण्ठा, घृणा, असन्तुष्टि र प्रतिशोधबाहेक केही बाँकी छैन। यस्तो भौतिक र मानसिक अवस्थाबाट गुज्रिरहेको समाजमा साना हतियारहरूको सरल उपलब्धता र चलाउने सीप माओवादीकै कारण विस्तार भएको छ। बम, बारुदजस्ता विष्फोटक प्रविधि र सीप पनि त्यतिकै समाजमा विस्तार भएको छ। अर्काेतर्फ माओवादी सशस्त्र विद्रोहको अवतरणका नाममा जुन देशी–विदेशी तत्त्वहरूले आआफ्नो स्वार्थको खेल खेले, त्यसले पीडितहरूलाई अझ पीडा पुर्‍याउने र हिंसाको वातावरणलाई अझ जटिल बनाएर तत्कालका लागि कम्मलले छोपेर लुकाउने काम मात्रै गर्‍यो भने युद्धपछिको द्वन्द्व व्यवस्थापन र मेलमिलाप नामको अर्को ठकी धन्दा चलाइएको छ।

यस्तो अवस्थाबाट गुज्रिरहेको समाजमा गम्भीर प्रकारका अपराध हुनु स्वभाविक हो। तथापि, समाजको यथार्थ अवस्थाको अनुपातमा अपराध कम नै भएको मान्नुपर्ने हुन्छ। यसमा सबैभन्दा ठूलो काम खाडी देशहरूमा खुलेका रोजगारीका अवसरहरूले गरेको छ।

तर, ठूलो जालझेलबाट संविधान सभाको दोस्रो निर्वाचन र त्यतिकै कपटपूर्ण ढंगले हरेक निर्णयमा जनतालाई बाहेक गरेर एक थान संविधान ल्याएपछि त्यस संविधानबाट भएको निर्वाचनले बहुमतको सरकार बनाउन सफल नेकपाको सरकारले आफ्ना विदेशी मालिकलाई रिझाउन र देशभित्रका जनतालाई कजाउन गैरन्यायिक हत्या र यातनालाई व्यापक र तीव्र बनाउँदै गएको छ। यसले सम्पूर्ण नेपाली समाजलाई सन्त्रस्त र भयभित बनाएको छ। प्रेस, मानव अधिकार, अदालत, संसद्, सेना, प्रहरी सबै अंगमा एकाधिकार कायम गर्दै गएको सरकारले आफ्ना विरोधी र आलोचकहरूलाई गैरन्यायिक हत्या, जेल र यातनाद्वारा नियन्त्रण गर्ने अभियान नै चलाइरहेको छ।

सबै प्रकारका विदेशी शक्तिहरू, तस्कर, अपराधीहरूसँग साँठगाँठ गरेर असहमति, विरोध र आलोचनाविनाको शासन सत्ता चलाउन प्रयासरत छ। देशका विभिन्न भागमा भएका जघन्य अपराधहरू जस्तै निर्मला बलात्कार हत्या, बबरमहलमा भएको पूर्वराजदूत हत्याजस्ता अनेक घटनालाई महिनाैँसम्म पत्ता लगाउन नसक्ने सरकारको प्रहरीले अपराधी भन्दै अदालतमै नपुर्‍याई मार्न, थुन्न र यातना दिन थालेको छ। एक जना युवक जो सामाजिक अवस्थाले सडकमा आक्रोश र कुण्ठा प्रकट गर्दै हिँडेको ज्ञानेन्द्र शाहीलाई मरणासन्न पारेर ट्रमा सेन्टरमा उपचार गराइरहेको छ सरकार।

गत साल साउनको घटना हो, काठमाडौँ काँडाघारीका निशान खड्का नाम गरेका बालकको अपहरण र हत्या गरेको आरोपमा प्रहरीले गोपाल र अजय तामाङ नामका दुई किशोरलाई खेद्दै भक्तपुरको जंगलमा पु¥याएर मुठभेडको नाममा हत्या गर्‍यो। मुठभेड नै हो भने एउटा किशोरलाई ढाल्न १४ गोली र अर्कोलाई ४ गोली हान्न जरुरत पर्छ, मुठभेडमा सबै गोली छातीमा होइन, पिठ्युँमा लाग्छ, किन एउटा पनि गोली घुँडामुनि लाग्दैन? ती अपहरितपछि हत्या भएका बालकका बाबुआमाले अपराधीलाई कठघरामा अपराध प्रमाणित भएर सजाय भएको देख्न पाएको भए अवश्य नै न्यायको अनुभूत गर्न पाउँथे होलान्। तर, त्यो अवसर पनि पाएनन्। झन्डै १० वर्ष लगाएर निर्वाचित संविधान सभाले बनाएको भनिएको संविधानअनुसार निर्वाचित सरकारले मुठभेडलाई प्रमाणित पनि गर्नु नपर्ने र अदालतमै नपुर्‍याई मानिसलाई मार्न पाउने यो कस्तो लोकतन्त्र हुन्छ?

यस्तो पनि लोकतन्त्र हुँदो रहेछ। कसैले संविधान र कानूनले निषेध गरेको काम गर्‍यो भने त्यसो गर्ने मानिसलाई होइन, त्यसको पार्टीलाई प्रतिबन्ध लाग्दो रहेछ। अहिले सत्तामा रहेको माओवादीबाटै टुक्रिएर बनेको प्रतिबन्धित नेकपा विप्लव समूहको एक जना कार्यकर्ता भनिएका भोजपुर षडानन्द नगरपालिका र कुदाक काउले बस्ने वर्ष ३२ का तीर्थराज घिमिरे नामका युवकलाई खोटाङ र भोजपुरको सीमामा पर्ने मयंग लेकको घ्रोत्रे भन्ने ठाउँमा त्यसरी नै उसले गोली चलाउन खोजेकाले प्रहरीले आत्मरक्षाका निम्ति गोली चलाउँदा खुट्टातिर नलागी माथि लागेर मृत्यु भएछ। उसको साथबाट प्रहरीले एक थान पेस्तोल, पाँच राउन्ड गोली र एउटा वाइनाकुलर बरामद गर्‍यो रे? कुनै पनि कारणले होस्, आफूले गरेको हत्यालाई जायज पुष्टि गर्न ती बरामद भएका भनिएका सामानहरू प्रहरी आफैले राख्न सक्छ कि सक्दैन? हाम्रोजस्तो अहिलेको लोकतन्त्रमा अदालतबाहेक वा अदालतलाई छलेर यस्तो दण्ड पनि हुन सक्छ?

प्रसंग अर्को पनि छ। हिंसा र हत्यामा विश्वास राख्ने कुनै पनि समूह वा पार्टीलाई समर्थन गर्ने र आस्था राख्ने मानिसले कुनै घटनामा संलग्न नभए पनि आस्था राखेको आधारमा सजाय पाउन सक्छ कि सक्दैन अहिलेको हाम्रो लोकतन्त्रमा? जब कि ललितपुरको नख्खुचोकमा भएको एनसीएलको टावर विष्फोटमा परी एक जना निर्दोष मानिसको दुखद मृत्युसमेत भएको थियो। त्यस घटनापछि विप्लव समूहका समर्थक भनेर देशभर धरपकड गरियो र कति जना अझै थुनामै छन्। तिनीहरू कुन कुन घटनामा सामेल थिए अथवा समर्थक भएका मात्रै कारणले पक्राउ गरिएको हो? प्रधानमन्त्री खड्गप्रसाद ओलीले नेत्रविक्रम चन्द समूहलाई आपराधिक समूह घोषणा गरेर त्यसलाई चन्दा दिने वा सहयोग गर्नेलाई पनि कडा कारवाही गर्ने घोषणा गरे। यो लोकतन्त्रमा यस्तो कारवाही प्रधानमन्त्रीले घोषणा गरेर गरिन्छ कि ऐन कानून बनाएर गरिन्छ?

यी तमाम प्रश्नहरू कुनै हिंसारत समूहलाई सहयोग पुर्‍याउन होइन। हिंसाबाट सत्ता पल्टाउन खोज्नेलाई कुनै पनि शासन सत्ताले त्यसै छोड्न सक्तैन र छोड्नु पनि हुँदैन। तर, कुनै पनि बहाना र नामबाट राज्यले संविधान र ऐन कानूनले निर्धारण गरेको विधि र प्रक्रियाविना नै कसैलाई दण्डित गर्छ भने त्यो राज्य पनि आतंकवादी नै हो। समयमै त्यसलाई रोक्न सकिएन भने कुनै दिन सरकारलाई समर्थन नगर्ने र आलोचना गर्नेहरू कि त विदेशिनुपर्ने हुन्छ कि त जेलमा वा ज्यान गुमाउनुपर्ने हुन्छ। विद्रोहीलाई दमन गर्न राज्यले बहाना बनाउन आफैले यस्ता घटना घटाइरहेको त छैन?

किन कि केही दिन पहिले विद्रोहीले सत्तासीन पार्टीका दुई अध्यक्षमध्ये एक जना पुष्पकमल दाहालको हत्या गर्ने भएको भन्ने ठूलो हल्ला चलाइयो। विद्रोहीले त्यसको खण्डन गरे। अहिले सोलुखुम्बुको छोस्केम भन्ने गाउँमा रहेको चौकीमा आक्रमण गर्न लागेको हल्ला चलाएर त्यस ठाउँमा सुरक्षाकर्मी पठाउने काम भइरहेको छ। तर, विद्रोही पक्षले त्यसको खण्डन गरेको छ। विद्रोही विप्लव समूहमा लागेको शंकामा त्यस क्षेत्रमा दमन गर्न वातावरण बनाउन सरकार लागिरहेको त छैन? जे होस्, यो कस्तो लोकतन्त्र हो मुठभेड भएको पुष्टि नै नगरी कसैको पनि हत्या गर्न पाइने? यो कस्तो लोकतन्त्र हो कसैलाई अदालत नै नपुर्‍याई जेल राख्न र यातना दिन पाइने? यस्तो गैरन्यायिक हत्या, थुना र यातनामा पर्याप्त विरोध नहुनु भविष्यको राम्रो संकेत होइन।

लोकप्रिय

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

२०७६, ९ असार सोमबार १९:३५

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

२०७६, ९ असार सोमबार १७:२०

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

२०७६, ८ असार आईतवार १९:२०

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

२०७६, ९ असार सोमबार २०:२६

३० रुपैयाँमै विशेषज्ञ सेवा !

३० रुपैयाँमै विशेषज्ञ सेवा !

२०७६, ८ असार आईतवार १९:५०

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

२०७६, ८ असार आईतवार ०६:४२

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

२०७६, ८ असार आईतवार १०:०५

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

२०७६, ८ असार आईतवार ०९:२८

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

२०७६, १० असार मंगलवार ०७:५७

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

२०७६, १० असार मंगलवार ०७:००

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

२०७६, ९ असार सोमबार १५:५८

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

२०७६, ९ असार सोमबार १८:४७

युवा स्वरोजगार कार्यक्रम: १० वर्षमा ६४ हजार स्वरोजगार

युवा स्वरोजगार कार्यक्रम: १० वर्षमा ६४ हजार स्वरोजगार

२०७६, १० असार मंगलवार १३:५२

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

२०७६, ८ असार आईतवार १३:३९

नियत साफ नभएपछि नियति बिग्रन्छ

नियत साफ नभएपछि नियति बिग्रन्छ

२०७६, ८ असार आईतवार १३:१७