प्रसिद्ध कवि तथा गीतकार दिनेश अधिकारी (२०१६)का अन्तरका छिटाहरू (२०३७), धर्तीको गीत (२०४४), आदिम आवाज (२०४५), इन्द्रजात्रा (२०५१), अतिरिक्त अभिलेख (२०५६), सीमान्त सपना (२०६७), भरियाको भूगोल (लामो कविता) कविता सङ्ग्रहहरू तथा अविराम यात्रा (२०४८), आफ्नै मन आफ्नै आँगन (२०५४), मन र मोडहरू (२०६३), म बिर्सूं कसोरी (२०७५) गीत सङ्ग्रहहरूलगायत गीति एलबमहरू, बाल गीति नाटक, संयुक्त कविता, तस्बिरको कथासमेत थुपै्रै कृति प्रकाशित छन्। नेपाल सरकारको सचिव पदबाट अवकाश प्राप्त कवि अधिकारी कवितालाई जीवनको साध्य मानेर साधना गर्ने कवि हुन्। उनी गीत र कवितासँग सम्बद्ध मदन पुरस्कार, साझा पुरस्कारलगायत विशिष्ट सम्मान तथा पुरस्कारबाट सम्मानित व्यक्तित्व हुन्। प्रस्तुत छ, नेपाली पब्लिकका लागि डा. गीता त्रिपाठीले प्रसिद्ध कवि तथा गीतकार दिनेश अधिकारीसँग गरेको कुराकानी:

अहिलेका समसामयिक कविका कविताप्रति यहाँको धारणा के छ ?

– हाम्रो समयमा, मेरो कवि पुस्ताको समयमा मलाई लाग्छ– दुई वा तीन सयको सङ्ख्यामा कवि थियौँ। थिग्रिँदै थिग्रिँदै आउँदा अहिले कविता मात्रै भनेर बस्ने औँलामा गन्न सक्ने मात्रै होलाऊँ। सुरुमा हामी सबै कवि थियौँ, जस्तो– सरुभक्त, अशेष मल्ल मूल रूपमै कवि थियौँ। पछि कसले कुन कसले कुन बाटो र विधालाई मूल रूपमा समातेपछि कविताको बाटोमा मात्रै लाग्ने लाइन कम भयो। त्यसकारण अहिले दस वर्षको अवस्थालाई हेरेर धारणा बनाउनु हुँदैन। कविलाई पनि पाक्न परिपक्व हुन समय लाग्छ। आज लेख्दै गरेको कविमा केही कमजोरी हुन सक्लान् तर भोलि त्यही कविका कविता कलात्मक हुन सक्छन्। प्रभावकारी हुन सक्छन्।

कविता एउटा संस्था पनि हो। एउटा संस्था चलाउँदा दुई सय जना कामदार होलान् तर सिर्जनशील क्षमतावान् बिस जनाको श्रेय बढी महत्त्वको हुन्छ। भीड एकातिर होला, कविता अर्कोतिर हुनसक्ला। मैले यतिबेला नयाँ पुस्ताका कवि र कविता पढिरहेको छु, केही कविका कविता पढ्दा मलाई आफ्नै छाती गर्वले फुलेको अनुभूति भएको छ। पक्कै पनि यसरी गर्व गर्न सक्ने कविको सङ्ख्या थोरै छ तर पनि नेपाली कवितालाई अगाडि बढाउन, विस्तार गर्न र नयाँ आयाम दिन उहाँहरूबाट योगदान हुने कुरामा म विश्वस्त छु। कतिपय सन्दर्भमा अलिकति परिमार्जनका लागि समय लाग्न सक्छ। त्यसलाई हामीले हतारमा टिप्पणी गर्न मिल्दैन।

तपाईंलाई सङ्क्रमणकालीन कवि भनियो भने अन्याय हुन्छ कि न्याय?

– यो अत्यन्त गम्भीर कुरा छ। मलाई प्रिय लाग्ने कवि भाइ श्रवण मुकारुङले एकपटक दिनेश अधिकारीको कविता लेखन समय (समयलाई इङ्गित गर्दै) सधैँ सङ्क्रमणमै बित्यो भन्नुभयो। मैले जहिले कविता लेख्न थालेँ, पञ्चायतकाल थियो, २०४६ आयो मैले कविता लेखिरहेँ, द्वन्द्व भयो, मैले कविता लेखिरहेँ, २०६२/०६३ मा लोकतान्त्रिक आन्दोलन भयो, मैले कविता लेखिरहेँ, अहिले पनि लेखि नै रहेको छु। एउटा सङ्क्रमणबाट मुलुक निस्कन्छ, अर्को सङ्क्रमणमा प्रवेश गर्छ। यस्तो समयलाई तपाईंले पनि सङ्केत गर्नुभएको हो भने म पक्कै पनि सङ्क्रमणकालीन कवि हुँ, त्यसमा कुनै शङ्का छैन।

तपाईंका कविताले हृदयभाव र प्रेमलाई बढी इङ्गित गरेका छन् भनिन्छ, यसमा तपाईंको धारणा चाहिँ के हो?

– कविता जीवन हो, जीवन भनेपछि हृदय मात्र होइन, मनमस्तिष्क पनि हो। एउटा परिवेश थियो स्वतन्त्रता उपभोग गर्न नपाएको परिस्थितिमा अलि छेलिएर अलि बढी विम्ब र प्रतीकको सहारा लिएर कविता लेख्थ्यौँ। अहिले कविता र गीत दुवै लेख्छु। समग्रमा भन्दा गीत कविताकै रूप होे। कविताकै ठूलो हाँगो हो, गीत। कविता अलि बढी मस्तिष्कको पक्षधर हो भन्ने लाग्छ। त्यसकारण कविता जीवन हो, जीवनभित्र मलाई लाग्छ, मस्तिष्क र हृदय दुवै छ। गति, सोच र सीप छ। यी सबै विषयवस्तुको समिश्रण हो कविता, त्यसकारण हृदयभाव तथा प्रेम यसैभित्र पर्छ।

पछिल्ला केही समययता कवितालाई नारा बनाइयो भन्दै आलोचना हुन थालेको छ नि?

– त्यसलाई विभिन्न दृष्टिकोणले हेर्न सकिन्छ। कवितालाई हेर्ने सोच के हो? तपाईं कलाका लागि कविता सोच्नुहुन्छ कि, समाजका लागि सोच्नुहुन्छ? तपाईं कवितालाई वक्तव्य हो भन्नुहुन्छ? आम नागरिकबाट टाढा छैन भन्नुहुन्छ? यी सबै कवितालाई हेर्ने सोच हुन्। मलाई के लाग्छ भने— कविता सरलताको पक्षपाती हो। सरल हुनु भनेको कलात्मक नहुनु भनेको होइन। म बाँचेको समय र मैले कविता लेख्न थाल्दै गरेको समय फरक फरक छ। मेरो अनुभूति के हो भन्ने लेखक आफैले पनि थाहा पाउनुपर्छ। त्यसैले नाराबाट कविता बच्नुपर्छ। तर नारा केलाई भन्ने त्यो आफै पनि गाह्रो कुरा हो। दुई दुना चारको हिसाबले परिभाषा गरे जस्तो गरी साहित्यमा परिभाषा गर्न गाह्रो छ, त्यसो गर्नुहुँदैन।

यस सन्दर्भमा तपाईंको एउटा कविता जोड्न चाहेँ, ‘काठमाडौँ: खामभित्रको प्रतिक्रिया’, जसमा सहरको एउटा चरित्र चित्रण गर्नुभएको छ। यसमा तपाईंको धारणा के हो?

– ‘काठमाडौँ: खामभित्रको प्रतिक्रिया’मा मैले नारा लेखेको छैन। त्यसमा तपाईंले भनेजस्तै सहरको चरित्र चित्रण छ। छिमेकी कोठामा मान्छे मर्दा अर्को छिमेकीको घरमा नाचगान चलिरहेको हुन्छ। छिमेकी घरबाट आगो ओसारेर आगो बाल्ने कुरा अब सहरमा सम्भव छैन, मानवीय संवेदनाबाट सहर विमुख हुँदै गएको परिस्थितिलाई यस कवितामा उजागर गरेको हुँ। यसकारण मैले भन्दा यस्ता कविता नारा होइनन्, तर अरू कसैले एउटा वर्गको त विरोध नै गरेको छ, भन्यो भने यसको जवाफ पनि मसँग छैन। कवितालाई हेर्ने दृष्टिकोणमा भर पर्छ।

तर, हामी नाराबाट बच्नकै लागि विम्ब, प्रतीक, मिथक, परक कथाको प्रयोग गर्दै आएका छौँ। यसैगरी भाषामा विकल्प किन खोज्छौँ? मलाई भोक लाग्यो भनेपछि पुग्छ। मैले खान पाइनँ, मेरो भोकबारे राज्यले चिन्ता लिएन वा मैले किन्न सकिनँ, मसँग पैसा छैन आदि आदि भन्नै पर्दैन। यसर्थ कवितालाई नारा बन्नबाट बचाई कलात्मक बनाउनका निम्ति नै यस्ता वैकल्पिक भाषाहरू हामी खोजिरहेका हुन्छौँ।

अवकाशपछिका दिनहरूमा तपाईं सकारात्मकता र उत्साहका कविता लेखिरहनुभएको छ, यसको खास कारण के हो?

– हो, जागिरका बारेमा मेरो बेग्लै धारणा छ। जागिर बाटोमा भेटेको थिएँ, बाटोमै छाडेँ। जागिरको सुरुवात र अवकाशलाई यसो भन्ने गरेको छु। कवितासँगको साइनो ४ कक्षा पढ्दादेखि नै हो। कविता पानी हो तर जागिर पानी होइन। पहिलेदेखि लेखेँ, अहिले पनि लेख्छु। कहिलेकाहीँ हप्ताभरि नै कविता लेखेँ हुँला, कहिले एक दुई महिना र एक दुई वर्षसम्म पनि कविता लेखिनँ हुँला तर अनुभूत नगरी कहिल्यै लेखिनँ। फुर्सदमा कविता लेखिँदैन र अहिले फुर्सदमा कविताको सङ्गत गर्न पाएको छु।

कविताको शैली जस्तो पनि हुनसक्छ। देवकोटाले जरुर साथी म पागल भनेर आफ्नो मानसिक स्वस्थताको प्रमाण दिनुभयो, त्यसैले कविताको भाषा र उद्देश्यचाहिँ सकारात्मक नै हुन्छ। छोपिएको छ, अँध्यारो छ भन्नुको अर्थ उज्यालो खोजेको हुँ। अन्याय भएको छ भन्नुको अर्थ न्याय खोजेको हुँ। त्यहाँ असमानता छ भन्नुको अर्थ समानता खोजेको हुँ। त्यसैले कवितासँगको नातामा म सदैव उत्साहित रहिरहेँ।

व्यस्तता र फुर्सदका दुवै समय म कविता लेखनमा सधैँ नै उत्साहित रहँदै आएको छु। रह्यो उत्साहका कविताको कुरा, विनाउत्साह कविताको घाम उदाउँदैन। कविता रचनामा आफू जीवित रहेको आभास हुने कवि हुँ म। युगका विसङ्गतिले जति दुःखेँ, यसले मन भारी भयो र कवितामा बगेँ तर दुःखैको अनुभूतिमा पनि कविता लेख्दा विनाउत्साह मैले कहिल्यै कविता लेखिनँ। कवि हुनुको कारणबाहेक मलाई यसको खास कारण पनि थाहा छैन।

मान–सम्मान र पुरस्कारप्रति तपाईंको मान्यता के कस्तो छ?

– म कविता किन छाप्छु, अथवा अर्कोले कविता किन छाप्छ? प्रकाशनको सम्बन्ध कहाँसम्म छ? समाजले मेरो कविता पढोस् भन्ने म चाहन्छु भने त्यसको समाजसँग सम्बन्ध छ नै। अब समाजसँग सम्बन्ध छ भने सामाजिक स्वीकृति यसले खोज्छ कि खोज्दैन भन्ने प्रश्नको जवाफ हुन्छ— अवश्य पनि खोज्छ। म चाहिँ निश्चित रूपमा सामाजिक स्वीकृति चाहन्छु। समाजमा मैले गरेको कर्म राम्रा छन् भन्यो भने खुसी लाग्छ।

त्यो मैले खोजेको सामाजिक स्वीकृतिका धेरै रूप छन्। त्यसमध्ये विश्वविद्यालयको पाठ्यक्रममा राख्ने, त्यसका बारेमा अध्ययन गराउने अर्को रूप हुनसक्छ। त्यसलाई पुरस्कार दिने, सम्मान दिने, भत्ता दिने र सरकारी नियुक्ति दिने अर्को रूप होला। यद्यपि, हामीकहाँ नियुक्ति विषाक्त हुँदै गएको छ, त्यो अर्कै पाटो हो। पुरस्कार सामाजिक स्वीकृति दिनेमध्येको एउटा रूप हो। त्यसलाई म कुनै पनि हालतमा इन्कार गर्दिनँ तर त्यो सामाजिक स्वीकृति जतिखेर म लेखनमा इमानदार छु, निरन्तर छु र मेरो लेखनले समाजमा अर्थ राखेको छ भने मात्रै मैले पाउने सम्भावना हुन्छ। पुरस्कार पाउनकै लागि भने लेख्दिन र लेखेको पनि होइन।

लोकप्रिय

नेकपाको सचिवालय बैठक शुरु

नेकपाको सचिवालय बैठक शुरु

२०७६, ४ आश्विन शनिबार १६:३९

अमेरिकी मोस्ट वान्टेडलाई लैजाने विमान चार्टर्ड,  एकलाख डलरको खर्च

अमेरिकी मोस्ट वान्टेडलाई लैजाने विमान चार्टर्ड, एकलाख डलरको खर्च

२०७६, ३ आश्विन शुक्रबार १७:२१

सलमान र अक्षयको भिडन्त पक्का

सलमान र अक्षयको भिडन्त पक्का

२०७६, ३ आश्विन शुक्रबार १७:०८

बेलायती महारानीद्वारा संविधान दिवसको शुभकामना

बेलायती महारानीद्वारा संविधान दिवसको शुभकामना

२०७६, ३ आश्विन शुक्रबार १३:१४

साफ यु–१८ः नेपाल र भुटान मैदानमा (लाइभ हेर्ने लिङ्कसहित)

साफ यु–१८ः नेपाल र भुटान मैदानमा (लाइभ हेर्ने लिङ्कसहित)

२०७६, ५ आश्विन आईतवार १४:५८

‘कबड्डी कबड्डी कबड्डी’ मा दर्शकको लर्को

‘कबड्डी कबड्डी कबड्डी’ मा दर्शकको लर्को

२०७६, ३ आश्विन शुक्रबार १२:५९

देउवाको बोलीप्रति राष्ट्रपतिको व्यंग्य

देउवाको बोलीप्रति राष्ट्रपतिको व्यंग्य

२०७६, ४ आश्विन शनिबार ०९:४८

टेलिकमको फोरजी सेवा मुलुकको २०–२५ वटा शहरमा पुग्ने

टेलिकमको फोरजी सेवा मुलुकको २०–२५ वटा शहरमा पुग्ने

२०७६, ४ आश्विन शनिबार १३:१८

सेनाकाे हवल्दारसँग मिलेर आफ्नै श्रीमानको हत्या

सेनाकाे हवल्दारसँग मिलेर आफ्नै श्रीमानको हत्या

२०७६, ४ आश्विन शनिबार १५:४५

‘रणहार’लाई मदन पुरस्कार प्रदान

‘रणहार’लाई मदन पुरस्कार प्रदान

२०७६, ३ आश्विन शुक्रबार १७:३६

म्युनिख विमानस्थललाइ गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा

म्युनिख विमानस्थललाइ गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा

२०७६, ४ आश्विन शनिबार १८:००

बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैदकाे सजाय

बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैदकाे सजाय

२०७६, ३ आश्विन शुक्रबार १६:०८

झिनामसिनामै अल्झिए मुख्यमन्त्री

झिनामसिनामै अल्झिए मुख्यमन्त्री

२०७६, ४ आश्विन शनिबार १०:५६

संविधान दिवसमा सी चिनफिङको फोन, लीको सन्देश

संविधान दिवसमा सी चिनफिङको फोन, लीको सन्देश

२०७६, ४ आश्विन शनिबार १०:२३

अण्डाको मूल्य ३० रुपैयाँ बढ्यो

अण्डाको मूल्य ३० रुपैयाँ बढ्यो

२०७६, ३ आश्विन शुक्रबार १०:५८