काठमाडौँ – नेपाली पब्लिकको टिम काठमाडौँको रानीवारीस्थित आसरा सुधार केन्द्रमा पुग्दा त्यहाँ मादलको तालमा गीत घन्किरहेको थियो। आसरामा उपचारका निम्ति आएका युवाहरु नाचगानमा व्यस्त थिए। सबैको मुहार उज्यालो देखिन्थ्यो। कसैमा हीनताबोधको भाव थिएन। सफा पहिरन, स्वस्थ अनुहार लिएर नाचगानमा मस्त रहेका युवाहरुप्रति इङ्गित गर्दै केन्द्रका क्याम्प कमाण्डेण्ट इन्स्पेक्टर रविन्द्र थापासँग ‘यहाँ सँधै यस्तै हो?’ भन्ने प्रश्न राख्दा उनले भने, यही जुन २६ मा लागूऔषध दुर्व्यसनीविरुद्धको दिवस छ। यसैको तयारीमा नाचगान भइरहेको हो।’

वि.सं. २०५४ असारमा नेपाल प्रहरीले काठमाडौँबाट विभिन्न आपराधिक क्रियाकलापमा संलग्न २ सय ७२ जनालाई पक्राउ गर्‍यो। पक्राउ परेकामध्ये १ सय ११ जनाले लागूऔषध तथा मादक पदार्थ सेवन गरेको प्रहरी अनुसन्धानले देखायो।

लागूऔषध तथा मादक पदार्थ सेवन गरी अपराधमा समेत संलग्न हुनेको संख्या अधिकतम देखिएपछि नेपाल प्रहरीले अपराध न्युनीकरण गर्न यस्ता दुर्व्यसनीको उपचारलाई प्राथमिकतामा राख्नुपर्ने ठम्यायो। यही ठम्याइलाई मूर्तरूप दिनका निमित्त दुर्व्यसनमा फसेका व्यक्तिलार्ई उपचार र काउन्सिलिङका माध्यमबाट पुनः असल तथा सभ्य नागरिक बनाउने लक्ष्यका साथ नेपाल प्रहरीले वि.सं. २०५४ असार १ गते ‘दुर्व्यसनी उपचार शिविर’ शुरू गर्‍यो। यस्तो शिविरलाई प्रहरीले ३ महिनासम्म निःशुल्क सञ्चालन गर्‍यो। शिविरमार्फत तीन महिनाको लगातार लागूऔषध दुर्व्यसनमा फसेका युवायुवतीलाई उपचार र काउन्सिलिङ गर्दा केही सफलता मिले पनि अपेक्षाकृत परिणाम निस्कन सकेन।

एकपटक शिविरमा आएर फर्केका दुर्व्यसनीहरुले पुनः लागूऔषध सेवन गर्न थालेको पाइएपछि नेपाल प्रहरीले विकल्प सोच्न थाल्यो। अन्ततः २०५४ साल असोज १ गतेदेखि शिविरलाई उपचार केन्द्रका रुपमा सञ्चालन गर्ने निधोमा पुगेर नेपाल प्रहरी श्रीमती संघलाई हस्तान्तरण गरियो। त्यसपछि नेपाल प्रहरीले यसको जिम्मा नेपाल प्रहरी श्रीमती संघलाई दियो। संघले सोही समयदेखि आफ्नै सुपरिवेक्षणमा लागूऔषध दुर्व्यसनीको उपचार शुरु गर्‍यो। नेपाल प्रहरीकै पूर्ण सहयोगमा संघले लाजिम्पाटको रानीवारीमा ‘आसरा सुधार केन्द्र’ नामक संस्था दर्ता गरेरै सञ्चालन प्रारम्भ गर्‍यो।

स्थापना कालदेखि संघले आफ्नो सुपरीवेक्षणमा अत्यन्त कुशलतापुर्वक यस संस्थालाई सञ्चालन गर्दै आएको छ। अब त यो सुधार केन्द्र सञ्चालन भएको दुई दशक पनि पुगिसक्यो। असोजमा स्थापनाको २२औँ वर्ष पुरा गर्न लागेको यस केन्द्रले अहिलेसम्म ४ हजार ६ सय ५६ लागूपदार्थ दुर्व्यसनी र मादक पदार्थ सेवनकर्तालाई उपचार गराएर घर फर्काएको इन्स्पेक्टर रविन्द्र थापाले नेपाली पब्लिकलाई बताए।

संख्याको दृष्टिले लागूऔषध दुर्व्यसनीको उपचार भएको यो कमै हो। तर नेपाल प्रहरीको यस प्रयासप्रति समाज सँधै अनुगृहीत रहने उपचार गरेर फर्किएका युवायुवतीका अभिभावकहरु बताउँछन्। दुर्व्यसनमा फसेर समाजका निम्ति बोझ बनिसकेका आफ्ना सन्तानलाई यस केन्द्रमा उपचार गराएर फर्काउने अभिभावकहरुले यस केन्द्रको क्षमता विस्तार गरी कमसेकम पाँच सय पुर्‍याउनु पर्ने आग्रह गरेका छन्। तर अहिले यस केन्द्रको बढीमा एकसय जनालाई राखेर उपचार र काउन्सिलिङ गर्ने क्षमता रहेको छ।

अध्यक्ष प्रमिला खनाल।

चाहेर पनि रानीवारीमै योभन्दा बढी क्षमता विस्तार गर्न नसकिने केन्द्रको कार्यकारिणी समिति एवं नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष प्रमिला खनालले बताइन्। ‘अभिभावकहरुको यही आग्रहलाई दृष्टिगत गर्दै हामीले २०७५ सालको माघमा गौशालाको तिलगंगामा महिला दुर्व्यसनीलाई उपचार गर्नका निम्ति ५० जना क्षमताको सुधार केन्द्र र धरानको पानवारीमा एक सय २० जना क्षमताको पुरुष सुधार केन्द्र २०७५ चैत १ गतेबाट सञ्चालन गरिरहेका छौँ,’ उनले भनिन्, ‘तर अभिभावकको माग हामीले अझै पनि पूरा गर्न सकेका छैनौँ।’

लागूपदार्थ दुर्व्यसनी र मादक पदार्थ सेवनकर्तालाई यि केन्द्रहरुमा चार महिनाको उपचार र काउन्सिलिङ गरी घर पठाइन्छ। आसरा सुधार केन्द्र रानीवारीका क्याम्प कमाण्डेण्ट इन्स्पेक्टर थापाले भने, ‘यो चार महिनाको अवधिमा दुर्व्यसनीमा सुधार नदेखिए समयावधि थप गर्ने पनि प्रचलन छ। तर चार महिनाको अवधिमा सुधार केन्द्रमा भर्ना भएकाहरुमध्ये ५५ देखि ६० प्रतिशत दुर्व्यसनीहरुले पूर्ण र जीवनपर्यन्त लागूऔषध दुर्व्यसनबाट मुक्ति पाएका छन्। त्यस्ता व्यक्तिहरु पुनः पहिलेकै अवस्थामा फर्किएर लागूऔषध दुर्व्यसनीका विरुद्धमा समाजमा जनचेतना जगाइरहेका छन्।’

लागूऔषध दुर्व्यसनीबाट पूर्णतया मुक्त हुन घरपरिवारको हेरचाह र उनीहरुले गर्ने व्यवहारले पनि धेरै महत्वपूर्ण भूमिका खेल्ने इन्स्पेक्टर थापाको भनाइ छ। ‘आसरा केन्द्रबाट सुधारिएर फर्किएका युवायुवतीलाई घरपरिवारले राम्रो वातावरण दिने, समाजोपयोगी काममा प्रेरित गर्ने र तुरुन्तै दीर्घकालीन प्रभाव पार्ने कामको अपेक्षा नगरी अभिभावकले आफ्ना सन्तानलाई छिछि र दुरदुर नगर्ने हो भने एक पटक उपचार गराएर फर्किएका दुर्व्यसनीहरु पुनः यस्तो दुर्व्यसनमा नफस्ने गरेको व्यवहारले देखाएको छ,’ थापाले भने। खास गरी दुर्व्यसनमा फसेका युवायुवतीहरु त्यस लतबाट मुक्त हुनका निम्ति स्वस्फुर्त ढंगबाट आसरा सुधार केन्द्रमा आएर फर्किएकाहरु भने शतप्रतिशत नै स्वस्थ जीवन बिताइरहेको इन्स्पेक्टर थापाले बताए।

आसरा सुधार केन्द्रमा चार महिना उपचार र काउन्सिलिङ गर्ने गरिन्छ। त्यसवापत केन्द्रले ७२ हजार रुपैयाँ शुल्क लिने गरेको छ। यस अवधिमा दुर्व्यसनीमा सुधार देखिएन भने कम्तीमा दुई महिना समयावधि थप गरिन्छ। धेरै नै ‘एडिक्ट’ भइसकेकालाई मात्रै यसरी अवधि थपेर राख्नु पर्ने हुन्छ। केन्द्रमा आएका दुर्व्यसनीमध्ये करिब २५ प्रतिशतलाई समय थपेर उपचार गर्नुपर्ने इन्स्पेक्टर थापाको भनाइ छ।

सुधार केन्द्रमा ल्याइएका दुर्व्यसनीलाई शुरूमा मेडिकल चेकजाच गरिन्छ। १० दिनसम्म सुधार केन्द्रको वातावरणमा घुलमिल गराउने गरिन्छ र त्यसपछि काउन्सिलरले काउन्सिलिङ शुरू गर्छन्। सुधार केन्द्रले बिहानदेखि साँझसम्मको कार्यतालिका बनाएर दुर्व्यसनीलाई उपचार, कसरत, खेलकुद, खानपिन, सरसफाई, काउन्सिलिङ जस्ता कार्यमा संलग्न गराउँछ। प्रहरीले जसरी आफ्ना जवानलाई एउटा तालिकाअनुरुप कार्य गराउँछ, ठीक त्यसरी नै यहाँको दैनिकी बिहानको पाँच बजेबाट शुरु हुन्छ।

आर्थिक अवस्था कमजोर भएका र शुल्क तिर्न नसक्ने दुर्व्यसनीमध्ये केहीलाई एउटा निश्चित प्रक्रियामार्फत पूर्ण छुट र आंशिक छुट दिइ उपचार गर्ने व्यवस्था पनि केन्द्रले मिलाएको छ। यसका लागि स्थानीय तहले गरिब तथा विपन्न भएको सिफारिस गरेमा दुर्व्यसनीलाई १० प्रतिशतसम्म छुट दिइन्छ। त्यसैगरी दुई जनालाई पूर्ण छात्रवृत्तिमा सुधार केन्द्रमा राख्ने व्यवस्था पनि छ। तर यसका लागि सुधार केन्द्रको कार्यकारिणी समितिले विभिन्न प्रक्रियामार्फत छनोट गर्छ। त्यसमा आर्थिक अवस्था निकै कमजोर भएका र अपाङ्ग लगायतलाई विशेष प्राथमिकता दिइने अध्यक्ष प्रमिला खनालले बताइन्।

केन्द्रमा दुर्व्यसनीहरुलाई काउन्सिलिङ गर्नका निम्ति नेपाल प्रहरीका पूर्वडीआईजी मनोचिकित्सक अजित गुरुङलगायत दुइजना मेडिकल पर्सनहरुले उपचार गर्छन्। दुर्व्यसनीहरुलाई चिकित्सकहरुले बिहानैबाट नित्यकर्म, योगा, मेडिटेसन, खेलकुद, गीत–संगीतजस्ता कर्ममा व्यस्त बनाउँछन्। सामूहिक तथा व्यक्तिगत रूपमा मनोचिकित्सकले काउन्सिलिङ गर्छन्। ‘काउन्सिलिङमा विशेषगरी ‘म र मेरो स्वास्थ्यलाई ख्याल गर्नुपर्छ भन्ने मूलमन्त्र दिइन्छ। दुर्व्यसन एक प्रकारको रोग नै हो भनेर काउन्सिलिङ गरिने इन्स्पेक्टर थापाले बताए।

उपचार गराएर घर फर्केकाहरू मध्ये कतिपय व्यक्तिले केन्द्रमा आएर सुधार केन्द्रमा रहेका दुर्व्यसनीलाई लागूऔषधबारे प्रशिक्षण दिने गरेका छन्। उनीहरू प्रत्येक महिनाको शुक्रबार सुधार केन्द्रमा आउँछन् र सबैसँग अन्तरक्रिया गर्छन्। ‘दुर्व्यसनीका अभभिावकहरूलाई पनि यहाँबाट महिनामा एक दिन काउन्सिलिङ गरिन्छ। दुर्व्यसनी छोराछोरी उपचार गराएर घर फर्केपछि के गर्ने, के नगर्ने भन्नेबारे हामी अभिभावकलाई सिकाउँछौँ,’ थापाले भने।

केन्द्रमा खासगरी दुर्व्यसनीमा भावनात्मक परिवर्तन ल्याउन, स्वावलम्बी र आत्मसंयमी बनाउन, आध्यात्मिकतातर्फ उन्मुख गराउन र समाजसँग घुलमिल गराउनका निम्ति मनोचिकित्सक एवं मेडिकल पर्सनहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन्।

क्याम्प कमाण्डेण्ट इन्स्पेक्टर थापा।

केन्द्रमा रहेका दुर्व्यसनीको तथ्याङ्कअनुसार ७० प्रतिशतले गाँजा, गोटी (ट्याब्लेट) सेवन गर्ने, १० प्रतिशतले इन्जेक्सन लिने, १० प्रतिशतले गम्भीर प्रकृतिका लागूपदार्थ (ब्राउन सुगर, हेरोइन, कोकिन) सेवन गर्ने तथा ११ प्रतिशतले मादक पदार्थ (अल्कोहल) सेवन गर्ने गरेको पाइएको छ। यसको सिधा अर्थ हो, ब्राउन सुगर, हेरोइन र कोकिन जस्ता अन्तर्राष्ट्रिय माफियाले व्यापार गर्ने लागूपदार्थ नेपालमा खुलेआम विक्री भइरहेको छ। र यसबाट वार्षिक अर्बौ रुपैयाँ विदेशिने गरेको छ। तर सम्बन्धित निकाय गाँजा चरेस पक्रेर प्रचार गर्दै नाक फुलाइरहेको छ। हेरोइन, ब्राउन सुगरजस्ता लागूपदार्थ पक्राउ परिहाले पनि दुइग्राम, तीनग्रामको परिमाणमा मात्र सार्वजनिक गरिन्छ। कतै यो धन्धामा सम्बन्धित निकायका पदाधिकारीहरु नै संलग्न त छैनन्? प्रश्न स्वभाविक रुपले उठ्छ।

आफ्ना सन्तानहरु दुर्व्यसनमा चुर्लुम्म डुबिसक्दा पनि अभिभावकलाई थाहा नहुनु एउटा बिडम्वनाको रुपमा देखिएको छ। छोराछोरीका क्रियाकलापप्रति अभिभावकले खासै चासो नदिनु, पैसा दिएर आफ्नो जिम्मेवारी पुरा भएको ठान्नु र सन्तानलाई समय नदिनुले युवायुवतीलाई गलत संगतमा पुर्‍याउँछ र अन्ततः दुर्व्यसनमा अभ्यस्त बनाउँछ।

बुवाआमाले छोराछोरीका क्रियाकलापप्रति अलिकति चासो दिने हो भने पनि सन्तानलाई दुव्र्यसनबाट बचाउन सकिने इन्स्पेक्टर थापाको भनाइ छ। उनका अनुसार शुरूवाती अवस्थाका दुर्व्यसनीहरु एकान्तमा बस्न रूचाउने, झर्केर बोल्ने, नपढ्ने, पैसा धेरै खोज्ने लगायतका व्यवहार गर्छन्। त्यस्तो अवस्थामा ध्यान दिने हो भने आफ्नो छोराछोरीलाई दुर्व्यसनमा फस्नबाट बचाउन सकिन्छ।

आसरा सुधार केन्द्रको तथ्याङ्कलाई केलाउने हो भने दुव्र्यसनमा फस्ने धनी परिवारका छोराछोरीको संख्या बढी छ। अभिभावक व्यस्त हुने, छोराछोरीको हेरचाह नगर्ने र पैसाले मात्रै आफ्नो जिम्मेवारी ठान्ने बाबुआमाको सन्तान बढी लागूऔषधको कुलतमा फसेको देखिन्छ।

अभिभावक व्यस्त भएर छोराछोरीलाई होस्टेलमा राख्ने प्रवृतिले पनि युवायुवतीहरू लागूऔषधको दलदलमा फसेका छन्। प्रत्येक १० जनामध्ये होस्टेलमा बस्ने ६ जना लागूऔषधमा फसेको पाइएको सुधार केन्द्रको तथ्याङ्कले देखाउँछ। खासगरी मुलुकका शहर र काठमाडौँ उपत्यकामा खोलिएका होस्टेलहरु लागूऔषधको कारोबार केन्द्र बन्दै गएको पनि यो तथ्याङ्कबाट प्रष्ट हुन्छ। आफ्नै मातहतमा सञ्चालित आसरा सुधार केन्द्रको तथ्याङ्कलाई नेपाल प्रहरीले किन आँखा चिम्लिएको होला? यो भने सुल्झिन नसकेको प्रश्न हो।

आसरा सुधार केन्द्रमा पुग्ने अधिकांश दुर्व्यसनी कम्तीमा दुई वर्ष लागूऔषध सेवनमा फसेका हुन्छन्। शुरूमा ध्यान नदिँदा दुर्व्यसनमा लागेकाहरूबारे अन्तिममा मात्रै परिवारले जानकारी पाउँछन् र अनि सुधार केन्द्र खोज्दै आउँछन्।

सयमा तीन जना दुर्व्यसनी मात्रै आफैँ आसरा सुधार केन्द्रमा आउने गरेको तथ्याङ्क छ। अन्यलाई अभिभावकले अनेक प्रपञ्च रचेर सुधार केन्द्रमा ल्याउने गरेको पाइन्छ। आसरा सुधार केन्द्रको उपचारबाट स्वस्थ भएर फर्किएकाहरूले पनि दुर्व्यसनीलाई सुधार केन्द्रमा जान प्रेरित गर्छन्। उपचारबाट स्वस्थ भएर फर्कनेहरुको संख्या देशभरि ४ हजार ६ सय ५६ पुगेको केन्द्रको तथ्याङ्क छ।

नेपालमा लागूऔषध दुर्व्यसनको संख्या बढ्दै गएसँगै दुव्र्यसनीका अभिभावकहरुद्वारा सुधार केन्द्रको बिस्तार र अन्य जिल्लामा पनि केन्द्र खोल्नका निमित्त प्रहरीसमक्ष माग भइरहेको छ। यद्यपि निजी क्षेत्रबाट पनि यस्ता सुधार केन्द्रहरु प्रशस्त मात्रामा खोलिएका छन्। गृह मन्त्रालयको तथ्याङ्क अनुसार अहिलेसम्म नेपालभर एक सय ३३ वटा लागूऔषध दुर्व्यसनी सुधार केन्द्र खुलिसकेका छन्। यिमध्ये अधिकांश काठमाडौँ केन्द्रित छन्। काठमाडौँ उपत्यकामा मात्रै लगभग ८३ वटा सुधार केन्द्र रहेका छन्। केही सुधार केन्द्र त दर्ता नै नगरी सञ्चालन भइरहेको पनि पाइएको छ।

आसरा सुधार केन्द्र।

तर, निजी क्षेत्रबाट खोलिएका यस्ता सुधार केन्द्रप्रति अभिभावकको भरोसा कमै देखिन्छ। शुल्क बढी लिने, यातना दिने, तोकिएको शुल्क बुझाएपछि पनि बीचबीचमा अनेक बहानामा पैसा असुल्नेजस्ता कार्यले निजी क्षेत्रका सुधार केन्द्रप्रति आमजनताको भरोसा कम भएको हो। एक प्रकारले निजी क्षेत्रका सुधार केन्द्रहरु बोर्डिङ स्कुलजस्तै बनेका छन्। कतिपय सुधार केन्द्रहरु गलत क्रियाकलापका कारण बन्द पनि गरिएका छन् भने सञ्चालकसमेत पक्राउ परेका छन्।

त्यसैले पनि नेपाल प्रहरीद्वारा सञ्चालित सुधार केन्द्रप्रति आमजनताको आकर्षण र भरोसा बढेको हो। यही भरोसाका कारण नेपाल प्रहरीलाई थप सुधार केन्द्रहरु खोल्नका निम्ति दबाब बढेको छ। यस सम्बन्धमा केन्द्रकी अध्यक्ष प्रमिला खनालसँग जिज्ञासा राख्दा उनले भनिन्, ‘आसरा सुधार केन्द्र नितान्त गैरनाफामुलक संस्था हो। सीमित स्रोत र साधनबाट हामीले यस्ता सुधार केन्द्र सञ्चालन गरिरहेका छौँ। देशभरिबाट शाखा विस्तारका लागि माग भइरहेको छ। तर स्रोत र साधनको अभावमा हामीले दिल फुकाएर काम गर्न सकेका छैनौँ। यद्यपि निकट भविश्यमै दाङको लमही, पोखरा र कैलालीमा आसराको शाखा विस्तार गर्दैछौँ। त्यसका लागि जग्गा प्राप्तिको प्रक्रिया शुरू भइसकेको छ।’

सुधार केन्द्रका अनुसार सुधार केन्द्रमा उपचार र काउन्सिलिङपछि ५५ देखि ६० प्रतिशत दुर्व्यसनी पूर्णतया ठिक भएर घर फर्कन्छन्। सुधार केन्द्रले घर फर्किएपछि पनि बोलाएको समयमा आफैँ केन्द्रमा आउनेलाई पूर्णतया लागूऔषध दुर्व्यसनबाट मुक्त भएको मान्ने गरिएको इन्स्पेक्टर थापाले बताए। त्यसो त जो कोही दुव्र्यसनी पूर्णतया ठिक हुने/नहुने भन्ने कुरामा घर फर्केपछि त्यहाँको वातावरण र अभिभावकको व्यवहारमा निर्भर रहने हुन्छ। पारिवारिक वातावरण, सामाजिक वातावरण, साथीभाइको संगत लगायतका कुराले यसमा विशेष प्रभाव पार्छ।

तर, नेपाल प्रहरी श्रीमती संघको सुपरिवेक्षणमा सञ्चालित आसरा सुधार केन्द्र भने एक गैरनाफामुलक विश्वसनीय संस्था बन्न सफल भएको छ र दुर्व्यसनीका लागि पाठशाला बनेको छ। अन्य निजी क्षेत्रबाट सञ्चालित सुधार केन्द्रले लाखौँ रूपैयाँ खर्च गरेर विज्ञापन गरिरहँदा आसरा सुधार केन्दले हालसम्म प्रचार गर्नुपरेको छैन। जुन, नेपाल प्रहरीको नीति नियम तथा आचरणअनुसार सञ्चालित छ।

आसराप्रतिको विश्वासको कारण नै हो, दुर्व्यसनमा फसेका आफ्ना छोराछोरीलाई देशका विभिन्न ठाउँबाट अभिभावकले यहाँ उपचार र काउन्सिलिङ लागि ल्याउने गरेका छन् र अधिकांश ठिक भएर घर फर्किने गरेका छन्। त्यसैले पनि आसरा सुधार केन्द्रप्रति आमजनताको विश्वास र भरोसा चुलिँदै गएको छ।

लोकप्रिय

सुर्खेतका युवाले कोरिया प्रवेश गरेको १४ दिनमै ज्यान गुमाए

सुर्खेतका युवाले कोरिया प्रवेश गरेको १४ दिनमै ज्यान गुमाए

२०७६, २७ आश्विन सोमबार १७:०५

धन्यवाद पारस ! अब खोजी सौरभ गांगुलीको

धन्यवाद पारस ! अब खोजी सौरभ गांगुलीको

२०७६, २८ आश्विन मंगलवार १८:१८

यि हुन एक करोड भारु कमाउने पहिलो बलिउड सुपरस्टार

यि हुन एक करोड भारु कमाउने पहिलो बलिउड सुपरस्टार

२०७६, २७ आश्विन सोमबार २१:११

नेपाल वायुसेवा निगम र टेलिकममा विदेशी साझेदार आउन नसक्नुका कारणहरू

नेपाल वायुसेवा निगम र टेलिकममा विदेशी साझेदार आउन नसक्नुका कारणहरू

२०७६, २८ आश्विन मंगलवार २२:२५

जहाज नआएको भन्दै सांसदले गरे काउन्टरमा तोडफोड

जहाज नआएको भन्दै सांसदले गरे काउन्टरमा तोडफोड

२०७६, २७ आश्विन सोमबार १७:१५

विश्वकप छनोटः आज जोर्डनसँग भिड्दै नेपाल

विश्वकप छनोटः आज जोर्डनसँग भिड्दै नेपाल

२०७६, २७ आश्विन सोमबार १५:३२

को हुन दिपाको काखकी नानी? (फाेटाेफिचर)

को हुन दिपाको काखकी नानी? (फाेटाेफिचर)

२०७६, २८ आश्विन मंगलवार १०:३०

चिन भ्रमणमा नेकपाका तिन टोली

चिन भ्रमणमा नेकपाका तिन टोली

२०७६, २८ आश्विन मंगलवार १७:२९

चीनको रासायनिक कारखानामा विस्फोट, ४ जनाको मृत्यु

चीनको रासायनिक कारखानामा विस्फोट, ४ जनाको मृत्यु

२०७६, २८ आश्विन मंगलवार १७:११

मुलुकका जिम्मेवार व्यक्तिहरु नै अपराधमा मुछिएपछि…

मुलुकका जिम्मेवार व्यक्तिहरु नै अपराधमा मुछिएपछि…

२०७६, २९ आश्विन बुधबार ०६:५२

आईजीपी सर्वेन्द्र खनाल चिली प्रस्थान

आईजीपी सर्वेन्द्र खनाल चिली प्रस्थान

२०७६, २७ आश्विन सोमबार ००:४६

पायल्स निको पार्न अब घरेलु औषधि

पायल्स निको पार्न अब घरेलु औषधि

२०७६, २८ आश्विन मंगलवार ११:४८

खेम सेन्चुरी र सम्झना भण्डारीको लोकादोहोरी गीत ‘कपलु कोरेर’ सार्वजानिक (भिडियो सहित)

खेम सेन्चुरी र सम्झना भण्डारीको लोकादोहोरी गीत ‘कपलु कोरेर’ सार्वजानिक…

२०७६, २७ आश्विन सोमबार २२:३६

आक्रामक बन्दै अर्जेन्टिना, मेस्सीबिनै प्रभावशाली जित

आक्रामक बन्दै अर्जेन्टिना, मेस्सीबिनै प्रभावशाली जित

२०७६, २७ आश्विन सोमबार ११:१८

पशुपतिनाथमा करिब ४५ किलो सुन !

पशुपतिनाथमा करिब ४५ किलो सुन !

२०७६, २९ आश्विन बुधबार ०७:०१