काठमाडौं – कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रको कार्यालय। कार्यालय भित्रको एउटा टेबुलमा केही लेख्दैछन् महावीर पुन। चाँडै हस्तान्तरणको तयारीमा रहेको मेडिकल ड्रोनसहितका परियोजनाका विषयमा चिन्तन गर्दै हुन्छन् उनी। अरु धेरै परियोजनाका छन् आविष्कार केन्द्रले सञ्चालन गरेका। पुनले नेपाली पब्लिकसँग सम्वादको थालनी मेडिकल ड्रोनकै विषयमा प्रष्ट पार्दै शुरु गरे।

‘मेडिकल ड्रोन दुई प्रकारका छन्, फिक्स वीङ्स र अक्टाकोप्टर, मल्टी रोटर ड्रोनमा समस्या आएर फाइनल टेस्ट भइरहेको छ, दोस्रो काम चाहिँ प्रोटोटाइप बनिसकेको छ, प्रडक्ट डेभेलप गर्ने भनेको सोलार थर्मल कलेक्टर हो, काठमाडौं विश्वविद्यालयका विद्यार्थीले बनाइरहेका छन्,’ उनले भने। राष्ट्रिय आविष्कार केन्द्रको अर्को काम चाहिँ चितवनको रामपुरस्थित कृषि विश्वविद्यालयका विद्यार्थीहरुले कुखुराको दाना अनुसन्धानमा लागेका छन्। इण्डोनेशियामा गरिएको प्रविधिलाई त्यहाँ अनुसन्धान गरिएको उनले बताए।

केन्द्रले बेबी इनक्यूभेटर निर्माण, अनलाइन सपिङ, सामुदायिक विद्यालयहरुलाई लक्षित गरी स्कूल व्यवस्थापन सफ्टवेयर निर्माण गरिरहेको छ। केन्द्रको अर्को महत्वपूर्ण काम ग्रामीण क्षेत्रका बिरामीको तथ्याङ्क संकलन पनि हो। ‘ग्रामीण क्षेत्रको स्वास्थ्य चौकीहरुमा आउने बिरामीहरुको रेकर्ड राख्ने सिस्टमको विकासमा लागेका छौँ,’ उनले भने।

त्यसैगरी, अदुवाबाट कुनै एउटा सफ्ट ड्रिङ्क बनाउने विधि तयार गरी उत्पादन गर्ने तयारीमा लागेको उनले बताए। ‘त्यसको व्यवसायिक उत्पादन गरी बजारमा पुर्‍याउने लक्ष्य छ,’ उनी भन्छन्, ‘उत्पादनपछि परीक्षण र सुधार गर्ने काम गरिने छ।’ ब्याट्रीबाट चल्ने रिक्साहरुको सिस्टमलाई मर्मतसम्भार गर्न चार्जिङ सिस्टम निर्माण भएको र तराईमा लगेर टेस्ट गर्ने तयारी भइरहेको उनले बताए।

त्यसैगरी, दुई जना भाइहरुले जंगली जनावरहरु लखेट्ने सिस्टमको विकास गरिरहेका छन्, अरु दुई जनाले गाई दुहुने मेशिन बनाउन सकिन्छ कि भनेर प्रयास गरिरहेका छन्, मेशिन डिजाइन गरेर रिसर्चमा लागेका छन्,’ उनले भने, ‘अर्को प्रोजेक्ट चाहिँ सामुदायिक विद्यालयका लागि कम्प्याक सिस्टम निर्माण हो, अमेरिकाको स्टान्डफोर्ट विश्वविद्यालयले बनाएको सिस्टमलाई परिमार्जन गरेर नयाँ ढंगको बनाउन रिसर्च भइरहेको छ, ग्रामीण क्षेत्रका विद्यालयमा पाठ्यसामग्रीहरुलाई प्रोजेक्टरमार्फत देखाउन यसको निर्माण गर्ने काम भइरहेको छ।’

नयाँ-नयाँ प्रविधि र नयाँ-नयाँ आविष्कारका विषयमा विचारहरु आउने र सम्भावना भएकामाथि अनुसन्धान शुरु गर्ने तथ आर्थिक रुपमा सम्भावना नभएका ‘आइडिया’हरु स्थगन गरिने पुनले बताए।

अनुसन्धानका लागि आएका विषयहरुलाई उनी गम्भीरताका साथ लिन्छन्। अनुसन्धानको विषयमा आइडियाहरु आइरहेकै हुन्छन्। राम्रो आइडिया भए प्रक्रिया अघि बढाइहाल्छन्। ‘राम्रो आइडिया छ, भविष्यमा आर्थिक विकासमा सहयोग पुर्‍याउछ, र उनीहरु भविष्यमा उद्यमी हुने सम्भावना देखिन्छ रोजगारी सिर्जना गर्छ भने भएको पैसा लगानी गर्ने र छैन भने खोजेर पनि लगानी गर्छौं,’ पुन भन्छन्, ‘पाँचदेखि १५-२० लाख रुपैयाँसम्म खर्च गर्छौं, अहिलेसम्म त्यो सबै रकम नेपालीहरुको दानबाटै प्राप्त भएको हो।’

पुनका अनुसार विश्वभरि रहेका नेपालीहरुबाट सात करोड जति रकम संकलन भएको छ। जसमध्ये तीन करोड रुपैयाँ बैैंकमा राखिएको उनले बताए। कीर्तिपुरमा भवन निर्माण गर्न तथा अन्य अनुसन्धान सामग्रीको खरिद गर्नका लागि बाँकी रकम खर्च भएको छ। ‘तर, यसरी सधैँ चल्न सकिँदैन, बैंकको पैसा पनि सकिन्छ। त्यसैले दीर्घकालीन रुपमा आर्थिकोपार्जनका लागि विभिन्न योजना बनाउने, केही सामग्रीको व्यावसायिक उत्पादन गर्ने तथा अब सफ्टवेयर कम्पनी सञ्चालन गर्ने प्रयत्नमा हामी लागेका छौँ,’ पुनले योजना सुनाए।

अमेरिकामा पनि कुनै व्यवसाय गरेर आम्दानीको स्रोत बनाउन सकिन्छ कि भन्ने विषयमा पनि परामर्श भइरहेको पुन बताए। नेपालमा लगानी गरेर तत्कालै प्रतिफल आउन समय लाग्ने भए पनि अमेरिकामा गरिएको लगानीको प्रतिफल तत्काल आउने उनको अनुभव छ। ‘अमेरिकामा बस्ने नेपाली साथीहरुले थोरै लगानी गरेर तत्काल प्रतिफल आउने गरी छलफल गरिरहनु भएको छ,’ पुन भन्छन्। अहिले संस्थाको मासिक खर्च चार लाखको हाराहारीमा छ। यो खर्च व्यवस्थापनका लागि रेस्टुरेन्ट सञ्चालन गर्ने विषयमा समेत कुरा भइरहेको उनले बताए।

मेडिकल ड्रोन ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न सहयोगी हुन्छ। अमेरिका, अफ्रिका लगायतका विकसित मुलुकमा मेडिकल ड्रोनको प्रयोग गरिन्छ। ‘औषधि डेलिभर गर्ने मात्रै होइन, व्यावसायिक रुपमा पनि इ-कमर्स कम्पनीहरुले सामग्रीको ढुवानी गर्नेसम्मको कुरा चलिरहेको छ,’ उनी भन्छन्, ‘यसले नेपाली इञ्जिनियरहरुलाई पनि मेडिकल ड्रोन निर्माण गर्न सक्ने अवसर सिर्जना गर्नु पर्‍यो, र कमर्सियल रुपमै बजारमा पठाउन सक्ने स्थितिमा पुर्‍याउनु पर्‍यो, दोस्रो कुरा चाहिँ दुर्गम पहाडमा पुर्‍याउने हो।’

पुनको मुख्य ध्येय नेपाली इञ्जिनियरहरुले पनि आफैँले केही गर्न सकुन् भन्ने हो। अर्काले बनाएको बनाएको मात्रै प्रयोग नगर्ने र आयातीत वस्तुहरुलाई विस्तारै घटाउने कोसिसमा लाग्ने उनले बताए। ‘एक जना भाइले मसँग आएर नेपालमा वार्षिक ६० करोडको सिसाकलम आयात हुँदोरहेछ, म सीसाकलम बनाउछु भने,’ पुन भन्छन्, ‘मैले अनुसन्धान प्रक्रियामा लाग्न सुझाव दिएँ, यदि ती भाइले एक करोडको मात्रै सीसाकलम बनाए भने त्यो पैसा त देशभित्रै प्रयोग भयो नि, आयात घट्यो, त्यो एउटा उदाहरण हो।’

राष्ट्रिय आविष्कार केन्द्रले महिना नपुगि जन्मिएका शिशुलाई राख्नका लागि प्रयोग हुने बेबी इनक्यूभेटरको निर्माण गरिरहेको छ। यसका लागि अनुसन्धानको काम चलिरहेको छ। विदेशबाट आयात भइरहेको बेबी इनक्यूभेटरको निर्माणको आवश्यकता किन त?

‘त्रिविका केही विद्यार्थीहरुले कपाल रङ्ग्याउने सामग्री निर्माणका लागि अनुसन्धान गरिरहेका छन्, विदेशी कम्पनीले उत्पादन गरेका मेहन्दी पनि त छन् नि,’ उनी भन्छन्, ‘तर, मेहन्दी होस्, बेबी इन्क्यूभेटर होस् वा अरु केही हाम्रो उद्देश्य स्वदेशी उत्पादन हो, अनि आयात घटाउने नै हो।’ पाँच लाख रुपैयाँसम्मका परियोजनाको काम तीव्रताका साथ अघि बढिरहेको जानकारी दिँदै पुनले आवश्यकता र महत्वका आधार राम्रो आइडियामा अनुसन्धान शुरु गरिने प्रष्ट पारे।

म्याग्दीको नाँगी गाउँमा २०११ सालको माघ ५ गतेका दिन जन्मिएका महावीर पुनले प्रारम्भिक शिक्षा सोही गाउँको विद्यालयबाट हासिल गरे। अरुतिर नभए पनि नाँगी गाउँमा स्कूल थियो। त्यसको कारण हो -गोर्खा भर्ती।

‘हाम्रो बाजेहरुले स्कूल खोल्नु भएको थियो, ब्रिटिश र भारतीय सेनामा भर्ती हुनलाई कक्षा पाँचको प्रमाणपत्र चाहिन्थ्यो, म पनि त्यही स्कूलमा पढेँ, त्यति बेला पाठ्यपुस्तक र शिक्षकहरु पनि थिएनन्, दोस्रो विश्वयुद्धमा लडेका बुढाहरुले अङ्ग्रेजी शब्दहरु, हिसाबहरु सिकाउने गर्नुहुन्थ्यो, कथाहरु भन्ने गर्नुहुन्थ्यो,’ पुन भन्छन्, ‘सात कक्षासम्म पढेपछि मेरो बुवाले थप अध्ययनका लागि चितवन बसाइ सर्नुभयो, मेरो बुवा मात्रै गाउँको एक्लो मान्छे हुनुहुन्थ्यो, जसले हामीलाई पढाउन बसाइ नै सर्नुभयो।’

२०२५ सालको कुरा हो, पुनको परिवार सराइँ सरेर चितवन आयो। चितवन आएपछि महावीर पुनले चितवनको खैरेनी माविमा कक्षा ९ र १० पढे। ‘बुवाको सोच छोरालाई अलि धेरै पढाउछु भन्ने थियो, दिशानिर्देश थिएन,’ उनी भन्छन्, ‘बुवालाई यस्तो सोच कहाँबाट आयो मलाई थाहा छैन।’ पुनले आइएससी अमृत साइन्स क्याम्पसबाट पास गरे।

महावीर पुनले विज्ञान विषयमा प्रविणता प्रमाणपत्र तहको पढाई पूरा गरेपछि शिक्षण सेवा प्रारम्भ गरे। चितवनका पाँच वटा स्कूलमा २०३१ सालदेखि २०४४ सालसम्म पढाएपछि उनले फेरि अध्ययनलाई निरन्तरता दिने सोच बनाए। अमेरिका गएर ३३ वर्षको उमेरमा यूनिभर्सिटी अफ नेब्रास्कामा स्नातक तहको अध्ययन प्रारम्भ गरे पुनले। स्नातकोत्तर गरेपछि सन् १९९२ मा नेपाल फर्किएर ग्रामीण क्षेत्रमा शिक्षाको अभियान फैलाउन थाले।

नेपाल फर्केपछि पुनको मिसन गाउँ केन्द्रित भयो। उनले गाउँ-गाउँमा सामुदायिक विकासको कार्यक्रम अन्तरगत शिक्षा, स्वास्थ्यका लागि क्लिनिकहरु सञ्चालन गर्ने, स्वास्थ्यकर्मीहरुलाई तालिम दिने, पर्यटनको विकासका लागि ट्रेकिङ रुट र लजहरु खोज्ने कार्यमा उनी सक्रिय भए।

शिक्षाको अभियानको शुरुआत हिमाञ्चल उच्च माविबाट गरेका पुनले कम्प्युटर शिक्षा, आय श्रोत बृद्धि तथा सामाजिक विकासका अभियानहरु सञ्चालन गरे। सन् २००१ मा पुनले आफू जन्मिएको नाँगी, राम्चेसहित छिमेकी गाउँहरुलाई ‘वायरलेस इन्टरनेट’को सञ्जालबाट जोड्न सफल भए। त्यसैको प्रतिफल उनी ‘एशियाको नोवेल’ भनिने रोमन म्यागासेसे पुरस्कारबाट सम्मानित भए।

इन्टरनेट हल अफ फेम, समग्र सामाजिक नवीनता पुरस्कारजस्ता अनेकन पुरस्कारबाट उनी सम्मानित भइसकेका छन्। ‘हामीले आइडिया जेनेरेट गर्दै अप्रेसनको कुरामा ध्यान दिनुपर्छ, कुनै प्रोजेक्ट जस्तो योजनावद्ध पनि हुँदैन,’ उनी भन्छन्, ‘यो अभियानमा कहिले कस्तो योजना आउछ थाहा हुँदैन, त्यसका लागि कत्ति बजेट चाहिन्छ भन्ने पनि थाहा हुन्न, त्यसैले आन्तरिक व्यवस्थापनका लागि योजना चाहिन्छ, तर हामीले गर्ने काम पूर्वनिधारित हुँदैनन्।’

(प्रश्नोत्तर)

राष्ट्रिय आविष्कार केन्द्र कस्तो अभियान हो?

– राष्ट्रिय आविष्कार केन्द्र आइडिया र नयाँ उत्पादनको अभियान हो। हामी कुनै नयाँ आइडियाहरु आएपछि मात्रै योजना बनाउँछौँ। कसैले ल्याएको आइडियाको दीर्घकालीन महत्व र बजेटलाई ध्यानमा राखेर योजना निर्माण हुन्छ।

अनि योजनाबिनै संस्था कसरी चल्छ त?

– एउटा सामान्य योजना हुन्छ। कुनै आइडिया आएमा यति सहयोग गर्ने, यसरी गर्ने, आवश्यक य र सामग्री किनिदिने जस्ता योजना हुन्छन्। तर, गैरसरकारी संस्थाको जस्ता योजना चाहिँ हुँदैन।

अहिले कति जनाको टिम छ?

– अनुसन्धानका लागि अहिले ९-१० वटा टिम छ। विभिन्न कलेज र विश्वविद्यालयमार्फत अनुसन्धानको काम भइरहेको छ। अहिलेसम्ममा ४०-४२ जनाले काम गर्दैछन्। टिम त बढ्दै जाने कुरा हो। नयाँ आइडिया आएमा टिम बढ्छ।

सरकारी निकायबाट कस्तो सहयोग गरेको छ?

– सरकारी निकायलाई केही भन्न चाहन्न। इनोभेसनको क्षेत्रमा राज्यको कुनै पनि ठोस कदम नदेखिएको हुनाले हामीले राज्यलाई केही नभन्ने पक्षमा छु।

महावीर पुनलाई विज्ञान तथा प्रविधि मन्त्री बनाउनु पर्छ भनेर सामाजिक सञ्जालमा चर्चा हुन्छ नि!

– मलाई विज्ञान तथा प्रविधि मन्त्री बनायो भने केही पनि काम हुँदैन। जबसम्म त्यहाँको कर्मचारीतन्त्रको संयन्त्रलाई परिमार्जन नगरेसम्म नयाँ आविष्कारका लागि सहयोग पुग्दैन। अहिलेको संरचनामा कामै गर्न सकिँदैन। नेपालमा विज्ञान तथा प्रविधिको क्षेत्रमा कुनै विकास नहुनुको कारण पनि त्यही हो।

लोकप्रिय

सप्तकोशीमा पानीको बहाव उतारचढाव

सप्तकोशीमा पानीको बहाव उतारचढाव

२०७६, ३० असार सोमबार १८:३९

बाढीपहिरोले पूर्वमा बढी क्षति

बाढीपहिरोले पूर्वमा बढी क्षति

२०७६, २९ असार आईतवार १९:५६

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

२०७६, ३१ असार मंगलवार १९:२२

सर्वोच्चको आदेशपछि भारतीय तरकारीको विषादी परीक्षण शुरु

सर्वोच्चको आदेशपछि भारतीय तरकारीको विषादी परीक्षण शुरु

२०७६, २९ असार आईतवार १४:०१

बाढी, पहिरो र डुवान: मृतकको संख्या ५० पुग्यो (अपडेट)

बाढी, पहिरो र डुवान: मृतकको संख्या ५० पुग्यो (अपडेट)

२०७६, २९ असार आईतवार १३:१३

पूर्ण कदका भानुभक्त

पूर्ण कदका भानुभक्त

२०७६, २९ असार आईतवार १७:०३

२०६औँ भानुजयन्ती (फोटोफिचर)

२०६औँ भानुजयन्ती (फोटोफिचर)

२०७६, २९ असार आईतवार १२:५७

नर्सरी व्यवसायबाट मासिक ८ लाख आम्दानी

नर्सरी व्यवसायबाट मासिक ८ लाख आम्दानी

२०७६, २९ असार आईतवार १६:२३

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

२०७६, ३० असार सोमबार १३:२५

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

२०७६, ३० असार सोमबार १९:४२

इन्डोनेसियामा ७.३ म्याग्नीच्यूडको भूकम्प

इन्डोनेसियामा ७.३ म्याग्नीच्यूडको भूकम्प

२०७६, २९ असार आईतवार १६:२८

मायाप्रेमले निम्त्याएको विवाद: छुरा प्रहार, घरमा ढुंगामुढा

मायाप्रेमले निम्त्याएको विवाद: छुरा प्रहार, घरमा ढुंगामुढा

२०७६, २९ असार आईतवार १७:५१

होसियार ! पानी परेको बेलामा मोबाइलमा कुरा गर्दा ज्यान जान सक्छ

होसियार ! पानी परेको बेलामा मोबाइलमा कुरा गर्दा ज्यान जान…

२०७६, २९ असार आईतवार १७:५५

कोशी ब्यारेज उच्च जोखिममा, ५६ वटा ढोका खोलिए

कोशी ब्यारेज उच्च जोखिममा, ५६ वटा ढोका खोलिए

२०७६, २९ असार आईतवार ०६:२६

हरे शिव ! तीन बालबालिकाको कस्ताे बिचल्ली?

हरे शिव ! तीन बालबालिकाको कस्ताे बिचल्ली?

२०७६, २९ असार आईतवार १३:१५