उषा शेरचन (२०१२) नेपाली कविताको समसामयिक धाराको प्रारम्भलाई नयाँ काव्यिक स्वर भर्ने कविकै पङ्क्तिकी एक सशक्त प्रतिभा हुन्। उनले गोरखापत्रमा प्रकाशित ‘जिन्दगी’ (२०३५) शीर्षकको कविताबाट यस क्षेत्रमा औपचारिक पाइला राखेकी हुन्। उनका नजन्मेका आस्थाहरू (२०४८) तथा सर्वकालीन पीडा र जागृतिको शङ्खघोष (२०६२) गरी दुई कविता सङ्ग्रह, अक्षरहरूको शिविरबाट (२०५६) मुक्तक सङ्ग्रह, तेस्रो रङ (२०७०) कथा सङ्ग्रह र अभीप्सा (२०४८), सञ्चयन (२०५९), मेरो माटो मेरो गीत (२०६०) गीति एलबम तथा क्यासेट प्रकाशित छन्। साहित्यलाई पाठकको मस्तिष्कलाई छुने शाब्दिक कला मान्ने शेरचन समाजमा व्याप्त विविध विसङ्गतिका विरुद्ध मानवीय संवेदनाका जीवन्त भावलाई आफ्ना रचनामार्फत प्रकट गर्दै आएकी स्रष्टा हुन्। प्रस्तुत छ, नेपाली पब्लिकका लागि डा. गीता त्रिपाठीले प्रसिद्ध कवि तथा कथाकार शेरचनसँग गरेको कुराकानी:

आजभोलि अमेरिकाको बसोबासमा हुनुहुन्छ, दैनिकी के, कसरी अघि बढिरहेको छ?

– अमेरिकाको युनिभर्सिटीमा छोरीको फाइनल परीक्षा भएको कारणले चार–पाँच महिनाका लागि आएकी मात्र हुँ। अमेरिकाको नर्थ क्यारोलाइन राज्यमा साहित्यिक सक्रियता निकै भएको कारणले महिनामा एकपटक हुने कार्यक्रममा निम्तो दिनुभएको थियो। तर, म दुईपटक निवासमा र अन्तिम पटक पिकनिकमा सामेल भएँ। बाँकी कथा, कहिलेकाहीँ संस्मरण, कविता, गीत र मुक्तकहरू सिर्जना गरिरहेकै हुन्छु। त्यसबाहेक अन्तर्वार्ता अनि एकाध मुक्तक सङ्ग्रहमा भूमिका आदि पनि विशेष अनुरोधमा लेखिदिएँ। अनलाइन पत्रिकामा निस्किने साहित्यिक सामग्री जसमा तपाईंको लेख र दिल्लीसम्बन्धी मर्मस्पर्शी संस्मरण पढेकी थिएँ। त्यसबाहेक घुमघाम आदि त छँदैछ।

नेपाली कविता, मुक्तक, गीत र आख्यानमा उषा शेरचनको योगदान निरन्तर अघि बढ्दै छ, यो यात्राको प्रारम्भ कहिले र कस्तो परिवेशबाट भयो?

– साहित्यप्रति निकै रुचि भए तापनि साहित्यिक कृति पढेको खण्डमा छोरीबुहारी बिग्रन्छ भन्ने मान्यता रहेको अत्यन्तै संकुचित एवं रुढीवादी समाजबीच हुर्केको कारणले पढ्न भने मनाही थियो। त्यसमाथि अहिलेजस्तो सजिलोसँग साहित्यिक कृतिहरू उपलब्ध हुने पनि थिएन पोखरामा। साथीहरूले लुकाएर दिएको एकाध किताब लुकेर पढ्ने गर्थें। र, केही न केही लेखी पनि रहन्थेँ। जुन आफैँभित्र मात्रै सीमित थियो !

२०३४/३५ सालमा पोखराको पृथ्वीनारायण क्याम्पसमा डिप्लोमा लेभल पढ्ने ताका साहित्यकार साथीभाइ भेटेपछि र पोखरेली युवा सांस्कृतिक परिवारको उपाध्यक्ष भएपछि मात्रै औपचारिक रूपमा साहित्यिक यात्राको प्रारम्भ भएको थियो। शुरुशुरुमा कविता लेख्थेँ। पोखरेली युवा सांस्कृतिक परिवारले नेपाल अधिराज्यमै पहिलोपटक ‘टिकटमा मुक्तक’ वाचन कार्यक्रम आयोजना गरेपछि मात्रै मुक्तक लेख्न थालेकी हुँ ! यसरी तपाईंले भन्नुभए बमोजिम कविता, मुक्तक र गीतको साथसाथै जीवनको उत्तरार्धमा आएर कथा लेख्ने मात्रै नभई ‘तेस्रो रङ’ नामक सङ्ग्रह नै प्रकाशित गरेँ। अनि बैसठ्ठी त्रिसट्ठी वर्ष पुगेपछि ‘आधि’ उपन्यास नै लेखेँ ! र, यो रोमाञ्चक यात्रा आज पर्यन्त जारी छ !

जीवनसँग प्रेम गर्ने एक प्रतिभाशाली अग्रज स्रष्टाका रूपमा नयाँ पुस्ताले पनि उत्तिकै माया गरेको देख्छु। यहाँलाई चाहिँ के लाग्छ, आफूले आफ्नो योगदानको कदर पाएकै हो त?

– म त्यो भाग्यमानी साहित्यकारभित्र पर्छु, जसलाई अग्रज साहित्यकार दाजु र दिदीहरूबाट अपार स्नेह र आशीर्वाद प्राप्त छ। समकालीनहरू साथीहरूबाट अत्यन्तै सद्भाव र माया मिलेको छ। अनि अनुज भाइबहिनीहरूबाट उत्तिकै आदर र सम्मान !

यसरी अग्रज र अनुजबीचको सुन्दर र मजबुत पुल बन्ने सौभाग्य प्राप्त भएकोमा आफूलाई अत्यन्तै भाग्यमानी ठान्छु र गौरव बोध गर्छु ! र, यसलाई नै मैले सबैभन्दा अमूल्य पुँजी मानेकी छु।

हुन त मैले आफूलाई एक प्रतिशत मात्रै साहित्यकार बाँकी उनान्सय प्रतिशत चाहिँ गृहिणी नै मान्छु ! तापनि एक प्रतिशत साहित्यकारलाई भने शतप्रतिशत इमानदारीपूर्वक निभाउन प्रयत्नशील रहन्छु सधैँभरि। यसरी इमानदारीका साथ निष्ठापूर्वक साहित्यिक लस्करहरूमा हिँड्दै गर्दा पुरस्कार मानसम्मानका सुखद क्षणहरू आपसे आप भेटिँदोरहेछ। बरु आफ्ना काँधमाथि थपिएको जिम्मेवारीको भार बहन गर्न सकिएला कि नसकिएला? भन्ने आशंकाले डेरा जमाइरहने हुँदा यस्ता सुखद क्षणहरू प्राप्त हुँदा मलाई भने सधैँभरि डर मिश्रित खुसीको अनुभूति हुने गर्छ।

योगदानको कदरभन्दा पनि सिर्जनामा मैले पैसाले किन्न नसकिने आत्मसन्तुष्टि पाएकी छु। हामीले राष्ट्रलाई के दिनसक्यौँ? त्यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो भन्नेमा म विश्वास राख्छु। त्यसैले हामीले के पायौँ? ती सबै गौण कुरा हुन् भन्ने लाग्छ।

साहित्यमा लागेर पाठकगणको मायाबाहेक अन्य कुनै पनि कुराको अपेक्षा राखिन मैले ! त्यसैले पनि होला सायद आफूले आफ्नो योगदानको कदर पाएको नपाएको कुनै पनि हिसाबकिताब आजसम्म राखेकै छैन।

कविता वाचनमा तपाईंको सामना गर्न जसतसलाई त हम्मे हम्मे नै पर्छ, कविताको यो हाइभोल्टेज रेन्ज कसरी वाचनमा प्रकट भएको हो?

– कविता, मुक्तक आदि कसरी वाचन गर्नुपर्छ? कुनै पनि ज्ञान थिएन मलाई। तापनि उतिबेला आफ्नो सिर्जना कण्ठस्थ हुने हुँदा आफ्नै शैली निर्माण गरेर वाचन गर्ने प्रयास गरेँ। हुनतः जन्मजात गुण पनि हुनुपर्छ सायद ! उमेर सँगसँगै वाचन कलामा ह्रास आएको स्पष्ट अनुभूति हुन्छ मलाई अचेल ! अनि पहिलाजस्तो कण्ठस्थ हुन्न आफ्नै सिर्जना पनि।

सडक कविता क्रान्तिका बेला कविताको खास ज्यावल समाउनेमा तपाईंको पनि इतिहास छ, त्यो सम्झनालाई एकपटक ताजा गरिदिनुहोस् न?

– खासमा म कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध भएर र आस्था राखेर सडक कविता क्रान्तिमा होमिएको नभई स्रष्टा भनेको चराहरूजस्तै स्वतन्त्र हुनुपर्छ, क्षितिजजस्तै फराकिलो हुनुपर्छ भन्ने मेरो मान्यता र मेरो सोच बमोजिमको राजनीतिक माहौल र व्यवस्था नभएको कारणले वाक् स्वतन्त्रताको पक्षमा सडक कविता क्रान्तिमा उत्रिएकी हुँ म। तर, कुनै पनि राजनीतिक दलको छाता ओढेर वा आस्था राखेर भने होइन।

आजको लेखन राजनीतिबाट पर हुनुहुँदैन वा हुन सक्दैन भनिन्छ, तपाईंले आफ्नो लेखनमा राजनीतिलाई कहाँनेर स्थान दिनुभयो?

– यसभन्दा अघिल्लो प्रश्नको उत्तरमा पनि मैले भनिसकेँ, स्रष्टा भनेको चराहरूजस्तै स्वतन्त्र हुनुपर्छ, क्षितिजजस्तै फराकिलो हुनुपर्छ भनेर ! यति हुँदाहुँदै पनि साहित्यकारले समाजको समष्टिगत चित्रण गर्दा जीवन र जगतका कुरा सँगसँगै सामाजिक र राजनीति त त्यसभित्र पर्छ नै। र, मेरो ध्येय भने सबैले आआफ्नो स्वार्थभन्दा माथि उठेर नेपाल र नेपालीका लागि सोचौँ। विश्वबन्धुत्वमा आस्था एवं विश्वास राखौँ। हामीले यस्तो कर्म गरौँ, जुन कर्म गर्दा आफैँले आफैँलाई छल्न नपरोस्। आफ्नै आत्मासँग ढाँट्नु नपरोस्। मान्छेको दुनियाँमा केवल मान्छे भएर बाँचौँ र सिर्जना गरौँ भन्ने नै बढी लाग्छ मलाई !

तपाईंको तेस्रो रङ कथाले र यसभित्रका अन्य कथा समेतले उजागर गरेका विषयहरू वास्तवमै उल्लेखनीय छन्, यो शब्दक्रान्तिको नवीनतम शैलीले समाजको परिवर्तनमा कस्तो परिणाम दिएजस्तो लाग्छ यहाँलाई?

– मेरो कथा सङ्ग्रह ‘तेस्रो रङ’मा समाहित कथाहरू समाजमा विद्यमान र उठाउनैपर्ने मुद्दाहरूमा लेख्ने विचार गरेरै लेखिएका कथाहरू हुन्।

मैले मेरो कथाको कथामा लेखेकै थिएँ, “पोखरेली युवा सांस्कृतिक परिवारबाट शुरु भएको मेरो साहित्यिक यात्रा कविता, मुक्तक र गीत हुँदै यहाँसम्म आइपु्ग्दा साहित्यको अथाह सागरमा एकथोपा पानी यो ‘तेस्रो रङ’ थोपामा अर्काे थोपा भएर जालान् वा यत्तिकै सुकेर जालान्… पर्वाहै नगरी मैले मेरा आदरणीय पाठक गणको समक्षमा राखिदिएछु” भनेर तर सौभाग्यवश अर्काे थोपा बन्न सकेकोमा अत्यन्तै खुसी हुन पाउनु नै सबैभन्दा सुखद परिणाम हो भन्ने लागेको छ मलाई।

‘तेस्रो रङ’ कथा गरिमा साहित्यिक पत्रिकामा छापिएको मिति हेरेर बुझेको खण्डमा नेपाली साहित्यकै इतिहासमा पहिलोपटक उठाएको मुद्दामा हुन पनि सक्छ सायद त्यस्तै गरेर ‘अनपेक्षित बाढीपहिरो’ पनि !

आमाका कविता थोरै लेख्नुभयो तर तपाईंले आमाप्रति गरेको श्रद्धा र प्रेम सदैव अविस्मरणीय देखेकी छु। अन्तिम समयमा आमाको नजिक बस्न पाउनुभएन। आमासँगको करुणाजन्य यो वियोगका दिनहरूमा उहाँप्रति कुनै रचना तयार पार्नसक्नुभयो कि?

– मुमा स्वर्गे भएको खबर पाएपछि मैले जे अनुभूत गरेँ, तुरुन्तै यसरी लेखेँ। कुनै संशोधन नगरी जस्ताको त्यस्तै पठाएको छु। विश्वास लागेको छैन र पनि विश्वास गर्न बाध्य छु ! जन्मेपछि मर्नैपर्ने मानव चोला हजुर ! आफूलाई जन्मदिने आमाबाबु कहिल्यै नमरुन् भनेर सोच्छौँ हामी सबैले ! सोच्नु एउटा कुरा वास्तविकता अर्काे कुरा !

यो बीचमा मुमाको अति नै बढी याद आइरहेको थियो। सायद मुमाले पनि भित्री मनले मलाई सम्झिसेको थियो कि त ! यसपटक छोरीलाई मेरो आवश्यकता अलि बढी नै भएको कारणले सबै कामकुरा थाती राखेर अमेरिका आएकी हुँ।

यत्तिखेर मलाई छोरीको भूमिकाले भन्दा आमाको भूमिकाले जितेको अवस्था भएको हुनाले समय र परिस्थिति बमोजिम चल्नु परेता पनि एक हिसाबले सोच्दा माया भन्ने कुरा साँच्चिकै ओरालो लाग्दोरहेछ भन्ने पनि लागिरहन्छ कहिलेकाहीँ ! आफू आमा भएपछि आमा हुनुको असली अर्थ झन् बढी खुल्दोरहेछ। मर्म झन् बढी बुझ्दोरहेछ।

नेपालको बिहान मात्रै ‘मुमालाई कस्तो छ?’ भनेर भाइबुहारी कल्पनालाई सोधेकी थिएँ। बुहारीले ‘मुमालाई त एकदमै राम्रो छ नि। पहिलाभन्दा खाना अलि कम अनि बोल्न अलि कमबाहेक स्वास्थ्य त राम्रो छ। मुमाबारे कुनै चिन्ता लिनै पर्दैन।’ बरु हजुर काठमाडौँमा नहुँदा त काठमाडौँ नै शून्य भएझैँ लाग्दोरहेछ दिदी। यसपटकको फागु पूर्णेमा चेलीबेटी खुवाउँदा हजुर छुट्ने हुनुभयो। आदि इत्यादि घरायसी कुराकानी गरेका थियौँ हामी अमाजु बुहारीले टेलिफोनमार्फत !

नेपाल बाहिर हुँदा अन्य बेलामा भन्दा यसपटक मुमाको अति नै बढी याद चाहिँ आइरहेको थियो। त्यसैले पोखरामा हुने मिलन बहिनीलाई त केही सोध्ने र भन्ने कुरै भएन। तर, काठमाडौँमा हुने किरण बहिनीलाई भने मुमाबारे बारम्बार सोधिरहन्थो। तिमी गयौँ कि गइनौँ मुमालाई भेट्न? गइराख है भनिरहन्थेँ। मिल्छ भने मुमालाई दुईचार दिन तिमी कहाँ बस्ने गरेर लिएर आउसमेत भनेकी थिएँ फोनबाटै मैले। बहिनीले पनि अहिले त फागु पूर्णे भएको हुँदा मुमा पनि आउन मानिसिन्न होला अनि भाइ र बुहारीले पनि पठाउन्नन् होला। फागु सकेपछि ल्याउने हो दिदी भनेकी थिई।

नेपालको बिहान मात्रै बुहारीले मुमाको स्वास्थ्य राम्रो छ भनेकी थिइन्। साँझ त फेरि आस्तिक छोराले फोनबाट त्यस्तो अपत्यारिलो अत्यन्तै दुःखद खबर पो सुनाउँछ। र, मलाई चिन्ता नलिनु मम्मी भनेर सम्झाउँछ ! एकैछिन त आकाशै खसेझैँ र धरती नै भासेझैँ भयो।

तर पछि आफैँले आफैंलाई सम्हाल्दै सोचेँ। कुनै बिमारी नै नभई, अस्पतालमै नगई, कसैलाई कुनै दुःख नै नदिई त्यस्तो सजिलो मृत्यु त भाग्यमानीले मात्रै प्राप्त गर्ने कुरा हो भनेर आफ्नो मनलाई आफैँले बुझाएँ।

फेरि मुमाले जहिल्यै पनि– ‘हेर जन्मेपछि एकदिन सबै मर्नै पर्छ। केहीगरी म एकदमै बिमार भएछु भने अस्पतालमा नलैजानु ! सलाइन आदि चढाउने नाक मुखमा के के जाति? लगाउने केही नगर्नु। अहिलेदेखि नै भन्दैछु है मैले तिमीहरू सबैलाई’ भनिसिन्थ्यो बारम्बार। नभन्दै भयो पनि त्यस्तै !

मेरी बहादुर आमा बिमार नै नभई बहादुरीका साथ यो दुनियाँ र हामीलाई छाडेर ताराको दुनियाँमा सजिलोसँग पुगिस्यो ! बुवा र आफ्नी प्यारी जेठी छोरीलाई भेट्न !

के गर्नु हजुर? जेजस्तो परे तापनि नसहेर सुखै नपाइने। तर, चित्त बुझाउने एउटै बाटो के हो भने? मुमालाई जे जे गर्नु पथ्र्याे मुमा बाँचुञ्जेल नै गरेँ। मुमाका सानाठूला आवश्यकता, चाहना र इच्छालाई आफ्नो बुद्धि र गच्छेले भ्याएसम्म पुर्‍याउने प्रयास गरेँ। आमाको मनमा बिझ्न आउने काँडाहरूलाई सकेसम्म उखेलेर फ्याँक्ने प्रयत्न गरेँ। यसरी मुमाका लागि मैले छोरी हुनुको धर्म र कर्तव्य सकेसम्म पालन गरेको हुनाले मुमालाई यो गर्न पाइन त्यो गर्न पाइन भन्ने कुनै पछुतो र ग्लानि भने छैन नै।

अन्य दैनिकी त कान्छो भाइ र बुहारी विदेश हुञ्जेल दाइ भाउजूले बुवामुमा दुवैको सेवा गरिस्यो। कान्छो भाइ र बुहारी विदेशबाट फर्केदेखि भने भाइ र बुहारीले मुमाको सेवा मृत्यु पर्यन्त निरन्तर गरिरहे। भाइ र बुहारीले मात्रै नभई नाति अस्तित्वले समेत हजुरमुमाको राम्रो ख्याल राखे। यस अर्थमा पनि हाम्रो मुमा भाग्यमानी होइसिन्थ्यो।

कुरो यत्ति हो कि मुमाको अन्तिम अवस्थामा मुमाको साथमा नभएको बेला पर्‍यो। यही कुराले मन नमीठो गरी दुखिरहेको छ। यही कारण अलि गहिरै पीडामा छु अहिले ! अनि मुमाको बास स्वर्गमा बुवा र दिज्जु सँगसँगै होस् भनेर प्रार्थना गरिरहेकी छु।

एउटा सम्भ्रान्त मुलकबाट नेपाललाई आजको राजनीतिक, साहित्यिक, सामाजिक-सांस्कृतिक तथा आर्थिक कोणबाट हेर्दा सबैभन्दा दुःख र सबैभन्दा खुसी कुन पक्षबाट लाग्दो रहेछ?

– महादेशको विकास अनि व्यवस्थित कार्यप्रणाली आदि उदेकलाग्दो छ। कर तिरे बमोजिमको आमजनतालाई सबै सुविधा उपलब्ध छ। कुनै पनि योजना वा परियोजना शताब्दीयौँपछि पनि कामलाग्ने हिसाबले दूरदर्शिता अपनाएर कार्यान्वयन गरेका हुन्छन्। तर, आफ्नो जीवन भने आजको लागि मात्रै बाँच्ने प्रयास गर्छन्।

चराबाट प्रेरित छ अमेरिकी जीवन शैली सायद ! सबेरै चारा खोज्न गयो अनि साँझ गुँडमा फर्कियो ! पखेटा नलागुञ्जेल बचेरालाई हुर्कायो अनि पखेटा लागेपछि छाडिदियो ! हाम्रोजस्तो छोरा नातिका लागि सम्पत्ति जोड्नेबारे सोच्दैनन्। र, अत्यन्तै लोभ गर्दैनन्।

हाम्रोमा भने बास, गाँस र कपासको समस्यामै जीवन बित्छ अनि नेतृत्व तह र कर्मचारी तहमा भने पाएसम्म सात पुस्तालाई पुग्ने हिसाबले भ्रष्टाचार गर्छन्, देश विकासमा र आमजनताको जीवनस्तर उकास्नमा लागेका हुन्नन्। जसको नतिजा हाम्रोसामु छँदैछ।

सबै कोणबाट दाँजेर हेर्दा अत्यन्तै दुःख लागे तापनि प्राकृतिक हिसाबले स्वर्गजस्तै आफ्नो देश, समाज र परिवारको अपार माया लाग्ने पक्षले भने सबैभन्दा खुसी बढी खुसी दिन्छ।

नेपाली साहित्यमा महिलाको वर्तमान लेखनलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ?

– चाहे जतिसुकै पढेलेखेका सक्षम नारी स्रष्टा भए तापनि हाम्रो देशमा दोस्रो दर्जाको नागरिक भएर जिउनुको पीडा आफ्नो ठाउँमा छँदैछ। त्यसमाथि जिम्मेवारीको भारी पनि गरुँगै बोक्नुपर्छ। पानीदेखि खानीसम्म नूनदेखि सुनसम्मको भार पनि महिलाकै काँधमा हुन्छ। यति हुँदाहुँदै पनि नेपाली साहित्यमा महिलाको वर्तमान लेखन निकै लोभलाग्दो पाराको छ भन्नमा अब हिचकिचाउनु पर्ने अवस्था छैन।

रचनाकारिताका माध्यमबाट प्रसिद्धि पाएको आजको उषा शेरचन बन्न तपाईंले गर्नुभएको आन्तरिक र बाह्य सङ्घर्षलाई कसरी सम्झनुहुन्छ?

– छोरीलाई पढाउनु भनेको बिगार्नु हो भन्ने मान्यता राख्ने युगमा जन्मेँ म। साहित्यिक कृति पढ्नु भनेको लागूऔषधि सेवन गर्नुजत्तिकै अपराध मानिन्थ्यो उतिबेला।

अहिले जस्तो बिजुली बत्ती पनि थिएन। टुकी वा पानसको मधुरो प्रकाशमा त्यो पनि पाठ्य पुस्तकभित्र लुकाएर वा स्कुलका खाली समय सदुपयोग गर्दै चोरीचोरी, लुकीलुकी पढ्नुपर्ने अवस्था थियोे। निगालोको कलमदेखि कम्प्युटरको किबोर्डसम्म, रातोमाटो र खरीले लेख्ने पाटीदेखि टच स्क्रिनसम्म चलाउने अवसर प्राप्त गर्न अनेकौं ऊबड–खाबड ढुङ्यानी बाटो पार गर्दै बल्लतल्ल समतल स्थलसम्म आइपुग्न सफल भएँ म।

छोरीमान्छे भएकै कारणले वाङ्मयको सेवामा लाग्न कठिन भएको अवस्थामा पनि विद्रोही बनेरै लागिरहेँ। जस्तै आँधी हुरी आए तापनि नडगमगाई अगाडि बढिरहेँ। आफूप्रतिको दरिलो विश्वासले नै त्यतिबेलाको समाजसँग जुध्ने साहस जुटाएको थिएँ मैले। त्यो साहसलाई सलाम गर्दै अहिले पनि आफूप्रति गर्व गर्ने गर्छु म।

लोकप्रिय

सप्तकोशीमा पानीको बहाव उतारचढाव

सप्तकोशीमा पानीको बहाव उतारचढाव

२०७६, ३० असार सोमबार १८:३९

बाढीपहिरोले पूर्वमा बढी क्षति

बाढीपहिरोले पूर्वमा बढी क्षति

२०७६, २९ असार आईतवार १९:५६

सर्वोच्चको आदेशपछि भारतीय तरकारीको विषादी परीक्षण शुरु

सर्वोच्चको आदेशपछि भारतीय तरकारीको विषादी परीक्षण शुरु

२०७६, २९ असार आईतवार १४:०१

बाढी, पहिरो र डुवान: मृतकको संख्या ५० पुग्यो (अपडेट)

बाढी, पहिरो र डुवान: मृतकको संख्या ५० पुग्यो (अपडेट)

२०७६, २९ असार आईतवार १३:१३

पूर्ण कदका भानुभक्त

पूर्ण कदका भानुभक्त

२०७६, २९ असार आईतवार १७:०३

२०६औँ भानुजयन्ती (फोटोफिचर)

२०६औँ भानुजयन्ती (फोटोफिचर)

२०७६, २९ असार आईतवार १२:५७

नर्सरी व्यवसायबाट मासिक ८ लाख आम्दानी

नर्सरी व्यवसायबाट मासिक ८ लाख आम्दानी

२०७६, २९ असार आईतवार १६:२३

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

२०७६, ३१ असार मंगलवार १९:२२

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

२०७६, ३० असार सोमबार १३:२५

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

२०७६, ३० असार सोमबार १९:४२

इन्डोनेसियामा ७.३ म्याग्नीच्यूडको भूकम्प

इन्डोनेसियामा ७.३ म्याग्नीच्यूडको भूकम्प

२०७६, २९ असार आईतवार १६:२८

मायाप्रेमले निम्त्याएको विवाद: छुरा प्रहार, घरमा ढुंगामुढा

मायाप्रेमले निम्त्याएको विवाद: छुरा प्रहार, घरमा ढुंगामुढा

२०७६, २९ असार आईतवार १७:५१

होसियार ! पानी परेको बेलामा मोबाइलमा कुरा गर्दा ज्यान जान सक्छ

होसियार ! पानी परेको बेलामा मोबाइलमा कुरा गर्दा ज्यान जान…

२०७६, २९ असार आईतवार १७:५५

कोशी ब्यारेज उच्च जोखिममा, ५६ वटा ढोका खोलिए

कोशी ब्यारेज उच्च जोखिममा, ५६ वटा ढोका खोलिए

२०७६, २९ असार आईतवार ०६:२६

हरे शिव ! तीन बालबालिकाको कस्ताे बिचल्ली?

हरे शिव ! तीन बालबालिकाको कस्ताे बिचल्ली?

२०७६, २९ असार आईतवार १३:१५