– हरि अधिकारी

शीतल निवास नामक भव्य दरबार हुँदाहुँदै करिब १० करोड रुपैयाँ खर्चेर राष्ट्रपति निवास भवनको निर्माण।

राष्ट्रपतिका लागि विलासी उपकरण सहितको बुलेटप्रुफ गाडी किन्न १४ करोड रुपैयाँ निकासा।

राष्ट्रपतिका लागि हेलिकप्टर किन्न १ अर्ब ५२ करोड रुपैयाँ निकासा।

राष्ट्रपतिको कार्यालय र निवासलाई थप सुविधाजनक र भव्य बनाउन छेउमा रहेको प्रहरी तालिम केन्द्रलाई त्यहाँबाट हटाई ३१ किलोमिटर पर काभ्रे जिल्लाको पनौतीमा सार्ने प्रस्ताव। व्यापक विवादले गर्दा प्रस्तावको कार्यान्वयन हुन नसकेको।

उपराष्ट्रपतिको निवास र कार्यालयका रूपमा प्रयोग गर्न लैनचौरमा रहेको समाज कल्याण केन्द्र परिसर र भवनहरू सरकारद्वारा कब्जा। त्यहाँ सरेपछि उपराष्ट्रपति नन्दबहादुर पुन मगरद्वारा हर्षबढाइ।

“पूर्वराष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख आदि अवकाशप्राप्त पदाधिकारीहरूको सुविधामा भारी वृद्धि। ती महानुभावहरू भने अझै पनि सन्तुष्ट हुन नसकेको समाचार।

केन्द्रीय र प्रदेश सांसदहरू, मन्त्रीहरू, अन्य संवैधानिक निकायका पदाधिकारीहरू र उच्चपदस्थ कर्मचारीहरूको तलब सुविधामा उल्लेख्य मात्रामा वृद्धि। संघले सके संघले, प्रदेशले सके प्रदेशले माननीयहरूको सुविधा बढाउँदै लैजाने होड।

सबै मन्त्रीलाई एप्पल ब्राण्डको महँगो ल्यापटप दिइयो।

संघीय संसदका सबै सदस्यलाई जनही त्यस्तै आधुनिक ल्यापटप दिने निर्णय भएअनुसार भर्खरै करोडौँ रकम निकासा। ती आधुनिक उपकरणको आवश्यकता र सम्भाव्य प्रतिफलका बारेमा सबैजना अन्योलमा।

संघीय संसदका विषयगत समितिहरूका १४ जना सभापतिले अहिले चढिरहेका गाडीहरूलाई नयाँ गाडीले विस्थापित गर्न ९ करोडभन्दा बढी रकम निकासा। ५ जनाले नयाँ गाडी पाइसकेको र ९ जनाले छिट्टै पाउने।

संघीय संसद् सचिवालयमा अहिले अरू ७८ वटा महँगा गाडी मौजूद रहेको। चढ्ने सवार नभएर तीमध्ये अधिकांश थन्किरहेको अवस्था।

प्रदेश सरकारहरू आफ्ना मन्त्री, सांसद र अन्य उच्चपदस्थ कर्मचारीहरूको तलब र अन्य भौतिक सुविधामा कुनै कमी नहोस् भन्नेतर्फ सदैव जागरुक रहेको कुरा उनीहरूका अभिव्यक्ति र क्रियाकलापबाट प्रस्ट। गण्डकी प्रदेश तथा २ र ३ नम्बर प्रदेश सरकारहरूले आफ्ना मन्त्री र अन्य अधिकारीहरूका लागि गाडी खरिदमा करोडौँ रुपैयाँ खर्चेको।

अधिकांश स्थानीय निकायका पदाधिकारीहरूद्वारा महँगा गाडी र मोटरसाइकलहरू खरिद गरेको। सबैले नै निर्वाचित पदाधिकारीहरूका लागि मासिक तलब तोकेको। अपवादमा दुईचार जनाले गाडी र अन्य सुविधा नलिने घोषणा गरेको र तीमध्ये अधिकांश प्रतिपक्ष नेपाली कांग्रेस पार्टीको टिकटमा चुनाव लडेर जितेकाहरू।

लगभग ४० करोड रुपैयाँ खर्च गरेर प्रधानमन्त्रीका लागि बालुवाटारमै नयाँ सर्वसुविधासम्पन्न घर बनाइने। अहिले बसिरहेको घर भत्काउने निर्णय।

प्रत्येक संघीय सांसदका पोल्टामा उसले इच्छा माफिकका ठाउँमा खर्च गर्न पाउने गरी ६ करोड रुपैयाँ हालिदिने प्रस्ताव बजेटमै गरिएको। गत वर्ष हरेक सांसदलाई यसै शीर्षकअन्तर्गत दिइएको ३ करोड रुपियाँमध्ये ६० प्रतिशतभन्दा बढी दुरुपयोग भएको आशंका।

वर्तमान प्रधानमन्त्री केपी ओलीको स्वास्थ्योपचारमा मात्र विगत ५ र ७ वर्षको अवधिमा राज्यले करिब १९ करोड रुपैयाँ खर्च गरिसकेको तथ्याङ्क विभिन्न सञ्चारमाध्यमले सार्वजनिक गरेका छन्। उनीबाहेक सत्तामा पुगेका राजनीतिक नेताहरू स्वयं र तिनीहरूका कृपापात्र रहेका अतिसौबिध्यप्राप्त नेपालीलाई विदेशमा गई औषधि उपचार गर्न भनी विगत दुई अढाइ दशकभित्र राज्यले दानस्वरूप उपलब्ध गराएको रकमको कुल अंक ५ अर्बजति हुने अनुमान छ।

आर्थिक सहायता-चन्दा-पुरस्कार-औषधोपचार (आसचपुऔ) शीर्षकमा अनेक सरकारी निकायबाट निकासा हुने भएकाले यस शीर्षकमा अपव्यय भएको रकमको ठ्याक्क अंक निकाल्न भने निक्कै कठिन छ।

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगर कोषको करोडौँ रुपैयाँ निजी खातामा राखेर ब्याजमा लगानी गरिरहेको आरोप लगाइएको छ। यस भयानक आरोपको मेयर शाक्यबाट खण्डन भएको छैन न त सरकारबाट यस विषयमा कुनै छानबिन नै भएको जानकारी नै बाहिर आएको छ।

पूर्वप्रधानमन्त्री तथा सत्ताधारी नेकपाका सहअध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सुरक्षा दस्तामा ५७ जना सुरक्षाकर्मी तैनाथ भएको समाचार सञ्चारमाध्यमहरूले प्रकाशमा ल्याएका छन्। उनीबाहेक पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्री, पूर्वसभामुख, पूर्वराष्ट्रपति, उपराष्ट्रपति आदिको व्यक्तिगत सुरक्षामा भनेर पनि राज्यले कैयौँ वर्षदेखि निरन्तर ठूलै संसाधन र जनशक्ति खर्च गरिरहेको छ, जसको आवश्यकता र औचित्यमाथि चर्चा र पुनरवलोकन गर्ने चेष्टा हालका वर्षहरूमा सत्तासीन कुनै पनि सरकारले गरेको छैन।

लामो समयसम्म कर्मचारीको जीवन बिताएका केही व्यक्तिहरू, उदाहरणका लागि पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्री, अख्तियारका पूर्व प्रमुख आयुक्तहरू लोकमान सिंह कार्की र दीप बस्नेत, पूर्व प्रहरी प्रमुख मोतिलाल बोहोरा, पूर्व प्रधानन्यायाधीश दामोदर शर्मा, आयल निगमका गोपाल खड्का, अर्थका चूडामणि शर्मा आदिसँग भएको धन–सम्पत्तिको अत्यासलाग्दो फेहरिस्त विभिन्न सञ्चारमाध्यमद्वारा सार्वजनिक गरिएको छ। यस्तो मामिला हेर्ने निकायहरूको नजरमा भने यो गम्भीर समाचार परेजस्तो लाग्दैन।

नक्कली भ्याट बिल, एनसेल कर, नेवानि वाइडबडी हवाईजहाज खरिद, टेलिकम फोर जी लाइसेन्स, बालुवाटार जग्गा अपचलन, मेलम्ची खानेपानी, विदेशबाट आएको वैध स्रोतविनाको अर्बौं रुपियाँ आदि भ्रष्टाचार र अनियमितताका लगभग प्रमाणित मामिलाहरूमा आवश्यक कार्वाही अगाडि बढाउनुको सट्टा सरकारद्वारा भ्रष्ट पक्षको पक्षपोषण भएको जस्तो देखिने व्यवहार प्रदर्शन गरिएको छ। प्रम ओली स्वयंबाट कुनै छानबिन नै नगराई वाइडबडीमा आरोपित दिवङ्गत मन्त्री रवीन्द्र अधिकारी निर्दोष छन् भनी लगातार उद्घोष गरिएपछि संसदीय समितिको अस्तित्वमाथि नै प्रश्नचिह्न खडा भएको छ। उपयुक्त न्यायिक निकायले छानबिन गरी छिनोफानो गर्नुपर्ने विषयमा प्रधानमन्त्रीले रवीन्द्रको पक्षमा सुनाएको यो निर्णयले कानूनी राज्यको अवधारणाकै उपहास गरेको छ।

कि त पैसा खाएर कि भने नातावाद कृपावाद गरेर राजदूत पदमा नियुक्त गरेर पठाउने चलन सामान्य भएको छ हामीले बनाउन खोजेको नयाँ नेपालमा। शेरबहादुर देउवाका पालामा म्यानपावर व्यवसाय गरिरहेकी शर्मिला ढकाल र म्यानपावर व्यवसायीहरूका कारिन्दा रमेश कोइरालालाई राजदूत बनाउँदा होस् अथवा अर्की म्यानपावरवाली आरती लामालाई बनाउने असफल प्रयत्न गर्दा होस्, पैसाले ठूलो भूमिका निर्वाह गरेको कुरा छर्लङ्ग नै छ।

हालका प्रमद्वारा अस्ट्रेलियामा पठाइएकी र मानव तस्करीको आरोप लागेपछि राजीनामा दिन बाध्य भएकी लक्की शेर्पाले त आफन्तहरूको सर्कलमा ‘सत्तासीनहरूलाई ३ करोड खुवाएर राजदूत भएको तर लगानी उठाउन नपाई छोड्नु परेको’ गुनासो गर्ने गरेको कुरा ओपन सिक्रेट भइसकेको छ। दबेको स्वरमा भए पनि लक्कीले लगाएको यो आरोप गम्भीर छ। यस विषयमा प्रम ओलीको स्पष्टीकरण आउनु अति वाञ्छनीय देखिन्छ, ओलीजीको सोच र शैलीलाई हेर्दा उहाँका तर्फबाट त्यस्तो कुनै प्रस्टीकरण कहिल्यै आउनेछैन भन्ने कुरा पनि त्यत्तिकै यथार्थ छ।

ओली सरकारले केही महिनाअघि अञ्जना शाक्यलाई इजरायलका लागि राजदूत बनाएको थियो। सञ्चारकर्मी, एउटा सरकारी प्रतिष्ठानकी मध्यम श्रेणीकी कर्मचारी र गायिका अञ्जना शाक्यलाई प्रम ओली छोरी जस्तै मान्नुहुन्छ क्या रे। आफूले सक्ने बेलामा छोरीलाई गतिलो दाइजो-उपहार दिने इच्छा नराख्ने नेपाली बाउ को होला र? अञ्जनाले पाएको राजदूतको पदलाई यसै कोणबाट हेरेर चित्त बुझाउन सकिन्छ।

हाल ४ देश कतार, बङ्गलादेश, स्पेन र अस्ट्रेलियाका लागि प्रस्तावित नामहरू क्रमशः नारद वाग्ले भारद्वाज, डाक्टर वंशीधर मिश्र, दावाफुटी शेर्पा र महेशराज दाहालको तालिम र गरेको कामको अनुभवलाई हेरेर भन्ने हो भने यी व्यक्तिहरू कूटनीतिक पदका लागि त योग्य के हुन्थे? प्रम ओली वा यिनको नाम सिफारिस गर्नेहरूलाई खुशी पारेर तिनीहरूको अतिरिक्त कृपा पाउन सफल चाहिँ भएकै हुन् भन्न सकिन्छ।

नारद वाग्ले भारद्वाज २०२० को दशकमा भारत पश्चिम बङ्गालमा चलेको नक्सलवादी आन्दोलनको अनुसरण गर्दै झापा जिल्लामा गरिएको व्यक्तिहत्यामा आधारित असफल विद्रोहमा लागेको अभियोगमा हालका प्रम ओलीसँग झन्डै १३ वर्ष नै जेल बसेका उहाँका निकट साथी हुन्। जेलमा रहँदा मेहनतसँग पढेर एमए पास गरेका नारद अंग्रेजी भाषामा राम्रोसँग लेख्न जान्ने थोरै ‘माले’ कार्यकर्तामा पर्दछन्। नारदले नेता हुने महत्त्वाकांक्षा पाल्न सकेनन्, त्यसैले कारामुक्त भएपछि मास्टरी गरे। खासै पैसा बनाउन पनि सकेका छैनन्। प्रधानमन्त्री ओलीले नारदलाई ‘सँगैका साथी यिनले पाएको दुःखको केही क्षतिपूर्ति त गरिदिनै पर्‍यो’ भन्ने ठानेर राजदूत बनाउन खोजेको कुरा बुझ्न त्यति गाह्रो छैन।

वंशीधर मिश्रा प्रस्तावित विवादास्पद मनमोहन मेडिकल अस्पतालका मुख्य कर्ताधर्ता हुन् र तथाकथित मेडिकल माफिया ग्याङका एक सदस्य। रौतहट जिल्लाको एमाले राजनीतिमा यिनी वरिष्ठ नेता माधवकुमार नेपालका विश्वासी मानिन्छन्। यिनलाई माया गरेर वा पन्छाइदिउँ भनेर माधव नेपालले बङ्गालको खाडीमा पठाइदिएका हुन् भनिन्छ। तालिमले स्वास्थ्यकर्मी मिश्राका निम्ति कूटनीति र वेदका रिचाहरूमा खासै फरक हुनु पर्दैन।

केही दिन अघिसम्म अमेरिकामा पढिरहेकी स्पेनका लागि प्रस्तावित राजदूत दावाफुटी शेर्पा सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला पासाङ ल्हामुकी छोरी हुन्। अरिङ्गाल समूहका कतिपय फेसबूकेहरूले दावाफुटीलाई राजदूत बनाएर नेकपा सरकारले पासाङ ल्हामुको सम्मान गर्‍यो भन्ने जस्तो बकम्फुसे टिप्पणी पनि गरेको देखियो। वास्तवमा दावाफुटीलाई पासाङ ल्हामुकी छोरी भएर होइन, प्रम ओलीलाई गाह्रो साँघुरोमा सहयोग गर्ने धनाढ्य व्यवसायी स्वर्गीय आङछिरिङ शेर्पाकी भतिजी भएका कारण राजदूत बनाइएको हो। कूटनीतिका मामिलामा त यिनी पनि रिकुटेभन्दा माथि छैनन्।

अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत महेशराज दाहाललाई समसामयिक नेपालको जैविक दुनियाँमा देखापरेको अनुपम प्रजातिको छेपारो जस्तै मान्न सकिन्छ। मौसमअनुसारको रङ्ग र समारोहअनुसारको ट्युनिक फेर्न यिनीसँग सिके हुन्छ। कांग्रेसका चतुरे मन्त्री मीनेन्द्र रिजालबाट नेपाल टेलिभिजनको अध्यक्षको पद लिन सक्ने यिनले कांग्रेस छोडेको घोषणा गर्दै प्रचण्डको हातबाट कम्युनिस्टको अबिर दलेको केही महिनामै राजदूत पद पड्काएका छन्। कूटनीतिको अर्को नाम चाप्लुसी होइन भने यिनले पनि कूटनीतिको कखरा नै सिक्न बाँकी छ।

माथि दिएका केही विवरणहरूले प्रमाणित गर्दछन् हामी नेपाली हामीले नै विश्वास गरेर आफ्नो भविष्यको जिम्मा दिएका व्यक्तिहरूले बनाएको शोषणको विशाल धापमा उत्रिनै नसक्ने गरी भासिएका छौँ।

लोकप्रिय

सप्तकोशीमा पानीको बहाव उतारचढाव

सप्तकोशीमा पानीको बहाव उतारचढाव

२०७६, ३० असार सोमबार १८:३९

बाढीपहिरोले पूर्वमा बढी क्षति

बाढीपहिरोले पूर्वमा बढी क्षति

२०७६, २९ असार आईतवार १९:५६

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

२०७६, ३१ असार मंगलवार १९:२२

सर्वोच्चको आदेशपछि भारतीय तरकारीको विषादी परीक्षण शुरु

सर्वोच्चको आदेशपछि भारतीय तरकारीको विषादी परीक्षण शुरु

२०७६, २९ असार आईतवार १४:०१

बाढी, पहिरो र डुवान: मृतकको संख्या ५० पुग्यो (अपडेट)

बाढी, पहिरो र डुवान: मृतकको संख्या ५० पुग्यो (अपडेट)

२०७६, २९ असार आईतवार १३:१३

पूर्ण कदका भानुभक्त

पूर्ण कदका भानुभक्त

२०७६, २९ असार आईतवार १७:०३

२०६औँ भानुजयन्ती (फोटोफिचर)

२०६औँ भानुजयन्ती (फोटोफिचर)

२०७६, २९ असार आईतवार १२:५७

नर्सरी व्यवसायबाट मासिक ८ लाख आम्दानी

नर्सरी व्यवसायबाट मासिक ८ लाख आम्दानी

२०७६, २९ असार आईतवार १६:२३

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

२०७६, ३० असार सोमबार १३:२५

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

२०७६, ३० असार सोमबार १९:४२

इन्डोनेसियामा ७.३ म्याग्नीच्यूडको भूकम्प

इन्डोनेसियामा ७.३ म्याग्नीच्यूडको भूकम्प

२०७६, २९ असार आईतवार १६:२८

मायाप्रेमले निम्त्याएको विवाद: छुरा प्रहार, घरमा ढुंगामुढा

मायाप्रेमले निम्त्याएको विवाद: छुरा प्रहार, घरमा ढुंगामुढा

२०७६, २९ असार आईतवार १७:५१

होसियार ! पानी परेको बेलामा मोबाइलमा कुरा गर्दा ज्यान जान सक्छ

होसियार ! पानी परेको बेलामा मोबाइलमा कुरा गर्दा ज्यान जान…

२०७६, २९ असार आईतवार १७:५५

कोशी ब्यारेज उच्च जोखिममा, ५६ वटा ढोका खोलिए

कोशी ब्यारेज उच्च जोखिममा, ५६ वटा ढोका खोलिए

२०७६, २९ असार आईतवार ०६:२६

हरे शिव ! तीन बालबालिकाको कस्ताे बिचल्ली?

हरे शिव ! तीन बालबालिकाको कस्ताे बिचल्ली?

२०७६, २९ असार आईतवार १३:१५