सुर्खेत – आर्थिक वर्षको अन्तिम समयमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सुर्खेतमा तीन करोड ४१ लाख रुपैयाँ बजेट आएको छ। जेठ सकिनै लाग्दा आएको बजेटलाई असार मसान्तअगावै कसरी सक्ने? भनेर जनप्रतिनिधिहरु बहाना खोजिरहेका छन्।

५ नगरपालिका र ४ गाउँपालिका रहेको सुर्खेतमा अहिलेसम्म कार्यक्रमको खासै काम शुरुआत भएको छैन। बजेट ढिलो गरी आएको र कर्मचारी अभावका कारण समस्या रहेको स्थानीय तहका प्रमुखहरु बताउँछन्। हालसम्म जिल्लाका नौवटा स्थानीय तहमध्ये चार वटामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ भने अझै ५ वटा तहमा शुरु हुन सकेको छैन।

यसबीच पश्चिम सुर्खेतको चौकुने र बराहताल गाउँपालिकाले आइतबार आ–आफ्नो गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु गरेका छन्। नागरिकलाई न्यूनतम रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्यसहित शुरु भएको कार्यक्रमको चौकुने गाउँपालिका– ८, गुटुमा गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले सडक मर्मत गरेर शुभारम्भ गरेका हुन्। अध्यक्ष शाहीले गाउँको विकास सँगसँगै रोजगारी दिने उद्देश्यले ल्याइएको प्रधानमन्त्री रोजगार कार्यक्रमबाट बेरोजगारको सूचीमा सूचीकृत भएकालाई गाउँपालिकाको विकास निर्माणमा खटाइने जानकारी दिए। ‘आगामी वर्ष गाउँपालिकाले सञ्चालन गर्ने आयोजनामा पनि बेरोजगार सूचीमा सूचीकृतलाई खटाउँछौं,’ उनले भने, ‘चालु आवमा चौकुने गाउँपालिकालाई २३ लाख रुपैयाँले १५ दिनसम्म दुई सय जनालाई रोजगारी दिनेछौँ।’ चौकुने गाउँपालिका सबै वडाहरुमा वृक्षारोपण, सडक नाला निर्माण, गोरेटो बाटो निर्माण, चौतारा निर्माण, कुलो मर्मत, तटबन्ध, पाईप उत्खननजस्ता कार्यमा रोजगार उपलब्ध गराईने उनले बताए।

त्यस्तै पश्चिम सुर्खेतकै पञ्चपुरी नगरपालिका र भेरीगंगा नगरपालिकाले भने शनिबार नै प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरिसकेका छन्। पञ्चपुरी नगरपालिकाका मेयर उपेन्द्रबहादुर थापाले नपालाई प्राप्त ३२ लाखबाट कम्तीमा १५ दिनसम्म २ सय ८० जनालाई रोजगार दिइने बताए।

चिङगाड गाउँपालिका, सिम्ता गाउँपालिका, वीरेन्द्रनगर नगरपालिका, लेकवेशी नगरपालिका र गुर्भाकोट नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अझै शुरु गर्न सकेका छैनन्। ‘बजेट भर्खर आएको छ, कर्मचारी पनि छैनन्। जसोतसो खर्चिने योजना बनाउँदैछौं। वडामा सूचना जारी हुँदैछ। काम त सकिएला तर चापमा पर्छ,’ गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुनले भने, ‘विद्यालयको खाली जमिनमा बिरुवा रोप्ने, सडकमा नाली बनाउने, रिचार्ज पोखरी बनाउनेलगायत कार्यक्रम बनाउँदैछौँ। बजेट फ्रिज पनि नहोस् काम पनि राम्रो होस् भन्ने हिसाबले लागिरहेका छौँ।’

भेरीगंगा नगरपालिकाका मेयर भूपेन्द्रबहाुदर सिंहले बजेट भए पनि समय निकै छोटो भएकाले योजना निर्माणबिना काम गर्न कठिनाई भइरहेको जनाए। उनले आर्थिक वर्ष समाप्त हुनै लाग्दा बजेट आएकाले नियमित बजेट फर्स्याैटमा समेत झमेला हुने आशंका व्यक्त गरे। जिल्लाका स्थानीय तहलाई आफ्नै नियमित बजेट सक्न हम्मे–हम्मे परिरहेका बेला प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट ‘फलामको च्यूरा’ बनेको छ। जिल्लाका नौ वटै स्थानीय तहले करिब एकै किसिमको काममा बजेट खर्चिंदैछन्।

रकम खर्चिन निर्देशिका आएको र सोही बमोजिम खर्चिंदा यस्तो हुन गएको स्थानीय तहका प्रमुखहरु बताउँछन्। त्यसो त एक महिनामा ठूला काम गर्न नसकिने भएकाले पनि मर्मतसम्भारका काममा बजेट खर्चिने धेरैको योजना छ। ‘निर्देशिका अनुसार वडाबाट योजना माग गरेका छौं,’ भेरीगंगा नगरपालिकाका रोजगार संयोजक सरोजचिङ्ग तामाङले भने, ‘वडाबाट आएको प्रस्तावलाई कार्यपालिकाले अनुमोदन गरेपछि थप वडामा काम शुरु गछौँ।’ खेलमैदान, सिँचाइ कुलो, नहर, सडक, विद्यालय मर्मतको कार्ययोजना बनिरहेको तामाङले बताए।

एक आर्थिक वर्षमा सय दिन रोजगारमा संलग्न नभएका वा सरकारले तोकेको न्यूनतम आयआर्जन हुने रोजगारमा संलग्न नरहेका १८ देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई बेरोजगार व्यक्तिको रुपमा हेरिएको छ। जसअनुसार बेरोजगार व्यक्तिले एक आवमा न्यूनतम सय दिन बराबरको रोजगारी प्राप्त गर्नेछन्। रोजगारी प्राप्त नगरेको दिनको न्यूनतम पारिश्रमिक ५० प्रतिशतका दरले हुन आउने रकम निर्वाह भत्ताका रुपमा उपलब्ध गराउने उल्लेख गरिएको छ। तर, अहिलेको बजेटले ३० दिन पनि रोजगारी पाउने सम्भावना देखिँदैन भने कतिपय स्थानीय तहले चाप परेको खण्डमा बेरोजगारको संख्या बढाएर बजेट सक्ने सम्भावना देखिन्छ।

स्थानीय तहको कार्यशैली र आर्थिक वर्षको अन्तिममा आएको बजेट हेरेर निजी क्षेत्रले यो रकम बालुवामा पानी हुनसक्ने धेरैले आशंका गरेका छन्। सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले स्थानीय तहलाई आफ्नै नियमित काम गर्न सकस परिरहेका बेला अन्तिममा बजेट पठाएर सरकारले लोकप्रियता प्राप्तिका नौटंकी गरेको बताए।

कर्णाली प्रदेशमा करिब १० प्रतिशत दक्ष जनशक्ति बेरोजगार रहेको पाइएको छ। केन्द्रीय तथ्यांक विभागले गरेको नेपाल श्रमशक्ति सर्वेक्षण (तेस्रो) अनुसार ९ दशमलव ७ प्रतिशत योग्य जनशक्ति बेरोजगार रहेको पाइएको हो। जसमध्ये ११ दशमलव ७ प्रतिशत पुरुष र ६ प्रतिशत महिला बेरोजगार रहेको राष्ट्रिय सर्वेक्षणले देखाएको छ। विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार कर्णालीको सहरी क्षेत्रमा करिब ८ प्रतिशत र ग्रामीण क्षेत्रमा १२ दशमलव ६ प्रतिशत बेरोजगारी देखिएको छ।

विभागको घरधुरी सर्वेक्षण शाखा प्रमुख अम्बिकाप्रसाद बस्यालका अनुसार नेपालको बेरोजगारी दर ११ दशमलव ४ प्रतिशत रहेकोमा कर्णालीको दर राष्ट्रिय अनुपातमा सन्तोषजक देखिएको छ। उनका अनुसार विभागले गत असारदेखि चालु आर्थिक वर्षको जेठसम्म १८ हजार घरधुरीमा रोजगारीबारे विस्तृत सर्वेक्षण गरेको थियो। विभागका अनुसार कर्णालीमा १५ वर्षभन्दा माथिल्लो उमेरको ३१ हजार जनसंख्या बेरोजार छ। बेरोजगारमध्ये १५ हजार सहरी र १६ हजार ग्रामीण क्षेत्रमा रहेको पाइएको छ। ‘यस पटकको सर्भेक्षणमा अन्तर्राष्ट्रिय श्रम संगठनले श्रम तथ्यांक विज्ञहरुको १९औँ सम्मेलनबाट पारित गरेको तथ्यांकसम्बन्धी अवधारणा संलग्न गरिएको छ,’ विभाग प्रमुख बस्यालले भने, ‘यो सर्वेक्षणमा रोजगारसम्बन्धी विवरणका लागि गणनाको ७ दिनलाई सन्दर्भ अवधि मानिएको छ।’

कर्णालीमा श्रमशक्ति सहभागिता दर साढे २७ प्रतिशत रहेको विभागले जनाएको छ। सर्वेक्षणअनुसार त्यसमध्ये ४२ दशमलव ८ प्रतिशत पुरुष र महिला १६ दशमलव ४ प्रतिशत छन्। तथ्यांक अधिकृत लक्ष्मण कँडेलका अनुसार बेरोजगारी संख्या सबैभन्दा बढी प्रदेश २ मा २० दशमलव १ प्रतिशत र सबैभन्दा कम प्रदेश ३ मा ७ प्रतिशत देखिएको छ। उनले बेरोजगार अन्तर्गत सीप तथा योग्यता भए पनि रोजगारीमा नरहेका व्यक्तिलाई लिइएको जानकारी दिए। ‘आफ्नै परिवारले उत्पादन गरेको वस्तु आफैं उपभोग गर्ने व्यक्तिलाई रोजगारीमा नरहेको मानिएको छ,’ तथ्यांक अधिकृत कँडेलले भने, ‘निश्चित रकम लिएर श्रम गर्ने र स्वरोजगार भएकालाई रोजगारीको तथ्यांकमा समेटिएको छ।’

कर्णालीमा मुख्य काममा अक्सर काम गर्ने समय सातामा ४६ घण्टा रहेको सर्वेक्षणले औंल्याएको छ। त्यसमध्ये प्रदेशमा पुरुषको साप्ताहिक श्रम ४८ र महिलाको ४२ घण्टा रहेको देखिएको छ। केही मानकमा राष्ट्रिय अनुपातलाई कर्णालीले उछिनेको छ। कर्णालीमा औपचारिक रोजगारीमा साढे ४५ र अनौपचारिक रोजगारीमा साढे ५४ प्रतिशत जनसंख्या रहेको विभागको भनाइ छ। नेपालमा रोजगारीमा रहेकाले औसत ज्याला १७ हजार ८ सय ९ रुपैयाँ पाउने गरेकोमा कर्णालीमा प्रतिव्यक्ति १९ हजार ९ सय ६९ रुपैयाँ छ। विभागका तथ्यांक अधिकृत विजयराज सिजापतीले कर्णालीमा पुरुषको औसत मासिक आम्दानी २१ हजार २ सय १३ र महिलाको १५ हजार ६ सय ८५ रुपैयाँ रहेको सर्वेक्षणले देखाएको जानकारी दिए। विभागको घरपरिवार सर्वेक्षण शाखाका अनुसार कर्णालीमा १ सय पुरुषको अनुपातमा १ सय ३९ महिला रहेको पाइएको छ।

‘वैदेशिक रोजगारीमा धेरै पुरुष गएकाले महिलाको संख्या बढी भएको हो,’ तथ्यांक अधिकृत सिजापतीले भने, ‘त्यसैले कर्णालीमा अरु सबै रोजगारीमा पुरुष दर बढी हुँदा कृषि क्षेत्रमा महिलाको संख्या उच्च छ।’ कर्णालीका कृषि क्षेत्रमा १६ दशमलब ७, व्यापारमा १८ दशमलव २, निर्माणमा १५ र वैदेशिक रोजगारीमा साढे २१ प्रतिशत रोजगारीमा संलग्न भएको देखिएको विभागले बताएको छ।

लोकप्रिय

सप्तकोशीमा पानीको बहाव उतारचढाव

सप्तकोशीमा पानीको बहाव उतारचढाव

२०७६, ३० असार सोमबार १८:३९

बाढीपहिरोले पूर्वमा बढी क्षति

बाढीपहिरोले पूर्वमा बढी क्षति

२०७६, २९ असार आईतवार १९:५६

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

२०७६, ३१ असार मंगलवार १९:२२

सर्वोच्चको आदेशपछि भारतीय तरकारीको विषादी परीक्षण शुरु

सर्वोच्चको आदेशपछि भारतीय तरकारीको विषादी परीक्षण शुरु

२०७६, २९ असार आईतवार १४:०१

बाढी, पहिरो र डुवान: मृतकको संख्या ५० पुग्यो (अपडेट)

बाढी, पहिरो र डुवान: मृतकको संख्या ५० पुग्यो (अपडेट)

२०७६, २९ असार आईतवार १३:१३

पूर्ण कदका भानुभक्त

पूर्ण कदका भानुभक्त

२०७६, २९ असार आईतवार १७:०३

२०६औँ भानुजयन्ती (फोटोफिचर)

२०६औँ भानुजयन्ती (फोटोफिचर)

२०७६, २९ असार आईतवार १२:५७

नर्सरी व्यवसायबाट मासिक ८ लाख आम्दानी

नर्सरी व्यवसायबाट मासिक ८ लाख आम्दानी

२०७६, २९ असार आईतवार १६:२३

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

२०७६, ३० असार सोमबार १३:२५

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

२०७६, ३० असार सोमबार १९:४२

इन्डोनेसियामा ७.३ म्याग्नीच्यूडको भूकम्प

इन्डोनेसियामा ७.३ म्याग्नीच्यूडको भूकम्प

२०७६, २९ असार आईतवार १६:२८

मायाप्रेमले निम्त्याएको विवाद: छुरा प्रहार, घरमा ढुंगामुढा

मायाप्रेमले निम्त्याएको विवाद: छुरा प्रहार, घरमा ढुंगामुढा

२०७६, २९ असार आईतवार १७:५१

होसियार ! पानी परेको बेलामा मोबाइलमा कुरा गर्दा ज्यान जान सक्छ

होसियार ! पानी परेको बेलामा मोबाइलमा कुरा गर्दा ज्यान जान…

२०७६, २९ असार आईतवार १७:५५

कोशी ब्यारेज उच्च जोखिममा, ५६ वटा ढोका खोलिए

कोशी ब्यारेज उच्च जोखिममा, ५६ वटा ढोका खोलिए

२०७६, २९ असार आईतवार ०६:२६

हरे शिव ! तीन बालबालिकाको कस्ताे बिचल्ली?

हरे शिव ! तीन बालबालिकाको कस्ताे बिचल्ली?

२०७६, २९ असार आईतवार १३:१५