– श्रीविलास दाहाल

नियत सफा नभएपछि नियति अर्थात् भाग्यले पनि साथ दिँदैन। वर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओलीका विषयमा यो उक्ति चरितार्थ हुँदै आएको दिन प्रतिदिनका उनका अनेक हास्यपद निर्णय र भाषणले चरितार्थ गर्दै गएको छ। उनी कुतर्क र अनेक किम्बदन्तीका सहारा लिएर सत्यको गला निमोठ्न उद्यत भइरहेका छन्। हिजोआज राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा पनि हास्यास्पद हुँदैछन्।

भर्खरै पहिलोपल्ट प्रतिपक्ष नेपाली कांग्रेसले संसदलाई चल्न दिएन। त्यो पनि खासै ठूलो कुरा थिएन। पहिले प्रतिपक्षका नेता भूतपूर्व प्रधानमन्त्री, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समसामयिक घटनामा आफ्ना कुरा राखेपछि प्रधानमन्त्रीले आफ्ना कुरा राख्नुपर्छ। कुरा यत्ति हो, सभामुख महराले यत्ति रुलिङ पनि गर्न सकेनन्। लाचार छायाँ भएर टुलुटुलु तमासा हेरेर संसद् स्थगित गरे। यत्रो गरिमामय संसदको सभामुख हुने नैतिक अधिकार धेरैपटक उनले गुमाइसकेका छन्। यो अनूभूति उनलाई भएजस्तो छैन।

संसदमा आफ्ना कुरा राखेर हाटा गर्न नपाएपछि प्रधानमन्त्रीले सिंहदरबारतिर लागेर पत्रकार सम्मेलन गरे। जुन पत्रकारलाई नियन्त्रण गर्न उनका सञ्चारमन्त्री एउटा विधेयक लिएर दौडिरहेका छन्। लोकतन्त्रको व्याख्या गरे। कांग्रेसलाई संसदीय परम्पराको शिक्षा दिए। बचकाना हरकत भनेर आजसम्मको संसदप्रतिको प्रधानमन्त्रीको व्यवहार देख्दा उनी संसदलाई विश्वासमा लिएर हिँड्न चाहँदैनन्।

देशको प्रधानमन्त्रीले प्रेसका माध्यमबाट मुलुकमा उग्र दक्षिणपन्थी र उग्रवामपन्थीले जनताले ठूलो बलिदान र संघर्षबाट ल्याएको लोकतन्त्रलाई समाप्त गर्न खोज्दैछन् भने। यस्तो सस्तो लोकप्रियता बटुलेर कसलाई, किन, के सुनाएको? प्रधानमन्त्रीलाई थाहा रहेछ। त्यस्ता लोकतन्त्रविरोधी तत्त्वलाई नेपालको कानूनअनुसार कारवाही गर्न कसले रोकेको छ?

कम्युनिष्ट स्कुलिङबाट आएका प्रधानमन्त्रीले लोकतन्त्रको व्याख्या गरेको कसले पत्याउला? लोकतन्त्र भनेको एउटा आचरण र व्यवहार हो, व्यक्तिगत रूपमा, संस्थागत रूपमा भने यो सन्तुलनको व्यवस्था हो। त्यसैले निर्वाचन आयोग, न्यायालय, प्रेस क्याबिनेट, सांसदहरूलाई स्वतन्त्र र निर्भय भएर चल्न दिनुपर्छ। राष्ट्रपति कार्यालयको सम्मान गरिनुपर्छ।

प्रधानमन्त्री ओली तानाशाही मात्र होइन, फासीवादमा पनि विश्वास गर्दा रहेछन् भन्ने कुरा एउटा संगीतकारको गीत ‘लुट्न सके लूट’लाई प्रतिबन्ध लगाएकाले स्पष्ट हुन्छ। उनले वक्तव्य दिए, जनताले मन नपराएर गीत आफैँले हटाएका हुन् भनेका छन्। तर, त्यो गीत जनताले मन पराएर गाएकै भेटिन्छन्। यो चैँ व्यवहार प्रधानमन्त्रीको राणकालको मकै खेतीभन्दा चर्को हो।

माथि उल्लिखित लोकतन्त्रका कुनै संस्थाप्रति प्रधानमन्त्रीको आस्था र विश्वास भएको भेटिँदैन। यिनलाई बलियो बनाउनुभन्दा आफू कसरी बलियो हुने भन्ने मात्र छ। सर्वप्रथम निर्वाचन आयोगबाट प्रारम्भ गरौँ, तल गाउँपालिका, नगरपालिका, प्रदेश र केन्द्रसम्म कतिपय ठाउँ खाली भएका छन्। तिनको निर्वाचन गर्नेतिर प्रधानमन्त्रीको ध्यान छैन। निर्वाचन आयोगलाई सोध्यो भने सरकारले वातावरण बनाइदिएको छैन भन्छन्। सरकार भनेको ओली सरकार, बूढो गोरुले गाई ओगटेजस्तो।

देशमा सुन तस्करी भएको छैन भनेर प्रधानमन्त्रीको एउटा वक्तव्य आएको छ। चीनबाट बर्माको बाटो हुँदै, मणिपुरबाट महेन्द्रनगरमा सुन पकडा खाएको छ। महेन्द्रनगरको निर्मला हत्याकाण्ड त्यसै सेलाएजस्तो छ। त्रिभुवन एयरपोर्टबाट रसुवा र तातोपानीतिरबाट पनि सुन तस्करी भएका समाचार छन्। भारु थोक मात्रामा तस्करी भएको समाचार भर्खरैको हो। अहिलेको यस्तो सञ्चारको युगमा झुटको खेती कति दिन चल्छ? प्रधानमन्त्री दिनमै मस्त स्वप्न देख्ने गर्छन्।

संसद् भनेको लोकतन्त्रको प्राण हो, देशमा लोकतान्त्रिक प्रक्रियालाई क्रियाशील गराउने ठाउँ। संसदमा प्रधानमन्त्रीको उपस्थिति नगन्य रहन्छ। सारै उराठलाग्दो स्थिति रहन्छ संसदमा। प्रधानमन्त्रीले सारा अधिकार आफूमा राखेकाले अरूको उपस्थितिले खासै केही अर्थ राख्दैन। मन्त्रीहरू संसदमा पनि त्यति आउँदैनन्। सारा शक्ति संसदबाट लिने संसदलाई चैँ पंगु बनाएर राख्ने? सभामुखलाई कठपुतली बनाउने प्रधानमन्त्रीले कुन लोकतन्त्रको कुरा गरेका हुन्?

संसद्का त्यत्रा समिति छन्, समितिका सभापतिहरू नचिनेका छैनन्। सबैसँग कम्तीमा महिनाको एकपटक अनौपचारिक बसेर कुरा गर्न प्रधानमन्त्रीलाई फुर्सत छैन। विदेश घुम्नचैँ फुर्सद हुन्छ? प्रधानमन्त्री भनेको लोकतन्त्रको मियो हो। प्रधानमन्त्री भएपछि, नेपालको प्रधानमन्त्री भनेको नेपालका तीन करोड मान्छेको साझा व्यक्ति हुन सक्नुपर्छ। जनताले भोट दिएको सरकार दुई तिहाइको सरकार भन्न प्रधानमन्त्री भुल्दैनन्। सडकमा असन्तुष्टि पोख्न आएका चैँ जनता हैनन्?

सरकार सञ्चालन गर्ने प्रधानमन्त्रीको टिम भनेको क्याबिनेट हो। क्याबिनेटमा दुईटा त उपप्रधानमन्त्री नै छन्। क्याबिनेटमा कुनै मन्त्रीले धक फुकाएर बोल्न सक्नेसम्म वातावरण छैन। क्याबिनेटको निर्णय पनि अब त लुकाएर आफ्नो अनुकूलअनुसार प्रवक्ताले सुनाउने चलन छ।

धन्न प्रेसले त्यो पनि निजी प्रेसका पत्रकारको परिश्रमले सूचना बाहिर आउँछन्। अब त कुन दिन सरकारका प्रवक्ता सञ्चारमन्त्रीले विज्ञापन गर्नेछन्, गोरखापत्र र नेपाल टीभीका समाचार मात्र विश्वास गर्नु। त्यसैका लागि यो प्रेस काउन्सिलको चाँजोपाँजो हो। सूचनाप्रति विश्वास छैन र एकाधिकार जमाउने हो भने सेटलाइट किन चाहियो? संविधानमा सूचनाको हक किन चाहियो? यस्तो गाईजात्रा कहिलेसम्म चल्छ?

एकातिर आफ्ना भनिएका एमाले पार्टीभित्रका पुराना साथीहरू सबै असन्तुष्ट हुँदैछन्। प्रचण्डको ऊँट कहिले कता करवट लिने हो थाहा छैन। प्रधानमन्त्री भने अहिलेको अंकगणितका भरमा मत्तहात्तीझैँ लम्कन थालेका छन्, मदमस्त ! आगामी पार्टीको महाधिवेशनको भाँडभैलो कस्तो र कत्रो हुने हो, त्यसको अनुमान उनलाई छजस्तो लाग्दैन। कांग्रेस र एमाले दुवै पार्टी समाजवादी होइनन् र काम पनि लाग्दैनन्। यस्तो उद्घोषसाथ बाबुराम भट्टराई र उपेन्द्र यादव ‘समाजवादी पार्टी’ खोलेर अघि बढेका छन्। सरकारबाट हट्न खोज्दैछन्।

सारा संसारले र छिमेकीले पनि बुझेको कुरा के हो भने नेपाल ‘संघीय लोकतान्त्रिक गणतन्त्र’मा प्रवेश गरेको छ। कम्तीमा लोककल्याणकारी राष्ट्रका रूपमा अघि बढ्छ। यो विश्वास सारा लोकतान्त्रिक मित्रराष्ट्रहरूले लिएका छन् र उनीहरूलाई अर्को के पनि विश्वास छ भने नेपालमा न्यायालयले स्वतन्त्रतापूर्वक कार्य गर्छ। प्रेस स्वतन्त्रता छ, निजी प्रेस पनि प्रभावकारी छ, भ्रष्टाचारमा हस्तक्षेप गर्ने स्वतन्त्र सरकारी निकाय क्रियाशील छन्। त्यसो भएर ऋण सहयोग आइरहेको छ। जुन दिन त्यो विश्वास हट्छ र नेपालमा कम्युनिष्ट शासन शैली छ, सारा अधिकार प्रधानमन्त्रीमा केन्द्रित छ। एउटा मन्त्रीले आफ्नो सचिवसम्म राख्न सक्दैन भन्ने थाहा होला? त्यसपछि के हुन्छ? यो सर्वसत्तावाद लुकेर लुक्ने होइन।

भरतमा एउटी प्रधानमन्त्री थिइन् महिला, त्यसपछि भारतमा महिला प्रधानमन्त्री भएकै छैनन्। उनको नाम थियो– इन्दिरा गान्धी। पाकिस्तानलाई टुक्र्याएर बंगलादेश बनाइन्। सिक्किम स्वतन्त्र र सार्वभौम राष्ट्रलाई भारतमा विलय गराइन्। नेपालको तराई टुक्र्याउने योजना थियो भन्छन्, त्यो पूरा गर्न सकिनन्। सर्वसत्तावादी भइन्। भारतमा जनआन्दोलन झेल्न नसकेर आपतकालको घोषणा गरिन्। पछि उनलाई उनकै सुरक्षाकर्मीले प्रधानमन्त्री निवासमै गोली हानेर हत्या गरिदियो। अलिकति अप्ठ्यारो पर्‍यो भने विदेशी शक्तिले गर्‍यो भन्थिन्। प्रधानमन्त्री ओली विदेशी त भन्न थालेका छैनन्, दक्षिण र वामशक्ति भन्दै छन्। सर्वसत्तावाद र दुवैको मिलन त उनमै छ। अन्त जानै पर्दैन।

लोकप्रिय

सप्तकोशीमा पानीको बहाव उतारचढाव

सप्तकोशीमा पानीको बहाव उतारचढाव

२०७६, ३० असार सोमबार १८:३९

बाढीपहिरोले पूर्वमा बढी क्षति

बाढीपहिरोले पूर्वमा बढी क्षति

२०७६, २९ असार आईतवार १९:५६

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

२०७६, ३१ असार मंगलवार १९:२२

सर्वोच्चको आदेशपछि भारतीय तरकारीको विषादी परीक्षण शुरु

सर्वोच्चको आदेशपछि भारतीय तरकारीको विषादी परीक्षण शुरु

२०७६, २९ असार आईतवार १४:०१

बाढी, पहिरो र डुवान: मृतकको संख्या ५० पुग्यो (अपडेट)

बाढी, पहिरो र डुवान: मृतकको संख्या ५० पुग्यो (अपडेट)

२०७६, २९ असार आईतवार १३:१३

पूर्ण कदका भानुभक्त

पूर्ण कदका भानुभक्त

२०७६, २९ असार आईतवार १७:०३

२०६औँ भानुजयन्ती (फोटोफिचर)

२०६औँ भानुजयन्ती (फोटोफिचर)

२०७६, २९ असार आईतवार १२:५७

नर्सरी व्यवसायबाट मासिक ८ लाख आम्दानी

नर्सरी व्यवसायबाट मासिक ८ लाख आम्दानी

२०७६, २९ असार आईतवार १६:२३

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

२०७६, ३० असार सोमबार १३:२५

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

२०७६, ३० असार सोमबार १९:४२

इन्डोनेसियामा ७.३ म्याग्नीच्यूडको भूकम्प

इन्डोनेसियामा ७.३ म्याग्नीच्यूडको भूकम्प

२०७६, २९ असार आईतवार १६:२८

मायाप्रेमले निम्त्याएको विवाद: छुरा प्रहार, घरमा ढुंगामुढा

मायाप्रेमले निम्त्याएको विवाद: छुरा प्रहार, घरमा ढुंगामुढा

२०७६, २९ असार आईतवार १७:५१

होसियार ! पानी परेको बेलामा मोबाइलमा कुरा गर्दा ज्यान जान सक्छ

होसियार ! पानी परेको बेलामा मोबाइलमा कुरा गर्दा ज्यान जान…

२०७६, २९ असार आईतवार १७:५५

कोशी ब्यारेज उच्च जोखिममा, ५६ वटा ढोका खोलिए

कोशी ब्यारेज उच्च जोखिममा, ५६ वटा ढोका खोलिए

२०७६, २९ असार आईतवार ०६:२६

हरे शिव ! तीन बालबालिकाको कस्ताे बिचल्ली?

हरे शिव ! तीन बालबालिकाको कस्ताे बिचल्ली?

२०७६, २९ असार आईतवार १३:१५