काठमाडौँ – सरकारले शुरु गरेको युवा तथा साना व्यवसायी स्वरोजगार कार्यक्रमअन्तर्गत १० वर्षमा ६४ हजार बढी स्वरोजगार भएका छन्। २०६५ सालमा शुरु गरिएको उक्त कार्यक्रमअन्तर्गत हालसम्ममा ६४ हजार ६ सय ८५ जना स्वरोजगार भएको युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयले जानकारी दिएको छ।

सचिवालयकी सूचना अधिकारी सम्झना वाग्लेका अनुसार आर्थिक वर्ष २०६५/६६ देखि २०७०/७१ सम्ममा २५ हजार २ सय ६ जना स्वरोजगार भएका थिए। त्यसपछि भने स्वरोजगारको संख्या बढ्दै गएको छ। आव २०७१/७२ मा २ हजार ८ सय ९६, आव २०७२/७३ मा २ हजार ५ सय ९७, आव २०७३/७४ मा ७ हजार ५ सय ९५ र आव २०७४/७५ मा १७ हजार ३९ जना स्वरोजगार भएको सचिवालयको तथ्याङ्क छ। सचिवालयका अनुसार चालू आव २०७५/७६ को जेठ ३० गतेसम्म ९ हजार ३ सय ५२ स्वरोजगार भएका छन्।

पूँजी अभावबाट हुने प्रतिभा पलायन रोक्ने तथा बेरोजगार युवालाई स्वरोजगार बनाउने लगायतका उद्देश्यसहित सरकारले यो कार्यक्रम शुरु गरेको हो। कार्यक्रममार्फत प्रतिव्यक्ति अधिकतम दुई लाख र बढीमा २५ जनाको प्रत्येक समूहलाई अधिकतम ५० लाख रुपैयाँ विनाधितो ऋण प्रदान गरिँदै आएको छ।

युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको सचिवालयले अशिक्षित र बेरोजगार युवालाई अभिमुखीकरण तथा व्यावसायिक र सीपमूलक तालिम दिनुका साथै बैंक र वित्तीय संस्थाहरूमार्फत सहुलियत ब्याजदरमा विनाधितो ऋण प्रदान गर्छ। बैंक र वित्तीय संस्थाहरूमार्फत ऋण प्रदान गर्दै आएको कोषले १० वर्षको अवधिमा ८ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको छ भने हाल करिब ४ अर्ब रुपैयाँ लगानी बजारमा रहेको सचिवालयका कार्यकारी निर्देशक विष्णुप्रसाद गौतमले जानकारी दिए।

गौतमका अनुसार १० वर्षको अवधिमा कोषले ७० करोड रुपैयाँ बचत गरेको छ। कोषले बैंकबाट ४ प्रतिशतमा ऋण लिएर बैंक, वित्तीय संस्था र सहकारीहरूलाई ५ प्रतिशत ब्याजदरमा ऋण दिन्छ। सोही ऋणबाट आउने ब्याजको रकमबाट १० वर्षमा ७० करोड रुपैयाँ बचत भएको कार्यकारी निर्देशक गौतमले बताए।

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले हाल १ हजार ९ सय बढी बैंक, वित्तीय संस्था र सहकारीमार्फत युवालाई ऋण प्रदान गरिरहेको छ। कोषले बैंक, वित्तीय संस्था र सहकारीहरूलाई ५ वर्षका लागि ऋण उपलब्ध गराउँछ। बैंक, वित्तीय संस्था र सहकारीहरूले व्यक्ति तथा समूहलाई बढीमा ३ वर्षका लागि ऋण दिन्छन्। ती बैंक र वित्तीय संस्थाहरूबाट २० करोड रुपैयाँ ऋण असुली गर्न बाँकी रहेको कोषको कानून तथा असुली शाखा प्रमुख लोकबहादुर खड्काले जानकारी दिए।

‘गत आर्थिक वर्षको मसान्तसम्म हामीले २० करोड रुपैयाँ ऋण असुल गर्न बाँकी थियो। त्यसमा चालू आर्थिक वर्षमा प्रगति भएको छ। १० करोड रुपैयाँ बढी हामीले असुल गरिसकेका छौँ,’ खड्काले भने। कोषबाट ऋण लगेर बेरोजगार युवालाई ऋण उपलब्ध गराउँदै आएका १ हजार ९ सय बढी बैंक, वित्तीय संस्था र सहकारीमध्ये ५ सय बैंक र वित्तीय संस्थाले ऋण चुक्ता गर्न बाँकी छ।

कोषको केन्द्रीय कार्यालय काठमाडौँमा मात्रै छ। प्रदेश, जिल्ला तथा स्थानीय तहमा कोष पुग्न सकेको छैन। जिल्लामा प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्ला संयोजन तथा अनुगमन समिति हुन्छ भने यहाँ स्वयंसेवक राखिएको हुन्छ।

कानून तथा असुली शाखा प्रमुख खड्काले सबै ठाउँमा कार्यालय नहुँदा कर्जा असुलीमा केही समस्या भएको समस्या सुनाए। तर, बैंक, वित्तीय संस्था र सहकारीलाई ऋण दिँदा नै असुल हुने र कार्यक्रमको उद्देश्य पनि पूरा हुने गरेका कारण ठूलो मात्रामा कर्जा असुली गर्न बाँकी नरहेको उनको भनाइ छ।

कोषले ऋण दिँदा नै संस्थाका सञ्चालक, कार्यसमिति सदस्यलगायत पदाधिकारीको लालपुर्जा र सम्पत्ति विवरण लिने गरिएको छ। ऋण असुल नगरेको खण्डमा शुरुमा ब्याज तथा ऋण चुक्ता गर्न ताकेता गरिन्छ र ताकेताको अटेर गरेमा सम्बन्धित संस्थाका सञ्चालक, कार्यसमिति सदस्यलगायत पदाधिकारीको सम्पत्ति रोक्कादेखि स्थानीय तहबाट प्रदान गरिने सम्पूर्ण सेवासुविधा रोक्का गर्न सम्बन्धित स्थानीय तहलाई पत्राचार गर्ने गरिएको खड्काले जानकारी दिए।

कोषले बैंकबाट ४ प्रतिशत ब्याजमा ऋण लिएर बैंक, वित्तीय संस्था र सहकारीहरूलाई ५ प्रतिशत ब्याजदरमा कर्जा (ऋण) लगानी गर्छ। कोषबाट प्राप्त रकम सम्बन्धित बैंक, वित्तीय संस्था तथा सहकारीले १० प्रतिशत ब्याजदरमा व्यक्ति तथा समूहलाई लगानी गर्छन्।

बैंक, वित्तीय संस्था तथा सहकारीले निर्धारण गरेको किस्ताबन्दीअनुसार सावाँ र ब्याज समयमै तिर्ने ऋणीहरूलाई सम्पूर्ण ब्याजको ६० प्रतिशत कोषले अनुदान दिने व्यवस्था गरेको छ। स्वरोजगार कार्यक्रमअन्तर्गत ऋण लिने सबै ऋणीको अनिवार्य रूपमा बीमा हुने र यस्तो बीमाको रकम कोषले प्रदान गर्दै आएको छ। ऋण लिएर गर्ने व्यवसायको बीमा गरिदिने व्यवस्था हुँदा कार्यक्रमलाई सफल बनाउन थप टेवा पुगेको कोषले जनाएको छ।

व्यावसायिक खेती तथा पशुपक्षीपालन, कृषि तथा वनजन्य उद्योग, घरेलु तथा साना उद्योग र अन्य व्यापार व्यवसाय, शहर बजार क्षेत्रमा रिक्सा, ठेलागाडा लगायतका स्वरोजगारमूलक, सेवामूलक व्यवसाय, परम्परागत सीपयुक्त व्यवसायलगायतका लागि कोषले ऋण उपलब्ध गराउँदै आएको छ।

पर्यटन, होमस्टेसम्बन्धी व्यवसाय, स्थानीय कच्चा पदार्थ र सीपमूलक परियोजना, उत्पादित क्षेत्रमा नै खपत गर्ने परियोजना र एक गाउँ एक उत्पादनसम्बन्धी परियोजनाका साथै द्वन्द्वपीडित व्यक्ति, अपाङ्गता, घाइते र शहीद परिवार, उत्पीडित जाति, जनजाति, दलित तथा महिलाद्वारा सञ्चालन हुने परियोजनाहरूलाई विशेष प्राथमिकता कोषले दिने गरेको छ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयका कार्यकारी निर्देशक गौतम कार्यक्रम सफल भएको दाबी गर्छन्। उनले अन्य सरकारी कार्यक्रममध्ये युवा तथा साना व्यवसायी स्वरोजगार कार्यक्रम धेरै सफल रहेको बताए।

‘प्रदेश, जिल्ला र स्थानीय तहमा हामी पुग्ने सकेका छैनौँ। तर, बैंक, वित्तीय संस्था एव स्थानीय सहकारी संस्थामार्फत मनाङ र मुस्ताङबाहेक सबै जिल्लामा पुगेका छौँ,’ उनले भने, ‘कार्यक्रमको प्रचारप्रसार नगर्दा पनि १० वर्षमा ६४ हजार बढीलाई स्वरोजगार बनाउनु, ७० करोड बचत गर्नु हाम्रो ठूलो सफलता हो। त्यस्तै असुल गर्न बाँकी कर्जा पनि विस्तारै घट्दै गएको छ।’

प्रदेश, जिल्ला र स्थानीय तहमा कोषको संयन्त्र निर्माण, कार्यक्रमबारे प्रचारप्रसार लगायतका काम गर्न सकेमा कार्यक्रम अझै सफल हुने उनको ठम्याइ छ। अझै १२ जिल्लामा संयोजक नै नभएको बताउँदै उनले थपे, ‘सरकारले आवश्यक बजेट र कर्मचारीको व्यवस्था गरिदिए कार्यक्रमले बढी सफलता पाउने थियो।’

लोकप्रिय

सप्तकोशीमा पानीको बहाव उतारचढाव

सप्तकोशीमा पानीको बहाव उतारचढाव

२०७६, ३० असार सोमबार १८:३९

बाढीपहिरोले पूर्वमा बढी क्षति

बाढीपहिरोले पूर्वमा बढी क्षति

२०७६, २९ असार आईतवार १९:५६

सर्वोच्चको आदेशपछि भारतीय तरकारीको विषादी परीक्षण शुरु

सर्वोच्चको आदेशपछि भारतीय तरकारीको विषादी परीक्षण शुरु

२०७६, २९ असार आईतवार १४:०१

बाढी, पहिरो र डुवान: मृतकको संख्या ५० पुग्यो (अपडेट)

बाढी, पहिरो र डुवान: मृतकको संख्या ५० पुग्यो (अपडेट)

२०७६, २९ असार आईतवार १३:१३

पूर्ण कदका भानुभक्त

पूर्ण कदका भानुभक्त

२०७६, २९ असार आईतवार १७:०३

२०६औँ भानुजयन्ती (फोटोफिचर)

२०६औँ भानुजयन्ती (फोटोफिचर)

२०७६, २९ असार आईतवार १२:५७

नर्सरी व्यवसायबाट मासिक ८ लाख आम्दानी

नर्सरी व्यवसायबाट मासिक ८ लाख आम्दानी

२०७६, २९ असार आईतवार १६:२३

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

२०७६, ३० असार सोमबार १३:२५

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

२०७६, ३० असार सोमबार १९:४२

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

२०७६, ३१ असार मंगलवार १९:२२

इन्डोनेसियामा ७.३ म्याग्नीच्यूडको भूकम्प

इन्डोनेसियामा ७.३ म्याग्नीच्यूडको भूकम्प

२०७६, २९ असार आईतवार १६:२८

मायाप्रेमले निम्त्याएको विवाद: छुरा प्रहार, घरमा ढुंगामुढा

मायाप्रेमले निम्त्याएको विवाद: छुरा प्रहार, घरमा ढुंगामुढा

२०७६, २९ असार आईतवार १७:५१

होसियार ! पानी परेको बेलामा मोबाइलमा कुरा गर्दा ज्यान जान सक्छ

होसियार ! पानी परेको बेलामा मोबाइलमा कुरा गर्दा ज्यान जान…

२०७६, २९ असार आईतवार १७:५५

कोशी ब्यारेज उच्च जोखिममा, ५६ वटा ढोका खोलिए

कोशी ब्यारेज उच्च जोखिममा, ५६ वटा ढोका खोलिए

२०७६, २९ असार आईतवार ०६:२६

हरे शिव ! तीन बालबालिकाको कस्ताे बिचल्ली?

हरे शिव ! तीन बालबालिकाको कस्ताे बिचल्ली?

२०७६, २९ असार आईतवार १३:१५