यात्राको एक अंश

एउटा ठूलो पहरे ढिस्कीमा पुगेर झोला बिसायौँ हामीले। तल धेरै तल बगिरहेको मसिनो खोला, त्यसमाथि उडिरहेको पातलो कुइरो; त्यहाँभन्दा धेरै माथि शिखरमा बसेका हामीहरू, हाम्रो छेउमा पनि मन्द चालमा उडिरहेको पातलो कुइरो; कुइरोको पातलो पर्दाबाट देखिने तलको खोला, कुइरोको अर्को तह, खोलाछेउका एक/दुई घर, रूखहरू, आहा ! मनमुग्ध गर्ने कुनै चिनियाँ तेलचित्र हेरिरहेजस्तो लाग्थ्यो। मुखबाट सिग्रेटको कुइरो उडाउँदै रामेशले प्रकृतिमा हराइरहेको हाम्रो एकसुरेपनालाई भङ्ग गर्‍यो, ‘मञ्जुल, काठमाण्डूमै बसिरहेको भए यो रमाइलो दृश्य हाम्रो आँखामा हुन्थ्यो त? यो अनुभूतिको सुखले हाम्रो मनलाई छुन पाउँथ्यो त?’ गजगजी उम्लिरहेको गन्धे ढल त्यै बेला मेरो मनमा झुलुक्क देखा पर्‍यो र त्यसैलाई काठमाण्डू सम्झेर मेरो आङ एकपल्ट सिङरिङ्ग काम्यो।

ऐँसेलुखर्कमा  ऐँसेलुको झ्याङ पनि थिएन न त कतै खर्कहरू नै थिए। थिए त हाम्रो अप्रत्यासित आगमन देखेर मख्ख पर्ने परिचित साथीहरू। सुमनको कलाप्रेमी घरले हामीलाई न्यानो आश्रय दियो र त्यही घरको भान्साले बिहानको भात पनि ख्वायो।

शिष्ट, अति शिष्ट, गम्भीर र मृदुभाषी भाइ भक्त राजभण्डारीले दिउँसो हामीलाई ऐँसेलुखर्क बजार घुमाउन लानुभयो। अग्लो डाँडाको शिखरमा दोहोरो लाइनको घरहरूको लस्कर। के के नपुगेको, के के उडेको फुङ्ग बजार। दुःख सुख जीवन धान्न, निम्न आयका मान्छेहरूलाई गुजाराका लागि येनकेन प्रकारले ठड्याएका टीठलाग्दा घरहरू। यो लेखाली बजार कता कता एकलासमा बसेर सुँक्क–सुँक्क रोइरहेको बालखझैँ लाग्यो मलाई।

‘भोलि दाइहरूले यहीँ विद्यार्थीलाई कार्यक्रम दिनुपर्छ,’ बजार बीचको विद्यालय भवन देखाउँदै भक्त भाइले भन्नुभयो। पर भित्तामा पुगेपछि बजारका घरहरू सिद्धिए। अलि अग्लो ठाउँमा बसेर हामीले चारैतिरका दृश्यहरू हेर्‍यौँ। भक्त भाइले वाग्सिला, बाङ्देल गाउँहरू देखाउँदै त्यहाँ साथीहरू शिक्षक भएर काम गरिरहेको कुरा बताउनुभयो। जाली, शोषक, फटाहाहरूले खेदो गरे तापनि सङ्घर्ष गर्दै जनताबीच काम गरिरहेको खबर सुनाउनुभयो। अर्को दिशातिरको आकाश नीलो, कालो र मैलो थियो। त्यता सोलुको इलाका रहेछ।

पुस–माघतिर मात्र जाडोले आफ्नो लीला देखाउला भनेको त ए बास्सरे ! साँझ परेपछि नै सर्दीले कृष्णलीला देखाउन थालिगो। भर्भराउँदो कोइला भरिएको मकल आइपुग्यो कोठामा। साहित्य र राजनीतिले बास गरेको त्यस घरमा प्रगतिशील र पञ्चायती पहलमानहरूको निकै ठूलो मल्ल युद्ध चल्यो त्यस रात। बीच–बीचमा कुरो तात्तिएर जाँदा दाजुभाइको सम्बन्धै हल्लिएला कि जस्तो पनि लाग्थ्यो। हामी जिल्ल पथ्र्यौं। तर घरका मान्छेहरू चैँ त्यस्तो बेला हलल्ल हाँस्थे। पछि कुरा बुझियो त्यस्तो वादविवाद त त्यहाँ प्रायः सधैँ नै हुँदोरहेछ। वादविवादले चरम् रूप लिँदा के के नै भइहाल्ला कि जस्तो, वादविवाद सकिएपछि दाजुका दाजु–भाइका भाइ। आ–आफ्नो माया र व्यवहार ठाउँ ठाउँमै छँदैछ ।

त्यसबेला दौरा, सुरुवाल, कोट, टोपी, कम्मरपेटी र जुत्ता लगाएको पञ्चायत ठूलो दाजुको जीउमा चढेर हुँकार गर्दै बोलिरहेको हुन्थ्यो, ‘अबको राष्ट्रिय पञ्चायतको चुनावमा म उठेँ उठेँ। तिमीहरू भाइ हौ भने देओ मद्दत मलाई।’ घरका मान्छेहरू ‘बिनापत्तामा सम्पत्ति फुक्न पर्दैन’ भनेर नउठ्ने सल्लाह दिन्थे तर दाजुको पञ्चायत अजोडी थियो। ‘मेरो शक्ति र सम्बन्धमा विश्वास नगरे नगर तर घरको साथ पाए म जित्छु,’ ऊ बराबर यही आग्रह दोहोर्‍याइरहन्थ्यो। पछि काठमाण्डूमा हामीले थाहा पायौँ दाजु, राष्ट्रिय पञ्चायतमा उठ्नु नै भएछ तर घरका मान्छेहरूले भनेजस्तै उहाँ विजयी चैँ हुनसक्नु भएनछ।

राति अबेरसम्म हामीले राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिकै विषयमा लामो कुराकानी गर्‍यौँ। ऐँसेलुखर्कको त्यो घर र त्यहाँको वातावरणले भन्थ्यो, ‘को अछुतो छ राजनीतिबाट?’

तीलक दाइसँग कुरा गरिरहेको थियो रामेश। बिहानको चिया तलै खायो उसले। तेह्रथुमको चिनाजानी उसको। पछि रामेशले मलाई उहाँको बारेमा बतायो। सानो आयस्रोत, धेरै छोराछोरीहरू, कठै ! दुःखको लहराले टन्टन्ती बेरेको नेपाली जिन्दगानी।

एक हुल उत्सुक विद्यार्थीहरूले हामीलाई लिन आए। गितार साथमा लिएर हामी हाइस्कुलतिर लाग्यौँ। टेबल बेन्च मिलाएर त्यसमा विद्यार्थी र बजारका अभिभावकहरू टन्न बसिसकेका थिए। मञ्चमा हाम्रो राल्फाली परिचय गराइयो। शहर र ठूला बजारतिर ‘राल्फा’भन्दा एउटा गर्व र गौरवको अनुभव हुन्थ्यो मलाई तर आज त्यो ठाउँ र त्यहाँ उपस्थित भोलाभाला दर्शकहरूको अघि ‘राल्फा’ शब्द किन हो अलि अस्वाभाविक र नेपाली जीवनसँग असम्बन्धित महसुस भयो मलाई। ‘विद्रोह’, ‘हाम्रा गीतहरू’, ‘चेगुबेरा’, ‘हामीले गाउने गीत’, ‘खै स्वतन्त्रता ?’, ‘आँधी आयो’, ‘खरीपाटीका अक्षर’जस्ता थुप्रै थुप्रै जोशिला गीतहरू गायौँ हामीले ।

त्यसपछि हिजो दुबेको गुरुङ गाउँमा बास बसेर गीत सुनाउँदा त्यहाँका गुरुङ–गुरुङसेनी बा–आमाहरूले भन्नुभएका संवादहरू भूमिकामा मिलाई मिलाई थुप्रै लोकगीतहरू सुनायौँ। आफ्नै गाउँलेहरूको भनाइहरू सुन्दा दर्शकहरूले खुब आनन्द मानेका थिए। ‘साथी हो, तपाईंहरूले गाउनुभएका गीतहरू, गीतका भावनाहरू हाम्रा हृदयमा कुँदिएर रहनेछन्। ती कहिल्यै मेटिने छैनन्। धन्यवाद छ तपाईंहरूलाई।’ कार्यक्रमको अन्त्यमा आयोजक शिक्षक साथीले हामीप्रति धन्यवाद ज्ञापन गर्नुभयो। त्यसको प्रत्युत्तरमा मैले बोलेँ, ‘समाजमा लिसोझैँ टाँस्सिएर बसेका अज्ञानता, अचेतनता, भ्रम र अन्धविश्वासका ढुँढी परेका जालाहरू च्यात्दै, देश र जनतालाई सही जीवन पहिल्याउँदै सही दिशातिर अघि बढ्न हाम्रा गीतहरूले सहयोग गरे भने निश्चय नै हामी आजको यो कार्यक्रमको सार्थकताको अनुभव गर्नेछौँ।’

हामीले गीत गाइरहँदा एकजना हाम्रो सानो विद्यार्थी श्रोता, नमीठोसँग ढ्याउ ढ्याउ छाती बजाएर खोकिरहन्थ्यो। बिचरा मैलो, पातलो, एकसरो लुगा लगाएको त्यो सानो केटोलाई नराम्ररी चिसो गढेको थियो। गीत गाइरहँदा त्यो खोकीले मेरो एकाग्रतालाई बराबर भङ्ग गरिरहन्थ्यो। बाहिर एकनासले गीत गाइरहे तापनि मेरो अन्तर विक्षिप्त भएर चिच्याइरहेको हुन्थ्यो। ‘अफसोस ! दरिद्रताको कारण, आफ्नो छोराको बिजोग टुलुटुलु हेर्दै, उसको मृत्यु कुरिरहने त्यो अभागी कर्महारा बाबु मैँ हुँ।’ साँझ रामेश र म दुवै त्यो सानो केटोको मन निचोर्ने खोकीको सम्झना गरेर दुःखी भइरह्यौँ। कठै ! नेपाली बालकहरू ! एक गाँस तातो आहारा, एक झुम्रो न्यानो लुगा अनि सामान्य दबाइको अभावले तिमीहरू कति मरेर गयौ, कति मरिरहेछौ र कति मरिरहने हौ। उफ !

राति फेरि एउटा ठूलो कोठामा कार्यक्रम दियौँ। स्कुलको कार्यक्रम सुन्ने श्रोताहरूको सिफारिसमा थुप्रै घरका आमा, काकी, भाउजू, दिदी र बैनीहरू पनि त्यहाँ आएका थिए। दिउँसो स्कुलमा गाएका गीतहरू श्रोताहरूको अनुरोधमा फेरि गायौँ अनि केही अरू नयाँ गीतहरू पनि। त्यहीँ कोठे गीति कार्यक्रमको करिब करिब अन्त्यतिर एकजना युवक भाइले बडो निडर भएर हामीसँग प्रश्न गरेका थिए, ‘दाइ, तपाईंहरूका यी गीतहरू किन रेडियो नेपालबाट आउँदैनन् !?’ सोझा ती पहाडी युवकलाई रेडियो नेपालको काम, त्यसको चरित्रको व्याख्या गर्दै मैले भनेँ, ‘भाइ, त्यसैले जनतामा साँच्चैको जागरण र चेतना भर्ने गीतहरू रेडियोबाट आउन कठिन छ। गोर्खाभर्तीको विरोध गर्ने, गाउँका जालीझेली फटाहाहरूको उछित्तो खन्ने, शोषक सामन्तीहरूको कालो कर्तुतहरूको भण्डाफोर गर्ने गीतहरू रेडियोबाट आउँदैनन्।’

‘भो भो पर्दैन, हजारपल्ट रेडियो नेपालबाट आएको र यो एकपल्ट सुनेको गीत दाँजेर हेर्दा यसैले जित्छ। यस्तै गीतले देशको भलो गर्छ, यस्तै गीत गाओ। एकेक हजार मोल पर्ने गीतहरू छ यिनीहरूको।’ आधिकारिक ढङ्गले एकजना बूढा बुज्रुगले आफ्ना छोराहरूलाई झैँ आदेश दिँदै हामीलाई भन्नुभयो। हाम्रो मनोबल, हाम्रो उत्साह र गतिशीलतामा अपार शक्ति थपिएको अनुभव भयो त्यसबेला मलाई। धन्यवाद बुज्रुगहरू ! तपाईंहरू जो सही बाटोमा सही ढङ्गले अघि बढ्न नयाँ पुस्ताहरूलाई उचित र आवश्यक निर्देशन दिइरहनुहुन्छ। तपाईंहरूकै स्वस्थ र सही पथप्रदर्शनले मानव समाज र सभ्यता निरन्तर प्रगतितिर अघि बढिरहेछ, बढिरहनेछ।

ऐँसेलुखर्कमा सामान्यतः सबै राम्रै लाग्यो हामीलाई तर समाज र जनतालाई अघि बढाउन जनक्षेत्रमा उत्रेका हाम्रा दुई साथीको एकआपसको चिसो लडाईंले नमज्जाको अनुभव गरायो। स्थानीय जनता चाहन्थे, उनीहरूमा मेलमिलाप होस्, उनीहरू मिलिजुली जनहितका जनकार्यहरू गरून् तर स्थिति चाहेजस्तो थिएन। मलाई लाग्यो, साथीहरूभित्रको त्यो आगोले कठ्याङ्ग्रिएकाहरूलाई न्यानो दिँदैन बरु बस्ती नै भष्म पार्ने डढेलो लगाउँछ। आफ्नो पङ्क्तिमा झै–झगडा हुँदा फलिफाप हुने त कुरै भएन बरु नास, विनास र सर्वनास चैँ पक्कै हुन्छ। जान्ने बुझ्नेहरूको हठ र अहंकार झन् खतरनाक।

साथीहरू हामीलाई पुर्‍याउन वरसम्म आए। बजारको छेउमा पुगेपछि बाटोछेउमै चरिरहेकी एउटी काली पोथीले जगर फुलाएर भाले कुखुराजस्तै बासी, कुखुरी काँ। ‘ए मञ्जुल, पोथी पो बासेर मरी, क्यै हुन्छ कि क्या !’ हेर संस्कारको गोमनले तर्साएको ! कता कता ठट्टा गरेको टोनमा रामेशले भने पनि डरको छेपारोले उसको मुटुभित्र लप्लप् जिब्रो निकालेको प्रस्टै देखिन्थ्यो।

‘संसारमा कत्रा कत्रा दुर्घटनाहरू घटे र घटिरहेछन्, सबै कुखुराको पोथी बासेरै हो त? पोथी बासे पनि नबासे पनि जे हुन्छ, हुँदै जान्छ, आ,’ दह्रो मन गरेर हिँड्यौँ हामी।

कार्यक्रम सकिएपछि बाजा बोकेर साथीहरूसँग गाउँतिर लाग्यौँ। उता भारीतारी बोकेर भरियाहरू पनि उकालो लागे। भरियाहरू उकालो चढ्दै खुट्टा उचाली उचाली गीत गाउँदै थिए, ‘अइयाउ…अइयाउ।’ खुब मज्जा लाग्यो मलाई आफ्नो गीत भरिया दाइहरूको मुखबाट प्रतिध्वनित भएर फर्कंदा !

(कवि गायक मञ्जुल र गायक सङ्गीतकार रामेशको राल्फाकालीन जनजागृति गीतियात्रामाथि नियात्राकार मञ्जुलले तयार पारेको पुस्तक ‘सम्झनाका पाइलाहरू’ (२०४४) बाट साभार अंश)

लोकप्रिय

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

२०७६, ३ श्रावण शुक्रबार १९:३९

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

२०७६, ४ श्रावण शनिबार १७:२७

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

२०७६, ३ श्रावण शुक्रबार १९:२०

नेकपा विप्लवको भूमिगत सञ्जाल

नेकपा विप्लवको भूमिगत सञ्जाल

२०७६, ५ श्रावण आईतवार ०७:२१

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

२०७६, ५ श्रावण आईतवार १२:१३

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

२०७६, ३ श्रावण शुक्रबार १६:४२

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

२०७६, ३ श्रावण शुक्रबार १२:०८

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

२०७६, ३ श्रावण शुक्रबार १९:२५

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

२०७६, ३ श्रावण शुक्रबार ०८:४७

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

२०७६, ३ श्रावण शुक्रबार १३:५०

‘नीला गोलार्द्ध ’ लोकार्पण

‘नीला गोलार्द्ध ’ लोकार्पण

२०७६, ४ श्रावण शनिबार १६:१९

२० वर्षीया महिलालाई बलात्कार गर्ने असई पक्राउ

२० वर्षीया महिलालाई बलात्कार गर्ने असई पक्राउ

२०७६, ३ श्रावण शुक्रबार १४:०६

कांग्रेसमा नियमावली विवाद विरोधीलाई तह लगाउन आचारसंहिता’

कांग्रेसमा नियमावली विवाद विरोधीलाई तह लगाउन आचारसंहिता’

२०७६, ५ श्रावण आईतवार ०८:२७

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

२०७६, ५ श्रावण आईतवार ०६:३८