प्राध्यापन पेशामा लामो समय संलग्न रही अवकाश प्राप्त व्यक्तित्व डा. हरिप्रसाद श्रेष्ठ नै नेपाली साहित्यमा मूलतः कविका रूपमा चिनिएका संस्कृति र समाजशास्त्रका विज्ञ नोरेम (सन् १९५०) हुन्। उनको कविता सङ्ग्रह ‘इन्द्रेणी स्पर्शका संवेगहरू’ प्रकाशित छ। राल्फासँग आबद्ध भएर काठमाडौँ आएका नोरेमले सिर्जन, समीक्षण र चिन्तनका क्षेत्रमा प्रशस्त प्राज्ञिक योगदान दिएका छन्। उनका प्रि हिस्टोरिक नेपाल शीर्षकको पुस्तकसहित संस्कृति र इतिहासका पुस्तकहरू पनि प्रकाशित छन्। थुप्रै अनसन्धान आलेखहरू तयार पारी प्रकाशित गरेका डा. हरिप्रसाद श्रेष्ठ यस नामबाट शिक्षासेवीका रूपमा विशिष्टता प्राप्त व्यक्तित्वका रूपमा राष्ट्रिय/अन्तर्राष्ट्रिय परिवेशमा चिनिएका छन् भने कवि नोरम उनको साहित्य सिर्जनाको प्रिय नाम हो। यिनै शालीन व्यक्तित्वका धनी नोरेमसँग नेपाली पब्लिकका निम्ति डा. गीता त्रिपाठीले गरेको कुराकानी यहाँ प्रस्तुत छ:

जब यहाँले साहित्य बुझ्न थाल्नुभयो, त्यो बेला राजनीतिले साहित्यलाई पछ्याइरहेको थियो कि साहित्यले राजनीतिलाई पछ्याइरहेको थियो? त्यो समयको साहित्यको समीक्षा गर्दा यहाँलाई कस्तो लाग्छ?

त्यो बीसको दशकको कुरा हो, म भोजपुरमा थिएँ। साहित्यप्रतिको मेरो लगाव स्कुले जीवनदेखि कै हो। मैले मेरा प्रकाशित संस्मणहरूमा पनि यी कुरा उल्लेख गर्दै आएको छु। खासगरी कवितातिर मेरो आकर्षण थियो सुरुदेखि नै। त्यो सुदूर अतीतको कुराजस्तो लाग्छ अहिले सम्झँदा तर त्यहीँबाट उठेको मेरो सिर्जनशील चेतना नै मेरो लेखनको जग हो र बारम्बार सम्झना पनि आइरहन्छ। त्यो उमेरमा कुनै राजनीतिक वा वैचारिक भावभूमिबाट प्रेरित र प्रभावित हुने अवस्था नै थिएन। धेरै समयसम्म त मनमा उठेका भावले एउटा बान्की खोजिरहेपछि त्यसलाई व्यक्त गर्नु नै साहित्य हो भन्ने लाग्थ्यो सुरुमा त। केही समय पछि गएर आफ्नो समाजका विसङ्गति बुझ्ने चेत हुर्कदै गयो र त्यसले जगाएको विद्रोही चेत नै हाम्रो कविताको मौलिक स्वर बन्दै गयो। त्यसैले साहित्य पहिले र राजनीति त्यसभित्रको गौण विषय भएर आएको थियो सायद शुरुमा।

यहाँहरूलाई साहित्य सिर्जना वा कविता लेखनमा स्कुलबाट कतिको प्रेरणा प्राप्त हुन्थ्यो?

स्कुलमा वेला वेला आयोजना हुने कवि गोष्ठीहरुले हामीमा उत्प्रेरणा भर्ने काम गथ्र्यो। संयोगले मेरो नजिकको मिल्ने साथी रमेश श्रेष्ठजस्ता उत्साहित प्रतिभासँगको साथ मिल्यो। उनीजस्ता मित्रहरूका कारणले नै हामीले स्कुलमा भित्ते पत्रिका प्रकाशित गर्न आरम्भ गरेका थियौँ। यसरी नै ज्ञानेन्द्र अर्को साथी थियो, र, हामी तीन जनासँग बेग्लाबेग्लै खुबीहरू थिए। रमेश असाध्यै जिज्ञासु र अनुसन्धानमुखी थियो। त्यस समयमा कहाँ कहाँ केकस्ता साहित्य छापिएका छन् भन्ने विषयमा रुचिपूर्वक खोज गर्ने र सङ्कलन समेत गर्ने दुर्लभ क्षमता थियो उसमा। म भित्ते पत्रिकाका लागि अक्षर राम्रो भएको मानिन्थेँ। ज्ञानेन्द्रको पनि अक्षर राम्रो थियो। यसरी हामी तीन जनाको सहकार्यमा हामीले ‘प्रभात’ नामक भित्ते पत्रिका प्रकाशन गर्ने गर्थ्यैं। त्यसलाई हरेक हप्ता आवश्यक पर्ने सामग्री जोरजाम गर्ने क्रममा हामी कहिलेकाहीँ आफ्नै रचना पनि छाप्ने गथ्र्यौं। यही पत्रिकाका लागि सामग्री सङ्कलन गर्ने जिम्मेवारीले गर्दा साहित्य अध्ययन र लेखनतिरको रुचि बढ्यो र मलाई चाहिँ यसैले नै साहित्यिक सृजनातर्फ उत्प्रेरित गरेको थियो।

त्यसबेला यहाँहरूको पत्रिकाका पाठक को को थिए?

यसका पाठक स्कुलभित्रै थिए। हामी विभिन्न किसिमको सामग्रीहरूलाई लेखेर ठूलो कार्डबोर्डमा कम्पाइल गर्ने गर्थ्याैं। यो एउटा रुचिको विषय र प्रतीक्षाको विषय पनि बनेको थियो विद्यार्थी मित्रहरू माझ। मेरो हात चलेको विषय नै कविता भएकाले म चाहिँ त्यसैमा अभ्यस्त हुँदै गएँ। यसमा अलिबढी परिष्कार पाउनका लागि चाहिँ रमेशकै सक्रियतामा हामीले आरम्भ गरेको काव्य सन्ध्याले सहयोग पुर्‍यायो।

त्यसबेला कस्तो गोष्ठीको आरम्भ गर्नुभयो ? र यसका सामग्रीमा राजनीतिक चेत पनि पाइन्थे कि?

राजनीतिक चेत थिएन, एकदम थिएन। हाम्रा सामग्रीमा आउने सामाजिक चेतनाको पृष्ठभूमि चाहिँ त्यतिबेलैदेखिको हो। रमेशकै सक्रियतामा हाम्रो समूहले महिनाको एकपटक एक अनौपचारिक काव्यसन्ध्याको आयोजना गर्न थालेको थियो। हामीभन्दा अघिल्लो पुस्ताका परशु प्रधान, शैलेन्द्र साकार, पदम सुन्दास, जो आज पनि निरन्तर लेखिरहनुभएको छ, उहाँहरू समेतको सहभागितामा एउटा कार्यक्रम चलाउने योजना रमेशकै परिकल्पना र हामी सबैको सक्रियतामा बन्यो। त्यस मासिक काव्य सन्ध्याको नाम रमेशले नै दिएको थियो, ‘श्रापित रगतका विषाक्त हस्ताक्षर’। यसमा नयाँ पुस्ता र अग्रज पुस्ताको सहभागितामा काव्यिक छलफल पनि हुन्थ्यो। त्यति ठूलो उद्देश्यले स्थापना भएको नभए पनि यो कार्यक्रमले हाम्रा कवितामा नजानिँदो गरी निखार आउन थालेको थियो। विसंगत समयप्रति वितृष्णा र सामाजिक विद्रुपता विरोधी स्वर हाम्रा कवितामा त्यसैबेलादेखि देखा पर्न थालेको थियो।

२०३२ सालताका कवि नोरेम (बीचमा उभिएको) पोखरामा कविता वाचन गर्दै।

 स्कुलबाट पब्लिक स्पेससम्म आइपुग्दा कविता लेखनमा भाव र शैलीगत स्थितिमा कुनै परिवर्तन आएको थियो कि थिएन?

यो क्रममा आफू बाँचेको सामाजिक परिवेश केही नमिलेको जस्तो लाग्थ्यो। समाजमा व्याप्त केही असमानता र विभेदको छनक पाउन थालेको थिएँ। एउटा युवावयको जोश थियो, समाजभित्रका उवडखावडका विषयमा विद्रोही कविता लेख्न सुरु गरेको थिएँ। यहाँ कुनै राजनीतिक चेतले गाइडेड भएर होइन, नितान्त स्वतस्फुर्त संवेगका रूपमा विभेदका विरुद्ध प्रतिरोधी चेतना आइरहेका थिए।

त्यही क्रममा एउटा त्यस्तै घटना सुन्नमा आयो र त्यस विभेदलाई मैले आफ्नो रचनामा प्रस्तुत गरेँ। जिल्लाका एकजना बडाहाकिम जो बाहिरबाट आएका थिए, ती यौन उन्मादी स्वभावका रहेछन् र गाउँतिर घुम्न जाँदा उनको व्यभिचारले प्रश्रय पाएको एउटा घटना वरपर फैलियो। यो सुनेपछि म निकै आक्रोसित भएँ र एउटा कविता लेखेर ती व्यक्तिकै उपस्थितिमा सुनाइदिएँ। यस घटनाले त्यहाँ एउटा वेग्लै तरंग ल्यायो। उनले भोजपुरको साहित्य छाडा हुँदै गएको र त्यसलाई लगाम लगाउनु पर्छ भनेर नियन्त्रणका निम्ति साहित्यकारहरुको भेला गराए। म त्यसबेला सानोतिनो जागिर पनि खाँदै थिएँ। धेरैले मेरो जागिरमाथि खतराको आशंका गरेका थिए।

मलाई जागिरबाट निकालेर जिल्लाबाटै निष्काशन गरिनेसम्मका कुरा पनि म समक्ष आए। म तरङ्गित त भएँ तर उनले त्यस्तो केही गर्न सकेनन्, बरु म लगायतका धेरै सचेत मानिसहरूलाई बैठकमा बोलाएर भोजपुरको साहित्यमा देखिन थालेको छाडापन नियन्त्रणका लागि के के गर्न सकिन्छ भनी हामीलाई समेत सुझाव माग्ने काम चाहिँ गरेका थिए। म टार्गेट थिएँ। मैले पनि निडर भएर भनिदिएँ— “साहित्य समाजको ऐना हो भने समाजका विषय र घटनाहरू त लेखनमा प्रतिबिम्बित हुने नै भए।” समूहमा भएकाले तिनी नाजवाफ भए। तैपनि नियन्त्रण र संयमनका लागि भनेर उनले एउटा संस्था खडा पनि गरे तर ती पछि त्यत्तिकै त्यहाँबाट हिँडे। यसरी अध्ययन र जीवन भोगाइको परिवेश र त्यहाँका घटनाक्रमसँगै हाम्रो कविताचेत र शैलीमा पनि परिवर्तन आइरहेको थियो भन्ने कुरा यो घटनामा प्रतिबिम्बित भएको पाउँछु। यसरी म त्यसबेला कुनै पनि वैचारिक धरातल नसमातीकनै स्वतन्त्र चेतनाका शक्तिले निडर भएर समाजका गतिविधि र मनको विशिष्ट पक्षलाई कवितामा प्रस्तुत गर्दोरहेछु।

 डा. हरि श्रेष्ठको साहित्यिक नाम कवि नोरेमका रूपमा स्थापित छ। यो हुँदासम्मको जुन विशिष्ट उपक्रम र कार्यको लय छ, त्यसमा राजनीतिक वा वैचारिक पक्षको भूमिका रह्यो कि रहेन त?

म राल्फासँग गाँसिएरै काठमाडौँ आएको हुँ। भोजपुरमै मञ्जुलसँग भेट भयो। बेला बेलामा विदाका समयमा उनी भोजपुर आउँदा हाम्रो भेट भइरहन्थ्यो। उनले मेरा कविताका बारेमा सुनेका रहेछन्। उनको स्वभाव पनि अलिक विद्रोही कविलाई मन पराउने किसिमको रहेछ र एकपटकको हाम्रो भेटमा उनको र मेरो भावनात्मक निकटता ज्यादा रहन पुग्यो। उनी र मेरा बिचमा राल्फाका विषयमा त्यति स्पष्ट कुरा नभए पनि राल्फाका सदस्यहरू, पारिजात दिदीसँगको निकटताका विषयमा कुरा गरेका थिए। म भोजपुरमै हुँदा पनि मञ्जुलले यहाँका साहित्यिक गतिविधिका विषयमा पत्र आदानप्रदान गरिरहन्थे।

उनी सधैँ मलाई कविता रचनामा प्रेरित गर्थे। यसरी आफ्नो कवितातर्फको आकर्षण र मित्रताका कारणबाटै म कविता लेखन र साहित्यिक गतिविधिमा सहभागी रहिरहेँ। पछि मेरा सहपाठी रमेश र अन्य साथीहरू र मञ्जुलजस्ता प्रेरक मित्रका कारणले मैले पनि मेरो गन्तव्य काठमाडौंलाई नै बनाएँ। राल्फासँगको निकटताको क्रमसँगै मैले मञ्जुलबाट नितान्त नौलो नोरेम निगेसा नाम पाएको हुँ। जातिवोध हुने परम्परावादी नामका सट्टामा नौलो नाम राख्नु राल्फाको आफ्नै विशेषता थियो। पछि त्यही नामबाट मैले लेख्न थालें। राल्फाको आरम्भिक कालखण्ड कुनै वैचारिक धरातलविनाको स्वतस्फूर्त विरोधमा रुमल्लिएको समय थियो भने पछिल्लो कालखण्डमा सैद्घान्तिक र राजनैतिक विचारले विस्तारै आकार ग्रहण गर्दै गएको थियो राल्फामा।

राल्फालाई यहाँले कसरी बुझ्नु भएको हो?

राल्फा कुनै राजनीतिक वा वैचारिक मान्यता लिएर आरम्भ भएको समूह होइन। एउटा विशेष परिस्थितिमा एकै ठाउँ जुट्न आईपुगेका केही सृजनशील व्यक्तिहरुको समूहको अलग पहिचानका निम्ति मञ्जुलले अनायस जुराएको नाम हो ‘राल्फा’ जसको कुनै खास अर्थ थिएन। सबैले यसलाई रुचाएपछि यो नाम प्रचलनमा ल्याइयो। सन्तती भन्न मन पराएर सुरुमा राल्फा सन्तती लेखिन्थ्यो। यस समूहसँग सम्बद्ध सदस्यहरूको परिवर्तनगामी स्वरले नै राल्फालाई अर्थपूर्ण बनाएको हो भन्ने मलाई लाग्छ। तत्कालीन समयको माग थियो राल्फा जस्तो एक सङ्गठित समूहको। पारिजात दिदीको परिकल्पना र प्रेरणामा यस समूहमा निकै सिर्जनशील काम हुने गरेको थियो। म पनि यस समूहसँग आबद्ध भएर रहेँ केही समय।

पछि पोखरामा स्थायी रूपले बसोबास गर्न थालेपछि मेरो पेशागत जीवन र साहित्यिक जीवनबिचको सन्तुलन बनाउनु जरूरी भयो र मलाई जसरी समयले कविता र कविताको उत्तरोत्तर पथमा तान्दै लग्यो, त्यसरी नै राल्फा हुँदै सचेत कविता लेखनको पथमा पनि पुर्‍यायो। राल्फाकालीन समय र त्यस यताका राजनीतिक परिवेशमा मेरा कविताले पनि वैचारिकताको निर्वाह गरे। आफ्नै कवितालाई अहिले आएर फर्किहेर्दा विचारले स्पष्ट भएका ती कविता विषय र भावले उपयुक्त लाग्छन् तर कलात्मक सौन्दर्य चाहिँ कतै न कतै केही कमजोर भएको पाउँछु। राल्फाले सरल र स्वाभाविक रूपमा जनचेतना जागृतिका लागि निकै योगदान दिएको छ, खासगरी प्रतिबन्धको त्यस समयमा साहित्य र सङ्गीतका माध्यमबाट उठाएको आवाज र आम जनतामा परेको त्यसको प्रभावशाली परिणाम नै राल्फाले प्राप्त गरेको सही अर्थ हो भन्ने मेरो बुझाइ छ।

राल्फाको कार्यक्रम यत्तिकै चल्दै गयो कि त्यसको समीक्षा पनि भयो ? राल्फाका कार्यक्रमहरूमा कत्तिको जानुहुन्थ्यो?

म राल्फाको आरम्भिक कालभन्दा केही समयपछिदेखि सँगै थिएँ। विभिन्न कार्यक्रमहरू, मूलतः साङ्गीतिक र साहित्यिक कार्यक्रमहरूमा म सहभागी हुन्थेँ र ती कार्यक्रमका प्रस्तुति र तिनको स्रोता र दर्शकमा परेको प्रभावका विषयमा यदाकदा समीक्षा पनि गर्थें। ती हाम्रै प्रकाशनका विभिन्न अङ्कमा छापिन्थे पनि। यसरी राल्फाले जनचेतना जागृत गर्ने गीतका माध्यमबाट आफ्नो छुट्टै पहिचान बनाइरहेको समय थियो त्यो। सस्ता प्रेमका गीत भन्दा सामाजिक परिवर्तन र रुपान्तरणतर्फ राल्फाली संगीत उन्मुख हुँदै गएको थियो।

विश्वमा फैलिरहेको क्रान्ति अभियान र विभिन्न साङ्गीतिक आन्दोलनहरूको प्रभावमा हामी हाम्रा समाजका समस्याहरूलाई छाम्न थालिसकेका थियौँ। साहित्यमा एलेन्स गिन्सवर्गको बिट जेनेरेशन र सङ्गीतमा रक व्याण्ड, बिटल्स, आदिको प्रभाव पनि राल्फामा पर्दै गएको म अनुभव गर्थें। संगीतमा विरोधी स्वर दिने बब डिलन र जोन लेननको क्रेज पनि उनीहरूमा थियो। पछि भारतको हङ्ग्री जेनेरेशनको प्रभाव पनि यता साहित्यमा पर्न थाल्यो। म तिनको मर्मलाई राम्ररी बुझ्थेँ र प्रस्तुत भएको गीतका शब्द र प्रभावका बारेमा समीक्षा प्रस्तुत गर्थें। हामीले यन्त्रणा र विरुद्ध नामका पत्रिका पनि प्रकाशित गरिरहेका थियौं, जसका माध्यमबाट राल्फाली चिन्तन वाहिर आउन थालेको थियो।

राजनीतिक वा वैचारिक लेखनमा कसरी प्रवेश गर्नुभयो?

शुरुमा राल्फाली समूहमा बसेर गरेका साहित्य सृजना स्वच्छन्द र प्रयोगवादी धारबाट बढी प्रभावित थिए। शून्यवाद र निस्सारतावादी चिन्तनको प्रभाव पनि थियो हाम्रो लेखनमा। कथाकार मनु ब्राजाकीले एकदिन डिल्लीबजारको ओरालोमा मसँगको भेटमा राल्फाली साहित्य चिन्तनमा कटाक्ष गर्दै भने, ‘तपाईहरूको पत्रिका म पढिरहेको छु, विचार शून्यता देखिन्छ त्यहाँ। अँध्यारोमा ढुङ्गा हानेर लक्ष्यभेदन हुन्छ?’ यसरी नै एकपटक ताप्लेजुङमा जागिरको सिलसिलामा जाँदा नन्दकुमार प्रसाईं त्यहाँका शिक्षकसँग भेट भयो। म जहाँ जाँदा पनि पत्रिका निकाल्न अग्रसर हुन्थेँ। त्यहाँ पनि लिथो गरेर मैले पत्रिका निकालेको थिएँ। स्थानीयका रचना जम्मा गरेर छाप्थेँ। यही क्रममा नन्दकुमारजीले मलाई भने, “तपाईंका कविताहरू विद्रोही चेतका त छन्, तर लक्ष्यभेदी छैनन्। स्पष्ट छैनन्।” यसले मलाई नराम्ररी हल्लायो।

यही कम्पनबीच मेरा प्राज्ञिक मित्रहरूसँग सहकार्य बढ्दै गयो। अनि समाज र समयको सटिक विश्लेषण गर्ने सैद्धान्तिक किताबहरू पढ्न थालेँ। यी सबै कुराहरूको कारणले मभित्र सिद्धान्ततिरको भोक जागृत भएर गयो। मञ्जुलहरू गीतियात्रामा अघि बढे र यहाँ भएका हामीले विचारको प्रक्षेपणका निम्ति अध्ययन बढाउनु जरुरी ठान्यौँ। अनि निनु चापागाईंसँग म सैद्धान्तिक बहसमा बारम्बार सहभागी हुन थालेँ। यही बहसले हामीलाई थाह भयो यदी हामी कहीँ फिट हुन्थ्यौं भने त्यो देब्रे धारको राजनीतिक विचारसँग नै हो भन्ने हामीलाई बोध भयो। शान्तदास, शशि शेरचन, टि.आर. विश्वकर्मा, रघु पन्त हुँदै खगेन्द्र सङ्ग्रौलाजस्ता राजनीतिक र साहित्यिक सचेतता भएका व्यक्तिहरूसँगको सम्वादले मलाई देब्रे धारको अध्ययनमा सहयोग मिल्यो।

जीवनवादी र प्रगतिशील साहित्य चिन्तनमा अघि बढ्न मलाई यही सङ्गतले प्रेरित गर्‍यो। तर म त्यहाँ पनि स्वतन्त्र किसिमले साहित्यलाई नै केन्द्रमा राखेर लेख्थेँ। तर जो पार्टीगत रूपमा आबद्ध भएका लेखक थिए, तिनलाई चाहिँ त्यस पार्टीको निर्देशन बमोजिम लेख्नुपर्ने लेखनको सीमा रहेको चर्चा पनि सुन्ने गर्थें तर म स्वयंले चाहिँ त्यस्तो सीमाभित्र कहिल्यै बाँधिनु परेन। तर म जहिले पनि प्रतिरोध र विद्रोही चेत नै मेरो लेखनको जिम्मेवारी हो भन्ने स्वतस्फुर्त अनुभूत गर्थें।

लोकप्रिय

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

२०७६, ३ श्रावण शुक्रबार १९:३९

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

२०७६, ४ श्रावण शनिबार १७:२७

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

२०७६, ३ श्रावण शुक्रबार १९:२०

नेकपा विप्लवको भूमिगत सञ्जाल

नेकपा विप्लवको भूमिगत सञ्जाल

२०७६, ५ श्रावण आईतवार ०७:२१

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

२०७६, ५ श्रावण आईतवार १२:१३

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

२०७६, ३ श्रावण शुक्रबार १६:४२

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

२०७६, ३ श्रावण शुक्रबार १२:०८

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

२०७६, ३ श्रावण शुक्रबार १९:२५

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

२०७६, ३ श्रावण शुक्रबार ०८:४७

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

२०७६, ३ श्रावण शुक्रबार १३:५०

‘नीला गोलार्द्ध ’ लोकार्पण

‘नीला गोलार्द्ध ’ लोकार्पण

२०७६, ४ श्रावण शनिबार १६:१९

२० वर्षीया महिलालाई बलात्कार गर्ने असई पक्राउ

२० वर्षीया महिलालाई बलात्कार गर्ने असई पक्राउ

२०७६, ३ श्रावण शुक्रबार १४:०६

कांग्रेसमा नियमावली विवाद विरोधीलाई तह लगाउन आचारसंहिता’

कांग्रेसमा नियमावली विवाद विरोधीलाई तह लगाउन आचारसंहिता’

२०७६, ५ श्रावण आईतवार ०८:२७

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

२०७६, ५ श्रावण आईतवार ०६:३८