बाग्लुङ – भविलाल घर्ती अब कहिल्यै घर फर्कने छैन, न फर्कनेछ ताराबहादुर विक। अङ्ग्रेजी महीना जुलाईको पहिलो सप्ताहन्तसँगै दुवै भौतिकरूपमा अस्ताए। घर्ती जापानमा, विक कुवेतमा।

विकको शुक्रबार राति र घर्तीको शनिबार राति दुःखद् निधन भयो। एक दिनको अन्तरमा बागलुङले दुई युवालाई विदेशमा गुमायो। यतिबेला गलकोट नगरपालिका–११ रिघा र वडा नं २ दुदिलाभाटीमा रहेका परिवार तथा आफन्तजन शोकमा छन्।

घर्तीको घर रिघागाउँमा पर्छ भने विकको दुदिलाभाटी गौँदीमा। चालीस वर्षीय घर्ती भारतीय सेनाको जागिरबाट निवृत्त भएपछि तीन वर्षअघि जापान पुगेको थियो। शनिबार राति रेष्टुरेन्टको कामबाट फर्कने क्रममा अचानक रेलभित्रै लडेका घर्तीको हृदयाघातका कारण निधन भएको जनाइएको छ।

साइतामा शहरको एक भारतीय रेष्टुरेन्टमा कार्यरत घर्तीलाई अस्पताल पुर्‍याउँदा चिकित्सकले बाटैमा निधन भएको घोषणा गरेका थिए। ‘उनी कामबाट फर्कने क्रममा रेलमा उभिएरै यात्रा गरिरहेको रहेछ’, गलकोट समाज जापानका संरक्षक सल्लाहकार बेलु थापाले रासससँग टेलिफोनमा भने, ‘असजिलो भएपछि उहाँ एक्कासि लडेको भन्ने थाहा भयो।’

अचेत अवस्थामा रहनुभएका घर्तीलाई रेल कम्पनीकै मानिसले तुरुन्त अस्पताल पुर्‍याएका थिए। घर्तीको अन्तिम संस्कार यही जुलाई १२ तारिख जापानमै गरिने भएको छ। अन्तिम संस्कारका लागि आवश्यक प्रबन्ध र खर्चको जोहो गलकोट समाज जापानले गर्ने भएको छ। कानूनी प्रक्रिया पुर्‍याउँदा दाहसंस्कार ढिलो हुने भएको हो।

समाजले मृत्युको घटनामा परिवारको आर्थिक अवस्था हेरेर राहतसमेत उपलब्ध गराउने गरेको छ। मृतक घर्तीकी श्रीमती मनमाया जापानमै छन्। आफू गएको ६ महीनापछि भविलालले श्रीमतीलाई जापान लगेको थियो। उनका १६ वर्षीय छोरा सविन र १४ वर्षीय सन्देश अहिले भैरहवामा बसेर पढ्छन्। घरमा आमा, भाइ र बहिनी बस्छन्।

‘दाइ कहिल्यै बिरामी भएको थाहा थिएन, एक्कासि हृदयाघात भएर मृत्यु भएको खबर आयो’, बहिनी कुमारीले भने। वडाध्यक्ष डम्मर श्रीषका अनुसार घर्ती परिवारको स्थायी बसोवास रिघा र अस्थायी बसोवास भैरहवामा छ।

यता, विकको निधनले दुदिलाभाटी गौँदीमा रहेका परिवार र आफन्तजनमा शोक छाएको छ। एघार वर्षअघि रोजगारीको सिलसिलामा कुवेत पुग्नुभएका विकको पनि हृदयाघातका कारण निधन भएको हो। विक उच्च रक्तचापका कारण एक महीनादेखि कुवेतको स्थानीय अस्पतालमा उपचाररत थिए। रक्तचापका कारण उनको टाउकोमा गम्भीर असर पुर्‍याएको चिकित्सकले बताएका थिए।

विक कुवेतको आम्घारास्थित ‘नुर ग्लास उद्योग’मा कार्यरत थिए। घटनाबारे कुवेतस्थित नेपाली दूतावासलाई जानकारी गराइएको र शव नेपाल ल्याउने प्रक्रिया शुरु भएको जनाइएको छ। कुवेतमै रहनुभएका गलकोट नगरपालिका–७ मल्मका दल थापाका अनुसार विकलाई कम्पनीबाट राहत दिलाउने प्रयास भइरहेको ।

विकका नेपालमा वृद्ध बाबुआमा, श्रीमती र दुई जुम्ल्याहा छोरा छन्। कमाउन विदेश गएको छोराको उतै निधन भएपछि उमरेले ७० नाघेका बुबाआमा सहाराविहीन बनेका छन्। श्रीमती भुमा र दुई छोराको बिचल्ली भएको छ। विपन्नताका कारण विक परिवारलाई जीविका चलाउनै धौधौ छ।

‘श्रीमती सामान्य खेतीकिसानी गर्नुहुन्छ, बुबाआमा वृद्ध भइसकेको छ’, गौँदीका स्थानीयवासी धना खत्रीले भने, ‘कमाउने, घर धान्ने मान्छे नै गुमेपछि परिवारमा झन् ठूलो समस्या आइलाग्ने भयो।” विकका जुम्ल्याहा छोरा गाउँकै विद्यालयमा पढ्छन्।

पछिल्लो समय हृदयाघातका कारण अल्पायुमै निधन हुने क्रम बढ्दै गएको गलकोट समाज जापानका संस्थापकसमेत रहनुभएका थापाको भनाइ छ। ‘आजभन्दा २०/२२ वर्षअघि जापानमा कामबाट फर्केपछि कोठामा आएर सुतेको मानिस भोलिपल्ट मृतावस्थामा भेटिने घटना बढी हुन्थे’, उनले भने, ‘तर, अहिले हृदयाघातका कारण अकस्मात हुने मृत्युका घटना बढी हुन थालेका छन्।’

उनका अनुसार पछिल्लो समय जापानमा नेपालीहरुको आत्महत्या दर पनि बढ्दो छ। अस्वस्थकर खानपान, कामको चाप, आरामको कमी, तनाव आदि कारणले हृदयाघातलगायतका स्वास्थ्य समस्या निम्तिएको हुनसक्ने थापाको बुझाइ छ। जापानी कम्पनीमा ६/६ महीनामा श्रमिकको स्वास्थ्य परीक्षण हुने गरे पनि होटल, रेष्टुरेन्ट क्षेत्रमा त्यो सुविधा नभएको बताइन्छ।

आफूलाई के स्वास्थ्य समस्या छ भन्ने थाहै नपाई मानिस आकस्मिक मृत्युको शिकार बनिरहेको छ। विदेशमा कार्यरत नेपाली श्रमिकले नियमित स्वास्थ्य परीक्षणसँगै कामको प्रकृतिअनुसार आवश्यक सजगता अपनाउनुपर्ने देखिन्छ। जापानलगायतका देशमा रहेका नेपालीमा ऋणको बोझ र तनावले पनि स्वास्थ्यमा असर पुर्‍याइरहेको बताइन्छ। वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको आँकडाअनुसार आव २०६७/६८ देखि गत आवसम्ममा ५ हजार ८ सय ३२ नेपालीको वैदेशिक रोजगारीका क्रममा मृत्यु भएको थियो।

सन् २०१५ मा एक हजार नेपाली श्रमिकको विदेशमा मृत्यु भएकामा बागलुङका मात्र २२ युवा थिए। अधिकांश नेपालीको मृत्यु हृदयाघात र विभिन्न स्वास्थ्य समस्याका कारण हुने गरेको पाइएको छ। कार्यक्षेत्र र सडक दुर्घटनाका कारण मृत्यु हुनेको सङ्ख्या भने कम देखिन्छ।

सरकारी आँकडाअनुसार मलेशियामा सबैभन्दा धेरै नेपाली श्रमिकको मृत्यु हुने गरेको छ। पछिल्लो समय बोर्डले श्रम स्वीकृतिपूर्व दिइने तालीममा स्वास्थ्यसम्बन्धी विषय पाठ्यक्रममा समावेश गर्न थालेको छ। विसं २०५० यता ५० लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा छन्। (रासस)

लोकप्रिय

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

२०७६, ३ श्रावण शुक्रबार १९:३९

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

२०७६, ४ श्रावण शनिबार १७:२७

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

२०७६, ३ श्रावण शुक्रबार १९:२०

नेकपा विप्लवको भूमिगत सञ्जाल

नेकपा विप्लवको भूमिगत सञ्जाल

२०७६, ५ श्रावण आईतवार ०७:२१

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

२०७६, ५ श्रावण आईतवार १२:१३

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

२०७६, ३ श्रावण शुक्रबार १६:४२

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

२०७६, ३ श्रावण शुक्रबार १२:०८

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

२०७६, ३ श्रावण शुक्रबार १९:२५

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

२०७६, ३ श्रावण शुक्रबार ०८:४७

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

२०७६, ३ श्रावण शुक्रबार १३:५०

‘नीला गोलार्द्ध ’ लोकार्पण

‘नीला गोलार्द्ध ’ लोकार्पण

२०७६, ४ श्रावण शनिबार १६:१९

२० वर्षीया महिलालाई बलात्कार गर्ने असई पक्राउ

२० वर्षीया महिलालाई बलात्कार गर्ने असई पक्राउ

२०७६, ३ श्रावण शुक्रबार १४:०६

कांग्रेसमा नियमावली विवाद विरोधीलाई तह लगाउन आचारसंहिता’

कांग्रेसमा नियमावली विवाद विरोधीलाई तह लगाउन आचारसंहिता’

२०७६, ५ श्रावण आईतवार ०८:२७

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

२०७६, ५ श्रावण आईतवार ०६:३८