– डा.गीता त्रिपाठी

जोनाथन वेटको कविता धर्तीको गीत (द सङ अफ द अर्थ)को अन्त्यमा उनले भनेका छन्, ‘कविता नै त्यो ठाउँ हो, जहाँ हामी पृथ्वीलाई सुरक्षित राख्छौँ (पोएट्री इज द प्लेस, होयर वी सेभ द अर्थ।)’ कविता र पर्यावरणको यही सम्बन्धमा हरियाली दिल्लीको काव्यिक शृङ्खला सन् २०१०मा सार्क राष्ट्रका करिब तीन सय कवि÷लेखकको उपस्थिति थियो। इन्डियन इन्टरनेसनल सेन्टरका भित्ताहरू प्रकृति र जीवनका समकालीन यथार्थहरू प्रतिध्वनित गर्न उद्यत थिए।

पहिलो दिन, बिहानको परिचयात्मक कार्यक्रमपछि टी ब्रेकमा बाहिरको प्राङ्गण भरिँदै थियो। केहीबेर अघि मञ्चबाट माटोको आवाज बोलिरहेका थिए गुलजार, ‘एउटा जीवनमा एकैपटक मात्र जन्मनु सम्भव हुँदोरहेछ। म जन्मले पाकिस्तानी भएँ र भारतमा बसेर कर्म गरिरहेछु। मलाई दुवैतिरको माटोको माया छ। कर्म गर्नलाई कुनै सीमाले छेक्नुहुँदैन भन्ने ठान्छु।’ विश्व चेतनाको यो अभिव्यक्तिमा सम्भवतः सारा हल स्तब्ध भएथ्यो। यसै पनि गुलजारको व्यक्तित्व सौम्य छ, त्यसमाथि सूत्रजस्तो उनका अभिव्यक्तिमा बेग्लै जादू पनि थियो।

बाहिर म तिनै व्यक्तित्वहरू खोजिरहेथेँ। परिचय विस्तारको अनौपचारिक अवसर पनि थियो यो। विशेष व्यक्तित्वहरू— अनिता राकेश, इन्दिरा गोस्वामी…, कुँवर नारायण, गुलजार वा सुरजित पातर…। यी मैले पढेका ताजा हरफहरू थिए र म तिनैसँग भेट्ने उत्सुकताले नै त्यति सचेततापूर्वक त्यस साहित्यिक मेलामा सहभागी हुन रुचाइरहेकी थिएँ। निर्मल बर्मा, कमलेश्वर, अमृता प्रितम वा मोहन राकेश, जसलाई अब केवल कृतिमा मात्र भेट्न सम्भव थियो।

अपराह्नको धूपले छायाँ खोज्नु भनिरहेथ्यो। मार्च महिनाको २६ तारिख। यसै पनि दिल्लीको बतासमा सहजसँग श्वास फेर्नु संयोगमात्र हुनसक्थ्यो। त्यहीँ ठाउँ–ठाउँमा केही कुर्सीहरू राखिएका थिए। एउटा कुर्सीमा कवि मनु मन्जिल थिए। चारैतिर नियाल्न चाहने उनका वाचाल दृष्टिहरू एउटै चियाको कपमाथि केन्द्रित हुनपुगेको थियो। पर्याप्त अस्वस्थताले गलेको उनको शरीर र मानसिक अवस्था। उनी त्यसै क्षण घर फर्कन चाहन्थे।

हामी सबै चिन्तित थियौँ र पनि चिन्तासँगै चिन्तनमा सहभागिता जनाइरहेथ्यौँ। अकस्मात् झैँ अभि सुवेदी सरको आगमन भयो, एउटा अग्लो व्यक्तित्व हाम्रैतिरको हाँगाको मूल काण्ड। मदनलाई भोटेको साथ मिलेजस्तो भएछ सायद… अब मनु मन्जिलको आँखामा पनि दुखाइ हराएजस्तो देखियो। त्यहाँ अलि धेरै चाहिँ कविता र माटोकै शक्ति थियो।

केही दूरीमा एक सभ्य वृद्ध प्रभावशाली गुलजारसँग अभिवादन साँटिरहेथे। कता कता चिने–चिनेजस्तो गरी मैले तिनलाई हेरेँ। ‘वाह ! कुँवर नारायणजी !’ छेवैमा उभिएका सिक्किमका कवि राजेन्द्र भण्डारीसँग पनि भर्खरै भेटवार्ता चल्दै थियो हाम्रो। मेरो ओठबाट फुत्तै निस्किएको आवाज हुँदै उनले पनि त्यो दूरी पछ्याए। हाम्रा पाइला भीडबाट छेउ लागिसकेका थिए। हामीले अभिवादन साँट्यौँ। तपस्वीजस्ता दुई आदरणीय स्रष्टाहरू आफ्नो भूमि भएकाले सायद अतिथि हामीलाई स्वागत गरिरहेका थिए। हाम्रो अनुरोधले उनीहरूलाई पुनः आसन ग्रहण गरायो। नेपालबाट गएका कविहरूमा त्यस क्षण भूपिनजी र म मात्र त्यहाँ उपस्थित थियौँ।

नेपालको नाम लिनेबित्तिकै गुलजारले केही सम्झेजस्तो मुखाकृति बनाए। हाम्रो लेखनको विधाका बारेमा जान्न चाहे। कुँवरजी कता कता कवि ईश्वरबल्लभको याद दिलाइरहेथे। उनको धीर व्यक्तित्वको समानता त्यहीँ ठोक्किन्थ्यो मभित्र घरीघरी। यो भेट नै एउटा दर्शनजस्तो लाग्थ्यो।

कवि भूपिनले हातमा आफ्नो पछिल्लो कविता सङ्ग्रह बोकेका रहेछन्। त्यस ऐतिहासिक क्षणमा उनी गुलजारको हस्ताक्षरसहित त्यस कविता सङ्ग्रहलाई आफ्नो पुस्तकालयमा सुरक्षित राख्न चाहन्थे सायद। उनको आग्रह थियो, गुलजारसँग। गुलजारले कुँवरजीतिर सङ्केत गर्दै भूपिनलाई भने, ‘पहेले उन से कराइए !’ सायद भूपिनजीले कुँवरजीको उचाइ ठम्याउन पाएका थिएनन्। अङ्ग्रेजी कविताको क्रेज थियो उनमा। उनका कविताले यो देखाएका छन्। फेरि पनि उनले गुलजारलाई नै अनुरोध गरे। गुलजार अकस्मात् चिढिएजस्ता देखिए। भूपिनजीले ढिलै भए पनि परिस्थिति समाले।

कुँवरजीको काव्यिक चेहरा विद्रोहमा पनि नैतिकताको सन्देश बोक्थ्यो भन्ने कुरा उनका कवितामा प्रकट भएका भावले बोल्छन्। उनको क्रान्ति चेतनामा भत्काउने भन्दा बनाउने सामर्थ्य उनका एक अजीब–सी मुश्किल जस्ता कवितामा पढेर त्यसलाई एक अनौठो कठिनाइ शीर्षकमा अनुवाद गरेकी थिएँ मैले। उनले प्रेमपूर्ण भएर कविता सङ्ग्रहमा हस्ताक्षर दिए। अनि मात्र गुलजारले त्यस सङ्ग्रहमा आफ्नो सिग्नेचर घुमाए। कलाका क्षेत्रमा अग्रजप्रतिको यो सम्मान भारत माताको शक्ति हो त्यता।

नेपाल माताको कोखमा यो शक्ति कवि जोनाथनले भनेझैँ सायद अब कवितामा मात्र सुरक्षित रहला या कवितामा पनि नरहला कि ! भाषा र भाकाप्रति मजाक गर्नेहरूले निराश हुनुपर्ने प्रशस्त ठाउँ बनाइदिएका छन् हिजोआज। आजको नेपाली कवितामा राजनीतिक सङ्कटको पर्यावरणीय विद्रुपता ज्यादा प्रकाशित छ। कवि भूपिनले त्यो आफ्नै कविता सङ्ग्रहलाई नयाँ र झनै मूल्यवान् अनुभव गरेको त्यो क्षण सधैँ दोहोरिरहने र मेट्दै लेख्ने इतिहास होइन। यहाँ संस्कृति र पर्यावरण दुवैको अभेद्य सम्बन्ध छ।

आज हामी पुरानाप्रति शङ्का मात्र गर्ने भएका छौँ र हाम्रो नवीनताको परिभाषाले संहारप्रियता अपनाएको छ। चाहे निर्माणको कुरा होस् वा निर्माताको, हामी पाइला मेटेर उभिन चाहन्छौँ र बाटो नै भत्काइरहन्छौँ। अब हामीले भत्काउँदै गरेका चोक र चौरस्तामा नयाँ बन्ने स्मारकको अट्टहास आफैले सुन्न नसकेर कान थुन्ने दिन आउन कति बाँकी होला? हामीभित्र विकसित हुँदै गएको अविकसित विचारहरूले हामीलाई आफ्नै कविताको यात्रामा अनिँदो उभ्याइदिने भय छ। कुँवरजीको कवितामा पनि गुलजारको माटोको अन्त्यहीन सीमा र मानवताको उचाइ बारबार उपस्थित भएको पाइन्छ।

भारतको त्यस काव्यिक उत्सवमा पर्यावरण र कविताको विशेष सम्बन्ध थियो। क्यान्सरग्रस्त शरीरका अवयवहरूलाई त्यही प्राङ्गणमा बिसाएका थिए महान् कवि जयन्त महापात्रले। उनी बसेको कुर्सी तल भुइँमा भावविह्वल भएर रुँदै बसेकी महिलातिर मेरो ध्यान केन्द्रित थियो। छेवैबाट गुज्रिरहेका एक भारतीय कवि मेरो साडीको प्रशंसा गर्दै रहेछन्, बोले- ‘आपकी साडी बहुत अच्छा है।’ मलाई यो प्रतिक्रिया पनि नराम्रो लागेन किन कि दुनियाँले हेर्ने फरक फरक दृश्य र फरक फरक दृष्टि एउटै पर्यावरणमा त समाहित भएको हुन्छ ! तर प्रतिक्रिया स्वरूप म फिस्स हाँसेँ मात्रै।

त्यो पहिलो दिन थियो कार्यक्रमको। त्यसैले कवि जयन्त महापात्रसँग परिचय थिएन र पनि म ती महिलाको रुवाइ र सेवाभावलाई नियालिरहेँ। उनी जयन्तका किमोले डढेका केशविहीन टाउकोतिर सुम्सुम्याउँथिन्। घरी खुट्टा मिच्थिन्। उनको हात गालामा राखेर खेलाउँथिन्। मेरो एकाग्रतामा कताबाट कवि राजेन्द्र भण्डारी आइपुगे र भने, ‘बहिनी ! चिन्नुहुन्छ? उहाँ मेरो असाध्यै मनपर्ने कवि, विश्वकवि जयन्त महापात्र !’ राजेन्द्र दाजुले भनेपछि मैले महापात्रको उचाइको अनुमान गरेँ।

ससानो अल्प मुस्कानको घेरो बनाएर ती सज्जन सेविकाले हामीलाई हेरिन्। तिनी थिइन् युरोप र सम्पूर्ण भारतभरि कहलाइएकी चित्रकार अर्पणा कौर, कार्यक्रम उनैको आर्थिक व्यवस्थापनमा चलिरहेको कुरा पछि थाहा पाएँ। जयन्त महापात्र हामीतिर हेरेर मुस्काए। उनको हातमा केही थिएन त्यसबेला। सुन्निएका गालाले पुरिएका आँखामा कुन्नि कुन शक्ति थियो, उनी सामान्य देखिन खोज्थे। उनले सर्वसम्पन्न भावले मेरो नाम सोधे। मैले डायरी उनीतिर बढाएँ। उनले कलम मागे र डायरीमा लेखे—

डायरी लिएपछि हामी सन्तुष्टिको एक गहिरो खुसीलाई भित्रै दबाएर हलुका हाँस्यौँ मात्र। भोलिपल्ट जब मैले कविता वाचन गरेँ ‘लीसा’ शीर्षकमा, स्टेजबाट फर्कंदा उनले मलाई उठेर धाप दिए। तेस्रो दिन उनी फर्किसकेका रहेछन्। दोस्रो दिनको आखिरी भेटमा उनले राजेन्द्र दाजुलाई एउटा कविताको किताब उपहार दिएका थिए। कवि भण्डारीले त्यसलाई मेरो जीवनको सबैभन्दा बहुमूल्य उपहार भनेर छातीमा टाँसे। म कलाकार अर्पणा र कवि राजेन्द्र भण्डारीको प्रस्तुतिमा जयन्त महापात्रको निकै अग्लो कद अनुभव गरिरहेँ। राजेन्द्र भण्डारीले हतारमै एउटा तस्बिर खिचिदिए र यो धर्तीमा जयन्त महापात्रसँगको भेटको एउटा प्रमाण मसँग सुरक्षित रह्यो।

दिउँसो दोस्रो सेसन चल्यो। हामी सबै फेरि आआफ्नो सिटमा बस्न अनुरोध गरियौँ। नामको वर्णानुक्रममा थियो सिट। मेरो सिटसँगै गुलजारको सिट थियो। करिब १५ मिनेट हामी सँगै बस्दा उनी धेरै कम बोले। उनको हातमा निबन्धकार प्रकाश सायमीको ‘बर्सादी दिनहरू’ पुस्तक थियो। त्यो खासमा मैले कवि राजेन्द्र भण्डारीका लागि लगिदिएकी थिएँ। गुलजारले नेपाली साहित्यका बारेमा चासो राखेर केही कुराकानी गरेकाले त्यो किताब मैले कवि राजेन्द्र भण्डारीको सहमतिमा गुलजारलाई समर्पित गरेँ। त्यसको कारण पनि थियो। त्यस किताबमा एउटा निबन्ध गुलजारका बारेमा थियो— ‘गुलजार: फुर्सदका दिनरात’ शीर्षकमा।

गर्मीले च्याप च्याप सुक्थ्यो मुख। पानी पिउने व्यवस्था हलभित्र थिएन। यही बहानाले बाहिर निस्केका बेला कुँवर नारायणजीलाई पत्नी भारतीका साथ शीतलमा बसिरहेको देखेँ। यसबेला निधारमा ठूलो रातो टीका लगाएकी भारती तिनै थिइन्, जसले कुँवर नारायणको ‘आत्मजयी’ कविता सङ्ग्रह पढिसकेपछि उनलाई भेट्ने निर्णय गरेकी थिइन्। तिनी झन्डै राष्ट्रकवि माधव घिमिरेकी धर्मपत्नी महाकाली घिमिरेजस्ती देखिन्थिन्। म त्यतै तानिएँ केहीबेर। भारती नारायण निकै पुज्या लाग्यो। तिनले नेपालको हावापानीका बारेमा सोधिन्। कुँवरजी लठ्ठी टेक्थे। भारतीजी उनलाई लठ्ठी सही तरिकाले टेक्न सहयोग गरिरहेकी हुन्थिन्।

अहिले उनी ८७ वर्षमा छन्। तर, उनको काव्यिक चेतना र सिर्जनात्मक शैली युवा वयकै लाग्छ। यससम्बन्धमा विनोद भारद्वाजले भनेका पनि छन्, ‘किसी नई अच्छी किताब को खरीदने की बात हो या फिल्म देखने का प्रस्ताव हो, तो कुँवर नारायण मो एक ‘दुर्लभ किशोर उत्साह’ को देखा जा सकता है।’ चिन्तनशील तिनी साहित्यको विधागत चिन्तनमा पनि माथि छन् र साहित्यसँग समाज, संस्कृति र राजनीतिको सम्बन्धका बारेमा पनि निकै सचेत छन्। त्यसैले उनको लेखनमा नैतिक जिम्मेवारी मूलधारमै प्रकट भएको हुन्छ।

भारती नारायणले नै उनको घरको टेलिफोन र मोबाइलको नम्बर लेखिदिइन् मेरो डायरीमा। कुँवरजीले आफ्ना केही किताबका नाम लेखिदिए। त्यसमध्ये केही किताब कविता र गद्यको एउटै सङ्कलन भएर पनि आइसकेको थियो। मैले ‘संसार’ शीर्षकको यो पुस्तक उनलाई भेट्नुपूर्व नै यता पढिसेककी थिएँ। उनले विशेष नाम लिएको पुस्तक उनको अन्तर्वार्ताको सङ्ग्रह आउँदै रहेछ राज कमलको प्रकाशनमा। उनले मेरो ठेगाना मागेका थिए। ‘तट पर हूँ पर तटस्थ नहीँ’ शीर्षकको त्यो उनको भेटवार्ताहरूको सङ्कलन थियो। मैले उनको नम्बरमा फोन गरेर जानकारी लिने र नेपालमा मगाउने इच्छा व्यक्त गरेँ। उनी पुलकित भए।

सन् २०११ को नोभेम्बर २ मा मैले कुँवरजीलाई फोन गरँे र उनको किताब उनीसँग भेटेको दुई वर्षपछि भर्खरै हात परेको कुरा सुनाएँ। उनले आफ्ना विचार र चिन्तनहरू आजका तिम्रा पुस्ताले कसरी लियौ भनेर सोधे। मैले उनको ऐतिहासिक चेतनाप्रति इमानदार हुँदै मेरो देशका गोपालप्रसाद रिमाल, भूपि शेरचन र ईश्वरबल्लभ उनका कविता चिन्तनका हाराहारीमा अनुभव गरेको बताएँ। सांस्कृतिक अभिप्राय हामी दुवैतिर उसरी नै प्रकट भएको पनि बताएँ। परिवेशगत आधारमा उनका कविताको विश्वदृष्टि फराकिलो रहेको पनि प्रतिक्रिया दिएँ।

उनी माटोको सीमाभन्दा माथि उठेका विचारक। उनी शान्त र सौम्य स्वभावका कवि चिन्तक। खुसी भए र बाँकी किताब पठाइदिने, त्यसका लागि ठेगाना म्यासेज गरिदिन भने तर मैले ती वृद्ध तपस्वीलाई ती सारा झन्झट दिनु ठीक ठानिनँ। कसो कसो उनका धेरैजसो किताबहरू मैले पढ्न पाइरहेकी छु।

पछिल्लोपटक गरिमा मासिकका लागि अन्तर्वार्ता लिन गएका बेला हिन्दी साहित्यबाटै आफ्नो अध्ययन अघि बढाएका आख्यानपुरुष ध्रुवचन्द्र गौतमसँग कुँवरजीको चर्चा भयो। कुँवरजीका कविताहरू आफूले २०१७÷१८ सालदेखि नै चौथो सतकमा पढ्दै आएको कुरा उनले बताए। वैचारिक प्रयोगमा चरित्र निर्माणका दृष्टिले सफल लेखक गौतमलाई भेटस्वरूप मैले एउटा पुस्तक दिएँ— कुँवरजीको भेटवार्ताको उही उल्लिखित सङ्कलन। पुस्तक च्यापेर बढो उत्साहपूर्वक आफ्नो पुस्तकालयमा पसेका गौतम सरले मलाई कुँवरजीकै लोकप्रिय पुस्तक ‘आज और आज से पहले’ मन लागिञ्जेल राख्न र पढ्न भनेर दिए। अनि उनका अन्तर्वार्ताहरूको सँगालो ‘संवादमा ध्रुवचन्द्र गौतम’ उपहार दिए। संयोग मिलेकै हो, एउटा भेटवार्ता उपहार दिएँ र बदलामा अर्को भेटवार्ता पाएँ पनि।

आज पनि म ‘आज और आज से पहेले’ पढिरहेकी हुन्छु। कवि धुस्वाँ सायमीले दीपावलीको शुभकामनासहित २०५५ सालमा ध्रुवचन्द्र गौतमलाई उपहार दिएको यो पुस्तक म एकदिन फर्काउने तरखरमा छु तर पढ्न थालेपछि यो पुस्तक आफैसँग राख्न पाए हुन्थ्यो भन्ने पनि लागिरहन्छ। परम्पराको पुनव्र्याख्या र मिथकको नयाँ विश्लेषणका साथ विभिन्न कृतिप्रति नयाँ दृष्टि दिएर लेखिएका नैबन्धिक समालोचना भएकाले पनि यो कृति पुस्तकालयमा राख्नुको विशेष आकर्षण छ।

वास्तवमा सिर्जनामा लाग्नेहरू यस्तै समालोचना मन पराउँछन्। एउटा कविको समालोचनामा सिद्धान्तलाई गौण र अनुभूतिलाई मुख्य आधार बनाइन्छ। यसो हुँदाहुँदै पनि कुँवरजीको समालोचकीय धर्ममा व्यक्ति प्रभाव नभएर कृतिको सामयिकीलाई उजागर गरिएको हुन्छ। यी सबै क्षमता एउटै लेखकमा हुनु सचेत लेखनीको अभ्यासले मात्र सम्भव हुनसक्छ। एउटा राम्रो चिन्तक नै एउटा राम्रो लेखक हुने खुबी राख्छ। अध्ययनशील स्वभाव र कालिक चेतनाले कुँवर नारायणको वैचारिक धरातलमा हिजो र आजको पुस्ताबीचको अन्तराल बढाउनुभन्दा त्यो अन्तराललाई मेट्ने वा जोड्ने सामथ्र्य भेटिनु प्रत्येक सर्जकका लागि मार्गदर्शन पनि हो।

‘तट पर हुँ पर तटस्थ नहीँ’ कुँवरजीको कविताको अंश हो यद्यपि उनको यही शीर्षकमा भेटवार्ताहरूको सङ्कलन प्रकाशित भएको छ। उनको यो मध्यमार्गी चेतना उदार मानवीय भावनाको एउटा उद्घोष पनि हो। पछिल्लोपटक मेरो एकल कविता वाचन २०७० का लागि पोखरा जाँदा मैले कवि सरुभक्तका लागि उपहार दिन लायकको पुस्तक यही भेटेँ। आज हामी विचार र व्यवहारले खस्केका प्रशस्त लेखकको भारले थिचिएको नेपाली साहित्यलाई बोक्न विवश छौँ।

नवीनताको होडमा हामीले हाम्रै अनुहार चिथोरिरहेका केही दृश्यहरू बीभत्स छन्। केही प्लास्टिक सर्जरी साहित्य लिएर भित्रभित्रै सांस्कृतिक प्रदूषणमा जुटिरहेका पनि भेटिन्छौँ। कहिले कविता राजनीतिजस्तो बनिरहेको हुन्छ, कहिले राजनीति कविताजस्तो बन्न नसकेर चेप्टिएको हुन्छ। यी दुवैथरीले संस्कृति बिगाारिरहेका छन्। सच्चा कविले कसैको पार्टीको सदस्यता सोध्दैन तर कवि पनि कुनै सिद्धान्तमा आस्था राख्न पाउँछ। कुरा यत्ति हो ऊ कवि भएर बाँच्नुपर्छ, पार्टीको मुखपात्र हुनु वा प्रतिशोधमा जल्नु र जलाउनु कविको धर्म पक्कै होइन।

कुँवरजीले कवितामा लामो साधनापछि भारतको प्रसिद्ध ज्ञानपीठ पुरस्कार पाए। उनले यसलाई पहिलो खुसी मानेनन्, अतिरिक्त प्रसन्नता भन्न रुचाए। उनले पुरस्कारलाई प्रतिपल एक सामाजिक ऋणजस्तो माने, जसलाई चुक्ता गर्न आफूले निरन्तर सक्रिय लेखनमा रहनुपर्ने उनको प्रतिक्रिया रह्यो। उनले भने, ‘साहित्यको अर्थ मेरालागि बुद्धिविलास होइन, यो जीवनको एक ठूलो आश्चर्यपूर्ण यथार्थ हो। यही मान्यताले मभित्र साहस र आत्मविश्वास उमारेको छ।’ उनी साहित्यको विश्वदृष्टि पूरै यथार्थमा अडेको विचार राख्छन्।

यही यथार्थमा समाज र व्यक्ति विभाज्य नभएर संयुक्त संज्ञा वा एकअर्काका पूरक हुन् भन्ने उनको सम्यक् दृष्टि छ। र, यही चेतनाले साहित्यलाई मानिससँगको सीधा संवादको चेष्टा मानेका छन्। उनका कवितामा यसरी सम्भव भएको छ यो संवाद:

म अहिले कुँवर नारायणका प्रतिनिधि कविताहरूमा यिनै उच्च मानवीय संवेदनाहरू पढिरहेछु। उनी समकालीन कविताको प्रमुख सरोकार मानिस मानिसका बीच सम्बन्धको व्यापक संसार निर्माण गर्ने कोसिस हुनुपर्ने विचार अघि सार्छन्। सामाजिक न्याय, नैतिक बल, पाठकसम्म पुग्ने विषयको चिन्ता वा दायित्वबोध र अझै माथि उठेर मानवीयतालाई जोगाएर राख्ने चिन्ता उनले आफ्ना कविता लेखनको ध्येय बनाएका छन्। उनका कवितामा उनका हृदयका यिनै भावहरूलाई रूपान्तरण गर्ने कोसिस गरिरहेको अनुभव हुन्छ। यहीँ भेटिन्छ माटोको अन्तिम आवाज र प्रेमको अन्तिम आकर्षण…।

लोकप्रिय

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

२०७६, ३१ श्रावण शुक्रबार ०७:३३

विविध घटनामा चारको मृत्यु

विविध घटनामा चारको मृत्यु

२०७६, ३१ श्रावण शुक्रबार १७:५५

श्री एयरलाइन्सलाई अन्तर्राष्ट्रिय उडान अनुमति

श्री एयरलाइन्सलाई अन्तर्राष्ट्रिय उडान अनुमति

२०७६, ३० श्रावण बिहीबार १७:३८

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

२०७६, ३२ श्रावण शनिबार ०८:३७

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

२०७६, ३२ श्रावण शनिबार १०:२८

उमेर १०३, कमाइ तीन हजार

उमेर १०३, कमाइ तीन हजार

२०७६, ३२ श्रावण शनिबार ०७:२९

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

२०७६, ३२ श्रावण शनिबार १५:१८

वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन

वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन

२०७६, ३० श्रावण बिहीबार ०८:५४

कलेजो स्वस्थ राख्नुका फाइदा

कलेजो स्वस्थ राख्नुका फाइदा

२०७६, ३० श्रावण बिहीबार ०८:३४

समतल रात

समतल रात

२०७६, ३१ श्रावण शुक्रबार १७:२२

नेपाल-भारत एजेन्डा पुरानै

नेपाल-भारत एजेन्डा पुरानै

२०७६, ३१ श्रावण शुक्रबार ०८:१६

पत्रकार रवि लामिछाने र युवराज कँडेल पक्राउ

पत्रकार रवि लामिछाने र युवराज कँडेल पक्राउ

२०७६, ३० श्रावण बिहीबार २०:०७

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

२०७६, ३१ श्रावण शुक्रबार ११:०५

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

२०७६, ३१ श्रावण शुक्रबार १३:५७

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

२०७६, ३२ श्रावण शनिबार ११:३३