– डा. गीता त्रिपाठी

भानु अर्थात् सूर्य ! नेपाली जातीय धुकधुकीमा बसेका उज्याला नक्षत्र। भानुभक्त समय हुन्। समयको गति हुन्। उनले आफू बाँचेको समयलाई ‘आदि’ आयु दिएका छन्। त्यही आदि आयु अनादि बन्दै गएको छ, नेपाली जीवनशैली र संस्कृतिको अभिन्न अङ्ग बनेर। एउटा विशिष्ट कालखण्ड भानुभक्तका कारणले बाँचेको छ।

समयले मानिसलाई बचाउँछ भन्नु सामान्य मानिसका लागि होला तर भानुभक्तजस्ता महान् व्यक्तित्वले त समयलाई पो बचाएका हुन्छन्। आफू बाँचेको समयलाई आफ्नै सिर्जनाको सुईमा अड्काइदिएका छन् भानुभक्तले र हामी आज ती सुईहरू हुँदै बारम्बार इतिहासको परिक्रमा गरिरहेछौँ। निबन्धकार भैरव अर्यालको तर्कझैँ इतिहास टाउकै टाउकाको माला हो तर कतिकति टाउकाका बीचबाट उठेको एउटा मूल टाउकामा युगले फन्को मारिरहेको हुन्छ।

आज दुई सय वर्षपछि पनि हाम्रो युगले भानुभक्तको समयलाई फन्को मारिरहेछ। भानुको लयले जीवन गाँसेर राखेको छ र त्यही लय जब जब नेपाली प्रकृतिझैँ सविस्तार फुक्छ, भानुमय चेतना नेपालीको आत्मसूत्र भएर फैलन्छ। आज विश्वव्यापी भएर फैलिएको नेपाली भाषामा भानुको उपस्थिति इतिहासको पुनरागमन नै हो। इतिहासको परिक्रमा हो।

आज भानुभक्तमा नेपाल छ तर भानुभक्त नेपालमा मात्र सीमित छैनन्। सायद कविवर माधव घिमिरेले भनेझैँ एउटै मात्र चोखो मायाको गीतले थोरैमा पनि तृप्ति दिन्छ। वरपीपलको छायाजस्तो सबैलाई हुने गीत विश्वमैत्रीको गीतलाई जित्ने हुन्छ। भानुभक्तको रामायण यस्तै गीतिचेतनाको विश्वव्यापी र कालातीत अनुभूतिले बनेको छ। यो सौन्दर्य अनादि बन्दै छ। अहिले नेपाली हृदय र नेपाली जातीय चेतना बिउँझिरहेको समय छ। यो सौन्दर्य आदिमा सीमित हुन सक्दैन अब।

समय केवल घडीले मात्र नाप्दैन। भानुभक्त घडी र समय दुवै बोकेर उभिएका छन् अर्थात् राम र गीतामा भानुको मौलिक अर्थ छ। ‘वधूशिक्षा’मा समय घण्टाघरभन्दा माथि उभिएको देख्छु। यही ‘वधूशिक्षा’को वरिपरि चिनिएको सामाजिक चौतारीबाट म अलिकति उज्यालो बोकेर यता सहर पसेँ २०४५ सालतिर। मेरो पहिलो अलकापुरी यात्रामा रानीपोखरी नै पहिलो झलक बनेको थियो। मेरा चपलाहरू भने अबला थिएनन्। यही फरक थियो भानुभक्तले बाँचेको समय र मैले बाँचेको समयमा।

म भानुभक्तले भ्रमण गरेको कान्तिपुरमा उनीभन्दा झन्डै १५० वर्षपछि टेक्न आइपुगँे होला। पुरानो बसपार्कतिरबाट जमलस्थित ट्याम्पो पार्क खोज्दै गर्दा मेरो जम्काभेट बागबजारको मुखैबाट निस्किएर रत्नपार्क हुँदै समूहसमूहमा मिलेर रानीपोखरीको पूर्वी किनारतिर लम्किरहेका सुन्दरीहरूसँग हुन पुगेथ्यो। पद्मकन्या क्याम्पसको गेरु रङको साडीमा नेपाली सभ्यताको चहक थियो, लवाइको कुशल कालिगडीले मेरो आँखालाई खूब तानेको थियो र मैले पहिलो पटक कान्तिपुरमा शिक्षाको ज्योति बोकेर हिँडिरहेका चपलाहरूबाटै मेरो गन्तव्य फेला पार्न सहयोग लिएकी थिएँ। त्यसपछिको अन्तरयात्रामा मैले रानीपोखरीलाई यही घण्टाघरको छेउबाट धेरै पटक स्वयंवर गरिसकेकी छु, घुमिसकेकी छु, पुस्तकहरूको घडाबाट भावको अभिषेक छर्केकी छु।

पश्चिमपट्टिको भानुको स्मारक अर्धकदमा वर्षौंदेखि देखिरहेकी छु। मभित्रको भानु सधैँ पूर्णकदको छ, सधैँ स्वच्छ छ। वर्तमानको तुवाँलोले मभित्रको भानुलाई छोप्न सक्दैन। भाव र लय नै मेरा लागि भानु हो। त्यसैले भानु इतिहासको विशिष्ट समय हो। त्यो भानु जब किरण भएर सर्वाधिक तीव्र गतिमा ओर्लन्छ, तब धर्ती सबैतिर एकताको सुगन्धले मग्मगाउँछ।

म वर्तमानको एक छोटो अनुक्रिया र अनुमापक। मभन्दा अघि हजारौँ माइलको सरथ यात्रा छ भानुको। प्रकाशभन्दा छिटो गतिमा हृदयलाई जोड्ने भानु ग्रहण लाग्दैमा कहाँ मेटिन्छन् र ! भानुको भानुत्व घाँसी कुवाबाट चोखो पानी उवाएर विश्वभर बर्सिएको छ। कैयौं राजमार्ग इतिहासबाट हराएका र हराउँदै गएका छन्, तर भानुको ‘घाँसी कुवा’ बेनाम सडकको किनारामा पनि घाँसी कुवाकै नाममा रहिरहनेछ। त्यसो भए भानुभक्तभन्दा शक्तिशाली समय अरू हुन सक्ला त ! असम्भव।

‘भानुभक्त’ समय हो। जन्मको तिथिमितिले पनि देशभक्त समय। उनको आवश्यकता थियो देशलाई त्यसबेला। र, जुन आजपर्यन्त छ। उनी नेपालीका हृदयमा चोट लागेको समय जन्मिएँ। उनको जन्मसँगै जन्मियो देशभक्तिको अर्को स्वरूप। रामराज्यको परिकल्पना पनि सँगसँगै जन्मियो सायद। त्यसैले १८७१ साल एउटा विक्रम संवत् मात्र कहाँ रह्यो र हामी नेपालीका लागि।

उनको हुर्काइ र भोगाइ सुगौली–साँझभन्दा कम कठिन थिएन। तर पनि भाव र भाषाले धोएको उनको पवित्र संवेदना मेची र महाकाली जोड्ने पुल बन्यो। उनी आफै चाहिँ जीवन–सङ्घर्षको भागदौडमा कतिपटक टुक्रिए र कतिपटक भाँचिए। भूपिको कवितामा रातरातभर साँघुरो चोकमा उफ्रिएर टोक्ने उपियाँले भानुका जीवनमा पनि बासैपिच्छे कतिकति रगत पसिना सोसे। भानुभक्तले भोगेको समय एक पक्षबाट क्रान्तिको अवसान भएको समय थियो। दाउपेच र प्रतिशोधको समयमा समाजले लिने दिशा सायद भ्रमित हुन सक्थ्यो। के थाहा? युद्ध र पराजयको मनस्थितिमा जनजनका वैयक्तिक दृष्टिकोणहरू हावी भइदिए भने…। यस्तो विषम परिस्थितिमा भानुभक्तको भाषिक कलाले एउटा नयाँ मार्ग खोलिदियो। मृत्युका पाँचै मुख खुलेका बेला सच्चा सहयात्री भएर आए जीवनदायी शक्ति लिएका भानुभक्त। उनलाई कहाँ रसिक भएर बाँच्ने जीवनको छुट थियो र !

तर, हरेक पीडामा, अपमानमा, हारमा र हैरानीमा उनले नेपाली भाषाको साथ छोडेनन्। सच्चा प्रेमी भएर उकाली, ओराली, गाउँसहर अनि मैदान र पहाडमा एक आवाज पुर्‍याए। उनका लयले नेपालीको खडेरीले आँत रसाउन थाल्यो। वसन्तको मध्याह्नमा घना जङ्गलको बीचबाट एउटा गोठालाले यही लय छेडेको सुनिन्थ्यो। अर्को पहाडबाट त्यही लयको प्रतिध्वनि बिउँझन थाल्थ्यो। तराईको मैदानमा धानका बालाजस्तै लस्कर लाग्न थाले रामायणका श्लोकहरू। जनकपुर रामायणको नेपाली भाकाले गुञ्जियो। यसरी हृदयको आगा निभाउने श्लोकहरूको भाषिक अनुवाद बन्यो।

जाति र सम्प्रदायभन्दा माथि उठेको यसको सांस्कृतिक महिमामा हिमाल झन् चुलियो, तराईको फाँट झन् लहलह भयो र पहाडको वरपीपलको मित्रताको सुसेली अझै मिठो र कसिलो गरी सुसेल्न थाल्यो। भानुभक्तको कलमले नेपालीका उबडखाबड मुटु सम्याएको इतिहास भानुभक्तले जन्माएको समय हो, उनैले हुर्काएको समय हो। उनैले भण्डार गरेको खेती हो। आज हामी त्यही भण्डार खोल्दै छौँ, भाषाका पोटिला दानाहरू खन्याउँदै छौँ। हाम्रा मनका मझेरीहरूमा र त्यो हिउँदको घामजस्तै हिउँदको पानीजस्तै स्वच्छ अस्तित्वलाई हृदयमै लगाइरहेछौँ बारबार।

भानुभक्त असारमा जन्मिए। उर्वर असारको अन्तिम दिनतिर मनसुनझैँ उनको आगमन। प्रकृतिको विरासत चुँदी रम्घा। बारबार मर्स्याङ्दीले आधारातमा सुसेलेर बोलायो सायद उनलाई। उनी संस्कारले हिन्दू थिए, कर्मले मानवता बन्यो उनको धर्म। सम्झन्छु— एकदिन त्रिभुवन विश्वविद्यालयमा दर्शनशास्त्रको अध्ययनका क्रममा भानुभक्तको ‘वधूशिक्षा’को चर्चा चलेको थियो। ‘वधूशिक्षा’का श्लोकहरू व्याख्या गर्ने क्रममा निकै आक्रामक अनुहार पनि देखिए भानुभक्तप्रति। गुरु मुसुमुसु हाँसिरहनुभयो। धेरैका धेरैथरीका तर्कबीच हामीले समकालिक अध्ययनको मार्ग पक्रियौँ। सामूहिक अध्ययनपत्र बनायौँ र प्रस्तुति गर्‍यौँ। वास्तवमा भानुभक्तका अन्य रचनाभन्दा ‘वधूशिक्षा’ निकै विवादास्पद किसिमले व्याख्या हुँदै आएको कृति पनि हो। तर, त्यसमा सूक्ष्म अध्ययनबाट हामीले नयाँ मार्ग भेटेका थियौँ। यस कृतिको विश्लेषणका लागि समाजशास्त्रीय अध्ययन आवश्यक छ भन्ने हाम्रो निष्कर्ष रहेको छ।

भानुभक्त प्रत्येक नेपालीको धड्कन भएका छन्। भारतीय नेपाली मनमा उनी जातीय र सांस्कृतिक एकताका आदिआवाज मानिन्छन्। आदि उद्घोषक मानिन्छन्। उनका स्मारक उभ्याएर त्यहाँका नेपाली भाषीले एउटा सिङ्गो युग उभ्याएका छन्। त्यहाँ नेपाली भाषा छ, भाषाभित्र भाव छ, भावभित्र सारा नेपाली एक हौँ भन्ने सांस्कृतिक अर्थ छ। यही एकता नै नेपाली सभ्यताको आदि स्वरूप हो। वर्तमानको खिचातानी र वैचारिक द्वन्द्वमा आआफ्ना स्वार्थ होलान् तर भानुभक्तको भाषिक कलामा हृदयलाई जोड्ने मानवतावादी सन्देशबाहेक कुनै अरू स्वार्थ अद्यापि भेटिएको छैन। त्यसैले ‘भानुभक्तको रामायण’ तुलसीदासको रामायणको अनुवाद मात्र हो भन्न हाम्रो मनले हामीलाई स्वीकृति दिँदैन। मनले स्वीकृति नदिएका कुरा गरेर हामीले आफ्नो जातिको अपमान गर्ने अधिकार हामीलाई छैन !

तनहुँको प्रकृतिमा उम्रिएको नेपाली माटोको बास्ना भानुभक्तले नै चिने र त्यसलाई छन्दको सुगन्धमा मिसाएर प्रत्येक नेपालीको मुटुमा भरिदिए। उनको यही शक्ति पहिचान गरी मोतीराम भट्टले उनका सारा कृतिहरू खोजीखोजी हाम्रासामु राखिदिए। उनको जीवनी लेखेर आदि भानुलाई अनादि भानुका लागि बाटो खोलिदिए। महाकवि लक्ष्मीप्रसाद देवकोटाले उनलाई ‘शुक्रतारा सुन्दर हाम्रा, नेपाली हे प्रथम ध्वनि’ भनेर काव्यिक अभिवादन गरे। जजसले भानुभक्तका बारेमा सङ्कीर्ण विचार राखे, तिनले देवकोटाको स्मारक पनि भत्काए, महाकवि विद्यापतिलाई पनि उभिन दिएनन् र वास्तवमा तिनले आफ्नै अस्तित्व ढाले। कुनै ढुङ्गामा मात्र सीमित हुने अस्तित्व होइनन् यी सुनामहरू। यिनका अमरतालाई यिनकै ढलेको शरीरले त समाप्त गर्न सकेन भने पत्थरको मूर्ति ढाल्नु त मुढेबलको प्रदर्शनी मात्र न हो !

भानुभक्त हाम्रा गुरु हुन्। उनले पारिवारिक जीवनको महत्त्व ‘रामायण’बाटै सिकाए। सामाजिक जीवनको मर्यादालाई यसैबाट बुझाए। राजनीति भनेको राजाको नीति भइरहेको हाम्रो मुलुकमा राजनीति राज्यको नीति हो, राजाको होइन भन्ने ज्ञान पनि उनले ‘रामायण’बाटै दिए। उनले नेपाली शैलीमा अनुवाद गरेको भावले नेपाली घरघरमा, व्यक्तिव्यक्तिमा बन्धुत्वको वर्षा गराउन सक्नु वास्तवमा उनको गुरुकर्म नै त हो! त्यसैले भाुनभक्तको गुरुत्व नेपाली संस्कृतिको पाठशालामा अत्यन्त स्तुत्य छ।

लोकप्रिय

राष्ट्रपति  बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री  एस जयशंकरबिच भेट

राष्ट्रपति बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेट

२०७६, ५ भाद्र बिहीबार १४:०८

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

२०७६, ६ भाद्र शुक्रबार १५:५४

प्रधानमन्त्री ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

प्रधानमन्त्री ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

२०७६, ५ भाद्र बिहीबार १४:५८

नयाँ बरियतामा नेपाल एक स्थान तल

नयाँ बरियतामा नेपाल एक स्थान तल

२०७६, ६ भाद्र शुक्रबार १५:२५

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

२०७६, ५ भाद्र बिहीबार १२:३४

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

२०७६, ६ भाद्र शुक्रबार १३:५६

नेपालमा यसरी खोल्न पाइन्छ हतियार कारखाना !

नेपालमा यसरी खोल्न पाइन्छ हतियार कारखाना !

२०७६, ६ भाद्र शुक्रबार १४:३७

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

२०७६, ५ भाद्र बिहीबार ०९:१०

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

२०७६, ५ भाद्र बिहीबार १२:२२

प्रधानमन्त्री ओलीले सिंगापुरबाट भिडियोमार्फत मन्त्रिपरिषद् बैठकको नेतृत्व गर्ने

प्रधानमन्त्री ओलीले सिंगापुरबाट भिडियोमार्फत मन्त्रिपरिषद् बैठकको नेतृत्व गर्ने

२०७६, ५ भाद्र बिहीबार १८:००

आयुष्मानको पारिश्रमिक ३ गुणाले बढ्यो

आयुष्मानको पारिश्रमिक ३ गुणाले बढ्यो

२०७६, ६ भाद्र शुक्रबार १३:१८

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

२०७६, ५ भाद्र बिहीबार १३:२२

मिना निरौलाको स्वरमा ‘तीज आयो’ सार्वजनिक

मिना निरौलाको स्वरमा ‘तीज आयो’ सार्वजनिक

२०७६, ५ भाद्र बिहीबार १५:५९

नेकपा नेतामा अनुशासनको कमीः प्रचण्ड

नेकपा नेतामा अनुशासनको कमीः प्रचण्ड

२०७६, ६ भाद्र शुक्रबार १४:२१

सभापति देउवाद्वारा गौरा पर्वको शुभकामना

सभापति देउवाद्वारा गौरा पर्वको शुभकामना

२०७६, ६ भाद्र शुक्रबार १४:४९