नेपाली साहित्य र समालोचनामा विशिष्ट चिन्तनका साथ उल्लेखनीय योगदान दिएकी प्रा. डा. ज्ञानू पाण्डे (२०१८) अस्तित्ववाद विषयमा गहिरो अध्ययन गर्ने द्रष्टा–स्रष्टा व्यक्तित्व हुन्। उनले विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा अस्तित्ववाद (२०६२) विषयमा विद्यावारिधि अनुसन्धान गरेकी हुन्। लामो समयदेखि प्राध्यापन पेशामा संलग्न रहँदा उनले पूर्वीय र मूलतः पाश्चात्य दर्शनका आधारमा आफू बाँचेको समाजमा व्याप्त विसङ्गति र त्यसको ऐतिहासिक तुलनात्मक दृष्टि सम्प्रेषणबाट नयाँ पुस्तालाई सशक्त रूपले यथार्थसँग दार्शनिक तहमा साक्षात्कार गराइआएकी छन्।

उनका नारी साहित्यको विधागत इतिहास (२०६१) र सञ्चारकर्मी महिलाको अवस्था: अनुसन्धान पुस्तक (२०६२), विकिर्ण अनुशीलन (२०६८), नेपाली महिला कथाकार (भाग २, ७०), नेपाली उपन्यासमा लैङ्गिकता (२०६९) लगायत कृतिहरू प्रकाशित छन्। प्रज्ञा परिषद् सदस्यका रूपमा नेपाल प्रज्ञा प्रतिष्ठानको निबन्ध तथा समालोचना गद्य विभागको जिम्मेवारीमा रहँदा प्राज्ञ पाण्डेले अध्ययन अनुसन्धानका क्षेत्रमा महत्त्वपूर्ण कार्य सम्पन्न गरेकी छन्। कृतिमा प्रस्तुत समाजलाई समकालीनताका सापेक्षमा समाजशास्त्रीय र नारीवादी दृष्टिकोणबाट विश्लेषण गरी परिवर्तनगामी सकारात्मक विचार प्रवाह गर्दै आएकी यिनै विषयमा केन्द्रित रही नेपाली पब्लिकका लागि डा. गीता त्रिपाठीले गरेको कुराकानी यहाँ प्रस्तुत छ:

नेपाली समालोचनालाई तपाईंले दिनुभएको योगदान विशेष छ। तपाईंको अध्ययन र अनुभवमा समालोचना र सिर्जनाको अन्तरसम्बन्ध कस्तो हो?

– सिर्जना र समालोचनाको सम्बन्ध नङ र मासुको जस्तै नजिकको हो। मानव समाजमा यी दुवै विधाको इतिहास एकैसाथ उद्बोधित भएको हो। लेखन कर्मका यी दुवै अवतार अर्थात् दुवै विधा एकअर्काका परिपूरक हुन्; प्रेरणा हुन्; पृष्ठपोषक हुन्। यी दुवै दायित्वपूर्ण प्राज्ञिक कर्मअन्तर्गत पर्दछन्। अध्ययन र साधना दुवै विधाको आधारभूत आवश्यकता हो। तुलनात्मक रूपमा साहित्य बढी भावनाप्रधान हुन्छ भने समालोचना बुद्धिप्रधान हुन्छ, त्यो अलग कुरा हो तर सिर्जनशीलताको माग र रचनात्मकताको खोजी यी दुवै विधामा रहन्छ।

तर समालोचनालाई त कठोर विधा मानिन्छ नि त?

– यो केवल बुझाइगत त्रुटि हो। समालोचना तुलनात्मक रूपमा बढी बौद्धिकतासित सम्बन्धित हुन्छ, हुनुपर्छ त्यो अलग कुरा हो तर त्यसको मतलब यो विधा कठोर हो, कठोरता नै यसको मुख्य पहिचान हो भनेर बुझ्नु सही होइन भन्ने मलाई लाग्छ। अवश्य नै, साहित्यको गम्भीर पाठकको कोटीमा पर्दछ समालोचक। त्यसर्थ साहित्यिक रचनाहरू पढेर त्यसबारे आफ्नो कोण दर्शाउनु उसको एउटा प्रमुख कार्यक्षेत्र हो नै, साथसाथै साहित्यका सिद्धान्तहरू निरुपण गर्नु तथा साहित्यका विभिन्न दर्शनबारे दृष्टि खुलाउनुपर्ने दायित्व पनि उसैको कर्मअन्तर्गत पर्दछ।

यथार्थमा लेखक तथा पाठकका मनमा विचारको नयाँ भोक जगाइदिन सक्नु, विचारको नयाँ जगत् पहिल्याउनतर्फ तिनलाई हौस्याउन सक्नु, विचारको नयाँ धारतिर अभिमुख हुन उत्प्रेरणा प्रदान गर्नु, गर्न सक्नु समालोचकको विशिष्ट क्षमताको प्रमाण हो। यस्तो क्षमताका लागि उसमा सिर्जनशील बौद्धिकता अपेक्षित हुन्छ, न कि बौद्धिक कठोरता। स्मरणीय छ, समकालीन विश्व साहित्यमा समालोचनाका जति पनि नयाँ धारहरू देखिएका छन्, ती छुट्टै अरू केही होइनन्, समालोचकहरूको, सिद्धान्तकारहरूको सिर्जनशील बौद्धिकताकै उपज हुन्।

नेपाली समालोचनामा देखिएको समस्या र चुनौतीहरूमध्ये सबैभन्दा गम्भीर समस्या वा चुनौती के हो भन्ने लाग्छ तपाईंलाई?

– साहित्यलाई हेर्ने, बुझ्ने, व्याख्या र विश्लेषण गर्ने अथवा भनौँ साहित्यको मूल्य निरुपण गर्ने त्यस्तो कुनै आफ्नै रंगको चश्मा छैन हाम्रो। नेपाली समालोचनाको उहिल्यैदेखिको समस्या हो यो, जुन आजपर्यन्त यथावत् छ। पूर्वीय समालोचना पद्धति अँगालेर शुरु भएको हाम्रो समालोचनाको इतिहासले समयक्रममा पाश्चात्य समालोचना पद्धति पनि अँगाल्न पुगेको हो। स्मरणीय कुरा, समालोचनाको इतिहासले पक्रेको यही (यत्ति) गतिलाई नै यस क्षेत्रमा आएको ठूलो परिवर्तन मानियो; मानिँदै छ अझै।

हाम्रा आफ्नैपनका मौलिक सिर्जनाहरूलाई नियाल्ने परख्ने आफ्नैपनको त्यस्तो कुनै खास समालोचना पद्धति अहिलेसम्म पनि आविष्कृत हुन नसक्नु एउटा ठूलो कमजोरी हो नेपाली साहित्यको। समालोचना क्षेत्रको यस कमजोरीका बारेमा हामीकहाँ बल्ल प्रश्न उठ्न थालेको छ, गुनासो बढ्न थालेको छ। यसलाई मैले सकारात्मकतामा हेरेको छु। किन कि कुनै पनि विषयमा जब प्रश्न उठ्न थाल्छ, त्यसपछि नै हो उत्तर खोज्न तातो लाग्ने। प्रश्नहरू उठ्नुले बहसको वातावरण निर्माण हुन्छ। अखिर बहसबाटै त हो कुनै पनि क्षेत्रमा नयाँ विचार उद्घाटित हुन सम्भव हुने !

तपाईंको विचारमा अबको हाम्रो साहित्य कस्तो हुनुपर्छ होला?

– देशमा अहिले मान्छेभित्र मानवीय संवेदना झन् झन् मर्दै गइरहेको अवस्था छ। यो अवस्थामा लेखक तथा साहित्यकारहरू मानवताको सम्बद्र्धनमा समर्पित हुनुपर्ने आफ्नो गहन जिम्मेवारीप्रति अझै बढी तदारुकताका साथ अगाडि आउनु जरुरी देख्छु म। मान्छेभित्र क्रमशः रित्तिँदै गइरहेको मान्छेत्व (अर्थात् दया, माया, करुणा र सद्भाव)लाई पुनःजागरित गराउनसक्ने शक्तिको हुनुपर्छ अबको हाम्रो साहित्य।

यसका अतिरिक्त अझै नयाँनयाँ विषयको खोजी गर्नु, विविधतामा एकताको विशेषताले विभूषित नेपाल राष्ट्रको आत्मालाई दुरुस्त वाणी दिन उत्सुकता देखाउनु, नयाँनयाँ शिल्प, शैली र प्रविधि अवलम्बन गर्दै सिर्जनाका क्रममा नित्य नवीनताको बाटोमा अगाडि बढ्न अग्रसरता देखाउनु, विचार र प्रस्तुति दुवै तहमा आकर्षणको नयाँ तपकको आविष्कार गर्न प्रयत्न गर्दै नेपाली साहित्यलाई विश्वसाहित्यको उचाइमा पु¥याउने ध्येयका साथ समर्पित हुनुपर्ने खाँचो त आफ्नो ठाममा छँदै छ।

नेपाली साहित्यको वर्तमान परिवृत्तलाई तपाईंले कसरी नियालिरहनुभएको छ? यतिबेला यो उत्साहपूर्ण या निराशाजनक कुन कस्तो गतिमा गुज्रिरहेको देख्नुहुन्छ तपाईं?

– नेपाली साहित्यको वर्तमान परिवृत्त मिश्रित अवस्थामा गतिवान् भइरहेको पाउँछु म। एक कोणबाट नियाल्दा यो निकै चहलपहलपूर्ण वातावरणमा अगाडि बढिरहेको देखिन्छ। जस्तो कि ः बजारमा नयाँनयाँ विषयमा साहित्यका पुस्तकहरू आइरहेका छन्। सहित्यमा नयाँनयाँ प्रयोगहरू भइरहकै छन्। साहित्यिक कार्यक्रमहरू आयोजना हुने क्रम निकै बाक्लिँदै गएको छ। एकै दिनमा धेरै ठाउँमा विभिन्न लेखकका विभिन्न विधाका कृतिहरूको विमोचन तथा अन्तरक्रिया कार्यक्रमहरू हुने गरेको र ती कार्यक्रमहरूमा सहभागी हुन जान साहित्यकारहरूलाई भ्याइनभ्याइ परेको देखिन्छ।

यसैगरी नयाँनयाँ साहित्यिक संघसंस्थाहरू खुलिरहेका छन्। नयाँनयाँ प्रकाशन संस्थाहरू जन्मिरहेका छन्। खुशीको कुरा, गहकिलो कृति लेख्न सक्ने लेखकका लागि पुस्तक छपाउन पहिला जस्तो समस्या छैन अहिले। स्थापित लेखक साहित्यकारहरू सँगसँगै नयाँ पुस्ताका युवायुवती पनि साहित्य लेखनमा बडो उत्साहका साथ भित्रिरहेका देख्न पाइएको छ। गैरसाहित्यिक क्षेत्रका व्यक्तित्वहरू पनि उस्तै उत्साहका साथ सााहित्य लेखनप्रति अभिमुख हुन थालेका छन्। किताब लेखेर प्रकाशित गरी साहित्यिक बजारमा आफ्नो नाम ओछ्याउने भोक सबैमा जागेको अवस्था छ यतिबेला।

अहिले दिनहुँ गतिला साहित्यिक कृतिहरू खोजीखोजी पढ्ने पाठकहरूको संख्या पनि बढ्दो छ। सञ्चारमाध्यमले पनि साहित्य विषयलाई अचेल बढी महत्त्वका साथ स्पेस दिन थालेका छन्। समाजमा सिर्जना र लेखनलाई सम्मानका दृष्टिले हेर्ने संस्कार उल्लेख्य रूपमा बढेर गएको देख्न पाइएको छ। अझ देशभित्रको मात्र कुरा होइन, देशबाहिर पनि जहाँ जहाँ नेपाली पुगेका छन्; तिनले आफ्नो रोजीरोटीको समय कटाएर भए पनि साहित्यमा कलम चोपिरहेका छन्। नेपाली साहित्य निकै विस्तारित भएर गएकोे अवस्था हो अहिले। यी आदि विशेषतालाई दृष्टिगत गरी भन्नुपर्दा नेपाली साहित्यको वर्तमान निकै उत्साहपूर्ण अवस्थामा गुजिरहेको छ भन्न सकिने अवस्था छ।

तर, अर्को कोणबाट नियाल्दाचाहिँ यही समय हाम्रो साहित्यमा कतिपय कुरूपताहरू पनि झाङ्गिँदै गइरहेको स्पष्टै देखिन्छ। जस्तो कि: गहकिला पुस्तकहरूको तुलनामा सतही ओजका पुस्तकहरूको चाङ थपिँदै जानु, गुँदीवाला पुस्तकहरूको भन्दा हल्काफुल्का पुस्तकहरूको चर्चा–परिचर्चाले बजार बढी पिटेको देखिनु, हल्ला र हाँकका भरमा साहित्यमा आफ्नो नामलाई स्थापित गर्न बल गर्नेहरूको भीड बढ्दै जानु, गुणात्मक साहित्य लेखनमा टेवा पुग्ने ढङ्गका गम्भीर प्राज्ञिक बौद्धिक छलफल तथा गोष्ठीहरूभन्दा टाइफाइवाला कार्यक्रमहरू बढी संख्यामा आयोजना हुने गरेको पाइनु, अधिकांश नयाँ लेखक साहित्यकारहरूमा गहन लेखनको धैर्यताभन्दा नयाँ पुस्तक प्रकाशित गर्न हतारिने प्रवृत्ति बढी हावी भएको प्रतीत हुनु।

नेपाली समाजमा नारी अस्तित्व किन यति जटिल विषय बन्दै गएको हो? किन समाजमा नारीविरुद्धका हिंसाका घटना कम भएको पाइन्न? पछिल्ला घटनाक्रमका आधारमा यसलाई तपाईंले कसरी हेरिरहनुभएको छ?

– पहिलो कुरा त तपाईले नेपाली समाजमा नारीले भोग्नु परिरहेको अस्तित्वको समस्याबारे कुरा उठाउँदा अस्तित्ववादको कुरा पनि सँगसँगै उठाउनु भयो। तर, अस्तित्ववादले औँल्याएको अस्तित्वको समस्या र नेपाली नारीले झेल्नुपरिरहेको अस्तित्व अवमूल्यनको सन्दर्भ नितान्त फरक कुरा हो। तपाईंलाई थाहै छ, अस्तित्ववाद सिङ्गो मनुष्य अस्तित्वको समस्या र सम्भावनाबारे चिन्तन गर्ने एक गहिरो जीवन दर्शन हो। हरेक मनुष्य आफैँ नै आफ्नो भाग्यको निर्माता हो भन्ने मान्यता राख्ने यो दर्शनले व्यक्ति अस्तित्वको शक्ति र सीमाबारे चिन्तन गर्दा नारी अस्तित्व, पुरुष अस्तित्व वा तेस्रो लिङ्गीय अस्तित्व भनी छुट्टयाएर हेर्दैन।

यस दर्शनका अनुसार सबैथरिका मनुष्य अस्तित्वको दुःख भन्नु पनि एउटै कुरा हो, सुख भन्नु पनि एउटै कुरा हो, त्यो हो– उसको वरणको स्वतन्त्रता। मान्छे आफ्नै स्वतन्त्रताबाट अभिशप्त प्राणी हो। उसले जीवनमा आफ्नो हर अवस्थालाई केवल आफ्नै रोजाइको परिणाम हो भनेर स्वीकार्नुपर्ने हुन्छ, आफ्नो अवस्थाको दोष उसले अरूप्रति तेर्स्याउन मिल्दैन, तेस्र्याउन पाउँदैन। यो हो मनुष्य अस्तित्वको मूल पीडा र यही नै हो उसको आफू ‘हुनु’को अभिमान पनि। हरेक मान्छे आफ्नै नियतिका कारण दुःखी प्राणी हो भन्छ अस्तित्ववाद।

त्यसैले भनेको हो मैले कि हाम्रो समाजमा भइरहेको नारी अस्तित्व अवमूल्यनको सन्दर्भलाई अस्तित्ववादी दर्शनसित जोडेर हेर्न मिल्दैन। यदि त्यसरी हेरियो भने हरेक पीडित नारी आफ्नो अवस्थाप्रति स्वयं नै दोषी हो भनेर बुझिन्छ; बुझ्नुपर्ने हुन्छ। र, यदि त्यसरी बुझियो भने यससम्बन्धी वास्तविक समस्या कहिल्यै पनि सम्बोधित हुन सक्तैन। वास्तविक कुरा, समाजमा देखिँदै आएको नारी अस्तित्व अवमूल्यनको समस्या मूलतः पुरुषप्रधान समाज मनोविज्ञानको उपज हो। हाम्रो समाज मनोविज्ञानको जगमा अझैसम्म पनि पितृसत्तात्मक चिन्तनको प्रभुत्व व्याप्त छ।

तपाईंलाई थाहै छ, यस सत्ताले कोही पनि मान्छेलाई मान्छे (मात्र) देख्तैन। यसले मान्छेलाई कि नारी मान्छे देख्छ कि पुरुष मान्छे देख्छ। नारी र पुरुष एकै दर्जाका, एकै विशेषता र उस्तै आवश्यकताका मनुष्य प्राणी होइनन्, यी एकभन्दा अर्को नितान्त भिन्न हैसियतका प्राणी हुन् भन्ने गलत पाठ समाजलाई यही सत्ताले हो घोकाएको। नारी भनेको रुञ्चे जाति हो। परनिर्भरता उसको पहिचान हो। ऊ रक्षिता हो। पुरुषको सहयोगविना ऊ जीवनमा एक पाइला पनि सुरक्षित अगाडि बढ्न सक्तिन। जीवनको हरमोडमा पुरुषको सेवामा समर्पित हुन तम्तयार भइरहनु उसको धर्म हो। सहनशीलता उसको आदर्श हो।

पितृसत्ताले समाजमा नारीको छवि यस्तै त्रुटिपूर्ण परिभाषाका साथ निर्धारित गरिदिएको छ। तर, पुरुषलाई भने यो सत्ताले नारीको ठ्याक्कै उल्टो छविमा चिनाएको छ। पुरुष परिवारको मूली हो, मालिक हो। ऊ रक्षक हो; पालक हो। कमाइतुल्याई परिवारलाई पाल्नु उसको (मात्र) दायित्व हो। परिवार समाजमा अगुवाइ गर्नु उसको पहिचान हो। कस्तै दुःखमा पनि पुरुषले रुनु हँुदैन, उसले आँसुले मन कहिल्यै धुनु हँुदैन। आदेश दिनु उसको जन्मसिद्ध अधिकार हो।

नारी चाहे त्यो आमा होस् या छोरी, पत्नी होस् या मित्र, आफ्नो होस् या पराई त्यसलाई अनुशासनमा राख्न खोज्नु, राख्न सक्नु पुरुषको पुरुषार्थको मान हो। यसरी पितृसत्ताले पुरुषलाई मालिकको दर्जामा बाँच्न सिकाएको छ भने नारीलाई दासीको हैसियतमा रहन अह्राएको छ। जब युगौँदेखि परिवारभित्रै छोरा र छोरीको सामाजिकीकरणको प्रक्रिया यही किसिमको विभेदकारी विधि र व्यवहारका साथ हुँदै आएको छ भने यस स्थितिमा समाजमा नारी अस्तित्वको अवमूल्यन भइरहेको पाइनु के आश्चर्यको कुरा भयो र?

अनि पुरुषले खुलेयाम उदण्डता प्रदर्शन गर्दै हिँड्न सङ्कोच नमान्नुमा उसको के दोष भयो र? नारीलाई पुरुषले बुद्धि नभएका जात भन्ठान्नुमा उसको के गल्ती भयो र? विचरा पुरुषहरू आफूसित नातो सम्बन्धमा जोडिएका नारीलाई मात्र नभई नातोमा नजोडिएका नारीलाई समेत पाइला–पाइलामा अर्ती–उपदेश र आदेश दिन अघि सरिरहन्छन् बखत बखतमा। यो झर्कोलाग्दो स्वभावको बोझ पुरुषको काँधमा कसले हो बोकाएको? मर्दका हजार जोई भनेर कसले हो पुरुषलाई पढाएको? खुट्टा भए जुत्ता कत्ति कत्ति भनेर उसलाई अन्यायी र अमानवीय स्वभावको बन्न उक्साउने उखान कसले हो बनाएको?

पुरुषले समाजमा आफू पुरुषजस्तो (कथित आदर्श पुरुष) देखिइन आफ्नो आँसु सधैँ लुकाउनु परेको छ। कठोर र साहसी दर्शिइन उसले आफूभित्रको कोमलता र मानवतालाई आफैँले जबरजस्ती थिच्नु परिरहेको छ, किच्नु परिरहेको छ। उसले मान्छेजस्तो जीवन बाँच्न नपाउनु, सधैँ महामान्छेकै अभिनय गर्न परिरहनु कति ठूलो सास्ती पुरुषलाई? पितृसत्ताको कत्रो ज्यादति उसभित्रको मानवतालाई, मानवीय संवेदनालाई? बरु चाहिँ भने एउटी पीडित नारीले आज जहाँ उभिएर पनि आफ्नो दुःख खुलाउन पाउँछे, खुलाउन सक्छे तर पुरुषलाई त्यसो गर्न न पहिले छुट थियो न अहिले नै छुट छ।

तपाईले सोध्नुभयोे, ‘समाजमा नारी हकअधिकारको पक्षमा आवाज उठिरहेकै छ, प्रयासहरू भइरहेकै जस्तो पनि देखिन्छ तर पनि नारीविरुद्धका हिंसाका घटना कम भएको पाइन्न किन होला?’ पुरुष समस्याप्रतिको जागरुकताको कमी यसको मुख्य कारण हो भन्छु म। पुरुषप्रधान समाज संरचनाले उब्जाएको नारी अस्तित्व अवमूल्यनको समस्या यदि साँच्चै नै निवारण गर्ने चाह हो भने अब नारीका समस्या सँगसँगै पुरुषका समस्याहरू पनि खोतल्न चासो राख्नु अति आवश्यक छ।

आज समाजमा जसरी पीडित नारीलाई उसका समस्या खुलेर बोल्न प्रेरित गरिँदै छ, त्यसरी नै पुरुषलाई पनि उसका पीडाहरू समाजसमक्ष खुलाउन उत्प्रेरित गरिनु जरुरी छ। एकपक्षीय नारा, भाषण र जुलुसले मात्र नारी अस्तित्वको अवमूल्यनको समस्या निवारण हुनसक्तैन, अर्को पक्ष (पुरुष पक्ष)को समस्या पनि उच्च संवेदनशीलताका साथ सम्बोधित हुनु जरुरी छ भन्ने तथ्य बोध गर्न नसक्नुले नै समाजमा नारी अस्तित्व अवमूल्यनका घटना दोहोरिइरहेका हुन्।

अतः लैङ्गिक विभेदकारी सामाजिक संरचनाले उब्जाएको पीडाबाट नारीलाई मात्र जोगाउने सुरले होइन, त्यस संरचनाको पीडाबाट पुरुषलाई पनि बचाउने ध्याउन्नाका साथ समानताका कुरा अब अगाडि ल्याउनु जरुरी छ। स्मरणीय कुरा, समाजमा समन्यायको सिद्धान्त प्रतिस्थापित गर्नका लागि नारी एक्लैको विद्रोह कदापि पर्याप्त हुन्न, यसमा नारी र पुरुष दुवैको संयुक्त प्रयासको खाँचो छ।

समाजमा नारी–पुरुष समन्यायको संस्कृति बसाल्न लेखक/साहित्यकारहरूले सहयोग पुर्‍याउन सक्छन् भन्ने ठान्नुहुन्छ?

– अवश्य सक्छन्। कलम त्यो शक्ति हो, जसले मान्छेको दृष्टिकोणलाई पूरै बदलिदिन सक्ने तागत राख्तछ। संसारमा जति पनि ठूलाठूला परिवर्तनहरू भएका छन्, त्यसमा लेखक/साहित्यकारहरूको कलमले जहिल्यै पनि जहाँ पनि मुख्य उत्प्रेरकको भूमिमा निर्वाह गरेको तथ्य जगजाहेर छ। वास्तवमा साहित्यकारको कलममा मनोवैज्ञानिक शक्तिको ताप हुन्छ, दार्शनिक स्पर्शको आभा हुन्छ।

अतः समाजमा कुनै पनि पुरानो विचारलाई विस्थापित गरी त्यसको ठाउँमा नयाँ विचार स्थापित गर्न लेखक/साहित्यकारहरूले नसक्ने भन्ने कुरै हुन्न। समाजलाई लैङ्गिक विभेदकारी चिन्तनको जकडबाट मुक्त पारी समानताको संस्कृति बसाल्नका लागि पनि लेखक/साहित्यकारहरूको सचेत पहलले ठूलो माने राख्छ भन्नेमा मलाई कुनै द्विविधा छैन। तर, मुख्य आवश्यकता हो, लैङ्गिक समानताको विषयमा कलम उठाउन चासो देखाउने लेखक सबैभन्दा पहिला आफैँ नै यस विषयकोे महत्त्वलाई हृदयतः स्वीकारेको अवस्था हुनुपर्‍यो। समन्यायको अवधारणाप्रति ऊ सिद्धान्ततः स्पष्ट भएको अवस्थामा हुनुपर्‍यो।

शिक्षा सेवामा लाग्ने र साहित्यमा कलम चलाउनेले आफूभित्रको वादित्वलाई कुन हदसम्म प्रकाशन गर्नु उपयुक्त होला? या यी दुई क्षेत्रमा निषेध नै हुनुपर्ने हो कि?

– निषेधको राजनीति कुनै समस्याको पनि समाधान होइन भन्ने लाग्छ मलाई। स्वविवेकको कुरा महत्त्वपूर्ण हो भन्छु म। मलाई लाग्छ, शिक्षा सेवामा लाग्ने र साहित्यमा कलम चलाउने दुवै कोटीका मानिस आफ्नै ब्रह्मको धनी हुनुपर्दछ, न कि कुनै गुट–उपगुटको बन्दी ! वा कुनै वाद या पक्षको दास !

सचेत नागरिकको हैसियतले कुनै राजनीतिक विचारधाराप्रति समर्थित भाव रहनु वा राख्नु एउटा कुरा हो, चुनावका बेला आफ्नो मनले पत्याएको विचारलाई मत दिनु एउटा कुरा हो तर आफू लागेको पेशा वा क्षेत्रको मूल दायित्वप्रति नै अपमान हुने गरी जता पनि वादित्व प्रदर्शन गर्दै हिँड्नु कदापि सही होइन भन्ने लाग्छ मलाई। यदि कोहीलाई वादित्वको घेराप्रति त्यत्रो मोह हो भने ऊ प्रत्यक्ष रूपमै राजनीतिमा संलग्न हुन गए भइहाल्यो नि ! आखिर पेशा रोज्न पाउने नागरिकको हक लोकतन्त्रमा सुरक्षित छँदै छ क्यारे !

अन्त्यमा एउटा प्रश्न जीवनसित सम्बन्धित। तपाईंको विश्लेषणको निष्कर्षमा जीवन के हो?

– यो ज्यादै ‘भेग’ प्रश्न गर्नुभयो गीताजी तपाईले। त्यति सजिलै उत्तरिन सम्भव होइन तपाईको यो प्रश्न। छोटकरीमा कसरी अर्थ्याउनु यसलाई? यसका बारेमा अनेक परिभाषाहरू बनेका छन्, बनाइएका छन्। आआफ्नो अनुभूति र बोधको कुरा हो। मेरो बोधमा जीवन जसरी परिभाषित छ, त्यसलाई एक वाक्यमा व्यक्त गर्नुपर्‍यो भने म भन्छु– विसङ्गतिमा सधैँ सङ्गति खोज्ने एउटा अद्भूतको ‘जाँगर’ होे यो जीवन।

लोकप्रिय

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

२०७६, २९ भाद्र आईतवार १७:४०

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

२०७६, २८ भाद्र शनिबार १६:५४

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

२०७६, २८ भाद्र शनिबार १२:४९

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

२०७६, २८ भाद्र शनिबार १७:१४

स्काभेटरले किचेर १ जनाको मृत्यु

स्काभेटरले किचेर १ जनाको मृत्यु

२०७६, २९ भाद्र आईतवार १५:५०

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

२०७६, २९ भाद्र आईतवार १३:१८

महिनावारीसम्बन्धि केहि तथ्यहरू

महिनावारीसम्बन्धि केहि तथ्यहरू

२०७६, २८ भाद्र शनिबार १६:१७

उच्च फर्ममा रहेका सन्दीपको आज अर्को परीक्षा

उच्च फर्ममा रहेका सन्दीपको आज अर्को परीक्षा

२०७६, २९ भाद्र आईतवार १५:२३

भ्यालेन्सियामाथि बार्सिलोनाको शानदार जित

भ्यालेन्सियामाथि बार्सिलोनाको शानदार जित

२०७६, २९ भाद्र आईतवार १०:४२

अब चार रुपैयाँमै विद्युतीय सवारी चार्ज गर्न सकिने

अब चार रुपैयाँमै विद्युतीय सवारी चार्ज गर्न सकिने

२०७६, २९ भाद्र आईतवार १६:२३

डेङ्गु संक्रमणबारे जान्नेपर्ने केहि कुराहरू

डेङ्गु संक्रमणबारे जान्नेपर्ने केहि कुराहरू

२०७६, २९ भाद्र आईतवार १३:०८

आयुष्मानको फिल्म ‘ड्रीम गर्ल’को ऐतिहासिक सुरुवात

आयुष्मानको फिल्म ‘ड्रीम गर्ल’को ऐतिहासिक सुरुवात

२०७६, २८ भाद्र शनिबार १६:२५

हिमाल, पहाड र तराई जोड्दै बुद्ध शान्ति पदमार्ग

हिमाल, पहाड र तराई जोड्दै बुद्ध शान्ति पदमार्ग

२०७६, २८ भाद्र शनिबार १४:१७