डा. मथुरा श्रेष्ठ

उहाँ मेरो पहिलो राजनीतिक गुरुहरूमा पनि प्रमुख। सात सालको मङ्सिर अन्त्यतिर हुनुपर्छ, जुलुसमा झन्डै गोली लागेको हल्ला सुनेर बा आउनु भएर हामीलाई बन्दीपुर लानु भो। त्यतिबेलाभन्दा पहिले हामीलाई गौरीभक्त प्रधान, वासुदेवान्द वैद्य आदिले मार्क्सवादी साहित्य पढ्न र मनन गर्न लगाइसक्नुभएको थियो। बन्दीपुर पुगेपछि मार्क्सवादी अध्ययन कायम राख्न दाजु कदम र कृष्णलालले सघाउनु भो।

पुष्पलाल पनि त्यहीँ भूमिगत बस्नुभएकाले उहाँले द्वन्द्वात्मक भौतिकवादको अध्ययन शुरु गराउनु भो। बुझ्न सजिलो गर्न उहाँले लिनुभएको ब्रह्माण्ड र मानव विकासको प्रवचनको शृङ्खला धेरै रोचक र अविस्मरणीय थियो। केही दिनपछि पुष्पलाललाई सिपाहीहरूले खोजेको भनी बसेको डेन (भूमिगत स्थल) सार्ने दाजुहरूसँगको निर्णयअनुसार झिसमिस बिहानै पुष्पलालसँग हिँड्ने मौका पाएँ। दुक्लै, कसैले शंका नगरोस् भनी। बाटो मलाई थाहा नभए पनि उहाँलाई थाहा रहेछ। जंगल, खोल्सा हुँदै कहाँ पुगियो पुगियो जस्तो लाग्यो। करिब १० बजेसम्मै हिँडिरह्यौँ।

‘भोक लाग्यो?’ भनी उहाँले सोध्नु भो। हो भनेँ, जंगलमा के पाइन्छ मनमनै निराश भएर। राजनीतिमा भोक, प्यास र सबै खाले समर्पणको आवश्यकताबारे छोटो तर बिर्सनै नसक्ने गरी सम्झाउनु भो। केही छिनपछि एउटा खोलामा माछा मारिरहेका दुई माझी देखियो। अलिकति झिँगे माछाहरू पारिसकेका थिए। बेच्न पहिला त मानेका थिएनन् तर पुष्पलालले केही छिन अनुरोध गरेपछि माने। सुका पैसा भाउ लगाए र परेको सबै जिउँदै झिँगे माछो पातमा राखिदिए।

पुष्पलालले मलाई बोक्न दिनु भो र फेरि हामी बाटो लाग्यौँ। करिब एक घण्टा अरू हिँडेपछि एउटा गोठ देखियो र त्यतै लागियो। त्यहाँ कुनै बस्तु बाँधिएको थिएन। कोही पनि मानिस दखिएन। माथिल्लो खुला तलामा पराल, ओइलिइसकेको केही घाँस, सानो चुलो, केही दाउरा र सानो पुरानो सन्दुक जस्तो काठको बाकस रहेछ। साँचो नलागेको बाकस खोली हेर्दा काठको कटौरामा थोेरै घ्यू रहेछ। उहाँले आफ्नो खल्ती छाम्नु भो खाली रहेछ। तब,

‘ए मथुरा, तिमीसँग कति पैसा छ?’ उहाँले सोध्नुभयो ।

मसँग पनि सुका मात्र रहेछ, दिएँ। पुष्पलालले एउटा खाली चुरोटको बट्टामा गोठ मालिकलाई ‘माफ गर्नुहोला, कोही नभएकाले बाकस खोली अलिकति घ्यू, ताप्के र दाउरा चलाएँ, भोक मेट्न। बापतमा एक सुका छोडेको छु। अन्यथा नलिनु होला –विवश बटुवा’ भनी चिठी लेखी त्यसैमा सुका पैसा पोको पारी राखी सन्दुक बन्द गर्नु भो।

त्योभन्दा पहिले मैले झिँगे माछा देख्या थिइनँ। कालो र खैरो रङको वालावाला चलिरहेको झिँगेको पोका देख्दा घिन मान्दै ‘कसरी खान सकिन्छ’ भनेपछि मीठो हुन्छ भनी सम्झाउँदै तातो तेलमा तार्न थाल्नु भो पुष्पलाल। एकछिनपछि झिँगे माछा रातो, आकर्षक र मीठो बास आउने भयो। पाकेपछि त्यही भाँडोमा आधा आधा छुट्याई क्वाप क्वाप खाने हो भन्दै सिकाउनु भो। खान थालेपछि कस्तो लाग्यो भनी सोध्नु भो। मीठो रहेछ भन्दै म खान थालेँ। पुष्पलालले एक/दुईवटा मात्र खानु भई ‘मलाई पेट दुखेकाले यति मात्र खान्छु। बाँकी तिमी सबै खानु’ भन्दै मलाई कर गरी सबै खुवाउनु भो।

पछि मलाई लाग्यो, ‘सानो बच्चै छ, मेरो पेट भर्दैन भनी उहाँले त्यो बहाना बनाएको हुनुपर्छ।’ त्यस्तो महान् र त्याग गर्न सक्ने हुनुहुन्थ्यो पुष्पलाल ! कहिल्यै बिर्सन सक्ने छैन म।

त्यसपछि जंगलै जंगलको बाटो भई सूर्यास्तका बेला एक मगर गाउँ पुग्यौँ। त्यहाँ बस्ने सबैजसोलाई उहाँले चिन्नु हुँदोरहेछ। साँझ खाएपछि उहाँहरू बैठक बस्न लाग्नु भो। मलाई भने सुत्न लाउनु भो।

(श्रेष्ठ पूर्वमन्त्री हुन्)

लोकप्रिय