– दुर्गा सुवेदी

बनारस जाँदा मैले चिनेका अजय कोइरालासँग भेटघाट गर्ने गरेको थिएँ। उनी डाक्टरी पढ्दै थिए। उनको होस्टेलको कोठामा हप्तौँ दिनसम्म बस्ने त्यसपछि प्रदीप गिरीको डेरा लङ्का टोलको नगवामा पनि गएर बस्ने गरेको थिएँ।

प्रदीप गिरी मे १९७६ देखि नै बनारसमा बसिरहनुभएको थियो। म उहाँलाई भेट्न जुन महिनामा त्यहाँ पुगेको थिएँ। उहाँको डेरामा केही दिन बिताएर अजयको होस्टल कोठामा गएर बस्ने कुरा भएको थियो। तर, त्यहीँ बस्दाबस्दै २०३३ जेठ २६ (जुन १९७६) का दिन म बसेको घरलाई घेरा हालेर पुलिसले गिरफ्तर गर्‍यो।

गर्मीको बेला थियो। म त्यसै दिन बेलुका अजयको कोठामा जाने तयारीमा थिएँ। बाहिर होहल्ला भयो। बाथरुमको झ्यालमा उभिएर हेर्दा त म बसेको घरलाई पुलिसले घेरा हालेको देखेँ। धेरै पुलिस जम्मा भएकाले रमिता हेर्ने मानिसको भीड थियो। म बसेको घरको ढोका पुलिसले जबर्जस्ती खोल्यो। कोठामा छिर्ने बेलामा पुलिसले ‘यहाँ गाँजा–चरेसका तस्कर लोग रहते है’ भनेर हल्ला मच्चाए। त्यस घरका सबै कोठामा ताला लागेका थिए। घरको वरिपरि घुमेपछि पुलिस म बसेको कोठामा पसेर खानतलासी गर्न थाल्यो। मैले सोचेँ, मलाई पक्डन आएको होइन रहेछ।

म कोठाबाट बाहिर निस्किएँ। त्यहीबेला एउटा निकै होचो कदको मान्छे तौलियाले मुख छोपेर मतिर आयो। उसले मलाई देखाउँदै भन्यो, ‘यही है।’ पुलिसले तुरुन्तै मेरा दुवै हातमा हतकडी लगायो। कोठामा राखेको मेरो झोला पनि नखोली ल्याएर जिपमा राख्यो।

मैले पुलिसलाई भने, ‘तपाईं पहिला मेरो झोला त हेर्नुस्, त्यसमा गाँजा छ कि छैन? त्यसै पक्रिने?’

पुलिसले भित्र गएर मेरो झोला त्यायो र सडकमा राखेर मलाई नै खोल्न भन्यो। झोला खालेर देखाएपछि मैले फेरि भनेँ, ‘तपाईं गाँजा–चरेस खोज्दै हुनुहुन्थ्यो। खोई कहाँ छ गाँजा–चरेस? मलाई किन हतकडी लगाएको? खुरुक्क खोल्नुस्।’

तर, पुलिसले मेरो कुरा सुनेन बरु भित्र गएर म सुत्ने होल्डर पनि कोठाबाट उठाएर ल्यायो र जिपमा हाल्यो। अनि, दुई जना पुलिसले उचालेर मलाई पनि जिपमा चढाए।

‘तपाईंलाई थानामा ल्याउनू भन्ने आदेश छ,’ पुलिसले भन्यो।

बल्ल मलाई आफू पक्राउ परेकै हो भन्ने लाग्यो। ती मलाई नै खोज्न आएका थिए। गाँजा–चरेसको त बहाना मात्रै थियो। विमान अपहरण गरेको तीन वर्षपछि म पक्राउ परेको थिएँ।

आधा घन्टाजति घुमाएर भेलुपुर थानामा पुर्‍याएर मलाई एउटा कोठामा राखियो। दुवै हातमा हतकडी थियो। दुई घन्टासम्म त्यहाँ केही पनि आएनन्। मैले हतकडीले सेलको डन्डीमा हान्दै पानी मागेँ। तर, कसैले सुनेनन्। साँझ ४ बजेतिर एउटा पुलिस आएर कोठाको ताला खोलेर हतकडीसहित अफिसमा पुर्‍यायो।

त्यहाँ चार–पाँच जना पुलिस अफिसर थिए। एक छेउमा खाली कुर्सी थियो। त्यसमा मलाई बस्न भनियो। बस्नासाथ मैले चार घन्टादेखि पानी माग्दा कसैले पानी नदिएको बताएँ।

उनीहरू सबैले मतिर हेरे।

मेरोनजिकै रहेको अफिसरले अरूतर्फ हेर्दै भन्यो, ‘देखने मे तो एैसा नही लगता।’ (हेर्दा त त्यस्तो लाग्दैन।)

कसैले केही बोलेनन्। त्यसमध्ये एउटा बर्दी नलगाएको मानिसले सोध्यो, ‘आप नेपाली है?’ (तपाईं नेपाली हो?)

मैले ‘हो’ भनेँ।

‘नाम?’ उसले सोध्यो।

मैले बाबा अवधूतरामको आश्रमबाट नैनीताल जाने बेला राखिएको नाम भनेँ, ‘राजेन्द्र विष्ट।’

‘नेपाली कांग्रेसका नेता बीपी कोइरालासँग तपाईंको सम्बन्ध छ कि छैन? तपाईं बीपीका लागि काम गर्नुहुन्छ कि गर्नुहुन्न?’

‘उहाँ नेपाललको भूतपूर्व प्रधानमन्त्री हो। नेपालको ठूलो नेता हो। त्यस हिसाबले चिन्छु। तर, मेरो व्यक्तिगत सम्बन्ध छैन। उहाँका लागि काम गर्दिनँ,’ मैले झूट बोलेँ।

त्यसपछि उसले झोलाबाट एउटा फाइल निकाल्यो। त्यसमा मेरो फोटो थियो। मैले यसो हेर्दा थाहा पाएँ। त्यो बीएको परीक्षाका लागि फर्म भर्दा टाँसिएको फोटो रहेछ।

फाइलमा अरू फोटोहरू पनि थिए। उसले त्यहाँ भएको सबै मान्छेलाई मेरो फोटो देखायो। र, अन्त्यमा भन्यो, ‘यही आदमी है। इसको हिफाजत से रखिए।’ (यही हो मान्छे। यसलाई जतन गरेर राख्नू।)

त्यसपछि अफिसरहरू निस्किएर गए। मलाई फेरि सेलमा लगेर बन्द गरियो। मलाई गाँजावाला होइन, अपहरणकारी भनेरै यिनले पक्राउ गरेका हुन् भन्नेमा म पक्का भएँ। र, भारतको जेलमा आफ्नो जीवन बिताउन आफूलाई मानसिक रूपमा तयार गर्न लागेा। किनभने, एक त मैले पार्टी छोडिसकेको थिएँ। पार्टीले मलाई केही गर्नेवाला थिएन। दोस्रो, इन्दिरा गान्धीको सरकार बीपी र हामी सबैप्रति अनुदार बन्दै गइरहेको थियो। भारतमा जयप्रकाशदेखि चन्द्रशेखरसम्म जति पनि नेपाली कांग्रेसका मित्र थिए, ती सबै कि त आन्दोलनमा थिए कि जेलमा थिए। त्यसमाथि मलाई यिनीहरूले अपहरणकै अभियोग लगाउँछन् भन्नेमा पनि म विश्वस्त भएँ। यो मुद्दा सानोतिनो होइन, अन्तर्राष्ट्रिय रूपमै सङ्गीन मुद्दा हो।

राति ८ बजेतिर दुइटा काला दुर्गन्धित कम्मल, सिल्भरको थाल र ग्यास लिएर पुलिस आयो। मैलो आफ्नो बिछ्यौना र झोला माग्दा ‘साहबलाई सोध्नुपर्छ’ भन्दै हतकडी खोलेर गयो।

केही बेरपछि थानेदार आफैँ आयो। उसले भन्यो, ‘तपाईंले आफ्नो सामान पाउनुहुनेछ। किन आत्तिनुहुन्छ, शान्तिसँग बस्नुस्। तपाईं त धेरै ठूलो आतङ्कवादी हुनुहुँदो रहेछ। भारतका पत्रकारहरू तपाईंको खास नाम जान्न चाहन्छन्। के हो भन्नुस् ! जब तपाईंको भौतिक शरीर नै भारत सरकारको कब्जामा, यो जेलमा छ भने नाम मात्रै लुकाएर के हुन्छ?’

म केही बोलिनँ। ऊ मलाई एकछिन हेरेर गयो।

राति ९ बजेतिर पुलिसले होटलमा काम गर्ने एक युवकलाई लिएर आयो। उसले मलाई रोटी खाने कि भात भनेर सोध्यो। मैले भात भनेपछि ऊ गयो।

त्यसको एक घन्टापछि उसले भात लिएर आयो। खानाको थाल भुइँमा राख्ने बेला त्यो युवकले विस्तारै भन्यो, ‘आज थाने के बाहर लोगोका भीड लागा था, आप को देखने।’ (आज तपाईंलाई हेर्न थानाबाहिर मान्छेको ठूलो भीड लागेको थियो।) मैले केही नबोली खाना खाएपछि थाल लिएर गयो। त्यतिबेलासम्म मेरो झोला दिइसकेका थिए। मैले झोलाबाट झुल निकालेर सुत्नका लागि टाँग्न थाल्दै थिएँ, ड्युटीमा बसेको पुलिसले बेस्सरी गाली ग¥यो।

‘यो तेरो घर हो र झुल टाँगेर आरामसँग सुत्नलाई? कैदी भएर सेठजस्तो गर्छस्? यहाँ झुलसुल लगाउन पाइँदैन।’

उसले भन्यो, ‘झुल बाहिर फालिदे।’

मैले झुल निकालेर झोलामा हाल्न थाल्दै थिएँ, ऊ त आमाचकारी गाली गर्न थाल्यो।

‘साला यसले मानेन’ भनेर ऊ सेलको ढोका खोल्नलाई चाबी लिन अफिसतिर दौडियो।

फर्केर आएर भने ऊ अलि टाढै उभियो। म सेलभित्र उसैलाई कुरेर उभिरहेको थिएँ। त्यो मेरो सेलमा आएन।

यस्तो–उस्तोमै रातिको १२ बज्यो। पुलिस पहरेदारको पालो बदलिँदो समय रहेछ। अर्को पुलिस आयो। यो अलिक समझदार परेछ। उसले भन्यो, ‘थुनुवाहरूले पासो लगाएर मर्ने सम्भावना हुन्छ भनेर थानाभित्र डोरी भएका सामान लैजान दिइँदैन। त्यही भएर डोरी बाँधेर झुल टाँग्न नदिइएको हो। तर, साहेबले तपाईंलाई सेलको गेटतिर टाउको पारेर झुल लगाएरै सुत्न दिनू भन्नुभएको छ। त्यसरी नै सुत्नुस्।’

मैले उसले भनेजसरी नै झुल लगाएर सुत्ने तयारी गरेँ। अब लामखुट्टे त झुलबाहिर थिए। तर, मलाई भने अर्कै कुराले टोक्न थाल्यो, त्यो थियो– चिन्ता।

भोलिदेखि पुलिसले बयान लिन थाल्छ। मैले के भन्ने? गिरिजा र बीपीलाई चिनेको छु भन्ने कि नभन्ने? आफ्नो नाम, ठेगाना सही भन्ने कि ढाँट्ने? दिउँसो पुलिसले ल्याएको फाइलमा मेरो र साथीहरूको फोटो थियो। यो फाइल नेपाल सरकारले नै भारतीय पुलिसलाई दिएको हो। यसैले मलाई नेपाल लैजान पनि सक्छ। विमान अपहरण बीपी र गिरिजाको निर्देशनमा गरेको भनौँ भने एक त उहाँहरूप्रति धोका हुन्छ, अर्को उहाँहरूले त्यसलाई स्वीकार गर्ने सम्भावना छैन। एक्लै गरेको भनौँ भने त्यत्रो काम एक्लैले गर्न सम्भव नै हुँदैन।

अर्र्को मन सोचेँ, दिउँसो दिएको बयानमै अडिन्छु। घर विराटनगर नै भन्छु। तर, नाम राजेन्द्र विष्ट। बीपी र गिरिजालाई चिनेको छैन नै भन्छु। फेरि अर्को प्रश्न आयो, फाइलमा फोटो भएका साथीहरूलाई चिन्छु भन्ने कि नभन्ने?

यस्तै चिन्तासँग लड्दा–लड्दै पक्राउ परेको पहिलो रात चौकाघाटको सेलभित्र कट्यो।

‘बीपीको नाम लिनुस्, यातनाबाट बच्नुस्’

बनारसको पुलिस थानामा पहिलो रात बिताएर ब्युझँदा २७ जेठ २०३३ को बिहान मेरो झुलवरपर लामखुट्टेको झुन्ड नै भुनभुनाइरहेको थियो। म त्यसैलाई हेरेर टोलाइरहेको थिएँ। ८ बजेतिर थानाको एउटा बूढो हवल्दार जोड–जोडले अखबार पढ्दै मेरो सेलअगाडि आएर भन्न थाल्यो, ‘अरे नेपाली भाइ ! आपने तो कमाल कर दिखाया हैँ। धर्ती मे गुड रहे रेल और बस मे डाँका डालने के लिए लोग जमिन से घुसते है। आकाश मे आप कैसे जहाज मे घुस गए। क्या आप हनुमान है। यह तो रत्नाकार डाकु से भी बढिया कहानी बनेगा।’ (ओ नेपाली भाइ ! तपाईंले त चमत्कार गरिदिनुभयो। मन्छेले गुडिरहेको बस र रेलमा घुसेर अपहरण गरेको त सुनेको हो। तपाईं त उड्दा उड्दैको जहाजमै घुस्नुभएछ। तपाईं त हनुमान हो कि क्या हो? तपाईंको कथा त रत्नाकार डाँकुको भन्दा पनि भयङ्कर हुने रैछ।) उसले चिया मगाएर मलाई पनि दियो।

त्यस हवल्दारले आधा घन्टासम्म मेरो सेलनजिकै बसेर अनेक तुक्का भन्दै हाँस्ने– हँसाउने काम गर्‍यो। मलाई हेर्ने र चुट्किला सुन्ने पुलिसको जमघट भयो। उसको कुरा सुनेर केही क्षण मैले पनि चिन्तामुक्त भएर हाँस्दै बिताएँ। उसले जाने बेलामा पहरेदारलाई भन्यो,‘भाइ होसियार रहो ! काशी नगरी से नेपाली हनुमान उड सकता है।’ (होस गरे है, नेपाली हनुमान काशी नगरीबाट उड्न सक्छ।)

ऊ गइसकेपछि पोलेले भन्यो, ‘हवल्दारजी बजरङ्गवलीका भक्त र खुला हृदयको मानिस हुन्। सधैँ सबैलाई यसरी नै हँसाइरहन्छन्। अब दुई महिनापछि उनी सेवानिवृत्त हुँदा हामीलाई खल्लोपन महसुस हुनेछ।’

बिहान १० बजेतिर फोटो देखाउने मानिस थानेदारको अफिस कोठामा पस्यो। एकै छिनपछि हवल्दारले मलाई अफिसको भित्री कोठामा बसालेर गयो। आधा घन्टापछि तीन जना कुर्ताधारी मलाई राखेको कोठाभित्र पसे र मतिर फर्किएर लहरै बसे। उनीहरूमध्ये एकले मतिर फर्किएर आफूहरू भारत सरकारको केन्द्रीय अनुसन्धान ब्युरोका पदाधिकारी भएको भन्दै हात मिलायो। एकैछिनको मौनतापछि उसले भन्यो, ‘तपाईं नेपाली लोकतान्त्रिक आन्दोलनको कर्मठ योद्धा हो। भारतमा तीन वर्षसम्म भूमिगत रहनुभयो। अहिले हवाई अपहरणजस्तो जघन्य अपराधको आरोपमा गिरफ्तार हुनुभएको छ। नेपाली कांग्रेसका नेता बीपी कोइरालाको निर्देशनमा यो अपहरण भएको हो भनेर तपाईंले आफ्नो बहादुरीलाई स्वीकार गर्ने हो भने पुलिसको यातनाबाट पनि बच्नुहुन्छ। र, यो घटना फौजदारी नभएर राजनीतिक अपराधका रूपमा दर्ज हुनेछ।’

मेरो फोटो मैतर्फ देखाउँदै उसले भन्न थाल्यो, ‘हवाई अपहरण अन्तर्राष्ट्रियस्तरमै गम्भीर फौजदारी अपराध हो। प्रजातान्त्रिक व्यवस्थाको पक्षमा राजनीति गर्ने संस्था वा व्यक्तिले यस्तो आतङ्कको सहारा लिँदैन। बीपी कोइरालाजीको नेपाली कांग्रेसले यस्तो काम गरे/गराएको हो कि होइन भनेर अध्ययन/अनुसन्धान गर्ने क्रममा हामी तपाईंलाई भेट्न आएका छौँ। अपहरणको मुख्य अभियुक्ति दुर्गा सुवेदी नै हो भन्ने फोटोसहितको विवरण नेपाल सरकारले पठाएको छ। अब भारत सरकारको पुलिसले त्यही आधारमा मुद्दा स्थापित गर्न बयान लिनेछ। के बयान दिनुहुन्छ?’

ऊ चुप लागेपछि मैले जवाफ दिएँ, ‘म त्यस्तो हवाई अपहरणसँग सम्बद्ध मानिस होइन। मेरो नाम राजेन्द्र विष्ट हो। म काशी तीर्थस्थल घुम्न आएको हुँ…।’

मैले बोलेर सकेकै थिइनँ, अर्को मान्छे जुरुक्क उठ्यो र चर्को स्वरमा भन्न थाल्यो, ‘अब यस्तो सफेद झूूट बोलेर पार लाग्दैन। सत्य बोलेर आफूले गरेको दुस्साहसिक अपराध स्वीकार गर्दै त्यसमा संलग्न मानिसको यथार्थ विवरण तपाईं आफैँले दिएर मुद्दा स्थापित गर्न हामीलाई मद्दत गर्नुस्। हामी सजाय कम गराउन सहयोग गर्छौं। हवाई अवतरण भारतीय भूमिमा भएको र पैसा भारतमै लुटिएको हुनाले मुद्दा हाम्रै देशको कानूनअनुसार चल्नेछ। यहाँ डकैतीमा सजायको हद आजन्म कारावाससम्म छ। तर, राजनीतिक पार्टीले गराएको स्वीकार गर्ने हो भने त्यस्तो मुद्दा राजनीतिक घटनाक्रममा फिर्ता हुने अवस्थामा पनि पुग्न सक्छ। तपाईं गम्भीर भएर सोच–विचार गर्नुहोस्। एक–दुई दिन समय छ। तर, यस्तै झूट बोल्दै जाने हो भने पुलिस यातनाको माध्यमबाट सत्य बोलाउन बाध्य हुनेछ।’

मलाई यस्तो धम्की दिएर उनीहरू निस्किनै लागेका थिए, हातमा चियाको थाली समाएर थानेदार कोठाभित्र पस्यो र चिया टेबलमा राख्यो। सबैले चिया उठाए। आफूलाई अनुसन्धान अधिकृत भनेर चिनाएको व्यक्तिले मलाई पनि चिया दियो। र, हाँस्दै भन्यो, ‘दुर्गा सुवेदीजी ! तपाईं राजनीतिक मान्छे। नेपालको विद्यार्थी आन्दोलनमा धेरैपटक जेल पनि परिसक्नुभएको रहेछ। अनुसन्धानमा क्रममा हामीले थाहा पायौँ। तपाईं आफ्नो व्यक्तिगत र राजनीतिक भविष्यबारे पनि सोच्नुस्। जीवनभर भारतको जेलमा सड्ने हो कि निस्किने हो? राम्ररी सोच्नुस् र सही बयान दिएर पुलिसलाई मुद्दा तयार गर्न मद्दत गर्नुस्।’

हामी फेरि आउँछौँ भन्दै उनीहरू गए।

त्यसपछि थानेदारले पनि त्यही कुरा दोहोर्‍यायो।

‘एक–दुई दिनपछि लिखित बयान लिइनेछ, भोलि इन्टरपोलका मानिस तपाईंलाई भेट्न आउँदै छन्। आज समय मिलेन,’ थानेदारले भने। र, मलाई फेरि सेलमा लगेर थुन्न बूढो हवल्दारलाई आदेश दिए।

उसले थानेदारलाई सलाम गर्दै भन्यो, ‘बजरङ्गवलीकी जय। यह तो गगनविहारी डकैत हैँ साहेब, यहाँ से उड भी सकता है, इनको जल्द जेल भेज दिजिए।’ (यो त आकाशमा उड्ने डकैत हो हजुर, यहाँबाट पनि उड्न सक्छ। यसलाई छिटो जेल पठाइदिनुस्।)

थानेदारले पनि हाँस्दै भन्यो, ‘जब धर्ती मे हैँ, देखभाल करते रहिए।’ (जबसम्म धर्तीमा छ, हेरविचार गरिरहनुस्।)

विमान अपहरणकारी भएकाले म पत्रकारहरूका निम्ति समाचारको रोचक पात्र बनिसकेको थिएँ। त्यसैले अफिसअगाडि पत्रकारहरूको भीड रहेछ। त्यो देखेर हवल्दारले मलाई तुरुन्तै अफिसतिरै फर्कायो। थानेदार जङ्गिँदै निस्केर अनुमतिविना थानाभित्र पसेका पत्रकारलाई बाहिर पठायो। हवल्दारले बजरङ्गवलीको नाम लिँदै मलाई सेलमा बन्द गरेर गयो।

दिउँसो २ बजे खाना ल्याउने होटलको भाइले अखबारले छोपेर खाना ल्यायो। मैले पत्रिका पल्टाएर मिति हेरेँ, ११ जुन अर्थात् आजैको रहेछ। सेलमा अखबार पढ्न मनाही भएकाले पहिले पत्रिका लुकाएँ अनि बल्ल खाना खाएँ। खाइसकेपछि सुत्ने ओछ्यानमा पल्टिएर पत्रिका हेरेँ, मुख्य समाचार मेरैबारे रहेछ, ‘३० लाख हवाई डकैतीका सरदार गिरफ्तार।’

भित्र समाचारमा भने यथार्थ विवरण थिएन। तीन वर्षपहिले नेपालबाट हवाई अपहरण हुँदा ३० लाख भारतीय रुपैयाँ जहाजबाट डकैती भएको र त्यसको मुख्य अभियुक्त नेपालीलाई वाराणसी पुलिसले सुराकीका आधारमा समातेको खबर मात्र लेखेको थियो, त्यसको राजनीतिक पाटो उल्लेख थिएन। त्यसबेला भारतमा आपत्काल लागेकाले समाचारहरू सरकारी निगरानीमा छापिने गरेका थिए।

मलाई अब प्रदीप गिरीलाई पनि समाउने भए भन्ने डर लागिरहेको थियो। म पक्राउ पर्दा शिव कङ्गाल पनि त्यही डेरामा थिए। धन्न प्रदीपजीले थाहा पाउनु भएछ र तुरुन्तै गएर बीपीलाई सुनाउनु भएछ। बीपी बनारसबाट दिल्ली जानुभएछ। प्रदीप गिरी पनि दिल्ली जानुभएछ। पछि जेलमा मैले के बयान दियो भनेर सोध्न मानिसहरू आए। मैले बीपीको नाम नलिएको बताएपछि बल्ल उहाँलाई शान्ति भएको थियो।

भारतीय गुप्तचरहरूले मलाई दुई घन्टा बयान लिँदा बीपी कोइरालाको मात्र नाम लिइरहे, अपहरणका हर्ताकर्ता गिरिजाप्रसादको एकपटक पनि नाम लिएनन्। राति सुत्ने बेला सोचविचार गर्दागर्दै दिल्लीमा चन्द्रशेखरजीले भारत प्रवासमा बसेका बीपीले अब नेपालमा हिंसाको राजनीति गर्न नपाउने अवस्थाको सिर्जना हुँदै छ भनेको कुरातर्फ मेरो ध्यान गयो। मेरो गिरफ्तारीको माध्यमबाट बीपी कोइरालालाई हवाई अपहरणजस्तो गम्भीर आतङ्ककारी कार्यमा संलग्न भएको मुद्दा स्थापित गर्ने मनसायका साथ गुप्तचरहरूले मसँग सोधपुछ गरेको सहजै अनुमान गर्न सकिन्थ्यो।

पुलिस थानाको तेस्रो दिन बिहान पनि बूढो हवल्दार ८ बजेतिर अखबार हातमा लिँदै मेरो सेलको नजिक आएर ‘जय बजरङ्गवली !’ भन्दै चिया मगायो र त्यस दिनको अखबारमा पनि मेराबारेमा अनुसन्धान भइरहेको र अपहरणकारीको नाम दुर्गा सुवेदी भएको सुनायो। त्यसपछि उसले फेरि मजाक गर्दै भन्यो, ‘काशीका द्विवेदी ब्राह्मण नेपाल गएर आफूलाई सुवेदी भन्न थालेछन्। नेपालको सीमानजिक विहारमा गएर उनीहरू त्रिवेदी भएका छन्। ब्राह्मणहरू साँच्चै अवतारी हुन्छन्। तपाईंले हिजोको कुराकानीमा आफूलाई राजेन्द्र विष्ट बताएर आफ्नो जात पनि लुकाउनुभएछ, कमसेकम राजेन्द्र द्विवेदी भनेको भए जात त जाने थिएन।’

दिउँसो ३ बजे फेरि त्यो बजरङ्गवली हवल्दार आयो। मलाई अफिसको भित्री कोठामा पुर्‍यायो। कोठामा बसेका दुई जना खादीधारीसँग थानेदारले मेरो परिचय क्रान्तिकारी नेपालीका रूपमा गरायो, ‘हामीले उहाँलाई हवाई अपहरण र डकैतीको मुद्दा चलाउने बयान प्रारम्भ गरेका छैनौँ। अन्तर्राष्ट्रियस्तरको अपराध भएको हुनाले केन्द्रीय अनुुसन्धान विभागको पनि राय–सल्लाहपछि मात्र मुद्दा स्थापित गर्ने प्रक्रिया चलिरहेको छ।’

यति भनेर थानेदार आफ्नै कोठातिर लाग्यो। आफूलाई भारत सरकारको अन्तर्राष्ट्रिय पुलिस विभाग (इन्टरपोल)को पदाधिकारी बताउने खादीधारीले झोलाबाट रातो रिबनले बाँधेको फाइल निकाल्यो। त्यसमा नेपाल पुलिसले १९७३ जुन महिनामा तयार पारेको शाही नेपाल वायुसेवा निगमअन्तर्गतको जहाज अपहरण गरी ३० लाख भारु लुट्ने तीन जनाको व्यक्तिगत विवरण उल्लेख थियो। उसले सबै विवरण पढेर सुनाएपछि तत्कालै अर्को व्यक्तिले तत्सम्बन्धमा मसँग प्रश्न गर्न थाल्यो।

मैले त्यस फाइलमा उल्लेख भएका विषय मसँग सम्बन्धित नभएको बताएपछि फाइल बन्द गर्दै भन्यो, ‘हामीलाई प्राप्त जानकारीकै आधारमा भारतमा तपाईंलाई गिरफ्तार गरिएको छ। यो राजनीतिक उद्देश्यले भएको अपराध हो भन्ने कुरा नेपाल सरकारलाई थाहा हुँदाहुँदै पनि उसले घटनालाई राजनीतिक रङ दिन चाहेको छैन। तपाईंलाई भारत सरकारले अपहरणको मुख्य अभियुक्तका रूपमा नै गिरफ्तार गरेपछि अन्तर्राष्ट्रिय आतङ्ककारी कानूनअनुसार नेपाल फर्काइदिनुपर्ने कूटनीतिक कुरा चलिरहेको छ। तपाईंलाई थाहै होला, केही समयपहिले नेपालका प्रधानमन्त्री तुलसी गिरी भारत भ्रमणमा आएका थिए। नेपाल फर्काएर मुद्दा चलाउँदा तपाईंले बीपी कोइरालाको निर्देशनमा कार्य सम्पन्न गरेको हो भन्ने कुरालाई नेपाल पुलिसले जसरी भए पनि साबित गराउने छ। त्यसपछि तपाईंका नेता बीपी कोइरालाजीलाई पनि आतङ्ककारी कानूनअन्तर्गत नेपाल फर्काउने परिस्थिति निर्माण हुनेछ। त्यसैले तपाईं भारतमै गिरफ्तार भएका बेला कसको प्रयासबाट कसरी अपहरण गरी धन लुटिएको हो भन्ने साबिती बयान दिँदा तपाईंलाई भारतले नेपाल फर्काउने कुरा कानूनी रूपले विवादित भई अदातल पुग्न सक्छ। त्यसतर्फ सोच–विचार गरेर भारतमै मुद्दा स्थापित गर्नेतर्फ तपाईंको ध्यान जाओस् भनेर सम्झाउन हामी आएका हौँ।’

भारतीय पुलिस अधिकारीहरू बीपीसँग मेरो सम्बन्ध स्थापित गर्न लागिपरेका थिए। त्यसनिम्ति मलाई निकै धम्की पनि दिए। तर, मैले केही प्रतिक्रिया जनाइनँ। त्यसपछि अर्को व्यक्तिले उठेर भन्यो, ‘ठीक छ। तपाईं यसरी आफ्नो अपराध लुकाउने प्रयासमा लागिरहनुभयो भने भारतीय पुलिसले आफ्नै तरिकाले तपाईंको बयान लिनेछ। तर, तपाईंले त्यस्तो यातना भोग्नेतर्फ किन लाग्ने? राजनीतिक उद्देश्यबाट अभिप्ररित भएर यत्रो वीरता र बलिदानको काम गर्ने मानिसले कायरजस्तो भएर कुरा लुकाउँदा आत्मग्लानि हुँदैन? भगत सिंहजस्तो भएर आफ्नो वीरतालाई स्वीकार गरेर पनि त भारतबाटै नेपाल सरकारलाई चुनौती दिन सक्नुहुन्छ।’

मलाई पगाल्ने, सुर्‍याउने, फकाउने र थर्काउने अनेक कुरा गरेर उनीहरू थानेदारको कोठातिर लागे। १० मिनेटपछि बजरङ्गवलीले मलाई थुनुवाहरूलाई केरकार गर्ने कोठामा पुर्‍यायो। पुलिसकै बर्दीमा क्यामेरा बोकेको मानिस भित्र आयो। हवल्दारले ‘जय बजरङ्गवली’ भन्दै मेरो छातीमा हवाई अपहरणकारी दुर्गा सुवेदीको बिल्ला लगाइदियो। त्यहाँ तीन–चार पोजको फोटो लिने कामपछि मलाई सेलमा लगेर बन्द गरियो।

इन्टरपोलका मानिसहरूले मलाई सुनाएको कुराले मेरो मनमा अनेकौँ तरङ्ग ल्यायो। राति १२ बजेसम्म के गर्ने, के नगर्ने द्विविधाले म छटपटाइरहेँ। मैले साबिती बयान दिएर बीपीको नाम लिए पनि उहाँले स्वीकार गर्ने सम्भावना छैन। परिणमस्वरूप मैले मात्रै सजाय भोग्नुपर्ने हुन्छ। यसरी नेपाल फर्काउने डरले भारतमै जेल बस्ने निर्णय गर्दा मेरो जीवन निरर्थक साबित हुनेछ। अपराधीका रूपमा भारतमा आजन्म कारावास भोगेर आत्मग्लानिका साथ मर्नुभन्दा बरु नेपालै फर्काउँदाको परिणामले सार्थकता पाउनेछ। त्यसैले साबिती बयान नदिने मन बनाएर म शान्तिसँग सुतेँ।

(विमान विद्रोहबाट)

लोकप्रिय

सार्वजनिक ऋण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

सार्वजनिक ऋण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

२०७६, १३ फाल्गुन मंगलवार १७:४८

घुस लिएको अभियोगमा मुद्दा

घुस लिएको अभियोगमा मुद्दा

२०७६, १२ फाल्गुन सोमबार २०:३६

प्रेमगीत ३ काे गीत ‘हाती ढुङ्गामा’ चोरीको !

प्रेमगीत ३ काे गीत ‘हाती ढुङ्गामा’ चोरीको !

२०७६, १४ फाल्गुन बुधबार १४:१८

ओमानका क्रिकेटर युसुफलाई आइसीसीले लगायाे ७ वर्ष प्रतिबन्ध

ओमानका क्रिकेटर युसुफलाई आइसीसीले लगायाे ७ वर्ष प्रतिबन्ध

२०७६, १२ फाल्गुन सोमबार १२:५९

विश्व-११ विरूद्ध खेल्ने एसिया–११ टिममा सन्दीप लामिछाने छनाेट

विश्व-११ विरूद्ध खेल्ने एसिया–११ टिममा सन्दीप लामिछाने छनाेट

२०७६, १३ फाल्गुन मंगलवार १६:११

राति एक गिलास दुध सेवन गरेमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने

राति एक गिलास दुध सेवन गरेमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि…

२०७६, १२ फाल्गुन सोमबार १२:३७

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा पत्रकार धमला दम्पतिले गरे आर्थिक सहयोग

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा पत्रकार धमला दम्पतिले गरे आर्थिक सहयोग

२०७६, १२ फाल्गुन सोमबार १०:३०

रक्सीको नसामा आफ्नै पतिले जुवाकाे खालमा राखेपछि पत्नीकाे सामूहिक बलत्कार

रक्सीको नसामा आफ्नै पतिले जुवाकाे खालमा राखेपछि पत्नीकाे सामूहिक बलत्कार

२०७६, १२ फाल्गुन सोमबार १७:५७

विवाहको दिन यौनसम्बन्ध राख्नु सहि कि गलत? के भन्छन् साइकोलोजिस्ट?

विवाहको दिन यौनसम्बन्ध राख्नु सहि कि गलत? के भन्छन् साइकोलोजिस्ट?

२०७६, १३ फाल्गुन मंगलवार १३:१०

अक्षय कुमार र कट्रिनाकाे फिल्म ‘सूर्यवंशी’ काे रिलिज मिति तय

अक्षय कुमार र कट्रिनाकाे फिल्म ‘सूर्यवंशी’ काे रिलिज मिति तय

२०७६, १२ फाल्गुन सोमबार १७:०१

सुनचाँदिकाे मूल्यमा गिरावट

सुनचाँदिकाे मूल्यमा गिरावट

२०७६, १४ फाल्गुन बुधबार १३:५४

खैरो हेरोइनसहित युवती पक्राउ

खैरो हेरोइनसहित युवती पक्राउ

२०७६, १२ फाल्गुन सोमबार ०९:०७

ग्रेटवालको झल्को दिने गरी मुकुन्देश्वरीमा पदमार्ग निर्माण हुँदै

ग्रेटवालको झल्को दिने गरी मुकुन्देश्वरीमा पदमार्ग निर्माण हुँदै

२०७६, १२ फाल्गुन सोमबार ०७:३६

काठमाडौंबाट रेड पाण्डाको छाला सहित चार जना पक्राउ

काठमाडौंबाट रेड पाण्डाको छाला सहित चार जना पक्राउ

२०७६, १३ फाल्गुन मंगलवार १७:४३

अलपत्र हुलाकी सडकखण्ड अघि बढाउन माग

अलपत्र हुलाकी सडकखण्ड अघि बढाउन माग

२०७६, १४ फाल्गुन बुधबार १५:१४