काठमाडौँ – गत असार २५ गतेदेखि निष्कासन भएको हिमाल दोलखा हाइड्रो पावर कम्पनी लिमिटेडको साधारण शेयर (आईपीओ) यही साउन २४ गतेसम्म मात्र निष्कासन खुल्ला गरिएको छ। कम्पनीले सर्वसाधारणका लागि छुट्याएको ७४ लाख ९३ हजार ७ सय ६६ कित्ता शेयर उक्त मितिसम्म निष्कासन गर्ने शुक्रबार एक कार्यक्रमको आयोजना गरी जानकारी गराएको हो।

कम्पनीले निष्कासन गरेको उक्त आईपीओमध्ये १ लाख ५३ हजार ४ सय ४४ कित्ता शेयर कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ भने २५ हजार कित्ता सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिएको छ।

कार्यक्रममा आगामी आर्थिक वर्षदेखि नै कम्पनी नाफामा गई शेयरधनीहरूलाई लाभांश दिन सक्ने भएको हुँदा कम्पनीको उक्त आईपीओमा लगानी गर्ने सर्वसाधारण लगानीकर्ताहरूका लागि राम्रो अवसर रहेको दाबी कम्पनीले गरेको छ । प्रतिशेयर रू. १ सय अंकित दरको उक्त आईपीओ न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीले बताएको छ। कम्पनीले आईपीओबाट आउने रकम बैंकको कर्जा तिर्न उपयोग गरिने जानकारी दिएको छ।

कम्पनीले प्रवर्द्धन गरेका माई खोला साना जलविद्युत आयोजना (४.५ मेगावाट) २०६७ साल चैत १ गतेदेखि र माई खोला साना क्यास्केड जलविद्युत आयोजना (८ मेगावाट)ले २०७४ साल वैशाख २६ गतेदेखि व्यापारिक उत्पादन दिइरहेका छन्।

लोकप्रिय