प्रसिद्ध गीतकार/कवि नगेन्द्र थापा (२००२) नेपाली गीत/सङ्गीतलाई दार्जिलिङसँग समन्वय गरी उचाइमा पुर्‍याउने एक अविस्मरणीय व्यक्तित्व हुनुुहुन्छ। उहाँका ‘प्रतिमा’ (२०१९) कविता सङ्ग्रह, ‘सिन्कौली माया’ (२०२३) मुक्तक सङ्ग्रह र ‘गोपालको बाँसुरी’ (२०२४) गीत सङ्ग्रह प्रकाशित छन्। यसरी नै ‘हाम्रो प्रीति बस्यो रे’ (२०२३) गीति एल्बम म्युजिक नेपालको सङ्कलनमा प्रकाशित रहेको छ। गीतकार थापाले विशेषगरी गोपाल योञ्जन र नारायणगोपालसँगको अनुकरणीय सहकार्यबाट नेपाली गीत/सङ्गीतका क्षेत्रमा पुर्‍याएका प्रत्यक्ष र परोक्ष योगदानका विषयमा नेपाली पब्लिकका लागि डा. गीता त्रिपाठीले गरेको कुराकानी यहाँ प्रस्तुत छ:

तपाईंको कविता र गीत रचनाको यात्रा कहिले र कसरी प्रारम्भ भएको हो?

– मैले दार्जिलिङ जानुअघि नै कविता लेखेँ तर गीत लेखिनँ। नेपालमा २०१८/१९ सालतिरै रुपरेखामा मेरा कविताहरू प्रकाशित भइसकेका थिए। कविहरू द्वारिका श्रेष्ठ, उपेन्द्र श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ र मदन रेग्मीसँगको समूहमा हामी कविता सिर्जनामा समर्पित थियौँ। अझ भनौँ उनीहरू कवि थिए, म तिनका पछि लाग्थेँ। खासमा सङ्ख्यात्मक योगदान हेर्दा म त्यस्तै देखिन्छु पनि ! तर गीत चाहिँ मलाई दार्जिलिङको परिवेश र गोपाल योञ्जनसँगको मित्रताले नै लेखाएका हो। त्यो त्यही सन् १९६२/६३ को समय थियो, जब मैले गीत लेखन प्रारम्भ गरेको थिएँ। नगेन्द्र थापा पनि गीत लेख्छ, थोरै भए पनि लेखेको छ भनेर डाक्टर साब यहाँसम्म आउनुभयो, यो तहमा मलाई पुर्‍याउने गोपाल योञ्जन नै हो।

गोपाल योञ्जनको वार्षिक पुण्य तिथि यही साउनको ३० गते परेको छ, यस स्मृतिको घडीमा गोपाल योञ्जनलाई कसरी सम्झनुहुन्छ?

– यसको जवाफ म पछाडिबाटै शुरु गर्छु अनि अघि जान सजिलो होला कि ! त्यतिबेरसम्म, गोपाल बित्दाखेरि वा बित्ने–बित्ने बेलासम्ममा पनि मैले उसलाई रचनाकार, सङ्गीतकार र गायकका रूपमा हेर्दै हेरिनँ। उसलाई मैले नितान्त मेरो अभिन्न र आत्मीय साथीका रूपमा मात्र हेरेँ। त्यो एउटा स्टेज हुँदोरहेछ, जति बेलासम्म गायन, कम्पोज वा लेखनका पक्षले काम गर्दो रहेछ, ठाउँ लिँदो रहेछ र फेरि एउटा स्टेजमा आएपछि ती कुरा गौण भएर जाँदा रहेछन्, त्यो बेला त झन् साइनोको कुरो, आत्मीयताको कुरो र मित्रताको कुरो मात्रै आउँदो रहेछ, म नारायणगोपाल र गोपाल योञ्जनका अन्तिम अन्तिम फेजमा ती दुई जना केही नभइदिएका भए पनि ती मेरा अत्यन्त आत्मीय र अभिन्न साथीका रूपमा नै हुने थिए। म तिनलाई त्यसरी नै सम्झन चाहन्छु यतिखेर चाहिँ।

तपाईंको दार्जिलिङको बसाइ कति लामो रह्यो? र, त्यो समयको दार्जिलिङको परिवेश कस्तो थियो?

– म अध्ययनका सिलसिलामा दार्जिलिङ पुगेको थिएँ। २०१९ सालदेखि २०२४ सालसम्म म त्यहाँ रहेँ। मैले हाइस्कुल, प्रि युनिभर्सिटी र कलेजको स्नातकसम्मको पढाइ दार्जिलिङमै पूरा गरेर आएको हुँ। म र गोपाल सँगै पढ्थ्यौँ नर्थ प्वाइन्ट सेन्ट जोसेफ कलेजमा। म त्यतिबेला चाहिँ अलि परिचित अनुहार भइसकेको थिएँ, दार्जिलिङमा। गोपाल योञ्जन मेरो सहपाठी थियो। उसको र मेरो मित्रता अत्यन्तै गहिरो बन्दै गयो। त्यसबेलाको दार्जिलिङ झकिझकाउ थियो। चाहे गीत/सङ्गीतमा होस्, चाहे साहित्यमा होस् ! साहित्यमा तेस्रो आयाम शुरु भइसकेको थियो। त्यो एकदम आफ्नो चरम्मा थियो त्यतिबेला। र, गीतमा त अम्बर गुरुङ, गोपाल योञ्जन, कर्म योञ्जन, शरण–रञ्जित, अब गायिकामा शान्ति ढटाल, अरुणा लामा, दिलमाया खाती, गीत रचनामा अगमसिंह गिरी आदि। काठमाडौँका तुलनामा त्यसबेलाको दार्जिलिङ त कला साहित्यको माहोलले एकदमसँग झकिझकाउ थियो। म जाँदै सूर्यबहादुर थापाको भाइ भन्ने पनि अलि अलि गाइँगुइँ चर्चा भइसकेको रहेछ। यसरी पनि चिनिएको थिएँ तर त्योभन्दा बढी मैले त्यहाँका कवि गोष्ठीहरूमा भाग लिएर दुईचारवटा पुरस्कार जितिसकेको थिएँ।

गोपाल काठमाडौँ आउनुभन्दा पहिल्यै चिनिइसकेको थियो। नारायणगोपालका आठवटा प्रमुख गीत तिम्रो जस्तो मुटु मेरो पनि, सँगाल घुम्टोहरू लगायतका आठ उत्कृष्ट गीत हामी काठमाडौँ आउनु केहीपूर्व रत्न रेकर्डिङले रेकर्ड गरेर गोपाल चिनिइसकेका थिए। यी गीत लिन नारायणगोपाल दार्जिलिङ नै आएका थिए। कलामन्दिरमा गोपालले ६०/७० वटा गीत अघि राखिदिएको थियो।

त्यो हिसाबले र अर्को सौभाग्यको कुरा चाहिँ के थियो भने गोपाल र म चाहिँ अति चाँडो साथी भयौँ। यसकारण म जुन जुन कवि गोष्ठीमा जान्थेँ, गोपाल पनि ती कवि गोष्ठीमा मसँगै जान्थ्यो। त्यसबेला धेरैजसो त मुक्तक नै लेखियो। खासगरी त्यसबेलाको उमेर, त्यहाँको परिवेश र त्यहाँका किशारीहरू सबैका अभिरुचिले मुक्तकतिर धेरै आकर्षित भइयो। यसले गर्दा मायाप्रेमका कुरा नै धेरै लेखियो। यो सबै कारणले गोपालले मलाई तपाईं राम्रो गीत लेख्नसक्नुहुन्छ, लेख्नुहोस् न भनेर प्रेरित गरिरहन्थ्यो। यसै समय हामी कलामन्दिर बारम्बार गइरहन्थ्यौँ। गोपालले नै लगेको हो मलाई कला मन्दिरमा। त्यस साङ्गीतिक परिवेशमा गोपाल मलाई गीत लेख्न उक्साइरहन्थ्यो, म टारिरहन्थेँ। विन्टर भ्याकेसनमा म काठमाडौँ आउँथेँ र आमा या दाइलाई भेटेर पाँच–सात दिन बसेर फेरि फर्किन्थ]। अनि बचेको त्यो बिदामा कलामन्दिरमै हामी साङ्गीतिक अभ्यासमा समय बिताउँथ्यौँ। यस्तै बिदाको एक समय गोपालले मलाई गीत लेखाएरै छाड्यो।

गोपाल योञ्जनलाई काठमाडौँ ल्याउन कस्तो प्रयास गर्नुभयो र कसरी सफल हुनुभयो?

– त्यताको पढाइ सकेर काठमाडौँ आएपछि मलाई गोपाललाई काठमाडौँ ल्याउनुपर्छ भन्ने लागिरह्यो। मित्रताको कुरा त छँदै थियो, म उसबाट अलग हुनै सक्दैन थिएँ, अर्को गोपालको कलाको मलाई राम्रो पहिचान थियो। उसका निम्ति दार्जिलिङको परिवेश यथेष्ट छैन भन्ने मलाई लागिरहन्थ्यो। यसबीचमा मैले चिठ्ठी आदानप्रदानबाट गोपालसँग उसको चाहना बुझेँ। ऊ पनि नेपाल आउन राजी भएको थियो। अनि बल्ल म दार्जिलिङ गएँ। सबैभन्दा गाह्रो चाहिँ आमालाई कन्भिन्स गर्नुमा थियो। त्यस्ता स्वीकृति लिनुपर्दा म पहिले प्रतिमा दिदी (गोपाल योञ्जनकी दिदी)सँग कुरा मिलाउँथेँ, त्यसपछि मैले आमासँग कुरा राख्दा उहाँले प्रतिमा दिदीसँग सोधेर मात्र स्वीकृति दिने गर्नुहुन्थ्यो। यो पटक सौभाग्यवश प्रतिमासँग नसोधीकनै सहजसँग स्वीकृति दिनुभयो। ‘बाबुले भनिसकेपछि के भो र, लैजानुहोस्। बाबुसँग हुँदा ऊ सुरक्षित हुन्छ, मलाई यत्ति थाह छ’ भन्नुभयो र गोपाललाई लिएर म काठमाडौँ आएँ।

काठमाडौँ आएपछिका शुरुका दिनहरू कस्ता रहे?

– अलिक दिन त भिड्नुपर्‍यो। जागिर थिएन, केही थिएन। कर्म योञ्जनकी आफ्नै दिदी हुनुहुन्थ्यो, केही दिन त्यहीँ बस्नुभयो, दिदी भिनाजुसँगै। भिनाजु सडक विभागमा इन्जिनियर हुनुहुन्थ्यो, थापाथलीमा बस्थे। मैले चाहिँ यता दाइ प्रधानमन्त्री हुनुभएको कारण र ज्ञानेन्द्रबहादुर कार्की शिक्षामन्त्री हुनुभएकाले गोपाललाई स्कलरसिपमा नेपाली पढ्ने व्यवस्था मिलाउन सजिलो भयो। स्कलरसिप भएपछि गाोपाल नेपाली पढ्न थाल्यो। सेन्ट मेरिज र सेन्ट जेभियरमा सङ्गीत पढाउने नोकरी पनि पायो उसले।

काठमाडौँमा आएपछि गोपाल योञ्जन भनेर चिनाउने गीतहरू कुन कुन थिए?

– गोपाल काठमाडौँ आउनुभन्दा पहिल्यै चिनिइसकेको थियो। किनभने, नारायणगोपालका आठवटा प्रमुख गीत तिम्रो जस्तो मुटु मेरो पनि, सँगाल घुम्टोहरू लगायतका आठ उत्कृष्ट गीत हामी काठमाडौँ आउनु केहीपूर्व रत्न रेकर्डिङले रेकर्ड गरेर गोपाल चिनिइसकेका थिए। यी गीत लिन नारायणगोपाल दार्जिलिङ नै आएका थिए। कलामन्दिरमा गोपालले ६०/७० वटा गीत अघि राखिदिएको थियो। नारायणगोपालले तिनैबाट आठवटा छानेर लिएका थिए र कोलकातामा ती गीत रेकर्ड भएका थिए। हामी पढाइ सकेर काठमाडौँ फर्किनुअघि नै उसका ती गीतहरू अत्यन्त लोकप्रिय भइसकेका थिए। तीमध्ये पनि उसको ‘तिम्रो जस्तो मुटु मेरो पनि’ गीतले त नेपाली साङ्गीतिक क्षेत्रमा तहल्कै मच्चाइसकेको थियो।

यसबाट कलाकी देवी असाध्यै रिसाएर माकुरो हुनुपरोस् भन्ने सराप दिन्छे। यस्तो सराप पाउँदा पनि ती अराग्नीको कलात्मकता आजसम्म बाँचेको छ भन्ने अर्थमा अराग्नी चाहिँ गोपाललाई बनाएको थिएँ, प्रमिथियस चाहिँ नारायणलाई बनाएको थिएँ। यही लेखमा मैले ‘स्वरसम्राट तिम्रो पनि पेट छ भन्ने कुरा यहाँका मन्त्री र सचिवहरूलाई थाहा भएन’ भनेर लेखेको छु।

नेपाली गीतलाई अकस्मात् यस्तो चर्चामा ल्याइपुर्‍याउने व्यक्तित्व काठमाडौँमा आएकामा तपाईंको साङ्गीतिक माहोलले चाहिँ उहाँलाई कस्तो स्वागत गर्‍यो?

– त्यसबेला त माहोल भनेको रेडियो नेपाल मात्रै त थियो। रेडियो नेपालको माहोल भनेको त इर्ष्याको माहोल न हो त्यसबेला। दरबारले कन्ट्रोल गरेको, दरबारले राखेका मान्छेहरू, फेरि त्यहाँ जो छन्, तिनीहरू आफू मात्रै गर्ने, सकभर अरूलाई प्रवेश नदिने। अब नारायणगोपाल जत्तिको तहका गायकका लागि त वर्षमा दुई/तीनवटा, म्याक्सिमम चारवटा गीत रेकर्ड कोटामा पर्थ्यो।

तपाईंले काठमाडौँमा आएपछि मितज्यू नाइटको परिकल्पना कसरी गर्नुभयो?

– वास्तवमा यो ती दुई जनालाई चिनाउन भनेरै आयोजना गरिएको हो। दार्जिलिङमा मित लगाइयो। त्यो कुरा नेपालमा थोरैलाई मात्र थाहा थियो। यसरी नै नारायणगोपाल गायक भएकाले उनलाई गीत/सङ्गीतका अलि धेरैले चिन्थे तर गोपाललाई चिन्नेको सङ्ख्या अत्यन्त लिमिट थियो। गीत/सङ्गीतको नराम्रो पक्ष भनेकै सिर्जना गर्नेलाई चिनिने मौका नहुनु हो। स्रष्टा जहिले पनि पृष्ठभूमिमै छोडिन्छ। पहिले गीत स्रष्टा, त्यसपछि सङ्गीत स्रष्टा र अनि सङ्गीत निर्देशकको भन्दा फरक र मौलिक पनि गर्नसक्ने भए सिर्जनशील गायकसम्मको सहकार्य यसमा हुने हो। तर, गोपालले उस्तो मौका पाइरहेको थिएन। त्यसैले मैले चाहिँ के विचार गरेँ भने एकचोटि एउटा धुवाँदार कार्यक्रम गरी गोपाल र नारायणको मितेरी सम्बन्धका साथै उनीहरूको क्वालिटी यो पनि हो भनेर देखाउन सकिन्छ र त्यसै योजनाअनुसारको ‘मीतज्यू नाइट’ कार्यक्रम पनि भयो।

कार्यक्रममाथि कस्तो प्रतिक्रिया पाउनुभयो?

– ओहो, एकदमै सफल भयो। यसलाई व्यवस्थित गर्नका निम्ति मैले त्यसको कार्यक्रम तालिका मात्र होइन, बरु कार्यक्रम पुस्तिका नै तयार पारेको थिएँ। अलिकति फरक ढङ्गले सोच्यो भने कार्यक्रम भव्य होला भनेरै मैले यस्तो बुकलेट तयार पारेको थिएँ। यसमा कलाकारहरूको सबै सूचना, विवरण र आवश्यक विश्लेषण पनि थियो। यसमा जे प्रस्तुत गरिएको थियो, त्यहाँ त्यही मात्रै प्रस्तुत गर्ने व्यवस्था मिलाइएको थियो। यस कार्यक्रममाथि पारिजातले पनि समीक्षा लेख्नुभएको थियो। त्यसबेला लेख्ने मानिस अत्यन्त कम भएकाले म आफैँ पनि यस्ता विषयमा विभिन्न नामबाट समीक्षा लेख्थो र छपाउँथेँ।

यति भव्य कार्यक्रम राजधानीमा भयो, राजपरिवार गीतसङ्गीतमा पहिलेदेखि नै उदार भाव राख्थे भनिन्छ, दरबारको उपस्थिति थियो त?

– अहँ, थिएन। आएनन्।

नारायणगोपाललाई स्वरसम्राट भनेर आम श्रोताले श्रद्धा गर्दै आएका छन्, उहाँको सम्मानमा प्रयुक्त यो शब्द उहाँका लागि उपयुक्त लाग्छ तपाईंलाई?

– नारायणगोपाललाई स्वरसम्राट भनेर लिखित रूपमै सम्बोधन गर्ने मलाई लाग्छ, पहिलो व्यक्ति नै मै हुँ। उनका निम्ति जागिर खोज्दा खोज्दा कहीँ नपाएर थाकेपछि मैले ‘धूपी’ (२०२७)मा ‘प्रमिथियसको आगो अराग्नीको धागो’ शीर्षकमा एउटा लेख नै लेखेँ। त्यसमा मैले दुईवटा ग्रीसेली मिथकको प्रसङ्गबाट आफ्नो भनाइ राखेको छु। प्रमिथियसका बारेमा त धेरैलाई थाहा छ, पाठकले अराग्नीको धागो चाहिँ नसुनेको हुनसक्छ। यो कस्तो छ भने एकपटक एउटी कलाकी देवीले वाक् प्रतियोगिता गराउँदा अराग्नीले स्वयं देवीलाई नै जित्छिन्। यसबाट कलाकी देवी असाध्यै रिसाएर माकुरो हुनुपरोस् भन्ने सराप दिन्छे। यस्तो सराप पाउँदा पनि ती अराग्नीको कलात्मकता आजसम्म बाँचेको छ भन्ने अर्थमा अराग्नी चाहिँ गोपाललाई बनाएको थिएँ, प्रमिथियस चाहिँ नारायणलाई बनाएको थिएँ। यही लेखमा मैले ‘स्वरसम्राट तिम्रो पनि पेट छ भन्ने कुरा यहाँका मन्त्री र सचिवहरूलाई थाहा भएन’ भनेर लेखेको छु।

गोपाल योञ्जनले पनि कहिल्यै आफ्नो गीत गाउन अनुरोध नगरेको, नारायणले पनि म गाउँछु नभनेको। भेट्दाखेरी चाहिँ यी दुईका बीचमा मनोमालिन्य होला भनी कल्पनै गर्न नसकिने। ती सधैँ त्यत्तिकै जिस्किने, हँसिमजाक गर्ने। ती दुईले त्यति नै अन्तरङ्ग भएर अरूसित हाँसिमजाक गरेको त मैले देखेकै छैन। बाहिरबाट हेर्दाखेरि त यी ठट्टा पनि गर्छन् र भन्ने लाग्थ्यो तर ती दुई जना बसिसकेपछि चाहिँ अत्यन्त ठट्टाको माहोल बन्थ्यो।

गोपाल योञ्जनको दार्जिलिङमा हुँदाको सिर्जनशीलता र काठमाडौँमा आएपछिको सिर्जनशीलताबीच केही भिन्नता पाउनुभयो?

– भिन्नता त केही भएन, झनै माझिएरै गएको थियो। पढ्नेलेख्ने मान्छे कल्पनाशील त छँदैथियो, सिर्जनशीलता छँदैथियो। दश जना सङ्गीतका मान्छेसँग रियाक्सन गर्दाखेरि गोपालका चेलाचपाती नै धेरै भेटिन्थे। त्यसबेलाका मेरा आत्मीय साथीहरू दुई जनाका विशिष्टता के थियो भने तिनले धेरैको सङ्ख्यामा आफ्ना चेलाचपाती जन्माएर फैलाएका थिए। त्यसमा गोपाल योञ्जन र नृत्यका ज्ञाता चतुर्भुज आशावादी हुन्। यति धेरै प्रशिक्षणमा जुटिरहँदा उसको त खारिएरै गयो नि ! हो, बित्नुभन्दा ५/७ वर्ष अघिदेखि चाहिँ उसको सिर्जनशीलतामा कमी आएको थियो। त्यसको कारण चाहिँ स्टुडियो खोलेर आफ्ना सारा डिप्रेसन उसले त्यही स्टुडियोमा लगेर हालेका थियो। यसबारे गोपालसँग धेरै कुरा गरेँ पनि। यो तिम्रो क्षेत्रै होइन, एउटा टेक्निसियन राख, कहाँ अब तिमी त्यो मिसिनहरू चलाएर, किबोर्ड चलाएर साउन्डको सिस्टम हेरेर कति बसिराख्ने ! तर, उसले सुनेन। बिहानदेखि रातिसम्म त्यसैमा जोतिन थाल्यो। त्यसले गर्दा ऊ डिप्रेस्ड हुँदै जान थाल्यो। अनि अर्को चरण त्यहीँबाट शुरु भयो। ऊ ड्रिङ्क्स लिन थाल्यो। बिहानदेखि नै, अरू ड्रिङ्क्स नलिने, भोड्का मात्रै खाने, एकैचोटि घट्घटी पनि होइन, अलि अलि गरेर तर धेरै नै खाने। अल्टिमेट्ली, त्यसैको सिकार भयो ऊ।

 (यो कुराकानीको सन्दर्भ यहाँ आइपुग्दा भने नगेन्द्र थापा आफ्ना अभिन्न मित्रको अवसान सम्झेर आँसु झारिरहनुभएको थियो।)

नारायणगोपालसँगको पनि दूरीको समय थियो कि त्यो?

– हो, दूरीको समय थियो। तर दूरी पनि कस्तो भने गोपाल योञ्जनले पनि कहिल्यै आफ्नो गीत गाउन अनुरोध नगरेको, नारायणले पनि म गाउँछु नभनेको। भेट्दाखेरी चाहिँ यी दुईका बीचमा मनोमालिन्य होला भनी कल्पनै गर्न नसकिने। ती सधैँ त्यत्तिकै जिस्किने, हँसिमजाक गर्ने। ती दुईले त्यति नै अन्तरङ्ग भएर अरूसित हाँसिमजाक गरेको त मैले देखेकै छैन। बाहिरबाट हेर्दाखेरि त यी ठट्टा पनि गर्छन् र भन्ने लाग्थ्यो तर ती दुई जना बसिसकेपछि चाहिँ अत्यन्त ठट्टाको माहोल बन्थ्यो।

उहाँको तीनवटा पाटा छन्, गीत, सङ्गीत र गायन। हजुरले नम्बरिङ गर्नुपर्‍यो भने कसरी गर्नुहुन्छ?

– मेरो नम्बरिङमा त ओभियस्ली गोपालको गायन तेस्रोमा पर्छ। ऊ मेरो मान्यतामा औसत गायक हो। त्यसमा कुनै शङ्कै छैन। अब यो सङ्गीतकार र गीतकारमा चाहिँ गोपाल कस्तो लाग्छ मलाई भने कतै उसको गीत हावी भएको हुन्छ सङ्गीत माथि, गीत धेरै माथि हुन्छ, कहिलेकाहीँ यस्तो भएको छ, उसको गीतकार पक्षलाई सङ्गीतकार पक्षले जितेको छ। त्यसकारण गोपालको गीत र सङ्गीत दुइटै प्रथम हो, उसको सेकेन्ड चाहिँ छैन।

तपाईंहरू दार्जिलिङमा सँगै रहेकै बेला गोपाल योञ्जनले धेरै राष्ट्रिय गीत लेख्नुभएको अध्ययनले देखाउँछ, यसको कारण के होला?

– हो, ऊ नेपालप्रति ज्यादै राम्रो विचार भएको मान्छे हो। ऊ एकदम सच्चा नेपाली हो। त्यसमा म निसन्देह रहेको छु। शङ्कै छैन। र, उसको राष्ट्रियताको परिभाषा नै बेग्लै रहेको छ।

शब्द चाहिँ सल्लाह गरेर फेरबदल गरेका छौँ। कहीँ भाव पनि मिलाएका थियौँ, जस्तो कि सुगौली सन्धिको गीत। यसरी नै गोपालले एउटा गीतमा प्रयोग गर्नुभएको घुँघुरू वा नुपूर भन्ने शब्दलाई मैले पाउजू राख्न प्रस्ताव गरेको उहाँले स्वीकार्नुभएको थियो। पाउजू शब्द दार्जिलिङमा चलेको थिएन, यता मैले आमा र फुपूले बारबार भनेको सुनेकी थिएँ। मलाई पनि त्यो शब्द अत्यन्त लिरिकल लाग्यो र नेपालीपनले युक्त पनि।

तपाईंले रचना गर्नुभएको बिर्सेर फेरि मलाई नहेर जस्तो गीत, जसमा न प्रचलित छन्द, लय छ, न अनुप्रास नै, फेरि पनि त्यो लोकप्रिय भएको छ। यो गीत कसरी लेखियो? पहिले ट्युन अनि गीत रचना हो कि गीत पछि नै ट्युन गरिएको हो?

– यो स्यामुल्टेनियस्ली नै भएको हो। त्यसकारण पनि राम्रो भएको हो भन्ने मलाई लाग्छ। गोपालले नै अलिकति बेग्लै खालको मायाप्रीति वा वियोगसँग सम्बन्धित एउटा गीत गरौैँ न थापा भन्दाखेरि लौ बसौँ भनेर दुई जना मात्रै हिमालय कलामन्दिरको चिसो छिँडीमा कोइला बालेर बसेका थियौँ। ऊ म्युजिक कम्पोज गर्न थाल्यो र म गीत लेख्न थालेँ। फाइनल्ली यो गीत बन्यो। गोपालको सङ्गीत र कलामन्दिरको वातावरणले गर्दा जन्मिएको गीत हो यो।

तपाईंको ‘सँगाल घुम्टोहरू’लाई सर्वाधिक रोमान्टिक गीत भनेर पनि उल्लेख गरेको पाइन्छ, यसको लेखनकालका हिसाबले चाहिँ कस्तो समय थियो त्यो?

– मेरो पनि एकदमै रोमान्टिक उमेर र मुड थियो त्यतिबेला।

भाउजू आइसक्नुभएको थियो, त्यतिबेलै?

– भाउजू आएको भए त कहाँ रोमान्टिक हुनु (नगेन्द्र दाइ र मञ्जू भाउजू दुवै मज्जाले हाँस्नुभयो) ! यो गीत अलिकति रोमान्टिक अनुभूति नभईकन लेखेको गीत चाहिँ होइन। कल्पनाकै भरमा मात्र लेख्या होइन यो गीत !

यस्ता रोमान्टिक/शृङ्गारिक गीतलाई पनि संरचनागत कन्ट्रोल अर्थात् संयममा लेखेर यस्तो उचाइमा पुर्‍याउन कसरी सफल हुनुभयो?

– त्यसमा त हामी सतर्कै थियौँ। कुनै पनि अश्लील शब्दहरू पर्नु हुँदैन भन्नेमा हामी सचेत पनि थियौँ। सभ्य भाषामा आफूले अनुभव गरेका कुरा रोमान्टिक भएर पनि भन्न सकिन्छ भन्ने धारणा थियो। मेरो मात्र होइन, गोपालको पनि मेरोभन्दा धेरै मायाप्रीतिका गीत थिए तर उसको पनि यथार्थवादी छ, जस्तो कि अम्बरले अरुणाले गाएको गीतमा जून मात्र होइन, तारा झारिदिने कुरा गरेका छन्। गोपालले चाहिँ जुन तारा झार्न सक्दिन भनेका छन्। कस्तो यथार्थवादी छ उसको गीत। कुनै पनि गीत यथार्थभन्दा बाहिर गएर गोपालले लेखकै छैन।

सहकार्यमा गोपाल योञ्जनले लेख्नुभएको गीतका पङ्क्ति यहाँले मिलाइदिनुभएको त्यस्तो पनि कहीँ कतै भएको छ कि?

– पङ्क्ति चाहिँ होइन, शब्द चाहिँ सल्लाह गरेर फेरबदल गरेका छौँ। कहीँ भाव पनि मिलाएका थियौँ, जस्तो कि सुगौली सन्धिको गीत। यसरी नै गोपालले एउटा गीतमा प्रयोग गर्नुभएको घुँघुरू वा नुपूर भन्ने शब्दलाई मैले पाउजू राख्न प्रस्ताव गरेको उहाँले स्वीकार्नुभएको थियो। पाउजू शब्द दार्जिलिङमा चलेको थिएन, यता मैले आमा र फुपूले बारबार भनेको सुनेकी थिएँ। मलाई पनि त्यो शब्द अत्यन्त लिरिकल लाग्यो र नेपालीपनले युक्त पनि। त्यताको लेखाइमा हिन्दीको धेरै प्रभाव आउने हुँदा गोपालका गीतमा सकेसम्म नेपाली शब्द वा नेपालीसँग सामीप्य राख्ने शब्द प्रयोग गर्नमा सहकार्य थुप्रै ठाउँमा भएको छ।

गीतमा विमर्श हुने परम्परा थियो भनिन्छ त्यसबेला। यहाँका समकालीन गीतमा स्तरीयताका निम्ति केले भूमिका खेल्यो?

– गीतकार, सङ्गीतकार र गायक भनेर मात्र पनि हुँदो रहेनछ। यो अलि बढी साइनोले पनि गर्दो रहेछ। नारायण र गोपालसँग मेरो सम्बन्ध गायक र सङ्गीतकारको मात्रै थिएन। नारायणका पिता प्रसिद्ध सितारवादक आशागोपाल गुरुवाचार्य मलाई थापाकाजी नै भन्नुहुन्थ्यो। ए कान्छा, ठट्टैमा यो… जस्ता गीत गाउँदा पनि ‘लौ थापाकाजी, यस्ता सस्ता गीत गाउनबाट नारायणलाई जोगाउनुपर्‍यो, मैले भन्यो भने रिसाइहाल्छ’ भन्नुहुन्थ्यो। म कस्तो भाग्यमानी भने मेरा यी तीन आत्मीय साथी नृत्यका चतुर्भुज आशावादी, नारायणगोपाल र गोपाल योञ्जन, तीनै जनाका बुवा–आमा, दाजु–भाइ, दिदी–बहिनी सबैसँग मेरो असाध्यै पारिवारिक सम्बन्ध रह्यो। यसले पनि हाम्रा गीत लेखन र शब्द चयनमा शक्ति प्रदान गरिरह्यो। हामी के लेख्दै छौँ भन्ने कुराले गीत/सङ्गीत समाजमा त असर पार्थ्यो नै, परिवारको साइनो र संस्कारले पनि हाम्रा कामप्रति त्यत्तिकै प्रभाव पारेको थियो। रुचि निर्माण गरेको थियो।

म गोपालकै निम्ति गोपालकै संस्थागत व्यक्तित्व निर्माणका निम्ति, गोपालका गीत–सङ्गीतको अमरताका निम्ति, देशकै असल गीत/सङ्गीतको संरक्षणका निम्ति सकेसम्म योगदान गर्न चाहने उसको अभिन्न र आत्मीय मित्रका तर्फबाट सदैव यस कार्यका लागि तयारै छु, हेरूँ परिस्थिति र समयले मलाई मेरो मित्रताको यो अन्तिम कसीमा उभिने ठाउँ दिन्छ कि दिँदैन।

गोपाल योञ्जन र नारायणगोपालका विषयमा अहिलेसम्म त्यस्तो कुनै गहिरो अनुसन्धान वा साहित्यिक लेखन अथवा चलचित्र/डकुमेन्ट्री बनेको देखिँदैन, तपाईंलाई यस विषयमा केही भन्नुपर्छ भन्ने लाग्दैछ कि?

– हो, मैले गोपाल र नारायणका विषयमा केही गर्न चाहेको थिएँ। खासमा तिनका गीत सिर्जना, सङ्गीत र गायनका त्रिपक्षीय सम्बन्ध केलाएर अनुसन्धान ग्रन्थै निकाल्ने मनसायले सामग्री र तिनका निम्ति उपयुक्त सङ्गीतका सैद्धान्तिक पुस्तक विदेशका समेत झिकाइसकेको थिएँ। सामग्री सङ्कलनमै धेरै समय बित्यो र लेखनको तयारीको अन्तिम चरणमा तिनका गीतका नोटेसनमाथि काम गर्न चाहन्थेँ। यो ज्ञान मसँग थिएन। मैले प्रस्ताव गरेका ज्ञाताको अनुकूल समय पर्खंदापर्खंदै दिन ढल्दै गए। यसैक्रममा रिन्छेनजीले गोपालका मसँग जम्मा भएका सामग्री फिर्ता गर्ने सर्तमा मागेर लैजानुभएको थियो। अमेरिकाको कोनोल युनिभर्सिटी सङ्ग्रहालयले अर्काइभ गरी राख्न चाहेको भनेर उहाँले लगेको सामग्री २/३ वर्ष भयो, फिर्ता पाएको छैन। यस्तै कारणहरू छन् तर म गोपालकै निम्ति गोपालकै संस्थागत व्यक्तित्व निर्माणका निम्ति, गोपालका गीत–सङ्गीतको अमरताका निम्ति, देशकै असल गीत/सङ्गीतको संरक्षणका निम्ति सकेसम्म योगदान गर्न चाहने उसको अभिन्न र आत्मीय मित्रका तर्फबाट सदैव यस कार्यका लागि तयारै छु, हेरूँ परिस्थिति र समयले मलाई मेरो मित्रताको यो अन्तिम कसीमा उभिने ठाउँ दिन्छ कि दिँदैन।

लोकप्रिय

कठै ! हिमानी राज्यलक्ष्मी शाह

कठै ! हिमानी राज्यलक्ष्मी शाह

२०७६, ३० आश्विन बिहीबार १०:५०

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

२०७६, ३० आश्विन बिहीबार १५:०२

बालविवाह गराउने पण्डितसहित सातजना पक्राउ

बालविवाह गराउने पण्डितसहित सातजना पक्राउ

२०७६, २९ आश्विन बुधबार २०:३४

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

२०७६, ३० आश्विन बिहीबार २०:३३

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

२०७६, ३० आश्विन बिहीबार १४:२५

म्याच फिक्सिङः  युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

म्याच फिक्सिङः युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

२०७६, ३० आश्विन बिहीबार १३:२३

एनआरएनए निर्वाचन : सकियो मतदान

एनआरएनए निर्वाचन : सकियो मतदान

२०७६, ३० आश्विन बिहीबार १७:५९

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

२०७६, १ कार्तिक शुक्रबार १५:४०

मोहम्मद अफताब आलमको पक्षमा देउवा

मोहम्मद अफताब आलमको पक्षमा देउवा

२०७६, १ कार्तिक शुक्रबार २०:३२

हुलहुज्जतपछि एनआरएनएको मतदान शुरु (हुलहुज्जतको भिडियोसहित)

हुलहुज्जतपछि एनआरएनएको मतदान शुरु (हुलहुज्जतको भिडियोसहित)

२०७६, २९ आश्विन बुधबार २०:२५

मुलुकका जिम्मेवार व्यक्तिहरु नै अपराधमा मुछिएपछि…

मुलुकका जिम्मेवार व्यक्तिहरु नै अपराधमा मुछिएपछि…

२०७६, २९ आश्विन बुधबार ०६:५२

विश्वकी नयाँ राजकुमारी

विश्वकी नयाँ राजकुमारी

२०७६, ३० आश्विन बिहीबार १५:४०

सभामुख र उपसभामुखमध्ये एक पद दिनुस्ः रामचन्द्र पौडेल

सभामुख र उपसभामुखमध्ये एक पद दिनुस्ः रामचन्द्र पौडेल

२०७६, २९ आश्विन बुधबार १९:२१

भारतमा हुने व्यवसायिक एक्सपोमा चेम्वरका प्रतिनिधि सहभागि

भारतमा हुने व्यवसायिक एक्सपोमा चेम्वरका प्रतिनिधि सहभागि

२०७६, २९ आश्विन बुधबार १५:५३

एनओसी अब अनलाईबाटै

एनओसी अब अनलाईबाटै

२०७६, ३० आश्विन बिहीबार ११:२९