– स्व. जगदीश घिमिरे

उसको अनुहार अँगारजस्तो थियो तर न्वारनमा नाउँ पाएको थियो– शरच्चन्द्र। थर थियो– राताटिङ्गुना। उसको दुर्भाग्य के थियो भने कसैले पनि उसलाई शरच्चन्द्र भन्दैनथे। बालसखाहरू उसलाई हाकुचा भन्थे। युवासखाहरू उसलाई माम्पा भन्थे।

हाकुचाले उमेरैमा के थाहा पायो भने मान्छेले ‘उपनाम’ राख्दा रहेछन्। उसले उपनामहरूबारे सोच्यो तर राख्न धक मान्यो। ‘प्रेमी’, ‘पागल’, ‘विरही’, ‘वियोगी’, ‘शशि’, ‘व्यथित’, ‘नेपाली’, ‘गोर्खाली’, ‘पहाडी’, ‘मन्थलीय’, ‘सिन्धुलीय’, ‘ओखलढुङ्गेली’ आदि उपनाम उसले नसुनेको होइन। पछि उर्दूका सायरीहरू पढ्दा के थाहा पायो भने उपनाम नभएका त सायर नै हँदा रहेनछन् तर उपनाम राखिहाल्ने आँट गरेन। उसले सोचेको थियो, उपनाम राख्न त कवि–लेखक हुनुपर्छ। ऊ कति गर्दा पनि लेखक हुन सकेन, त्यसैले उपनाम राखेन।

त्यस्तैमा उसले थाहा पायो, थर फेर्ने चलन पनि छ। उसले पनि थर सच्याउने अठोट गर्‍यो।

एक दिन घोषणा गर्‍यो, लेख्यो, बोल्यो– उसको थर परिवर्तन भएको कुरा– मेरो नाउँ अब शरत्चन्द्र राताटिङ्गुना होइन, शरच्चन्द्र नेपाल हो।

तर, साथीहरूले त्यस कुरालाई मान्यता दिएनन्। बाल सखाहरूले उसलाई हाकुचा नै भने। युवा सखाहरूले उसलाई माम्पा नै भने। माम्पा नाम उसले २०४६ सालको जनआन्दोलनपछि पाएको थियो। त्यसअघि उसको नामको कुनै समस्या थिएन। उसका पछि सबैले उसलाई हाकुचा भन्थे। उसका अघि सबैले उसलाई शरच्चन्द्रजी भन्थे तर जनआन्दोलनले उसको जीवनशैलीको सन्तुलन बिगारिदिएको थियो। त्यसको मूल कारण थियो– राजनीति र राजनीतिज्ञहरूप्रति उसको तीव्र दोषदर्शिता सिनिसिज्म।

पञ्चायत व्यवस्थामा उसलाई कुनै समस्या थिएन। उसलाई राजनीतिको अस्तित्व आभास पनि थिएन। मरुटोलमा घर थियो। घरमा भात खान पाउँथ्यो। डबलीमा गफ गर्न साथी पाउँथ्यो। मौकाचान्सले अलिअलि डलर (ऊ डल्लर भन्थ्यो) ‘वारका पार’ गर्न पाए उसलाई पप्लु खेल्न पुगिहाल्थ्यो। ब्राउन सुगर नै ‘वारका पार’ गर्न सके त झन् नानचाको पसलमा पाइने परिकार– ऐला, बजी, कचिला, छोएला, ममचा, भुटन, व, सन्याखुना, टखा आदिको निकै दिनको खर्च चलिहाल्थ्यो। राजनीति गर्नेहरू राजनीति गर्थे। कमाउने कमाउँथे। गुमाउने गुमाउँथे। उसको जीवन शान्त नदीजस्तै थियो।

जनआन्दोलनले उसको शान्त नदीमा बाढी ल्यायो। बहुदल रे ! राजनीतिक अधिकार रे ! कांग्रेस र कम्यूनिस्ट रे ! (त्यतिखेर राष्ट्रिय प्रजातन्त्र पार्टी जन्मिएको थिएन, त्यो पञ्चको गर्भमा थियो)। कपुरी क होइन कम्युनिस्ट क रे ! कान्नानी का होइन कांग्रेस का रे ! क र का मिलेर शान्त पञ्चायत व्यवस्था ढाल्ने रे !

चाक्सीबारीको ऐतिहासिक भाषण सुनेपछि उसले भनेको थियो– ‘यी माम्पाहरूले गरिखान्छ? हेरौँला !’

जनआन्दोलनका हरेक क्रियाकलापलाई ऊ माम्पा भन्थ्यो। हरेक नेतालाई ऊ माम्पा भन्थ्यो। ऊ भन्थ्यो– ‘बीपी कोइराला सबभन्दा ठूलो माम्पा हो। त्यसपछिको माम्पा हो पुष्पलाल। यो साला शहीद भन्नेहरू सब माम्पा हो। सब नेता माम्पा हो। सब मन्त्री माम्पा हो।’

जनआन्दोलनताका जब उसको माम्पा टिप्पणी असह्य भयो, साथीहरूले उसलाई माम्पा नामकरण गरेका थिए। सबैले उसलाई माम्पा भन्न थाले, तर सम्भवतः उसलाई आजसम्म आफ्नो नयाँ नामकरण भएको थाहा छैन। उसको नामकरण भएको आज चैत २६ गते २०५१ सालमा, जब म यो कथा लेख्दैछु, पाँच वर्ष पुगिसकेको छ।

माम्पा मेरो बालसखा हाो। हामी सँगै गुच्चा खेल्थ्यौँ। उमेर उस्तै छ। अथवा ऊ मभन्दा १–२ वर्ष जेठो पनि हुनसक्छ, कान्छो पनि हुनसक्छ। त्यसैले गर्दा उसले मलाई बितेका वर्षहरूमा कहिले साथीजस्तो व्यवहार गर्‍यो, कहिले दाजुजस्तो र कहिले भाइजस्तो। कहिले तिमी भन्यो, कहिले तपाईं र कहिले तँ। उसले मलाई दाजु भन्दा म पनि उसलाई भाइ भन्थेँ। उसले मलाई भाइ भन्दा म उसलाई दाजु भन्थेँ। उसले साथीजस्तो गरी मलाई तिमी भन्दा म उसलाई दाजु तिमी भन्थेँ। पञ्चायतकालभरि माम्पाले मलाई दाजु भनेर बोलायो। झुकेर अभिवादन गर्‍यो– त्यो पनि दुई हात जोडेर। मलाई भन्थ्यो– ‘तपाईं त लेखक, विद्वान्, हामीलाई सिकाउनोस्। सघाउनोस्। तपाईंहरू त समाजका मार्गदर्शक। यी माम्पा राजनीतिज्ञहरूले के गर्छन् र यो देशका लागि !… विदेशबाट ल्याएर प्रजातन्त्र ल्याइन्छ यहाँ माम्पा?’

२०४६ साल चैत २७ गतेको विजय जुलुसमा उसलाई चारतारे झन्डा बोकेर सबभन्दा अघिल्लो पङ्क्तिमा नारा लगाउँदै–जोसिँदै हिँडेको देखेर मलाई चिन्न गाह्रो भयो। मैले सोधेँ के यो उही माम्पा हो? धक्कम्धक्का गर्दै नजिक गएँ र बोलाएँ– ‘ए शरच्चन्द्र, तिमी पनि !’

उसले मलाई गम्लाङ्ग अँगालो हाल्दै भन्यो– ‘प्रजातन्त्र जिन्दावाद ! बहुदल जिन्दावाद ! वीर गणेशमान जिन्दावाद !’

मैले थाहा पाएँ, ऊ २६ गते मध्यरात एकाएक महान् प्रजातन्त्रवादी भइसकेछ। महान् कांग्रेस भइसकेछ। ऊ ०७ सालदेखिकै कांग्रेस भएको हुँ भन्न थालेछ। पुस १ गते मार्शल जुलुमको ऐतिहासिक ‘विरोध माइकिङ’को सहभागी हुँ भन्न थालेछ। नेपाली विद्यार्थी सङ्घको संस्थापक हुँ भन्न थालेछ। नेपाली कांग्रेसका नेताहरू निर्वासनमा बस्ता उनीहरूसँग काम गरेको हुँ भन्न थालेछ। ०१७ सालपछि प्रजातन्त्र पुनः प्राप्तिका लागि होमिएको योद्धा हुँ भन्न थालेछ।

जनआन्दोलनपछि उसले मलाई तिमी भन्न लाग्यो। मलाई राजनीति सिकाउन लाग्यो। म सिक्न लागेँ। मैले सोचेँ – नेपाली कांग्रेस गुप्तवासमा हुँदा माम्पा साँच्चै सक्रिय कार्यकर्ता रहेछ। अलि बढाई–चढाई गर्‍यो होला, त्यो त कसले गर्दैन? तर अब उसले मसँग नमस्ते माग्न थालेको थियो। म पनि नकच्चरो भएर ठिङ्ग उभिइराख्थेँ। एक हात उठाएर– ‘हाई !’ भन्ने शैलीमा हात उठाउँथ्यो तर आधा मात्र।

अन्तरिमकालको एक वर्षमा माम्पाकहाँ कार्यकर्ताहरूको निकै घुइँचो हुन थालेको थियो। २०४८ सालको निर्वाचनमा माम्पाले नेपाली कांग्रेसबाट सांसदको टिकट पाउने हल्ला पनि चलेको थियो। गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईको बार्गेनिङ नमिलेर मात्र टिकट नपाएको रे भन्ने पनि सुनियो।

२०४८ सालको चुनाउमा माम्पा निकै सक्रिय थियो। क अर्थात् कम्युनिस्ट र का अर्थात् कांग्रेस दुवैसँग माम्पाको गहिरो सम्बन्ध देखिन थाल्यो। माम्पा दुवैका गाडीमा चढेर हिँडेको देखिन थाल्यो। टोलका मान्छेलाई थोरै र बाहिरका मान्छेलाई बढी चिन्न थाल्यो। उसको परम्परागत नाङ्लो पसलको व्यापार बढेर सुपर मार्केट भयो। ठेक्का पनि लिन थाल्यो। होटेल पनि चलाउने भयो। अनेक हल्ला पनि सुनिन थाले। तिनैताका उसले मलाई तँ भन्न थाल्यो र भाइ भनेर बोलाउन थाल्यो। अब ऊ पूर्वपञ्चहरूलाई मात्र माम्पा भन्थ्यो। कम्युनिष्ट र कांग्रेसलाई जनआन्दोलनका प्रमुख शक्ति र अगुवाका रूपमा तारिफ गर्दथ्यो। ऊ अवसरवादी र चैते कांग्रेसको घोर विरोधी थियो। ऊ बात–बातमा बीपीको त्यो वाक्य दोहोर्‍याउँथ्यो, जसको यस्तो आशय थियो– ‘पार्टी पावरमा हुँदा चिल्ला कार चढ्नेले पार्टीमाथि आक्रमण गर्नेछन्। सक्कली कार्यकर्ताले त्यसको प्रतिकार गर्नुपर्छ।’

ऊ आफूलाई सक्कली कार्यकर्ता भन्दथ्यो। अरूलाई चैते कांग्रेस। यिनैताका टोलका साथीहरूले माम्पाको अर्को नामकरण गरे– लिँड। मैले बुझिनँ। के भनेको भनेर सोधेँ। एक जनाले भन्यो– ‘आजकल कांग्रेसको सरकार बनेदेखि यो माम्पा फुलेर गुको लिँडजस्तो भएको छ। त्यसैले लिँड भनेको !’

‘ए’ मैले भनेँ – ‘गुको लिँड !’

कांग्रेस सत्तामा छउञ्जेल माम्पा लिँडजस्तै फुलेको थियो। अघिअघि जसलाई नमस्ते गथ्र्यो, तीसँग नमस्ते खोज्न थालेको थियो। जसलाई मान गथ्र्यो, तिनीहरूसँग मान खोज्न थाल्यो, जसलाई तपाईं, हजुर भन्थ्यो, उनीहरूलार्ई तिमी र तँ भन्न थाल्यो, तैपनि मैले भनेँ– ‘अर्कालाई यस्तो नाम राख्नु ठीक होइन !’

‘किन?’ तुयुचाले तातेर भन्यो।

‘कति नाम राख्नु ! बाहुनले राखे शरच्चन्द्र। हामीले सानैदेखि भन्यौँ हाकुचा। त्यसपछि माम्पा, त्यसपछि लिँड हद भयो यार।’

सुवर्णले भन्यो– ‘हाकुचाको नाउँ हो र त्यो? लिँड त कांग्रेसलाई पो भनेको। हेर त अचेल कांग्रेसहरूको कस्तो फुइँ छ…. मान्छेलाई मान्छे गन्दैनन्। साले कांग्रेसहरू…।’

रत्नले भन्यो– ‘यो कांग्रेस पावरमा छँदाको कुरा थियो।’ ‘कुनै कांग्रेसले फुइँ गर्‍यो भन्दैमा सबै कांग्रेसलाई लिँड भन्न पाइन्छ त?’, शिवले भन्यो।

मलाई यो विवादमा सहभागी हुन मन लागेको थिएन। मैले सोचेँ, सत्तामा पुगेको र शक्तिको मात लागेको बेला केही फरक हुँदैन।

हेर्दाहेर्दै कांग्रेस भत्कियो। मध्यावधि आयो। मध्यावधिमा पनि लिँड नै सक्रिय थियो। मध्यावधिमा उसले पनि कांग्रेस पार्टीबाट टिकट पाउने निकै हल्ला थियो तर पाएन। नपाएपछि ऊ कुनै दहीच्यूरे पार्टीबाट उम्मेदवार हुने निकै हल्ला भयो तर त्यसो भएको पनि देखिएन।

एमाले सरकार सत्तामा पुगेपछि लिँड अब एमाले समर्थक–प्रशंसक भएको छ। अब ऊ एमालेलाई, एमालेको नीतिलाई, एमालेका नेता तथा कार्यकर्तालाई माम्पा भन्दैन। अब ऊ नेपाली कांग्रेसका सबैलाई माम्पा भन्छ। राप्रपाका नेताबारे टिप्पणी गर्दा पनि बडो होसियारीसाथ टिप्पणी गर्छ।

अब उसको आवतजावत बढी एमालेहरूसँग छ। आजकल ऊ अब सबलाई एक हात उठाएर लालसलाम गर्छ र भन्छ– ‘अब चाँडै सर्वहाराको अधिनायकवाद आउँदै छ यो मुलुकमा। जनताको राज्य। हामीजस्ता जन्मजात कम्युनिस्टहरूको पालो आउँदै छ।’

आजकल ऊ कम्युनिष्टबाहेक अरू सबैलाई माम्पा भन्छ।

(पुनः २०६५ सालको टिप्पणी) : २०४६ सालको संविधानसभा निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी माओवादीले सबभन्दा बढी सिट जितेर सरकारको नेतृत्व गर्नेबेलासम्म माम्पा जण्ड माओवादी नेता भइसकेको छ। हामी साथीहरू गौरवान्वित छौँ। अब हामीहरू माम्पालाई उसको पिठ्यूँ पछाडिसमेत कामरेड शरच्चन्द्र नेपालजी भन्न थालेका छौँ।

(रचना, २०५२ वैशाख–जेठ)

लोकप्रिय

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

२०७६, २९ भाद्र आईतवार १७:४०

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

२०७६, २८ भाद्र शनिबार १६:५४

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

२०७६, २८ भाद्र शनिबार १२:४९

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

२०७६, २८ भाद्र शनिबार १७:१४

स्काभेटरले किचेर १ जनाको मृत्यु

स्काभेटरले किचेर १ जनाको मृत्यु

२०७६, २९ भाद्र आईतवार १५:५०

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

२०७६, २९ भाद्र आईतवार १३:१८

महिनावारीसम्बन्धि केहि तथ्यहरू

महिनावारीसम्बन्धि केहि तथ्यहरू

२०७६, २८ भाद्र शनिबार १६:१७

उच्च फर्ममा रहेका सन्दीपको आज अर्को परीक्षा

उच्च फर्ममा रहेका सन्दीपको आज अर्को परीक्षा

२०७६, २९ भाद्र आईतवार १५:२३

भ्यालेन्सियामाथि बार्सिलोनाको शानदार जित

भ्यालेन्सियामाथि बार्सिलोनाको शानदार जित

२०७६, २९ भाद्र आईतवार १०:४२

अब चार रुपैयाँमै विद्युतीय सवारी चार्ज गर्न सकिने

अब चार रुपैयाँमै विद्युतीय सवारी चार्ज गर्न सकिने

२०७६, २९ भाद्र आईतवार १६:२३

डेङ्गु संक्रमणबारे जान्नेपर्ने केहि कुराहरू

डेङ्गु संक्रमणबारे जान्नेपर्ने केहि कुराहरू

२०७६, २९ भाद्र आईतवार १३:०८

आयुष्मानको फिल्म ‘ड्रीम गर्ल’को ऐतिहासिक सुरुवात

आयुष्मानको फिल्म ‘ड्रीम गर्ल’को ऐतिहासिक सुरुवात

२०७६, २८ भाद्र शनिबार १६:२५

हिमाल, पहाड र तराई जोड्दै बुद्ध शान्ति पदमार्ग

हिमाल, पहाड र तराई जोड्दै बुद्ध शान्ति पदमार्ग

२०७६, २८ भाद्र शनिबार १४:१७