काठमाडौँ – भनिन्छ, ‘सफल हुनका लागि नयाँ काम गर्नु पर्दैन, अरूले गरेका काम अलि फरक तरिकाले गर्ने हो भने त्यही कामबाट व्यक्ति सफल हुन धेरै समय लाग्दैन। अनि, कुनै पनि काम ठूलो र सानो, राम्रो र नराम्रो पनि हुँदैन।’ यो भनाइलाई पहिलेदेखि नै आत्मसात् गर्दै आएका वरिष्ठ कृषि वैज्ञानिक डा. सूर्यप्रसाद पाण्डेले पनि कृषि क्षेत्रमा परम्पराभन्दा अलि फरक काम गरे। अरूले नगरेको र गर्न हिम्मत नगरेको काम भिन्न तरिकाले शुरू गर्दै डा. पाण्डे एक सफल कृषि व्यवसायी मात्रै बनेनन्, नेपालमै उदाहरणीय कृषिविज्ञ डाक्टरसमेत बन्न सफल भएका छन्।

नयाँ काम नयाँ तरिकाले गर्नु पाण्डेको विशेषताजस्तै बनेको छ। त्यही कारण सफल बनेका हुन्, पाण्डे। १० कक्षासम्मको अध्ययन गाउँमै गरेका पाण्डेले भारतबाट कृषिमा बीएस्सी एग्रिकल्चर, एमएस्सी एग्रिकल्चर र बेलायतबाट कृषि (माटो)मा विद्यावारिधि (पीएचडी) गरेका छन्। ३३ वर्षे सरकारी सेवाको अनुभव सँगालेका डा. पाण्डे त्यही अनुभवलाई अहिले कृषि क्षेत्रको विकास र विस्तारमा सदुपयोग गरिरहेका छन्। लोभलाग्दो सरकारी जागिर र विदेशको डलर त्यागेर आफ्नै गाउँठाउँको जमिनमा केही नयाँ गर्नुपर्छ भन्ने सोच राखेर नै डा.पाण्डेले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)जस्तो गरिमामय संस्थाको जागिरबाट २०६२ मा राजीनामा गरे। उनको ‘भिजन’ स्पष्ट थियो, राजीनामा गरेपछि उनी धेरै अल्मलिएनन्। न त उनलाई तेस्रो देशका कृषि केन्द्रहरूका आकर्षक जागिरले नै तान्न सक्यो।

उनी नेपालमै सिमान्तकृत कृषकहरूको आयस्तर के गरी बढ्न सक्छ भन्नेमा पहिलेदेखि नै तल्लिन थिए। त्यसैलाई मूर्त रूप दिनका लागि उनले नेपालमा किबी फलको व्यावसायिक खेती शुरू गरे। किबी खेतीको अपार सफलतापछि डा.पाण्डे रोकिएनन्। उनले नेपालका कम पानी पाइने र वर्षातमा समेत अपेक्षाकृत कम पानी पर्ने पहाडदेखि तराईसम्मका सुक्खा जमिनमा समेत राम्रोसँग उत्पादन लिन सकिने ड्रागन फलको परीक्षण खेती शुरू गरे। किबी र ड्रागन फ्रुटजस्ता फल विश्व बजारमा उच्च मूल्यमा खरिद बिक्री हुँदै आएका छन्। नेपालमा यी दुवै फलका खेतीको सफल परीक्षण गरेका वरिष्ठ कृषि वैज्ञानिक डा. पाण्डे अहिले यतिमै रोकिएका छैनन्। उमेरले ७ दशक पार गर्न लागेका डा. पाण्डे अहिले पनि नेपालका गरिब र सिमान्तकृत (अन्यन्तै थोरै कमसल जग्गा जमिन भएका) किसानले कुन खेती कसरी गर्दा बढी अर्थोपार्जन गर्न सक्छन् भन्ने विषयमा खोजी गरिरहेका छन्।

जन्म, शिक्षा र कर्म

२००७ साल साउनमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–६ ठूलोपर्सेलमा जन्मिएका पाण्डेले कक्षा ५ सम्म गाउँकै पञ्चकन्या प्रा.वि.मा अध्ययन गरे। त्यस अगाडिको पढाइका शिलशिलामा काभ्रेको सदरमुकाम धुलिखेल पुगेका पाण्डेले कक्षा १० सम्म सञ्जीवनी माध्यमिक विद्यालयमा अध्ययन गरे। कक्षा १० उत्तीर्ण भइसक्दा पनि उनमा भविष्यको कुनै लक्ष्य स्पष्ट थिएन। अब अगाडि के पढ्ने भन्ने विषयमा पनि उनी प्रस्ट थिएनन्।

डा.पाण्डे आफ्नो विगत स्मरण गर्दै भन्छन्, ‘एसएलसी उत्तीर्ण गरेपछि त्यही बेलामा अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसआईडी) को सहयोगमा नेपाल सरकारले भारतमा कृषि विषय पढ्नका लागि छात्रवृत्ति उपलब्ध जानकारी पाएँ।’ एसएलसीपछि के गर्ने र के पढ्ने भन्ने दोधारमा रहेका पाण्डेले त्यो जानकारी पाएपछि भारत पढ्न जाने मनसायका साथ आवेदन दिए र छनोट पनि भइहाले। उक्त छात्रवृत्तिमा उनीलगायत नेपालले एक सय २० जना विद्यार्थीलाई भारत पठायो। तीमध्ये पाण्डेसँगै १० विद्यार्थीलाई पञ्जाव कृषि विश्वविद्यालयमा पठाइयो। त्यहाँ उनीहरूले कृषिमा स्नातक (बीएस्सी एग्रिकल्चर) सम्म उत्तीर्ण गरेर २०२९ सालमा नेपाल फर्किए।

डा. पाण्डे भन्छन्, ‘कक्षा १० पछि भारतमा कृषिबारे धेरै सिक्ने र बुझ्ने अवसर पाएँ। त्यसपछि निरन्तर कृषि क्षेत्रमा लागिरहेँ, लागिरहेको छु र लागिरहने छु।’ कक्षा १० को पढाइपछि कृषिमा बीएस्सी एजी गरेका पाण्डेको यात्रा रोकिएन, निरन्तर अगाडि बढिरहेको छ। उनी भन्छन्, ‘शरीरले साथ दिउञ्जेल कृृषि क्षेत्रमा नयाँ प्रविधिको प्रयोगका लागि क्रियाशील रहनेछु।’

निरन्तर कृषि विकासको सोचमा

पञ्जाव कृषि विश्वविद्यालयबाट बीएस्सी एग्रिकल्चरको अध्ययन सकेपछि २०२९ सालमा नेपाल फर्किएका डा.पाण्डेले सरकारी सेवामा ३३ वर्ष विताए। २०२९ सालमा नेपाल सरकारको कर्मचारीमा तृतीय तहबाट प्रवेश गरेका पाण्डे नार्कका निर्देशकसम्म भए। शुरूमा अस्थायी र त्यसपछि स्थायी कर्मचारी भएर कृषि विभागमा कृषि अधिकृत (सहायक माटो विज्ञ)को रूपमा काम गरेका पाण्डेले कृषिमा नयाँ–नयाँ प्रयोग गरे। ७ वर्ष कृषि अनुसन्धान केन्द्र सुनसरीमा कार्यरत रहँदा पाण्डेले त्यहाँ माटोको क्षेत्रीय प्र्रयोगशाला स्थापना गरे। उक्त प्र्रयोगशाला नेपालकै पहिलो थियो र अहिले पनि त्यहाँ माटोको सफल परीक्षण भइरहेको छ।

सोही क्रममा सरकारले उनलाई कृषिमा स्नातकोत्तर अध्ययन गर्न भारतको हिमाञ्चल प्रदेशको कृषि विश्वविद्यालय पठायो। त्यहाँ उनले डेढ वर्ष पढे। त्यहाँ पढेर नेपाल फर्किएपछि रामपुर कृषि केन्द्र चितवनमा दुई वर्ष काम गरेका पाण्डेले मकै बाली अनुसन्धान केन्द्र, माटो प्रयोगशाला अनुसन्धान केन्द्र र मलखाद परीक्षणको स्थापना गरे। उनी जहाँ गए, त्यहाँ केही न केही नयाँ काम गरेर कृषिको विकासमा योगदान पुर्याउँदै आएका थिए। त्यसले नेपालको कृषि क्षेत्रको विकासमा इँटा थप्दै गइरहेको थियो।

२०४१ सालमा माटो विज्ञान शाखा खुमलटारमा सरुवा भएर पुगेका डा. पाण्डेले माटोको सूक्ष्म तत्वसम्बन्धी प्रयोगशाला सञ्चालन गरी माटोको पोषणबारे अध्ययन र अनुसन्धान शुरू गरे। तत्पश्चात मलखादसम्बन्धी विश्व स्वास्थ्य संगठनको कार्यक्रममा ५ वर्षका लागि काजमा खटिएका डा. पाण्डेले नेपालका २१ वटा पहाडी जिल्लामा रसायनिक मलको प्रयोगसम्बन्धी परीक्षण र प्रवद्र्धनमा काम गरे। माटोको अनुसन्धान तथा अध्ययनमा विज्ञ पाण्डेलाई विश्व स्वास्थ्य संगठनले विशेषज्ञको रूपमा १५ महिनाका लागि अफ्रिकामा पठायो। यसबाट नै डा. पाण्डेको माटोसम्बन्धी अध्ययन तथा अनुसन्धानको विशिष्टता र महत्ता पृष्टि हुन्छ।

नेपालमा डा. पाण्डेलगायतको समूहले नै ‘नेपाल कृषि अनुसन्धान परिषद्’ (नार्क) नामक संस्थाको स्थापना गर्यो। त्यही संस्थामा उनले माटो विज्ञान महाशाखामा काम गरे। सोही क्रममा उनको तृतीय तहबाट द्वितीय तहमा बढुवा पनि भयो।

अनुसन्धानमा आधारित विद्यावारिधि

माटो विज्ञान र कृषि क्षेत्रमा लामो समयको कार्यानुभव सँगालिसकेका डा.पाण्डेले बेलायतको नोटिङ्घम विश्वविद्यालयबाट २०६० सालमा माटो विज्ञानमा विद्यावारिधी (पीएचडी) गरे। उनले विश्वको पहिलो कृषि अनुसन्धान केन्द्र रोथम स्टेट एग्रिकल्चर रिसर्च स्टेशन बेलायतमा ‘नेपाली माटोमा किसानले प्रयोग गरेका मल र यसको सार्थकता’ का विषयमा शोध गर्नका निम्ति बेलायत गएका थिए। उनले सोही क्रममा माटो विषयमै पीएचडी गरे।

बाहिरी देशबाट बेलायतमा गएर पीएचडी गर्न त्यतिखेर ३ वर्षको २७ हजार पाउण्ड शुल्क लाग्थ्यो। तर, बेलायतमै बस्दै आएकाहरूले पीएचडी गर्दा भने एक हजार पाँच सय पाउण्ड मात्र तिरे पुग्थ्यो। त्यसैले उनले आफ्नै खर्चमा पीएचडी गर्ने निधो गरेर नेपालकै माटोलाई सोधको विषय बनाए। रसायनिक मलको दीर्घकालिन प्रयोग र यसको असरबारे भैरहवाको बुटवलमा उनले विषद् अनुसन्धान गरेर बेलायत फर्किए र पीएचडीको अध्ययन पुरा गरे।

…अनि जागिरबाट राजीनामा

पीएचडी गरेपछि कृषिसम्बन्धी थप ज्ञानका साथ कृषि क्षेत्रको विकासका योजनासहित डा. पाण्डे नेपाल फर्किए। नेपाल फर्किएपछि डा. पाण्डेले नेपाल कृषि अनुसन्धान परिषदमा योजना तथा समन्वय निर्देशकका रूपमा केही महिना काम गरे। थप उत्साहका साथ काममा जुटेका उनले नेपालको समग्र कृषि क्षेत्रको विकासका लागि योजना बनाएका थिए। कसरी कृषि क्षेत्रलाई प्रभावकारी बनाउने र नेपालको गरिबी न्यूनीकरण गर्ने भन्ने विषयमा नार्कमा बसेर उनले गहन अध्ययन अनुसन्धान गरेका थिए।

उनले कृषि क्षेत्रका विकासका लागि अध्ययन अनुसन्धान गरेको कार्ययोजना लागू गर्नकै निम्ति कृषि अनुसन्धान परिषदले आनाकानी गर्न थाल्यो। त्यही क्रममा परिषदको कार्यकारी निर्देशकसमेत फेरिए। देशमा २०६२/६३ को जनआन्दालेन शुरू भइसकेको थियो। परिषदमा पनि भीषण रूपले राजनीति हुन थाल्यो। नयाँ कार्यकारी निर्देशकले पाण्डेको योजनालाई पटक्कै रुचाएनन्। योजना राम्रो थियो, त्यसको कार्यान्वयनले नेपालको कृषि क्षेत्रमा आमुल परिवर्तन ल्याउन सक्थ्यो। त्यसले आफूलाई घाटा हुने र पाण्डेलाई फाइदा हुने भएर माथिल्लो स्थानमा पुर्याउँछ भन्ने सोचका साथ नयाँ कार्यकारी निर्देशकले डा.पाण्डेको त्यो योजना लागू गर्नै मानेनन्। गम्भीर अध्ययन, विश्लेषण र अनुसन्धानपछि तयार गरिएको योजना लागू नभएपछि डा. पाण्डेमा जागेको उत्साह एकाएक निराशामा परिणत भयो।

डा. पाण्डेभन्दा माथिल्लो तहमा रहेका कार्यकारी निर्देशकले कृषिक्षेत्र र परिषदको लागि पनि पाण्डेलाई थप हौसला दिँदै सहयोग गर्नुपर्ने थियोे। तर, कार्यकारी निर्देशकले त्यसको ठीक विपरीत गरे। नेपालको कृषि क्षेत्रको विकासका लागि उत्साहित भएर योजना बनाएका डा. पाण्डे कार्यकारी निर्देशकका कारण हतोत्साही भए र उनको मनले त्यहाँ बसेर जागिर खाइरहन रुचाएन। अन्ततः डा.पाण्डेले नेपाल कृषि अनुसन्धान परिषदबाट राजीनामा दिए।

राजीनामा दिनुको कारण खुलाउँदै डा. पाण्डे भन्छन्, ‘केही व्यक्तिको निहित स्वार्थका कारण कृषि क्षेत्रका लागि कोसेढुङ्गा सावित हुने योजना कार्यान्वयमा लिन नसकेपछि अवकाश हुन ५ वर्ष समय बाँकी हुँदा नै राजीनामा दिएँ।’

अनि शुरू भयो कृषिमा क्रान्ति

३३ वर्ष सरकारी सेवामा रहेर नेपालको कृषिसम्बन्धी अनुभव हासिल गरेका डा. पाण्डेले राजीनामा दिएपछि चुप लागेर बस्न सकेनन्। उनलाई विदेशका अनगिन्ती राम्रा र लोभलाग्दो डलरका जागिरको प्रस्ताव नआएको पनि होइन्। तर उनले ती सबै छोडेर आफैले नेपाली माटोमा केही नयाँ गर्ने सोचे, जसबाट गरिब र सिमान्तकृत नेपाली किसानका निम्ति गतिलो अर्थोपार्जनको बाटो पहिलिन सकोस्। यही अठोटका साथ उनले काभ्रेको धुलिखेलमा व्यावसायिक किबी फलको खेती शुरू गरे।

किबी खेतीबारे अध्ययन गर्दा उनले त्यसमा सम्भावना प्रशस्त देखेर डा. पाण्डे त्यसतर्फ आकर्षित भएको बताउँछन्। उनको मूल उद्देश्य थियो, किबीफलको खेतीमार्फत पहाडी क्षेत्रमा आर्थिक क्रान्ति गर्ने। तिबेला उनले ३० रोपनी जमिनमा किबी खेती शुरू गरेका थिए। त्यसभन्दा पहिला हलुवावेद र जापानी नास्पातीको खेती गर्दा उत्पादन नभएपछि पाण्डेले किबी खेती शुरू गरेका थिए।

‘किबी खेती शुरू गर्दा मैले नमुनाका रूपमा प्रदर्शनीका लागि ३० रोपनी जमिनमा खेती शुरू गरेको थिएँ। किबी खेती अहिले राष्ट्रव्यापी भएको छ,’ त्यसप्रति खुसी व्यक्त गर्दैै उनी भन्छन्, ‘मैले शुरू गरेपछि किबीफलको खेती राष्ट्रव्यापी भयो। सरकारले समेत किबी कार्यक्रमलाई समेट्न थालेको छ। अहिले पहाडका प्रायः सबै जिल्लामा किबी खेती भइरहेको छ। म यसैमा खुसी छु।’ अहिले उनको खेतमा चार सयको हाराहारीमा किबीका बोट छन् भने वर्षेनी आठ देखि १० हजार किलोसम्म किबी फल फल्ने गरेको छ। हालसम्म किबी खेतीमा झण्डै एक करोड रुपैयाँ लगानी गरेका पाण्डेले वार्षिक २५ देखि ३० लाखको कारोबार गर्दै आएका छन्।

हुन पनि उनले व्यावसायिक रूपमा किबी खेती गर्दा खेती गर्ने कुरा त परको कुरा भयो, नेपालमा किबी फलबारे धेरै जानकार मानिससमेत थिएनन्। उनले ३० रोपनीबाट शुरू गरेको किबीफल खेती अहिले नेपालमा ४० हजार रोपनीभन्दा बढीमा विस्तार भएको छ, राष्ट्रव्यापी भएको छ। पहाडी सबै जिल्लाका कृषकले किबी खेती गरिरहेका छन्। त्यसलाई उनी गर्वको विषय भएको ठान्छन्। किबी खेतीले पहाडका किसानमा आर्थिक क्रान्ति गरेको उनको दाबी छ। नेपालमै पहिलोपटक व्यावसायिक रूपमा किबी फल खेती शुरू गर्ने डा. पाण्डे किबी फ्रुट्स एसोसिएसन नेपालका संस्थापक अध्यक्षसमेत हुन् भने हाल पनि एसोसिएसनका अध्यक्ष छन्।

किबीको सफलतापछि ड्रागन फ्रुट

किबी खेती पहाडका जिल्लामा मात्रै सफल हुन्छ। किबी खेतीले पहाडका किसानको आर्थिक विकासमा ठूलो मद्दत पुर्याइरहेको छ। डा. पाण्डेले पहाडका बेँसी तथा तराईका किसानका लागि पनि अब केही गर्नुपर्छ भन्ने सोचे। पहाडका बेँसी र तराईमा कस्तो किसिमको खेती गर्न सकिन्छ र कसरी त्यहाँका किसानको आर्थिक उत्थान हुन्छ भनेर अध्ययनमा लागेका डा. पाण्डे नयाँ प्रयोगमा लागे।

अब उनको चाहना र लक्ष्य थियो, पहाडको बेँसी तथा तराईमा खेती गर्ने। थोरै जमिनबाट बढी उत्पादन, उच्च मूल्य र अर्थोपार्जन गराउन सबैभन्दा पहिला उनले आफ्नै जन्मथलोको पुख्र्यौली जमिनलाई रोजे। त्यसका लागि उनले एकीकृत कृषि प्रणाली विस्तारको योजना बनाए। उनी कृषिको व्यावसायीकरण र आधनुनिकीकरण हुन नसक्नुको मुख्य कारण जमिनको खण्डीकरणलाई ठान्दछन्।

तेमालको ठूलोपर्सेलमा उनको परिवारको ७० रोपनी पुर्ख्याैली जमिन छ। उनका ७ भाइ छन्। आमाबुबाको अवसानपछि भाइ–भाइले पुर्ख्याैली सम्पत्ति, जग्गा जमिन बाँड्ने चलन छ। त्यसरी जग्गाको बाँडफाँट गरिएको भए डा. पाण्डेका एक भाइलाई १० रोपनीका दरले जमिन भागमा पर्थ्यो। तर, उनीहरूले त्यसो गरेनन्, जग्गाको खण्डीकरण हुनबाट रोके र त्यसलाई एकीकृत रूपमै राखेर त्यहाँ एकीकृत कृषि प्रणाली शुरू गरे। उनका ७ जना दाजुभाइबीच एउटा सहमति भयो र आमा–बुवाको मृत्युपछि त्यही जमिनलाई आधार बनाएर ‘दुर्गा–देवी कृषि प्राविधिक केन्द्र’ स्थापना गरियो। उनकी आमाको नाम दुर्गालक्ष्मी र बवाको नाम देवीप्रसाद पाण्डे हो। आमा–बवाको नामबाटै ‘दुर्गा–देवी कृषि प्राविधिक केन्द्र’ नाम राखिएको डा.पाण्डे बताउँछन्।

प्रत्येक भाइले ७–७ लाख रुपैयाँ र बुवाको एक लाख रुपैयाँ गरी ५० लाख रुपैयाँ कृषि केन्दका नाममा जम्मा गरियो र ७० रोपनी जग्गा ३० वर्षका लागि आफ्नै पुख्र्यौली जग्गा भाडामा लिइयो। अनि डा. पाण्डेले शुरू शुरू गरे ठाउँअनुसार सुहाउने दिगो कृषि प्रणाली। त्यसको उद्देश्य थियो, बाहिरबाट कुनै पनि सामग्री नल्याइकनै स्थानीय स्रोतसाधनबाट वैज्ञानिक व्यवस्थापन र पुनःप्रयोग गर्ने, एकीकृत दिगो कृषि प्रणालीको विकास, पर्यावरणीय सुरक्षा र दिगो आयआर्जन गरेर गरिबी निवारण।

त्यस जमिनमा एकीकृत रूपले पशुपालनमा आधरित फलफूल खेती, स्थानीय स्रोतको प्रयोग, वर्षाको पानी जम्मा गरेर थोपा सिँचाइ प्रणालीको विकास, प्राङ्गरिक मल प्रयोगको प्रयोग, भूक्षय रोक्नका निम्ति डाले र भुईँ घाँस रोप्न शुरू गरियो। गह्रागह्रा बनेर रहेको त्यो भिरालो जमिनमा बहुतले प्रणालीमा खेतीको शुरूवात भएको छ। हरेक गह्रामा ड्रागन फ्रुट्सका विरुवाहरू लहराइरहेका छन्। ती विरुवाबाट कलकलाउँदा ड्रागनका फलहरू झुलिरहेका छन्। हेर्दा सिउँडीका रूखजस्ता देखिने ड्रागन फलका विरुवाहरू शुरूमा रोप्दा गाउँलेहरू डाक्टर बौलाउन आँटेछन् कि क्याहो भनेर कुरा काट्ने गर्थे। तर, विरुवा रोपेको तीन वर्षपछि फलेको लोभलाग्दो फल चाखेपछि भने अहिले गाउँलेहरूसमेत ड्रागन फ्रुट्सको खेतीतर्फ आकर्षित भएका छन्।

बहुउपयोगी ड्रागन फल स्वादिष्ट, स्वास्थ्यबद्र्धक र सजिलै खेती गर्न सकिने डा. पाण्डे बताउँछन्। नेपालमा व्यवसायिक रूपमा खेती नै शुरू नभएको त्यो अवस्थामा डा.पाण्डेले ड्रागन फ्रुटको खेती नमुनाका लागि शुरू गरेका थिए। उनीले लगाएको केही समयपछि काभ्रेकै नमोबुद्ध नगरपालिका–२ का भेषमान श्रेष्ठले ड्रागन फ्रुटको व्यावसायिक खेती शुरू गरे। अहिले त यसको प्रचारप्रसारका कारण नेपालका धेरै जिल्लामा विस्तार विस्तार खेती शुरू हुँदैछ।

डा. पाण्डे भन्छन्, ‘ड्रागन फ्रुटको बिरुवा र फलको माग धेरै छ। फूल फुलेको ४५ दिनमा तयार हुने ड्रागन फलको तौल कम्तीमा १ सय ५० ग्रामदेखि १ किलोसम्म हुने गर्दछ। त्यसलाई ६ सयदेखि ८ सय रुपैयाँसम्ममा विक्री गर्दै आएको छु।’ त्यस्तै, दुर्गा–देवी एकीकृत कृषि विकास फर्ममा मेकाडामिया नट, अनार, एवोकाडो (घिउ फल)लगायतका फलफूल पनि उत्पादन भइरहेका छन्। बहुतले यो खेती प्रविधिको प्रयोग गरेर एउटै खेतबारीमा विभिन्न फलफूलको उत्पादन गर्न सकिने डा. पाण्डेको कथन छ।

नयाँ प्रविधिको प्रयोगले उत्पादन तथा आम्दानी सय गुणाभन्दा बढी हुने गरेको डा. पाण्डेको अनुभव छ। यस्तो प्रविधिले मुलुकमा रोजगारी सिर्जना गर्ने र विदेश जाने युवाशक्तिलाई स्वदेशमै रोजगारी दिएर आत्मनिर्भर बनाउने भएकाले यसमा राज्यको स्पष्ट नीति आवश्यक रहेको पाण्डेको भनाइ छ। भारतले औद्योगिक क्रान्तिबाट र चीनले उद्योग तथा कृषिको आधुनिकीकरणबाट गरिबी निवारण गरेको बताउँदै पाण्डे भन्छन्, ‘नेपालले पनि कृषि क्षेत्रबाटै गरिबी निवारण गर्दै आर्थिक क्रान्ति गर्नसक्छ। त्यसका लागि स्पष्ट सरकारी नीति आवश्यक छ।’

‘स्व. राजा महेन्द्रको पालामा हिमालमा पशुपालन, पहाडमा फलफूल खेती तथा तराईलाई अन्नको भण्डार बनाउने योजना थियो। त्यही नीतिअनुसार अहिलेको सरकारले पनि आफ्ना कार्यक्रमहरू अघि बढाउन जरुरी छ। कृषिमा नवीनतम् क्रान्तिबाहेक अन्य विकल्पबाट नेपालमा तत्कालै रोजगारी र गरिबी निवारण हुने सम्भावन देखिँदैन्,’ पाण्डेले आफ्नो जीवनको अनुभवको निचोड सुनाए।

अनुभवको प्रयोग

डा. पाण्डे आफूले खोज अनुसन्धान गरी सिकेको ज्ञान, सीप र अनुभवलाई अहिले विस्तार गर्दै गइरहेका छन् र अझै विस्तार गर्दै लैजाने उनको योजना छ। त्यसका लागि गुणस्तरीय बिऊ, वोटबिरुवा, आधुनिक प्रविधि, नर्सरी व्यवस्थापन, प्रदर्शनीस्थल निर्माण र बजारको खोजमा उनको ध्यान केन्द्रित छ, त्यसमा युवा किसानलाई सहभागी गराउँदै एकीकृत बाली प्रणाली व्यवस्थापनबारे जानकारी दिने र स्थानीय स्रोतसाधनको माध्यमबाट दिगो र प्रभावकारी अर्थोपार्जन गर्नुपर्ने विषयमा डा. पाण्डे निरन्तर लागिरहेका छन्।

उनी यस कामका लागि सरकारको नीति, नियम र सहयोगलाई पर्खिरहेका छैनन्, आफैँ योजना बनाएर अगाडि बढिरहेका छन्। उनका योजना र व्यावहारिक ज्ञानलाई कृषकदेखि कृषकसम्म फैलाउँदै पनि छन्। कृषि क्षेत्रमा सफल हुनका लागि माटो तथा मलको व्यवस्थापन, अर्गानिक कृषि प्रणालीका निम्ति जैविक औषधि निर्माण, प्रभावकारी सिँचाइ, स्थानीय स्रोतसाधनको प्रयोग र उच्च मूल्यको बाली छनोट गर्नुपर्ने डा. पाण्डेको सुझाव छ। उनी भन्छन्, ‘परिमाणभन्दा पनि मूल्य बढी आउने खेती गर्नुपर्छ। यसका लागि सीप, ज्ञान, प्रविधि, लगानी र धैर्यता पनि चाहिन्छ।’

उत्पादन, प्रशोधन र बजारीकरण एकीकृत रूपमा गर्दै आएका डा. पाण्डे भन्छन्, ‘नेपालमा कृषिजन्य उत्पादन विक्री–वितरणका लागि बजारको अभाव छैन, मात्र व्यवस्थापनको कमी छ। उत्पादन, प्रशोधन र बजारीकरणलाई एकीकृत रूपमा सँगसँगै अगाडि बढाउने हो भने हामी जोसुकै पनि सफल हुन्छौँ।’

तस्बिरहरू साैजन्य: डा. पाण्डे।

लोकप्रिय

सुत्केरी मसला कसरी बनाउने ?

सुत्केरी मसला कसरी बनाउने ?

२०७६, १८ मंसिर बुधबार १४:१२

१३ औं सागमा नेपालको स्वर्ण संख्या २९, समग्र सागमा सय स्वर्ण पूरा

१३ औं सागमा नेपालको स्वर्ण संख्या २९, समग्र सागमा सय…

२०७६, १८ मंसिर बुधबार २०:३१

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

२०७६, १९ मंसिर बिहीबार १९:४३

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

२०७६, १९ मंसिर बिहीबार १३:२०

बाहिर निस्किएको पेट लाई नियन्त्रण गर्न ओखर खाँनुहोस्

बाहिर निस्किएको पेट लाई नियन्त्रण गर्न ओखर खाँनुहोस्

२०७६, १८ मंसिर बुधबार १०:४४

१३ औं सागः श्रीलंकासँग भिड्दै नेपाल

१३ औं सागः श्रीलंकासँग भिड्दै नेपाल

२०७६, १८ मंसिर बुधबार १२:२८

लागुऔषधसहित युवक पक्राउ

लागुऔषधसहित युवक पक्राउ

२०७६, १८ मंसिर बुधबार १७:४३

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

२०७६, १९ मंसिर बिहीबार १६:४९

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

२०७६, १९ मंसिर बिहीबार १६:३६

महिला भलिबलको फाइनलपश्चात् खेलाडीको आँखामा छचल्किएको त्यो आँशु!

महिला भलिबलको फाइनलपश्चात् खेलाडीको आँखामा छचल्किएको त्यो आँशु!

२०७६, १८ मंसिर बुधबार १४:५४

स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन युनिभर्सिटीले हल्ट पुरस्कार सञ्चालन गर्दै

स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन युनिभर्सिटीले हल्ट पुरस्कार सञ्चालन गर्दै

२०७६, १८ मंसिर बुधबार २१:४७

एक साताको अवधिमा २४ हजार पटक फोन गरि सताएको आरोपमा ७१ वर्षीय वृद्ध पक्राउ

एक साताको अवधिमा २४ हजार पटक फोन गरि सताएको आरोपमा…

२०७६, १८ मंसिर बुधबार १५:४६

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!

२०७६, १९ मंसिर बिहीबार ०६:५६

१३ औं सागः नेपालको स्वर्ण संख्या २७ पुग्यो (तालिकासहित)

१३ औं सागः नेपालको स्वर्ण संख्या २७ पुग्यो (तालिकासहित)

२०७६, १८ मंसिर बुधबार १४:०२

ओठ फुटेर हैरान हुनुहुन्छ, अव यसो गर्नुहोस्

ओठ फुटेर हैरान हुनुहुन्छ, अव यसो गर्नुहोस्

२०७६, १९ मंसिर बिहीबार ०९:४९