– दुर्गा सुवेदी

गिरफ्तार भएको चौथो दिन बिहान ७ बजे दुई जना पुलिस र एक जना अफिसरको फुली लगाएको मानिसले मेरो सेलको ढोका हल्लाए।

अफिसरले मलाई विस्तारै सोध्यो, ‘के बयान हुँदै छ? म बीपी निवासबाट आएको हुँ।’

उसले सहानुभूतिजन्य व्यवहार गरेर बीपीसँग मेरो समबद्धता प्रमाणित गर्न चाहेको मैले बुझिहालेँ। अनि पुरानै जवाफ दोहोर्‍याएँ, ‘म बीपीलाई चिन्दिनँ।’

त्यसपछि उनीहरू गए।

१० बजे मेरो सेलको ताल्चा खोल्न अर्कै हवल्दार आयो र दुवै हातमा हत्कडी लगाएर सेल बन्द गर्‍यो। आधा घन्टापछि फेरि उही बजरङ्गवली हवल्दारले केरकार कोठाको बेन्चमा लगेर राख्यो। हातका हत्कडीतर्फ इशारा गर्दै बजरङ्गवलीले भन्यो, ‘अब थाहा हुन्छ, तपाईं क्रान्तिकारी हो वा कायर?’

अर्को पुलिस अफिसर भित्र आयो र उसलाई केही आदेश दिएर बाहिर पठायो। मैले कोठातिर नजर दौडाएँ। टेबलमा बेतका डन्डा, छालाका कोर्रा, रबरका पन्जा र बिजुलीको तार जोडिएका स–साना यन्त्र राखिएका थिए।

अफिसरले कुर्सीमा बसेर मतिर हेर्दै भन्यो, ‘आजदेखि हामी तिम्रो लिखित बयान लिएर मुद्दाको तयारी गर्दै छौँ।’

दराजबाट एउटा फाइल निकालेर टेबलमा राख्दै अर्को पुलिस अफिसर पनि त्यहीँ आएर बस्यो। उसले कलम–कागज टेबलमा राखेर मेरो नाम, उमेर र ठेगाना सोध्यो। मैले नाम मात्र भनेँ। ढाँटेर ठेगाना विराटनगर, नेपालकै बताएँ। बनारस, लङ्काटोलको घरमा कहिलेदेखि बसेको, त्यस घरमा भाडामा बस्ने विद्यार्थीसँगको जान–पहिचान सोधेपछि ‘हवाई डकैतीमा संलग्न अरू दुई जना कहाँ छन्? पैसा कसलाई राख्न दिएको छ?’ जस्ता प्रश्नको जवाफमा मैले त्यस्तो घटनामा आफू संलग्न मानिस होइन भनेर अनभिज्ञता प्रकट गरेँ।

त्यसपछि अर्कोले फाइल देखाउँदै भन्यो, ‘नेपाल सरकारले तिमीहरूलाई गिरफ्तार गरेर सुपुर्दगी गर्न भनी भारत सरकारलाई दिएको लिखित विवरणमा उल्लेख भएबमोजिम घटनाको प्रमुख अभियुक्त दुर्गा सुवेदी भनेरै हामीले तिमीलाई गिरफ्तार गरेका हौँ। अब झूट बोलेर बच्ने कुरै छैन। हामीले विगत चार दिनदेखि तिमीसँग राम्रो व्यवहार गर्दै आएका छौँ। सही कुरा बताएर पुलिसलाई आफ्नो काम सम्पादन गर्न सहयोग नगर्ने हो भने हामीले पनि अपराधीलाई बकाउन जानेका छौँ।’

यस्तो कडा धम्की दिएर ऊ मेरो नजिक आएर उभियो। तर, म केही बोलिनँ। मैले केही भन्छ होला भनेर उसले एक मिनेटजति प्रतीक्षा गर्‍यो।

त्यसपछि हवल्दारलाई स्टोरबाट अग्लो कुर्सी ल्याउन आदेश दियो। मलाई त्यो कुर्सीमा बसाइयो।

‘लात का भूत बात से नही मानेगा’ तयारी करो, भन्दै दुवै अफिसर बाहिर निस्किए। बजरङ्गवली हवल्दारले मेरो हत्कडी खोलेर दुवै हात कुर्सीमा बाँधिदियो। र, मलाई बिजुलीको तार जोडेको यन्त्रनजिक पुर्‍यायो।

आधा घन्टापछि केरकार गर्ने मानिस मेरो नजिक आएर जङ्गिँदै भन्न थाल्यो, ‘अब पता चलेगा तुमको पुलिससे झुट बोल्नेका नतिजा क्या होता है।’ (अब थाहा हुन्छ तँलाई, पुलिससँग झुट बोल्नुको नतिजा के हुन्छ?)

अर्को मानिस आएर बिजुलीको तारलाई प्लकमा जोडेपछि मेरा दुवै कानमा टेबलमा राखेको यन्त्रबाट तार निकालेर टाँसियो। त्यसपछि बयान लिने मानिसले हातमा रबरको पन्जा लगाएर मेरो कपाल तान्दै भन्न थाल्यो, ‘बिजुलीको झट्कापछि तँ यस फाइलमा लेखिएका कुरा स्वीकार गर्न बाध्य हुनेछस्। त्यस्तो यातनाले तेरो मानसिक र शारीरिक अवस्था नै बिग्रिन सक्छ। अझै समय छ।’

मेरो कपाल जोडले तान्दै एकछिन मेरो अनुहारतिर हेरिरह्यो। म केही बोलिनँ।

त्यसपछि झोक्किँदै उसले आदेश दियो, ‘चालु करो।’ मेरो शरीरमा करेन्टको एक झट्का आयो। करेन्टले शरीरमा कम्पन र ऐठन भयो।

एकै सेकेन्डमा करेन्ट बन्द गर्न लगाएर भन्यो, ‘अब तुम सच बताओ, बीपी कोइरालाको जानते हो कि नही?’ (अब सत्य भन, बीपी कोइरालालाई चिन्छौ कि चिन्दैनौ?)

मैले भनेँ, ‘चिन्दिनँ !’

उसले फेरि करेन्टको झट्का दिन सुरु गर्‍यो। तीन–चार झट्कापछि मलाई मेरो टाउको सुक्दै गएको महसुुस हुन लाग्यो। हावा खुस्किएको फुटबलजस्तो टाउको चाउरिँदै गएजस्तो लाग्यो। शरीर अररो हुन थाल्यो।

उसले फेरि करेन्ट बन्द गरेर एउटा खाली कागजमा हस्ताक्षर गर भन्दै बाँधेको हात खोल्न लगायो। मैले हातमा दिएको कलम समाउन मानिनँ, कलम भुइँमा खस्यो।

हस्ताक्षर गर्न नमानेपछि ऊ झन् रिसायो। प्रचण्ड रूप धारण गर्दै फेरि कुर्सीमा बाँधेर करेन्ट चालु गर्न भन्यो।

लगातारको आठ–दश झट्कापछि मलाई पिसाब आयो। मैले थाम्न सकिनँ। कुर्सीबाट मेरो पिसाब बगेको देखेर ऊ आत्तियो। हतारिँदै भन्यो, ‘बन्द करो। साला पेसाब से भिग गया हैँ। मर जायेगा’ (ए बन्द गर, साला यो त पिसाबमा भिजेको छ, फेरि मर्ला)

उसले बजरङ्गवलीलाई बोलायो र कपडा फेरेर फेरी ल्याउन भन्यो। कोठाबाट बाहिर निस्किँदा मेरो शरीर अररो भयो। पाइला चाल्नै गाह्रो भयो। हवल्दारले हातमा समाएर सेलमा पुर्‍याएपछि झोलाबाट कपडा निकालेर फेर्न दियो र आफू बाहिरियो।

ऊ फर्केर आउँदा म लुगा फेरेर सुतिरहेको थिएँ। भित्र पसेर मलाई उठाउँदै भन्यो, ‘तपाईंले सत्य नबोल्न किन यस्तो ढिपी लिएको? लगातार करेन्ट लगाउँदा लगाउँदै पागल बनाइदिनेछन्। यो बिजुलीको तरिका प्रयोगमा ल्याएको चार–पाँच वर्ष हुँदै छ। यसबाट डाँका र हत्याराहरू पागल भएको मैले देखेको छु।’

त्यसैबेला मलाई यातना दिएको हेरिरहेको पुलिस अफिसर आयो र भन्यो, ‘यिनलाई अहिले बयान लिन लानु पर्दैन।’

हवल्दारले ‘बजरङ्गवलीकी जय’ भन्दै सेल बन्द गरेर गयो।

विदेशी थानामा एक्लो र असहाय

कपडा बदलेर सुत्दा दिनको १ बजेको थियो। म एकदम शीताङ्ग थिएँ। जिउ कामिरहेको थियो। हलचल गर्दा पनि पूरा सेल हल्लिएजस्तो भइरहेको थियो। यस्तो लाग्थ्यो, मेरो दिमागबाट सबै स्मृति निकालिएको छ। खाली शून्यजस्तो दिमाग लिएर म सुतिरहेको थिएँ। एक घन्टापछि होटेलको भाइले खाना ल्यायो। मलाई खान मन थिएन, फर्काइदिएँ।

केही बेरपछि थानेदार आयो। उसले अर्को पुलिसलाई खाना बोकाएर ल्याएको थियो।

‘आज बयान हुँदैन, रातभरि सोच–विचार गरेर भोलि बयान दर्ज गराउनुहोला। खान खाएर आराम गर्नू।’ यति भनेर ऊ गयो। तर, दिमाग शून्य भएर होला, उसको बोली मलाई साउती मारेजस्तो लाग्यो।

खुट्टा बाउँडिएर म छटपटाउन थालेँ। डाक्टर आएर मेरो नाडी छामेको थाहा पाएँ। उसले मेरो मुख, आँखा खोलेर हेरेपछि ग्लुकोज पानी प्रशस्त खान दिनू भन्दै गयो।

एक छिनपछि उही बूढो बजरङ्गवलीले मलाई हात समातेर उठाउँदै पानी पिउन भन्यो। मेरो हातले ग्लास राम्रोसँग पक्डन नसकेको देखेर उसैले समातेर दुई–चार घुट्का पानी पिलाएपछि ग्लास आफैँले समातेर पिउन थालेँ। हवल्दारले मेरो छेउमै बसेर विस्तारै भन्यो, ‘तपाईंको शरीरिक अवस्था त्यसै पनि कमजोर देखिन्छ। बिजुलीको करेन्टले नसामा बग्ने रगतमा शिथिलता ल्याउने हुँदा यस्तो भएको हो। अब करेन्ट लाउनु हुँदैन भन्ने सल्लाह डाक्टरले दिएका छन्। तरल पदार्थ मात्रै खान दिनू भनेकाले दहीको लस्सी मगाएको छ, तपाईं विदेशको चर्चित घटनामा संलग्न मानिस भएकाले यातनापछि डाक्टर बोलाइएको हो। अन्यथा यस्तो रेखदेख यहाँ गरेर साध्य छैन।’

सेल बन्द गरी ऊ निस्कियो। साँझ अफिसबाहिर निस्कने बेलामा थानेदारले सेलनजिक आएर फेरि त्यही कुरा दोहोर्‍याएर, ‘आज रातभरि सोच–विचार गरेर भोलि बयान दिने हो भने मुद्दा स्थापित गरेर जेल पठाउने विचार छ। पुलिसले त्यसै प्रमाण नभई पक्राउ गरेको छैन, प्रमाण जुटेका छन्। ढाँटेर हुँदैन।’

मानिसको शरीर कमजोर भयो भने मन पनि कमजोर हुँदो रहेछ। त्यो रात मैले आफूलाई साह्रै असहाय र कमजोर महसुस गरेँ। शरीरमा शक्ति थिएन, दिमागमा हिम्मत थिएन। मैले पुलिसले दिएको यातना सम्झिँए। र, केही अघि बीपी कोइरालाले अनुशासन सिकाउने नाममा गरेको व्यवहार सम्झिएँ। मैले जायज प्रश्न उठाउँदा पनि उहाँले थप्पड लगाउनु भयो। उहाँका कार्यकर्ताहरू त ज्यानै लिनेसम्मको कारबाही गर्न तयार भएर बसेका थिए। यता, उनै बीपीको नाम लिएन भनेर मलाई यातना दिइरहेका छन्। मैले कांग्रेस पार्टी पनि छोडिसकेको छु। यहीँ करेन्ट लगाएरै म मरेँ भने पनि पार्टीले सोधखोज गर्नै छैन जस्तो लाग्यो। मैले अन्त्यमा दुःखी भएर निष्कर्ष निकालेँ, ‘यो संसारमा म एउटा एक्लो व्यक्ति हुँ। जे आइपर्छ, त्यो मैले एक्लै भोग्नुपर्छ।’

अनि, मैले सोचेँ– अपहरणको अपराधमा मलाई जसरी पनि भारत सरकारले दण्डित गर्ने निश्चित छ। त्यसबेला जहाज दुर्घटनामा मरेको भए दुर्घटनामा मरेकोमध्ये एउटा व्यक्ति मात्र हुने थिएँ। बाँचेको हुनाले त्यस घटनामा संलग्न व्यक्तिका रूपमा मेरो पहिचान नेपालमा कायमै छ। आफूले गरेको कामलाई स्वीकार नगरी भारतीय जेलमा बस्दाबस्दै गुमनाम मर्नुपर्‍यो भने जीवन निरर्थक हुनेछ। त्यसैले आफ्नो पहिचान कायम राख्न पनि यथार्थ बयान दिने सोच बनाएर म सुतेँ।

बिहानीपख मैले सपना देखेछु। सपनामा म विराटनगरको डेरामा मरिरहेको थिएँ। र, मेरा साथीहरू मलाई हेर्न आएका थिए।

यस्तो सपनामा छटपटाइरहेका बेला बिहान ६ बजे बदलीमा आएको पुलिसले मेरो झुललाई डन्डाले उचाल्दै ब्युँझाइदियो। त्यसपछि झुलभित्रै टोलाएर सोच्न थालेँ।

नेपालमा पुलिसले पक्रेर बयान लिँदा कुनै शारीरिक यातना दिएको थिएन। लोकतान्त्रिक देश भनिएको भारतको पुलिसले नेपालमा राजनीतिक अधिकार स्थापना गर्ने प्रयत्नमा संलग्न रहेको मलाई यस्तो पाशविक यातना दिने काम किन गरेको होला भनेर सोच्दासोच्दै पुलिसले ढोका खोलेर अफिसमा पुर्‍यायो। त्यहाँ आफूलाई अनुुसन्धान पदाधिकारी बताउने पहिले नै भेटेका मानिस बसेका रहेछन्। उनीहरूले मलाई कुर्सीमा बसाले।

थानेदारले मतिर हेर्दै भन्न थाले, नेपालमा भएको हवाई अपहरणसम्बन्धी मुद्दा यस थानामा नचलाउने राय केन्द्रीय अनुसन्धान विभागले दिएको छ। तपाईंलाई हामी विहार पठाउँदै छाैँ।’

गुप्तचर पदाधिकारीले भने, ‘तपाईंहरूले नेपालबाट जहाज अपहरण गरेर विहारको फारबिसगन्जमा लुटेको हुनाले त्यहीँ लगेर मुद्दा चलाउनुपर्छ। तर, बनारसमा पक्राउ परेको हुनाले रेकर्ड राख्न मात्र केरकार गरिएको हो। फारबिसगन्जमा पुगेपछि नेपालतर्फको पुलिस प्रशासनले त्यहाँ आएर तपाईंलाई पहिचान गरेपछि मुद्दा स्थापित गरिनेछ।’

मैले उनीहरूलाई सम्बोधन गर्दै भनेँ, ‘मलाई पक्राउ गरेर रेकर्ड राख्न दिइएको यातना भारतीय लोकतान्त्रिक व्यवस्थाको प्रतिकूल छ। तपाईंहरूले मलाई लगाउने मुद्दाबारे मैले आफ्नो धारणा बनाइसकेको छु। म कायर भएर बाँच्न चाहन्नँ। तपाईंहरू यस देशको सरकारी संयन्त्रको महत्त्वपूर्ण ठाउँमा हुनुहुन्छ। भारतका जनताले राजनीतिक स्वतन्त्रताका लागि सङ्घर्ष गर्दा अङ्ग्रेज शासकहरूले तपाईंहरूलाई गुलामको दर्जामा राखेर पाशविक शारीरिक यातना दिएका थिए भन्ने कुरा वीर सेनानीहरूले आफ्नो जीवनीमा उल्लेख गरेका छन्। तर, अझै पनि यहाँको सरकारी संयन्त्र गुलामकालीन मानसिकताबाट मुक्त हुन सकेको रहेनछ। तपाईंहरूले मलाई नेपालको राजनीतिक स्वतन्त्रताको पक्षमा भएको घटनाको मुख्य अभियुक्त साबित गराउन गुलामकालीन पाशविक यातना दिएर आफ्नो पुर्खाको अपमान गरेजस्तो लाग्दैन?’

मेरो कुरा सुनेर पनि नसुनेजस्तो गरी कुनै प्रतिक्रिया नजनाई उनीहरू कोठाबाट बाहिरिए।

उनीहरू गएपछि बजरङ्गवलीले सेलमा लगेर ताला लगाउँदै भन्यो, ‘तपाईंलाई भोलि जेल चलान गर्ने कागजपत्र तयार हुँदै छ। आपत्कालीन शासन व्यवस्था भएकाले गिरफ्तार गरेको कुनै पनि व्यक्तिलाई २४ घण्टाभित्र न्यायालयसामु उपस्थित गराउनु पर्दैन, कागज बनाएर पठाए हुन्छ। चौकाघाट जेलमा बनारसका धेरै नेता बसेका छन्। तपाईं पनि राजनीतिक मानिस हुनुहुँदो रहेछ। यहाँभन्दा तपाईंलाई त्यही जेलमै राम्रो होला।’

थानाबाट मलाई फारबिसन्ज जेल लाने भनेपछि फेरि नयाँ चिन्ता थपियो। त्यहाँ अपहृत जहाजको पाइलट वा कुनै यात्रीले आएर ‘यही हो अपहरणकारी’ भनेर बयान दिए भने के गर्ने? साँचो बोल्ने कि ढाँटिरहने? त्यस्तो अवस्थामा यथार्थ स्वीकार गर्नुको विकल्प थिएन।

फारबिसगन्ज पुर्‍याउने बहानामा मलाई सिमाना कटाएर नेपाल पुलिसलाई जिम्मा लगाउन पनि सक्छ। त्यसपछि मलाई नेपालमै पक्राउ गरिएको प्रचार गरिनेछ। किनभने, मलाई भारतमा पक्राउ गरिए पनि कुनै न्यायालयसामु उपस्थित गराइएको थिएन। सङ्कटकाल लागेको छ, सरकारलाई जे गर्ने पनि छुट छ। यस्तै सोच्दै बनारसको भेलुपुर थानामा अन्तिम रात बिताएँ।

हातमा हत्कडी, गोडामा नेल

१५ जुन, १९७६ का दिन बिहान १० बजे पुलिसले मेरा हातमा हत्कडी लगाएर जिपमा राख्दै मुख छोप्न लगायो । आधा घन्टापछि मलाई चौकाघाट जेल पुर्‍याइयो। शरीर र झोलालाई चेक गरेपछि जेलको जमदारले ढोकैमा मिस्त्री बोलाएर खुट्टामा नेल र डन्डाबेरी ठोक्न लगायो। त्यसपछि जेलको नाइकेले मलाई एउटा सेलमा लगेर राख्यो। थानाकै जस्तो टिनका थाल, ग्लास र दुइटा कम्मल पहिलेदेखि नै राखिएका थिए। आफूलाई सफाइ नाइके भन्ने बन्दीले शौचका लागि दुइटा सामान राख्न लगाएर गयो।

दिनको २ बजेतिर भात बाँड्नेहरूको हुल आयो। मसँग थाल मागेर उसिना चामलको गन्ध आउने भात, पानीजस्तो मुसुरोको दाल, भन्टा र आलुको तरकारी दिएर गए। नेपालमा बन्दीहरूलाई पैसा दिएर आफै खाना बनाएर खाने स्वतन्त्रता थियो तर भारतीय जेलमा अङ्ग्रेजकालीन व्यवस्थाको जस्तै रहेछ। मेरा खुट्टामा ठोकेको फलामले चुराले खुट्टाको छाला तासेर तरतरी रगत आइरहेको थियो। त्यो रात म सुत्नै सकिनँ।

बिहानीपख पुलिस आएर ताल्चा खोल्दै भन्यो, शौच गर्न नालामा गए हुन्छ। नाला फोहोरले टन्नै भरिएका थिए। साँझ खाली पेट सुतेकाले शौच जानै परेन। एकछिनपछि जेलको नाइकेले दुइटा बन्दीलाई ठूलाठूला बाल्टिन र लामो झाडु बोकाएर मेरो सेलनेर ल्याएर राख्दै भन्यो, ‘नाला साफ करने चलो।’ म छक्क परेर उसको अनुहारतिर हेर्न थालेँ। उसले गाली गर्दै सेलबाहिर आउन भन्यो। बाहिर आएपछि मेरो हातमा झाडु दिँदै भन्यो, ‘फौजदारी अपराधमा जेल आउनेहरूले आएकै दिन नाला साफ गर्ने चलन छ।’

मैले झाडु भुइँमा फल्दै भनेँ, ‘म यो काम गर्दिनँ।’

उसले मलाई हातमा समातेर फोहोर गाली गर्दै जेलभित्रको चौकीमा लिएर गयो।

जमदारले मेराबारे अखबारमा पढेको रहेछ। नजिकै आएर भन्यो, ‘जेलको नियम भनेको नियम हो, मानेरै बस्नुपर्छ। अन्यथा जेलभित्र शरीरिक सजाय दिने चलन छ।’

फलामको नेलले मेरा खुट्टामा घाउ बनाएकाले निकै दुखिरहेको थियो। यसरी यातनामाथि यातना दिने कुराले म उत्तेजित भएँ। मैले ठूलो स्वरमा भनेँ, ‘म यो काम गर्दिनँ। अङ्ग्रेजहरूले भारतका जनतालाई गुलाम बनाएर राखेका बेला जेलमा यस्तो यातना प्रथा भएको मैले पढेको थिएँ। अझै कायम रहेछ। म भारतीय पनि होइन।’

मैले हल्ला मच्चाएपछि बन्दीहरूको भीड लाग्यो।

त्यसैबेला जेल प्रशासनको मानिस मलाई लिन आयो। अफिसमा बनारस हिन्दू विश्वविद्यालय छात्र सङ्घका सभापतिसहित चार–पाँच जना राजनीतिक बन्दीले मलाई भेट्न बोलाएका रहेछन्। छात्रनेता मोहनप्रकाश पछि कङ्ग्रेस आईको प्रवक्ता पनि हुनुभयो। उहाँसँग मेरो परिचय भूमिगत हुँदा नै भएको हुनाले उहाँले राजबन्दीहरूसँग मेरो चिनापर्ची गराउनुभयो। मेरो खुट्टामा नेल ठोकेको देखेर उहाँहरूले जेलरलाई बोलाएर खोल्न अनुरोध गर्नुभयो। तर, उसले अन्तर्राष्ट्रिय रूपमै गम्भीर फौजदारी मुद्दाको अभियोग लागेकाले नेल खोल्न नमिल्ने बतायो। र, म केही दिनका लागि मात्र यहाँ ल्याइएको तथा मेरो विहार स्थानान्तरण हुन लागेको पनि बतायो।

त्यो भेटपछि मैले बिहान–बेलुकीको खाना राजबन्दीहरूसँगै खान पाउने भएँ। राति भने म आफ्नै सेलमा जानुपथ्र्यो। मेरा खुट्टाको घाउमा लगाउने मलम र फलामको नेलमा बाँध्ने मसिनु कपडाको व्यवस्था गरियो। अब चौबीसै घन्टा फलामको डन्डाबेरी (खुट्टामा ठोकिएको नेल र हातमा बाँधिएको हत्कडी दुवैतिर जोडिएको डन्डा, जसले गर्दा अगाडि हिँड्न गाह्रो हुन्छ) भिरेर जेल बस्नुपर्ने कुरा स्वीकार्नुको विकल्प थिएन।

जेलमा बसेको तेस्रो दिन मोहनप्रकाशसँग एक्लै कुरा गर्न पाएँ। मैले ममाथि हवाई डकैतीमा मुद्दा चलाउने क्रम चलिरहेको कुरा सुनाएँ। हवाई डकैतीमा बीपी कोइरालाको संलग्नता रहेको साबिती बयान लिन मलाई करेन्ट लगाएर यातना दिएको तर पनि आफूले संलग्नता अस्वीकार गरेको कुरा पनि बताएँँ। मैले भनेँ, ‘अब विहार लगेर फेरि यस्तै यातना दिए भने म साबिती बयान दिने मनस्थिति पुगेको छु। किनभने, लगातार करेन्ट लगाउँदा म पागल हुन सक्छु।’

मेरो कुरा सुनेपछि उहाँले गम्भीर भएर बीपी कोइरालाको सारनाथ निवासस्थानमा विद्यार्थी सार्थीहरूलाई पठाएर यो खबर पुर्‍याउने र त्यहाँबाट के सन्देश आउँछ, त्यसपछि निर्णय गरौँला भन्नुभयो।

त्यसको दुई दिनपछि सारनाथबाट कांग्रेस कार्यकर्ता खुमबहादुर खड्का आएर मोहनप्रकाशलाई भेटी विहार लगेपछि त्यस्तो यातना भोग्नु नपर्ने सन्देश दिएर गएछन्।

चौकाघाट जेलमा ल्याएको १० दिनमै २५ जुनमा दिनको १ बजेतिर मलाई विहारको पूर्णिया जेल लैजान पुलिसको टोली जेल गेटमा आएको छ भन्दै जेलको हवल्दारले सेलबाट बाहिर निकालेर चौकी पुर्‍यायो। त्यहाँ हातमा हत्कडी लगाएर चेक गरेपछि जेल अफिस पु¥यायो। जेलको गेटमा उभिएका राजबन्दीहरूले मेरा दुवै हातमा हातकडी र खुट्टामा नेल ठोकेको देखेर केही नबोली द्रवित अनुहार लगाउँदै हात हल्लाएर बिदा गरे।

(‘विमान विद्रोह’बाट)

लोकप्रिय