काठमाडौँ – हिमालै हिमालको देश नेपाल। यसमध्ये मकालु हिमाल विश्वको पाँचौँ अग्लो हिमचुचुरा हो। संखुवासभा जिल्लामा अवस्थित मकालु हिमालको उचाई ८ हजार ४ सय ६३ मिटर रहेको छ। हिमाली दृश्यहरु आफैँमा सुन्दर हुन्छन्। चाँदीझैँ टल्कने हिमश्रृङ्खलाहरु हेरेर आँखा थाक्दैन, मन अघाउँदैन। हिमालमात्र हैन, त्यहाँका परिवेशहरु पनि ‘स्वर्ग’भन्दा कम लाग्दैनन्। झरना, खोला, पोखरी र कुण्डहरु, वन, लेकाली खर्क लगायतका हिमाली सेरोफेरोलाई प्रत्यक्ष नियाल्न पाउनु प्रकृतिसँग नजिक हुने अविस्मरणीय अवसर पनि हो।

आरोहणको दृष्टिले निकै चुनौतीपूर्ण मानिने मकालु हिमालको सेरोफेरो पनि कम मनमोहक छैन। मकालु बेसक्याम्पसम्मको पदयात्रा हिमाली परिवेशसँग साक्षात्कार गर्न चाहने जोकोहीका लागि छुटाउनै नहुने गन्तव्य हो। ‘गर्भवती महिला’जस्तो देखिने चट्टाने पहाड आमा भुजुङ, पार्वती गुफा, नेपोल ताल, सानोपोखरी, कालोपोखरी, चौँरी र भेँडीगोठहरु पदयात्राका आकर्षण हुन्। बाटैभरि सुनपाती, भैरुमपाती, धुपीजस्ता जंगली जडिबुटी र सुगन्धित फूलहरु भेटिन्छन्।

खाँदबारीबाट बरुण दोभान, स्याक्सिला हुँदै मानव बस्तीरहित क्षेत्रहरु हिन्जु, धुम्जाङ्गे, च्याम्लिमा, रमितेडाँडा, धापखोला, जाँतेओडार हुँदै याङलेखर्क भएर मकालु बेसक्याम्प पुग्न सकिन्छ। खाँदबारी हुँदै नुमदेखि सेधुवा–याङलेखर्कको मार्ग बेसक्याम्प पुग्ने अर्को रुट हो। माथिल्लो क्षेत्रमा बस्ती र होटलहरु नपाइने हुँदा गोठ र ओडारमा बास बस्नुपर्ने हुन्छ। जुन पदयात्रीहरुका लागि जीवनकै अद्वितीय र अपूर्व अनुभूति पनि हो।

 

तस्बिरहरू: सञ्जिब श्रेष्ठ।

 

लोकप्रिय