बुटवल – जिल्ला प्रशासन कार्यालय रुपन्देहीले हरितालिका तीजका नाममा हुने भड्किलो कार्यक्रममाथि कडाई गर्ने भएको छ। प्रशासनले हिन्दू नारीहरुको महान पर्व तीजका अवसरमा गरिने कार्यक्रमहरु होटल र पार्टी प्यालेसमा गर्न प्रतिबन्धसमेत लगाएको छ।

प्रशासनले सूचना जारी गर्दै तीजको दर खाने नाममा अहिलेदेखि नै होटल र पार्टी प्यालेस बुकिङ गर्न शुरु भइसकेको जानकारी आएको भन्दै होटल रेष्टुरेण्टमा दर खाने, महँगा पोसाक प्रदर्शन गर्ने तथा ध्वनि प्रदूषण हुने कार्य नगर्न आग्रह गरेको छ।

‘तीजको मौलिकतामाथि आँच आउने गरी फजुल खर्च, तडकभडक, गहना प्रदर्शन र साङ्गीतिक कार्यक्रमका नाममा ध्वनि प्रदूषण गरी होटल एवं रेष्टुरेण्टमा दर खाने कार्यक्रमले तीजको मौलिकता नै मासिने थप चुनौती थपिएको छ,’ सहायक सीडीओ भरत शर्माद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘तीजमा हुने विभिन्न किसिमका विकृति, विसंगति नियन्त्रण गर्नका लागि प्रशासनले उक्त कार्य गर्ने र गराउनेलाई कानूनी कारबाही गर्ने व्यहोरासमेत जानकारीका लागि अनुरोध छ।’

प्रशासनको यस प्रकारको कदम सकारात्मक भएको स्थानीयहरुको भनाइ छ। ‘तीजको मौलिकता हराएकै हो। यसमा प्रशासनले जुन कदम चालेको छ, त्यो सकारात्मक छ, संस्कृतिविद् राजेन्द्रकुमार आचार्य भन्छन्, ‘यसमा नागरिक आफैँ सचेत हुनुपर्छ। संस्कार संस्कृति संरक्षण र संवर्द्धन गर्नु हाम्रो दायित्व हो।’

बुटवल आसपासका क्षेत्रहरुमा विगत केही वर्षयता तीजका नाममा विकृति भित्रिएको भन्दै यसका सुधारका लागि विभिन्न अभियानहरु समेत सञ्चालन हुँदै आएका छन्।

डी.आर. बन्जाडे डी.आर. बन्जाडे
नेपाली पब्लिकका प्रदेश नम्बर ५ का प्रमुख संवाददाता हुन्।

लोकप्रिय