बुटवल – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफूले हरेक रात डिसेम्बर ३० को सपना देख्ने गरेको बताएका छन्। उनले प्रधानमन्त्रीले आफूलाई पर्यटनमन्त्री नियुक्त गर्दा नै गौतमबुद्ध विमानस्थललाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएकाले त्यस्तो सपना देख्ने गरेको बताएका हुन्।

मन्त्री भट्टराईले कतिपयले विमानस्थल सञ्चालन मिति सार्ने कुरा गरे पनि आउँदो डिसेम्बरको अन्त्यसम्ममा विमानस्थल सञ्चालनमा आउने घोषणासमेत गरे। निजगढ विमानस्थल २०१९ को अन्त्यसम्म शिलान्यास हुने दाबीसमेत उनको छ। उनले भने, ‘निजगढको जंगलभरि लाखौँ मान्छे भरेर शिलान्यास गर्छाैं।’

विदेशमा बस्ने नेपालीलाई पर्यटनमन्त्रीको आग्रह

मन्त्री भट्टराईले नेपाल भ्रमण वर्षमा ५० लाख पर्यटक भित्र्याउन सकिने बताएका छन्। विदेशमा बसेका हरेक नेपालीले एक–एक जना पर्यटक पठाए यो सम्भव हुने उनले बताए। लुम्बिनी विकास कोषको विशेष बैठकमा सहभागी हुन जाने क्रममा बुटवल आइपुगेका भट्टराईले विदेशमा बसेर सरकारको आलोचना गर्नुको साटो पर्यटक पठाउने काम गर्न आग्रह गरे।

‘सरकारले यो गरेन, ऊ गरेन भनेर फेसबुकमा जथाभावी लेखेर के हुन्छ ?’, उनले भने, ‘बरु नेपालमा एक जना मात्र भए पनि पर्यटक पठाउनुस्। यदि कसैले १० जनासम्म पर्यटक पठाउँछ भने के सुविधा वा सहयोग गर्नुपर्छ, हामी घोषणा गर्छाैं।’

सरकारले केही गरेन भन्ने चर्चा हुने गरे पनि सरकार सही दिशामा रहेको तर गति मात्र कम भएको उनको तर्क छ। नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका भट्टराईले आउँदो चुनावसम्ममा पार्टी घोषणापत्रका अधिकांश प्रतिबद्धता पूरा गर्ने दाबीसमेत गरे।

लोकप्रिय