– मनु मञ्जिल

मैले, नजाऊ-
सहरमा धेरै दुःखहरू छन् भनेँ
यहाँ पाइलैपिच्छे सडकहरू बिझ्छन् भनेँ

खेल्नका निम्ति मैदान, सोच्नका निम्ति एकान्त
नभएको सहर
जीवनप्रति अनुदार छ भनेँ
न गाउँको झैँ सबेरै गीत गाउने रूखहरू
न सुकिलो दह र ऐना
न भेटेपिच्छे खबर सोध्ने र मुस्काउने मानिसहरू

सहर-
बरु सबेरै काँधमा कागहरू उचालेर चिच्याउँछ भनेँ
शुभमुहूर्तमा कुकुरहरू दौडाउँछ
र, दिनको सुरुवात गर्छ भनेँ
दिनभर प्रताडनाहरू खाँदेर
एम्बुलेन्सहरू कुदाउँछ
र, जब रात पर्छ, अर्धनिद्रामा
कविता लेख्ने सुरसार गर्छ भनेँ

मैले, नजाऊ-
सहरमा धेरै व्यथाहरू छन् भनेँ
सबै कुरा अस्पष्ट
केवल क्रुरतामात्रै प्रस्ट देखिन्छ भनेँ
बेरोजगारहरूको लाम
सहरदेखि कल्पनाको किनारासम्म पुगेको
सत्य पनि भनेँ
आँसुको यौटा गङ्गा
लगभग प्रत्येक कोठाको अँध्यारोमा
चुपचाप बग्छ र सकिन्छ पनि भनेँ

घाम साँझ नपर्दै
पर्खालहरूबाट ओइलाएर झर्ने कुराहरू गरेँ
र यो पनि भनेँ-
सहर भीडले बोल्छ र केही बुझिँदैन
सहर हल्ला गर्छ
र सत्यको स्वर फैलन दिँदैन
प्रेमको लास
फोहोरको कन्टेनरहरूमा भेटिन्छ पनि भनेँ
मान्छेको छातीको मरुभूमि
टाढैबाट देखिन्छ पनि भनेँ

तर, यति धेरै भनिसकेपछि पनि
तिमी त आयौ र भन्यौ-
‘म अब सहरमै बस्छु’
कि सहर तिमीझैँ रातमा घाम देख्नेहरूको हो
सहर लिदीको थुप्रोमा घोडा खोज्नेहरूको हो
भित्र, आऊ, म उठेँ, गएँ-
यो सहर तिम्रो हो।

लोकप्रिय