भारतीय नेपालीभाषी साहित्यकार बिन्द्या सुब्बा (सन् १९५५) आख्यान, संस्मरण निबन्ध तथा नियात्रा विधामार्फत नेपाली साहित्य जगत्मा प्रसिद्धि कमाएकी एक सशक्त सर्जक हुनुहुन्छ। उहाँका कथाक्रम (सन् १९८४) कथासङ्ग्रह, ‘फूलहरू, पहाडहरू, धर्साहरू’ (सन् १९८६) उपन्यास, ‘अथाह’ (सन् १९९९) उपन्यास, ‘हस्पिस’ (सन् २००३) कथासङ्ग्रह, ‘अन्तर्निहित’ (सन् २००४) कवितासङ्ग्रह, ‘निर्गमन’ (सन् २००६) उपन्यास, ‘तिम्रा अक्षरहरूको आयाम’ (सन् २००७) संस्मरण लेखसङ्ग्रह, ‘अरब सागरको किनारामा’ (सन् २००८) नियात्रा सङ्ग्रहलगायत भाव–संवेदना र शिल्पका हिसाबले महत्त्वपूर्ण कृतिहरू प्रकाशित छन्। ‘त्यागपत्र’ र ‘दौपदी’जस्ता महत्त्वपूर्ण कृतिहरूलाई भाव सम्प्रेषणका तहमा अत्यन्त जादुमय अनुवाद गरेर नेपाली पाठकलाई आकर्षित गर्नसक्ने अनुवाद क्षमताका कारण पनि विन्द्या सुब्बा नेपाली पाठकमाझ लोकप्रिय हुुनुहुन्छ। उहाँको अथाह उपन्यासले साहित्यका निम्ति दिइने सम्मानित पुरस्कार ‘साहित्य अकादमी पुरस्कार’ (सन् २००३) प्राप्त गरेको छ। निरन्तर साहित्य साधनामा लागिरहने नेपाली साहित्यकी गौरवमय व्यक्तित्व बिन्द्या सुब्बासँग नेपाली पब्लिकका निम्ति डा. गीता त्रिपाठीले गरेको कुराकानी यहाँ प्रस्तुत छ:

तपाईंको साहित्य सिर्जनाका आरम्भकालीन समयको दार्जीलिङको साहित्यिक परिवेश कस्तो थियो?

– मैले सन् १९६७ सालतिर एउटा सानो कविता लिएर साहित्य संसारमा पाइला टेकेकी हुँ, खासै लेख्न आरम्भ गरेकी भने सत्तरीको दशकको शुरुदेखि हो, जुन लेख्नु कथाकै दिशातर्फ थियो। दार्जीलिङको साहित्यिक परिवेश र गतिविधि त्यस समय अत्यन्त उन्नत र उर्वर थियो। साहित्यमा आयामिक आन्दोलनले एउटा हलचल सृष्टि गरेको समय थियो त्यो र अन्य कतिपय सर्जकहरूले पनि यस दिशातर्फ आफ्ना प्रयोगमूलक कथा, कविताहरू लेखिरहेका थिए। दार्जीलिङमा विशेष कथालेखनकै सन्दर्भमा सत्तरीको दशकलाई ‘स्वर्णयुग’ पनि भनिन्छ। सन् १९७१ सालमा मेरो एउटा कथा काठमाडौँकै पत्रिकामा प्रकाशित भएपछि यस विधातर्फ मेरो पाइला सक्रिय हुनथाल्यो। त्यस दशकभरि मेरा निकै कथाहरू भारत–नेपालका पत्रिकाहरूमा प्रकाशित भए तथा यतातिर पनि साहित्यिक पत्रिकाहरू निकै प्रकाशित हुन्थे। मेरो कथा प्रथमचोटि प्रकाशित हुँदा म मात्र दशौँ श्रेणी उक्लेकी विद्यार्थी थिएँ।

तपाईंले साहित्य सिर्जनामा आख्यानलाई मूल विधा बनाउनुभएको छ। यही विधामा आउनुपर्ने खास घटना, कारण वा परिस्थिति केही छ कि? प्रकाशित पहिलो विधा त यहाँको कविता नै देखिन्छ !

– हो, कथा र उपन्यासलाई नै मैले सिर्जनाका निम्ति मूल विधा बनाएँ तर समानान्तरमा लेख र संस्मरणहरू पनि पर्छन् कि ! तथापि आफूलाई दायित्वबोध गरेकी विधा भने आख्यान (कथा–उपन्यास) नै हुन्। अन्य धेरै लेखकले जस्तै मैले पनि शुरुवात एउटा कविताबाट नै गरेकी थिएँ, तर स्वतः आख्यान लेखनतर्फ ढल्किएँ। स्कुले विद्यार्थी छँदादेखि नै म नेपाली उपन्यास र कथाहरूका पाठक थिएँ, पछिदेखि आफै पनि लेख्न प्रेरित बनेँ। कथा लेखनमा मैले सकारात्मक प्रतिक्रिया र मूल्याङ्कन पनि पाएँ। दार्जीलिङका ‘दीयो’, ‘दियालो’ लगायत प्रायजसो नै पत्रिकाहरूका साथै नेपालका ‘दर्पण’, ‘रत्नश्री’, ‘मधुपर्क’, ‘बान्की’, ‘शिलान्यास’ र पछिदेखि ‘गरिमा’ आदिमा मेरा कथाहरू सहजै स्वीकार गरिनथाले। त्यसैले कथा लेखनतर्फ मेरो उत्साह, आत्मविश्वास र दायित्वबोध बढेर गए। धेरै वर्षसम्म लेखिएका कथाहरूबाट पनि तर चयन गरेर कथा सङ्ग्रह भने तीनवटा मात्रै प्रकाशित छन्। प्रथम उपन्यास मेरो ‘फूलहरू; पहाडहरू; धर्साहरू’ हो, जो सन् १९८६ मा प्रकाशित भयो। त्यसपछि ‘अथाह’, ‘निर्गमन’ र ‘सीमान्त’ गरी जम्मा प्रकाशित उपन्यास चारवटा हुन्।

दार्जीलिङको आख्यानमा जसरी इन्द्रबहादुर राईको आख्यानको विशिष्ट स्वाद छ, त्यसरी नै महिला लेखनमा बिन्द्या सुब्बाको आख्यान विषय र शिल्प दुवै पक्षबाट विशिष्ट र गहिरो छाप छोड्न सफल छ। यो सफलताका निम्ति तपाईंले लेखनमा के कस्ता पक्षलाई विशेष ध्यान दिइरहनुभएको छ?

– कुनै एक वा दुई पक्षतर्फ ध्यान नदिई वा बढी सचेत नभईकन मैले कथाहरू लेखेँ। लेख्नुअघि साधारण प्रकारले नै निर्धारित विषयमाथि चिन्तन–मनन गर्ने गर्दछु, सोच्दछु, नेपाली साहित्यका पाठकका लागि यो विषय असल खुराक हुनसक्छ या सक्दैन। यति गरी मनैले खुट्याएपछि लेख्दा शिल्प–शैलीमाथि केही ध्यान दिने गर्दछु। यस्तै प्रकारले नै कथा लेख्ने प्रयास रह्यो, जारी छ। यी नै कथाहरू सम्प्रेषण भए होलान् पाठकहरूमा। मेरा कथाहरू पाठकमा गहिरो छाप छोड्न सफल भएको कुरो आजकी गतिशील समालोचक, साहित्यकर्मी तपाईंबाट जान्न पाउँदा कथा लेखनतर्फ मेरो उत्साह दोब्बर भएको अनुभव गरिरहेकी छु।

तपाईंले ‘अथाह’का समाख्याता र सन्दर्भित मूल पात्रलाई कसरी फेला पार्नुभयो? सामाजिक पात्रलाई औपन्यासिक बनाउँदा के कस्तो योजना गर्नुभयो?

– ‘अथाह’ असामान्य मनोविज्ञानमाथि आधारित उपन्यास हो। विविध रङ्ग, भाषा र सम्प्रदायका प्रतिनिधिस्वरूप विभिन्न मानसिक रोगका सिकार भएका युवक–युवतीहरू उपन्यासका पात्रका रूपमा छन्। यी पात्रहरूलाई मैले नर्सिङ उच्च शिक्षाको अध्ययनकालमा असामान्य मनोविज्ञान विषयअन्तर्गत एउटा अध्ययन संस्थान इन्स्टिच्युट अफ साइकियाट्रीमा फेला पारेकी हुँ। ती धेरै पात्रहरूमध्ये दुई–तीन जना मेरा सेवा र अध्ययनका विषयहरू थिए। नाम र केही केही घटनाहरू मात्र यताउति गरी उनीहरूलाई जस्ताको तस्तै उपन्यासमा राखेकी छु। नयाँ दिशातर्फको एउटा उपन्यास प्रस्तुति मेरो चाहना हुँदाहुँदै पनि अर्को एउटा विशिष्ट उद्देश्य यसभित्र निहित छ।

हाम्रा समाजमा मानसिक रोगबारे मानिसहरू प्रायः अनभिज्ञ र उदासीन भएका कारण धेरै रोगी घर–परिवारमा असह्यजस्तो भएपछि बाटामा फालिन्छन्, परिवारविहीन हुन्छन् तर शारीरिक रोग जस्तै मानसिक रोग पनि एउटा विग्रह र भोगाइ नै हो, जसलाई पनि चिकित्साको आवश्यकता हुन्छ। चिकित्सापछि ती रोगी पनि परिवारभित्र समायोजन निर्वाह गरी जीवन अघि बढाउन सक्छन्। यो सन्देश र उद्देश्यकृत भएर पनि ‘अथाह’ लेखेँ, केवल लेखन तकनिकी र कलापक्षमाथि केही ध्यान दिई त्यो उपन्यास लेखियो। विशृङ्खलताभित्र पनि खोजीपरे सौन्दर्य भेट्न सकिन्छ, त्यो सन्देश पनि छ उपन्यासभित्र। नेपाली साहित्यमा मात्र होइन, अन्य भारतीय भाषाका पाठकहरूद्वारा पनि स्वागत पायो यसले र सन् २००३ मा साहित्य अकादमी पुरस्कारद्वारा सम्मानित पनि भयो।

अधिकांश आख्यानको बाह्य र आन्तरिक परिवेशको अन्तःसम्बन्धलाई सङ्गठित गर्न नसक्दा आख्यानीकरण कमजोर भइरहेको पाइन्छ, यस विषयमा तपाईंको अनुभव कस्तो छ?

– आख्यान पढ्दा रमाइलो र सरस लाग्ने भए पनि लेख्न भने सहज छैन। एउटा विषय मनले चिताएपछि आवश्यक तत्त्वहरू मिलाएर त्यसलाई आख्यानका रूपमा ढाल्न र सम्प्रेषणीय बनाउन शिल्पकारितामाथि पनि निर्भर हुन्छ। आन्तरिक परिवेश र बाह्य परिवेश (प्रत्यक्ष/परोक्ष)बीच सन्तुलन मिलाएर लेख्न गाह्रै कुरो हो अथवा भित्र मनले ठीक गरिएको विषय, बुनिएको संरचनालाई बाह्य परिवेशमा शिल्प विधानसाथ प्रस्तुत गर्नु आख्यानकारिताको ठूलो गुण हो; जो कहिले कुनै आख्यानतिर मिल्दैन। विद्वान् समालोचकहरूका कुरा पर राखेर आजका सचेत र विज्ञ पाठकहरूले आख्यानमा यस्ता असन्तुलन र कमजोरीहरू थाहा पाइहाल्छन्। आफ्ना केही कथाहरूमा मलाई पनि अनुभव भएको कुरा हुन् यी।

तपाईंले बाँचिआएको परिवेशमा एउटी महिलालाई लेखक हुन कत्तिको सङ्घर्ष छ? कि त महिला–पुरुषका सङ्घर्ष एकै छन् त्यता?

– मैले (हामीले) बाँचिआएको परिवेशमा एउटी महिलालाई लेखक हुन सङ्घर्ष गर्नुपर्ने ठाउँ अझ पनि ठूलै छ। पितृसत्तात्मक समाजले हाम्रानिम्ति भित्र र बाहिरका दुवै स्थितिसँग सामञ्जस्य मिलाएर चल्नुका निम्ति यस्तो सङ्घर्ष गरिरहनुपरेको हो। नारीका निम्ति त्यो व्यवस्था खुकुलो गरियो कि ! घर–परिवारभित्रको वातावरणको व्यवस्थामा नै असन्तुलन आउला कि भन्ने भय र शङ्का व्याप्त रहन्छ। म यो किमार्थ भन्दिनँ कि पुरुषको जीवन सहज छ। उनीहरूका जीवनमा पनि आफ्नै प्रकारको सङ्घर्ष छ तर नारी र पुरुष सन्दर्भमा फरक फरक किसिमका छन् ती। सर्जक भनेको सर्जक नै हुन्, चाहे ती नारी होऊन् या पुरुष।

यस अर्थमा एउटी नारी सर्जकको पनि स्वाभाविक चाहना र आवश्यकता हुन्छ र अर्कोतिर एउटी गृहस्थ नारीका निम्ति नियोजित कर्म, भूमिका र ऊप्रति परिवारका माग, अपेक्षा र मान्यता उही किसिमका हुन्छन्। नारी, एक सर्जकको चाहना र गृहस्थ नारीको विशाल भूमिका एकार्कामा विरोधाभासपूर्ण कुरा हुन् एवं द्वन्द्व र सङ्घर्ष भन्ने कुरा पनि यिनैहरूबीच सदादेखि चलेर आएको छ, चलिरहेकै छ।

वर्षौं भयो हामी महिलाले लैङ्गिक विभेदका विषयमा आवाज उठाउन थालेको, लेख्न थालेको र विभिन्न प्रक्रिया र प्रविधिबाट प्रतिरोध गर्न थालेको। हरेक नयाँ पुस्तामा फेरि हामी अझै उही विन्दुबाट शुरुवात गरिरहन्छौँ कि जस्तो लाग्छ। तपाईंलाई के लाग्छ, अब हामीले सामाजिक सत्तामा समान प्राप्तिको उद्घोष गर्ने बेला भएन?

– हो, वर्षौं भयो हामी महिलाले लैङ्गिक विभेदका विषयमा आवाज उठाउन एवं प्रतिक्रिया र प्रतिरोध गर्न आरम्भ गरेको। तर, हाम्रा विरोधहरूमा खास प्रक्रिया, गहिराइपन र गहकिलोपन छैनन् तथा यसमा एकनास निरन्तरता पनि छैन। लैङ्गिक विभेदबारे प्रतिक्रिया र प्रतिरोध बोकेका रचना र कृतिहरू पनि लेखकहरूद्वारा लेखिएका छन्। लेखनमा आजभोलि नारीवादी चिन्तन तथा नारीवादले व्यापकता पनि पाएको छ, जसको प्रभावसमेत मानव समूहमा हामी देख्न पाइरहेका छौँ। अब नयाँ पुस्ताले नयाँ शुरुवातबाट होइन तर यसैलाई पहिल्याएर अघि बढ्ला भन्ने कुरामा विश्वस्त बनौँ।

राजनीतिक क्षेत्रमा कुनै कुरामा पनि स्थायीपन हुँदैन न वस्तुगत रूपमा न भावगत रूपमा। तसर्थ, त्यहाँदेखि वरतिरको कुरा गर्नु हो भने सामाजिक क्षेत्र सन्दर्भमा महिला सङ्घ, महिला सङ्गठन, नारी निकेतन आदि आदि सङ्घ–संस्थाहरू खोलिन्छन् तर यी सबैलाई नारीका उही पारम्परिक विषय, घरेलु मुद्दाहरू र वरिपरि नारीमाथि घटेका घटनाहरू सुल्झाउन नै ठिक्क हुन्छ। नारीका निम्ति युगसापेक्ष प्रगति, अब उनीहरू हिँड्नुपर्ने नयाँ पथहरू र छुनुपर्ने नयाँ दिशाहरूको निर्माण गर्न सकिरहेका छैनन्। सामाजिक सत्तामा नारीद्वारा स्थान प्राप्तिको उद्घोष समय–समय भइरहेकै कुरो हो तर त्यो मात्र ‘आवाज’का रूपमा सीमित छ। पूर्णरूपमा उद्घोष गर्नका लागि समय पहिले नै भइसकेको भए तापनि व्यवहारमा हामीले अझ केही पर्खनु नै पर्ला।

आर्थिक समस्या आज पनि नेपाली र भारतीय दुवैतिरको साहित्य लेखनको मूल स्वर भइरहेको छ। हाम्रा लेखनले राजनीतिक सोच र नीतिमा परिवर्तन गरी आर्थिक क्रान्तिमा किन सघाउन नसकेको? तपाईंलाई के लाग्छ, सरकार र सत्तामा बस्नेले हृदय र मानवीय संवेदनालाई निषेध नै गर्नुपर्ने कारण के होला?

– यहाँ भए पनि उता भए पनि आर्थिक समस्या लेखनको एउटा स्वर भएको कुरो सापेक्षित हो। स्वर उठाउने दायित्ववाहक स्वयं लेखकहरू पनि यसै समस्याको चपेटामा छन्। तर, केही अर्थ र केही सीमासम्म दुई राष्ट्र नेपाल र भारतका राजनीतिक व्यवस्था र व्यवस्थाभित्रका समस्याहरू आ–आफ्ना किसिमका छन्, तसर्थ राष्ट्रभित्रका सर्जकहरूका सृजनामा पनि यी फरकपन परिलक्षित हुनु स्वाभाविक हो। भारतीय लेखनको समयसापेक्ष मूलस्वरबारे प्रश्न १० का उत्तरमा पनि चर्चा गरिने छ। यस प्रश्नको उत्तरको शेषमा यति चाहिँ भन्छु, राष्ट्रलाई परेका समस्याहरूमा सर्जकहरूका कलम सहयोगी हुनु अनिवार्य हो। राष्ट्रका विचलनहरूमा सृजनाहरूले क्रान्ति पनि ल्याउन सक्नु पर्नेछ !

तपाईंले अनुवाद गर्नुभएको ‘द्रौपदी’ भाषिक कला र अर्थगत गम्भीरता दुवै हिसाबले उच्च छ। अरू पनि केही राम्रा अनुवाद गर्नुभएको छ। अनुवादकार्य सफल हुनका निम्ति के कस्तो अनुवाद नीति अपनाउनुपर्छ भन्ने लाग्छ तपाईंलाई?

– मञ्जरी प्रकाशन, काठमाडौँले प्रकाशित गरेको ‘द्रौपदी’ नेपाली अनुवादको दोस्रो संस्करण हो। यसको प्रथम संस्करण सन् २०१२ मा नै निर्माण प्रकाशन, सिक्किमले प्रकाशित गरेको थियो। भारतीय परिवेशमा पनि त्यस अनुवाद कृतिले धेरै राम्रा प्रतिक्रिया र मूल्याङ्कन प्राप्त गर्‍यो। मूल उपन्यास उडिया भाषामा हो र लेखक हुन् उडिया भाषाकी प्रतिष्ठित सर्जक प्रतिभा राय। उडियामा यो उपन्यास ‘याज्ञसेनी’ नाम लिएर प्रकाशित भएको हो तर हिन्दीमा रूपान्तर हुँदा यसलाई ‘द्रौपदी’ नाम राखियो। मैले हिन्दी भाषाबाट नै नेपालीमा अनुवाद गरेकी हुँ। अनुवाद नै गरौँला भनी यस कार्यतर्फ दायित्व सम्हालेकी होइन मैले।

जब पनि कुनै कृतिले आफूलाई अति प्रभावित गरिदियो, यस्तो उत्कृष्ट कृति नेपाली भाषाका पाठकहरूले पनि पढ्न पाए हुने भन्ने लागेपछि अनुवाद गरेँ। यसैगरी वर्षौंअघि सन् १९७८ मा हिन्दी साहित्यका सुप्रसिद्ध लेखक जैनेन्द्र कुमारको उपन्यास ‘त्यागपत्र’लाई पनि नेपाली भाषामा अनुवाद गरेकी थिएँ। यो अनुवाद कृतिले पनि नेपाली साहित्य संसारमा उत्तिकै स्वागत पायो।

अनुवाद सफल बनाउनका निम्ति मैले कृतिलाई बारम्बार पढेँ, सूक्ष्मतर रूपमा कृतिको मूल स्वर, दृष्टिविन्दु र कथानकलाई बुझ्ने चेष्टा गरेँ। अनुवाद गर्दा मूल कृतिको अन्तरान्तर आत्मालाई नै स्पर्श गर्न सक्नुपर्छ र मौलिकतालाई जोगाइदिँदै आफ्नो तर्फबाट पनि शिल्प र सौन्दर्य थपी अझ सुन्दर बनाइदिने चेष्टा गर्नुपर्छ। कृतिलाई एकचोटि सरर पढी छायाँनुवाद मात्र गरिँदा त्यसको मूल सौन्दर्य र भावगत नै निष्प्राण भएर जान्छ। तथापि अनुवाद कार्य विधाअनुसार त्यही प्रकारले सम्पन्न गरिन्छ। मैले आख्यानलाई लिएर गरेकी अनुवाद कार्यमा छायावाद साथै ठाउँठाउँमा भावानुवाद पनि गरेकी छु। ‘द्रौपदी’ भारतीय भाषाको श्रेष्ठ उपन्यास हो। उडिया भाषामा यसको एक सय संस्करण प्रकाशित भइसके। यसैबाट यसको लोकप्रियताको अनुमान लगाउन सकिन्छ।

तपाईंद्वारा लिखित उपन्यास निर्गमनका नारी पात्र तृष्णाले गरेकी गृहत्याग बहस र विवादलाई ठाउँ दिएको हुनसक्ने विषय भएको छ, यसलाई कसरी उचित सिद्ध गर्नुहुन्छ?

–निर्गमनका मूल पात्र तृष्णा, एक नारीका अन्तद्वन्द्वहरू र उसको गृहत्यागले विवादका निम्ति ठाउँ राखिदिएको सत्यसँग म अनभिज्ञ छैन। नारीलाई पितृसत्तात्मक व्यवस्थाले जुन ठाउँ देखाइदिएको छ, त्यहाँबाट नारी यताउता हुनु एउटा अनौँठो कुरो हुनजान्छ भने अचानक उसले घर–परिवारदेखि छुट्टिएर पलायन हुनु भनेको त झनै आश्चर्य र विवादको विषय भयो। तृष्णा एक गम्भीर सर्जक साथै महाविद्यालयकी प्राध्यापक हुन् साथै गृहस्थीभित्र एक पत्नी, बुहारी र पाँचवर्षे बालककी आमा हुन्। सर्जकहरूमध्ये पनि एक फरक विचार, साहित्य साधनाको फरक ढङ्ग र दिशा चाहने तृष्णा सृजनामा सायद फरक दिशा ल्याउन चाहन्थी, जो पितृसत्तात्मक समाजले कसरी बुझिदिने !

हाम्रा इतिहासमा, दृष्टान्तहरूमा कुनै कर्मसिद्धि, ज्ञानको खोजी र जगत्कै निम्ति कुनै विशिष्ट कार्य गर्न चाहने पुरुषहरूद्वारा गरिएका गृहत्यागका उदाहरणहरू धेरै छन्। तर, यस्ता चाहनाहरू र ज्ञानको तृष्णा नितान्त पुरुषमा मात्र हुने कुरो हो? कुनै दिशाको खोजमा पति, पुत्र र परिवारदेखि विपरीत गृहत्याग गरी तृष्णाले पनि। तर, उनी एक नारी भएकी कारण विवादका निम्ति ठाउँ बन्यो।

दुई वर्षअघि प्रकाशित तपाईंको ‘सीमान्त’ उपन्यासलाई नारीवादी उपन्यास ठहर्‍याइएको छ, पाठक र समालोचकहरूको यस दृष्टिकोणसँग सहमत हुनुहुन्छ?

– ‘सीमान्त’का नारी पात्रहरूमा आमा–छोरी राधा र प्रियम्बदा, यी दुई पुस्तालाई प्रस्तुत गरेर मद्वारा समयले नारीलाई अतीतमा के कस्तो मार्गमा हिँडायो र वर्तमानमा उनीहरूको स्थिति कस्तो छ भन्ने नारीसम्बन्धी चिन्तन र मननको ढोका पनि उघारिएको छ। मध्य समयतिरकी नारीको प्रतिनिधिस्वरूप राधा एवं आधुनिक सोच र पदक्षेपसाथ हिँड्ने युवतीका रूपमा प्रियम्बदा माझका जीवनशैली, वैचारिक ढङ्ग र द्वन्द्वको आलेख पनि हो– ‘सीमान्त’ उपन्यास। राधाको जीवन यात्रा, बचाइ र उनको दर्शनले धेरै सन्देशहरू पनि दिएका छन् पाठकहरूलाई। राधा तर आम नारी भएर पनि आम होइनन्।

इति चिन्तन, घटना र कथानकलाई बुनेर तयार गरेपछि यो एउटा नारीवादी उपन्यास ठहरिएको छ भने मञ्जुर छ मलाई। तर, ठीक नारीवादका सैद्धान्तिक ढाँचामा मिल्नलाई विरोधाभासपूर्ण केही तथ्यहरू पनि छन् उपन्यासभित्र, जो खुट्याउने छन् विद्वान् समालोचकगण र पाठकहरूले, जो आभाष भइसकेको छ सर्जक स्वयंलाई पनि।

भारतीय नेपाली साहित्यको वर्तमान मूल स्वर के कस्तो विषयमा केन्द्रित भएको पाउनुहुन्छ?

विभिन्न धर्म, भाषा, सम्प्रदाय तथा अनेकौँ जातिहरू रहेका देश भारतवर्षमा छौँ हामी। अनेकतामा एकताको भावना लिएर बस्दा धेरै कुरा पनि सिक्यौँ, तर, व्यावहारिक रूपमा भोगेका कुरा पनि उत्तिकै सापेक्षित छन्। भारतमा अनेक जातिहरूमध्ये नेपाली जाति अल्पसङ्ख्यक जाति भएर रहनुपर्दा धेरै ठोकर पनि खप्यौँ। चिरकालदेखि भारतमा गोर्खा/नेपालीको जातीय अस्मिता र चिनारीको लडाइँमा वर्षौं खर्च गरेका छौँ हामीले। प्रत्यक्ष/परोक्ष यी भोगाइ र बचाइका अनुभवहरू वर्तमान साहित्य–कलामा मूल स्वर भएर आउनु स्वाभाविक हो।

लोकप्रिय

पक्राउ परे गुण्डा साजन गुरुङ

पक्राउ परे गुण्डा साजन गुरुङ

२०७६, २७ भाद्र शुक्रबार १८:००

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

२०७६, २८ भाद्र शनिबार १६:५४

मेस्सी टिममा फर्कनेमा अझै शंका

मेस्सी टिममा फर्कनेमा अझै शंका

२०७६, २७ भाद्र शुक्रबार ११:१४

राष्ट्र बनाउन युवाहरु जुर्मुराउनु पर्छ

राष्ट्र बनाउन युवाहरु जुर्मुराउनु पर्छ

२०७६, २७ भाद्र शुक्रबार १५:२९

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

२०७६, २८ भाद्र शनिबार १२:४९

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

२०७६, २८ भाद्र शनिबार १७:१४

पहिरोको कारण एकको मृत्यु, चार घाईते

पहिरोको कारण एकको मृत्यु, चार घाईते

२०७६, २७ भाद्र शुक्रबार १२:१७

प्रेममाथी एक गजल

प्रेममाथी एक गजल

२०७६, २७ भाद्र शुक्रबार १३:३९

नागरिक समाजका नाममा राजनीति नगर्न शिक्षामन्त्रीकाे आग्रह

नागरिक समाजका नाममा राजनीति नगर्न शिक्षामन्त्रीकाे आग्रह

२०७६, २७ भाद्र शुक्रबार १८:१९

महिनावारीसम्बन्धि केहि तथ्यहरू

महिनावारीसम्बन्धि केहि तथ्यहरू

२०७६, २८ भाद्र शनिबार १६:१७

स्वास्थका लागि ३० दिन उठबस

स्वास्थका लागि ३० दिन उठबस

२०७६, २७ भाद्र शुक्रबार १८:३०

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

यि सामानहरुले बिगार्न सक्छ तपाईको निन्द्रा

यि सामानहरुले बिगार्न सक्छ तपाईको निन्द्रा

२०७६, २७ भाद्र शुक्रबार १६:५९

अब आलुको बोक्रा फ्याँक्न बन्द गर्नुहोस्

अब आलुको बोक्रा फ्याँक्न बन्द गर्नुहोस्

२०७६, २७ भाद्र शुक्रबार १०:५४