– दुर्गा सुवेदी

अपहरित विमानलाई फारबिसगन्जमा उतार्दा सुशील कोइराला र साथीहरू हामीलाई पर्खेर बसिरहेका थिए। त्यहाँ उत्रेपछि हामीले राष्ट्र बैंकको भारु ३० लाख रहेको तीनवटा बाकस बाहिर निकालेर विमानलाई विराटनगरतर्फै फिर्ता पठाइदियौँ। हामी भने भारतकै अररियातर्फ लाग्यौँ।

युलिसिस जिपको अघिल्लो सिटमा सुशील कोइराला बसेका थिए। उनले बाटो देखाइरहेका थिए। गाडीमा हामी तीन जना ‘अपहरणकारी’ म, वसन्त र नगेन्द्रबाहेक विनोद आर्याल र मनोहरि बराल पनि थियौँ।

फारबिसगन्जको मैदानमा गिरिजादाजु हुनुहुन्थेन। फारबिसगन्जबाट १० किलोमिटरजति पर बल्ल उनको जिप देखियो। उहाँ हामीलाई जिपमै पर्खेर बस्नुभएको रहेछ।

सुशीलले गाडी रोकेर राष्ट्र बैंकको एउटा बाकस गिरिजाप्रसाद चढेको गाडीमा हाल्न लगाए। अनि मनोहरि बराल, वसन्त र विनोद आर्यालहरू पनि त्यही गाडीमा चढे। हाम्रो जिपमा सुशील, नगेन्द्र र म रह्यौँ। हाम्रो गाडीमा दुईवटा बाकस बाँकी थिए।

सुशीलले आफू पछाडिपट्टि बसेर मलाई अगाडिको सिटमा बस्न भने। कांग्रेसकै सक्रिय कार्यकर्ता वीरु तामाङले गाडी हाँकिरहेका थिए। उनले गाडीको गति बढाए।

अररियाको जिरो प्वाइन्ट भन्ने चोकमा पुगेर गाडी रोकियो। चोकको किनारामा एउटा कार देखियो। त्यसमा बीपी कोइराला हुनुहुन्थ्यो। साथमा थिए– भागलपुर विश्वविद्यालयका उपकुलपति देवेन्द्रप्रसाद सिंह। सुशीलको निर्देशनमा वीरुले हाम्रो जिपलाई त्यही कारछेउमा पुर्‍याए। कारबाट देवेन्द्र प्रसादका भाइ बरजप्रसाद सिंह झरे र हाम्रो जिपमा चढे।

बीपी र देवेन्द्रप्रसाद सिंहको सुरक्षार्थ पुलिसको भ्यान पनि तैनाथ थियो। सबभन्दा अगाडि बीपी चढेको गाडी, त्यसपछि पुलिसको गाडी अनि पुछारमा हाम्रो जिप भयो। हामी विहारबाट पश्चिम बङ्गालतिर गइरहेका थियौँ।

विहार र बङ्गाल राज्यको सिमानामा पुग्ने बेला हाम्रो जिप निकै पछि परिसकेको थियो। बङ्गालको सिमाना पुगेपछि ढाँटमा विहार पुुलिसले हाम्रो जिप रोकेर खानलतासी गर्ने भयो। गुरुजीले गाडी साइड लगाएर रोके। म जिपको अगाडिको सिटमा थिएँ। अपहरणका लागि बोकेके रिवल्भर मेरो कम्मरमै थियो। धन्न विहारी पुलिसले देखेन। तर, उसले जिपमा राखिएका दुई बाकस भने देख्यो। एउटा बाकस गिरिजाप्रसादको जिपमा हालेकाले यहाँ दुइटा मात्र थिए।

पुलिसले भन्यो, ‘इस् मे क्या है? खोलिए (यसमा के छ? खोल्नुस्)’

म गाडीबाट झरेँ। पुलिसलाई के भन्ने मैले सोच्न सकिरहेको थिइनँ। मैले गाडीभित्र सुशील कोइरालालाई हेरेँ। उनी पनि हतोत्साही भएर केही नबोली बसिरहेका थिए। ढाँट बन्द भएकाले दुवैतर्फ जाम हुन थाल्यो। मानिसको भीड बढ्दै गयो। कोही केही बोलिरहेका थिएनन्।

पुलिसले झाोक्किएर चाँडै बाकस बाहिर निकालेर खोल्न भन्यो। त्यत्तिकैमा गाडीभित्र बसेको देवेन्द्रप्रसादका भाइ बरज सिंहले भोजपुरी भाषामा पुलिसलाई ‘हाम्रो मालिक अगाडिको गाडीमा छन्, यो सामान उनीहरूकै हो’ भने।

मैले सिपाहीलाई ढाँट खोलिदिन अनुरोध गरेँ। उनले निकै कडाइका साथ भने, ‘ऐसे कैसे जाने दे भाइ, चाय–पानीका बन्दोबस्त करो। (यसै कसरी जान दिने भाइ, यसो चियापानीको व्यवस्था गर)’ मैले पाँच–दस रुपैयाँ उसलाई दिने कुरा गरेँ। तर, उसले पाँच दशले हुँदैन, यत्रा ठूलाठूला बाकस छन्, सामान धेरै छ, २० रुपैयाँ निकाल भन्यो। सुशीलले पैसा निकालेर दिए। पैसा पाएपछि उसले केही नबोली ढाँट खोलेर हाम्रो गाडीलाएई जान दियो। भारतका पुलिसको साह्रै भ्रष्ट स्वभावले हामीलाई भने ठूलो सङ्कटबाट जोगायो।

बङ्गाल प्रवेश गरेपछि बीपी कोइरालाको गाडी हामीलाई पर्खिरहेको देखियो। त्यसपछि हाम्रो गाडीको काफिला सिलगुडीतर्फ लाग्यो। अब भने हाम्रो गाडी बीचमा थियो। पुलिसका भ्यानहरू पछाडि थिए। सिलिगुडी बाइपास हुँदै हामी टिस्टा नदीको पुलमा पुग्यौँ। चिया पिउन हामी गाडीबाट झर्‍यौँ। बिहान ७ बजे विराटनगरको कोठाबाट हिँडेर ८ः१५ मा उडेपछि म रोकिएको त्यसबेला मात्र थियो।

विराटनगरको हवाई मैदानमा पुलिसले खुवाएको एक बोतल कोकबाहेक सात घन्टादेखि केही खान पाइएको थिएन। पेट खाली थियो। बाटोमा पानी पिउन पनि रोक्न सकिएन। नगेन्द्रले सुशील कोइरालातर्फ फर्किएर भने, ‘अति नै भोक लागेको छ, केही नास्ता गरौँ।’

पहाडी इलाकाको दोकान भएकाले आलु, चना र चिउराको व्यवस्था भयो। खाइसकेपछि बीपी र देवेन्द्रबाबुले आपसमा कुरा गर्दै साँझ ५ बजेतिर सिक्किम पुग्न सकिन्छ भन्दै गाडी चढे।

नभन्दै हामी ५ बजेतिर गान्तोक पुगेका थियौँ। बाटोमा खासै कोही केही बोलेन। गिरिजादाजु गाडीमा पैसा हालेर कता लगे, त्यो पनि हामीलाई थाहा थिएन।

सिक्किमको पहिलो रात

सिक्किमको राजधानी गान्तोकका चर्चित व्यवसायी तथा बीपीका मित्र बीके श्रेष्ठको रेस्ट हाउस हाताभित्र पुगेर साँझको ५ बजे हाम्रो गाडीको काफिला रोकियो। बीपी–पत्नी सुशीला कोइराला र छोरा श्रीहर्ष केही दिनपहिले नै त्यो विश्राम गृहमा पुगेर बसिरहेका रहेछन्।

हामीलाई देख्नासाथ सुशीला भाउजूले आश्चर्य मान्नुभयो। बीपीको नजिक पुगेर उहाँले केही भन्नुभयो। त्यसपछि बीपीले नगेन्द्र र मलाई भित्रको कोठमा लगेर बसाल्न भन्नुभयो। हामी एउटा कोठामा गएर बस्यौँ। अपहरणमा संलग्न अर्का मित्र वसन्त भने गिरिजादाजुको गाडीमा उनैसँग गइसकेका थिए।

सुशील कोइराला, बरज काका र गुरुजीहरूले गाडीबाट पैसाको बाकस निकालेर हामी बसेको कोठामा ल्याए। कोठामा सुशीला आमा पनि आउनुभयो। उहाँ हामीसँग केही कुरा गर्न खोज्दै हुनुहुन्थ्यो। तर, त्यसैबेला बीपी पनि त्यही कोठामा आएपछि बीपीतिरै फर्किनुभयो।

‘रेडियो नेपालले जहाज अपहरण गरेर राष्ट्र बैंकको पैसा लुटेको खबर फुकेको फुक्यै छ। यिनीहरूको नाउँ, उत्रेको ठाउँ पनि बताउँदै छ,’ उहाँले भन्नुभयो।

उहाँले चिन्ता प्रकट गर्नुभयो, ‘अब नेपालभित्रका कांग्रेसलाई सरकारले कति दुःख दिने हो?’

उहाँको कुरा सुन्दै बीपी ढोकातिर जानुभयो र ढोका बन्द गर्नुभयो। अनि, सुशीलातिर फर्किएर भन्नुभयो, ‘अबदेखि यिनीहरूलाई  नाउँले नबोलाउनू।’

मतिर फर्किएर भन्नुभयो, ‘तिम्रो आँखाको पहिचान अलग छ, अहिले कोठाबाहिर पनि निस्कनु हुँदैन।’ मेरो आँखा खैरो भएकाले मानिसहरूको ध्यान जान सक्थ्यो।

त्यति भनेर बीपी देवेन्द्रबाबुको कोठातिर लाग्नुभयो। सुशील नगेन्द्रलाई बोलाएर बरज काकासँग कुरा गर्न गए।

सुशीला आमा मेरो नजिक आएर भन्न थाल्नुभयो, ‘अब नेपालभित्रका तिमीहरूका साथीभाइलाई सरकारले कति दुःख दिने हो? यस्तो के काम गरेको होला बीपीले? यसको परिणाम राम्रो हुनेवाला छैन। अब तिमीहरूले पनि धेरै दुःख पाउने भयौ।’

त्यसैबेला बीपी फेरि कोठामा आउनुभयो।

‘यिनीहरूलाई आराम गर्न दिनुपर्छ भन्दै सुशीला आमाको काँधमा हात राखेर साउती मार्दै बाहिर लैजानुभयो।

त्यसको एक घन्टापछि सुशील र बरज काका छालाका ठूल्ठूला तीनवटा सुटकेस लिएर कोठाभित्र पसे।

‘राष्ट्र बैंकका बाकसबाट पैसा निकाल्नुपर्‍यो,’ सुशीलले भने।

अनि, टिनका बाकस फोरेर पैसा निकाल्न थालियो। त्यसैबेला बीपी फेरि कोठामा आउनुभयो। र, भन्नुभयो, ‘पैसा कति रहेछ गिन्ती पनि गर्नू।’

बरज काका पैसा गन्न लाग्नुभयो। तीनवटा सुटकेस भरेपछि उहाँले भन्नुभयो, ‘२१ लाख भारु रै’ छ।’

पैसा सुटकेसमा बन्द गरेपछि राति ८ बजेतिर फोरिएका टिनका बाकसलाई गाडीमा राखेर सुशील र बरज काका बाहिर गए। बाकस फालेर आएपछि सुटकेसमा ताला लगाउने काम भयो।

रातिको ९ बज्दै थियो। हामीले खाना खाएका थिएनौँ। बीपी फेरि हाम्रो कोठामा आउनुभयो।

‘आज चाँडै सुत, भोलि बिहान चाँडै यहाँबाट हिँड्नुपर्छ,’ बीपीले भन्नुभयो।

‘ह्विस्की, बियर केही खान्छौ?’ उहाँले सोध्नुभयो।

‘अहिलेसम्म खाएको छैन,’ मैले भनेँ।

त्यसपछि उहाँ केही नबोली कोठाबाट जानुभयो। हामीले खाना खायौँ। म आएर खाटमा पल्टिएँ।

विराटगरदेखि सिक्किमसम्मको आजको यात्रामा भोगेका तनावहरूले गर्दा मेरो मानसिक र शारीरिक शक्ति अत्यन्तै शिथिल अवस्थामा पुगेको थियो। विराटनगरदेखि फारबिसगन्जसम्मको अपहरण र यात्राका पलहरू सपनाजस्ता लागिरहेका थिए। मृत्युको मुखमा पुगेर बाँचेको हुनाले अब फेरि कहिल्यै पनि त्यस्तो सङ्कट भोग्नु नपरोस् भनेर सोच्दासोच्दै म निदाएँ।

बीपीले दिएको नाम

२०३० जेठ २९ को बिहान ६ बजे। सिक्किमको पहाडी इलाकामा सिमसिम पानी परिरहेको थियो। बीपी र देवेन्द्रप्रसाद सिंहहरू बाहिर निस्किएर सबैलाई गाडीमा चढाउन सुशील कोइरालालाई अह्राइरहनुभएको थियो। रेस्ट हाउसको हाताभित्र दुइटा कार र एउटा जिप खडा थिए। पुलिसको भ्यान पनि आइसकेको थियो। बीपी, सुशीला र देवेन्द्रबाबु बसेको कारमा पैसाका बाकसहरू राखिएका थिए। श्रीहर्ष, सुशील र मलाई अलग कारमा राखियो। नगेन्द्र र बरज काकाहरू जिपमा बसे। बिहान ७ बजेतिर चारवटा गाडीको काफिला सिक्किमबाट टिस्टा नदीतिर ओरालो लागे।

गाडी गुडेको एक घन्टा भइसकेको थियो। तर, कोही बोलेका थिएनन्। अगाडिको सिटमा सुशील कोइराला बसेका थिए। अचानक मतिर फर्किएर सोधे, ‘राति के सपना देखियो?’

मैले भनेँ, ‘म त रातभर सपनामा विराटनगरमा घुमिरहेको थिएँ।’

उनी हाँसे, ‘अब हामीले विराटनगरलाई बिर्सनुपर्छ। हाम्रो परिचय पनि बदलिएको छ। अब तपाईंको नाम दुर्गा सुवेदी होइन। बीपीले तपाईंलाई दिनेश शर्मा नाम दिनुभएको छ। अबदेखि तपाईं दिनेश शर्मा।’

मैले आफ्नोे नयाँ नाम एकपटक मनमनै उच्चारण गरेँ। आफ्ना नेताले दिएको नाम भएकाले ठीकै लाग्यो।

‘नगेन्द्रको नामचाहिँ सन्तोष शर्मा,’ सुशीलले भने, ‘यो पनि बीपीले नै दिनुभएको नाम। अबदेखि अरूसँग कुरा गर्दा र आपसमा पनि हामीले यही नामले सम्बोधन गर्नुपर्छ।’

हाम्रो काफिला सिलगुडी पुग्दा बिहानको १० बजेको थियो। बजारको प्रवेश द्वारनेर सडकछेउमा बीपीको गाडी रोकिएको थियो। बरज काकाले जिपबाट उत्रिएर स्याउ र केरा किनी बीपीलाई दिए। हाम्रो गाडीमा पनि फलफूलको एउटा झोला दिँदै उनले मलाई हेरेर भने, ‘दिनेश शर्माजी ! आपका तबियत ठीक है ना?’

मैले हाँस्दै ‘ठीक छ’ भनेर हात हल्लाएँ।

उनले त्यही छेउमा उभिएको पुलिस अफिसरलाई सुनाउनका लागि ठूलो स्वरमा मेरो नाम उच्चारण गरेका थिए। नेपालमा भएको हवाई अपहरणबारे ‘बीबीसी’ र भारतीय सञ्चारमाध्यमहरूले प्राथमिकताका साथ समाचार प्रसारण गरेकाले हाम्रो नाम प्रसिद्ध भइसकेको थियो।

त्यसपछि बरजले सुशीललाई साउतीमै भने, ‘नाम मात्र फरक होइन, अब बोल्दा पनि हिन्दीमै बोल्नुपर्छ।’

काफिला फेरि अघि बढ्यो। सिलिगुडी बाइपास हुँदै हिजै आएको बाटो गुड्दै गाडी अररियाको त्यही जिरो प्वाइन्टमा पुग्यो, जहाँ हिजो बीपी र देवेन्द्रबाबु हामीलाई पर्खी बस्नुभएको थियो। त्यहाँबाट आज भने हामी फारबिसगन्जतिर नगई पूर्णियातिर लाग्यौँ।

राति ८ बजेतिर हाम्रो गाडीको काफिला पूर्णियाको सरकारी गेस्ट हाउसभित्र छिरेर रोकियो। देवेन्द्रबाबुले हामी सबैलाई बस्ने प्रबन्ध मिलाउन आफ्नो सुरक्षा गार्डलाई गेस्ट हाउसभित्र पठाए। त्यसैले बीपी चढेको गाडी भने एक राउन्ड लगाएर बाहिर फर्कियो।

यसो बाहिर हेर्दा मैले देखेँ– गेस्ट हाउस हातामा थुप्रै गाडी थिए। तिनमा आधाजति नेपाली नम्बर प्लेटका थिए।

जब देवेन्द्रबाबुको सुरक्षा गार्ड फर्केर आयो, तब सबै कुरा छर्लङ्ग भयो। त्यहाँ त हिजो भएको अपहरणबारे छलफल गर्न नेपाल र भारतका सुरक्षा अधिकारीको बैठक चलिरहेको रहेछ। अपहरणकारी र पैसाको खोजी अपरेसन कसरी गर्ने भन्ने छलफल रहेछ। जहाँ हामीलाई खोज्ने बैठक चलिरहेको थियो, थाहा नपाएर हामी त्यहीँ पुगेका रहेछौँ।

उनले ‘नेपाली प्रहरी र अधिकारीहरू आज यहीँ बस्ने भएकाले कोठा खाली पनि नभएको’ बताए। पुलिस त्यहीँ भएपछि कोठा खाली भए पनि बस्ने कुरा भएन।

हामी त्यहाँबाट निस्कियौँ। त्यसपछि गाडीको लर्को कुर्सेलातर्फ लाग्यो।

कुर्सेला भन्ने ठाउँमा राजपूत राजाको पुरानो दरबार रहेछ। त्यहा राति १० बजेतर गाडीको लर्को पुगेपछि दरबारको रेखदेख गर्नेहरूले देवेन्द्रप्रसाद सिंहलाई देखेर सलाम गरे। त्यहीँ सबैलाई बस्ने र खाने बन्दोबस्त भयो।

राति ११ बजेतिर गिरिजाप्रसाद कोइराला, मनोहरि बराल, चक्र बाँस्तोला, वसन्त भट्टरार्ई र विनोद आर्यालको टोली पनि आइपुग्यो। अररियामा हाम्रो जिपबाट पैसाको एउटा बाकस गाडीमा हालेर हिँडेपछि गिरिजादाजुको टोली दार्जिलिङ पुगेको रहेछ। बीपीले योजना बनाएरै आफूसहित हामीलाई सिक्किम र गिरिजाको टोलिलाई दार्जिलिङ पठाएजस्तो लाग्छ। यी दुवै ठाउँ भारतका भए पनि दुवै नेपालीभाषी बाहुल्य क्षेत्र हुन्। र, यी ठाउँमा बीपीका पुराना मित्रहरू पनि थिए।

कुर्सेला महाराजको दरबारमा रात बिताएपछि भोलिपल्ट बिहान ७ बजेतिर बीपी, गिरिजाबाबु र देवेन्द्रप्रसाद सिँहको गाडीको लर्को पटनातर्फ लाग्यो।

जेपीको घरमा लुकियो

अपहरणको तेस्रो दिन बेलुका हामी देवेन्द्रप्रसाद सिंहको बासस्थान बोरिङ रोड, पटना पुग्यौँ। त्यसै दिन दार्जिलिङमा बीएल शर्माको घरमा बङ्गाल पुलिसले छापा मारेको र नेपाल राष्ट्र बैंकका लाहाछाप लागेका दुई लाख रुपैयाँ भारुका बन्डल बरामद गरेको समाचार आयो।

अपहरणको दिन गाडीमा पैसाको बाकस हालेर गिरिजादाजु दार्जिलिङमा बीएल शर्माको घर पुग्नुभएको रहेछ। त्यो थाहा पाएर पुलिसले घरधनीलाई समेत हिरासतमा लिएको खबर आयो। त्यो पैसा गिरिजादाजुले नै निकालेर राख्न दिएका रहेछन्। सबै पैसा एकै ठाउँमा राख्दा एकैपटक सबै गुम्ने खतरा हुन्थ्यो। यसकारण पनि गिरिजादाजुले धेरै ठाउँमा छरेर पैसा राख्ने नीति लिएका थिए। यसले गर्दा प्रहरीले छापा मार्दा दुई लाख मात्रै भेट्टायो, अरू २८ लाख रुपैयाँ बच्यो।

दार्जिलिङमा छापा मारेर शर्मालाई पक्राउ गरेको खबर पाउनासाथ बीपीले हामीलाई भन्नुभयो, ‘अब यहाँ पनि आउन सक्छ।’

त्यसपछि उहाँले बरज काकालाई बोलाएर भन्नुभयो, ‘दुर्गा र सुशीलहरूलाई जेपीको कामत घर सिताबदेहरा पुर्‍याउनुपर्‍यो।’

उज्यालो नहुँदै पटनाबाट हामी आरातर्फ लाग्यौँ। यसरी अपहरणको चौथो दिन पनि हाम्रो भाग्ने क्रम जारी रह्यो। सुशील कोइराला, वसन्त, नगेन्द्र, विनोद अर्याल र मलाई आरा जिल्लामा पर्ने देवेन्द्रप्रसाद सिंहको पुख्र्याैली घरमा लुकेर केही दिन आराम गर्ने व्यवस्था मिलाइएको थियो। गर्मीको याममा चार दिनदेखि एउटै लुगाा लगाएर सुत्ने– बस्ने गर्नुपर्दा हाम्रो शरीर दुर्गन्धित भइसकेको थियो।

आरा पुगेको भोलिपल्ट कुर्ता, सुरुवाल, धोती र गलामा गम्छा बाँधेर हामीले भारतीय वेशभूषा धारण गर्‍यौँ।

यहीँ मैले आँखामा लेन्स पनि लगाएँ। यो लेन्स मैले भारतमा पक्राउ नपर्दासम्म लगाइरहेँ। मेरा आँखा अरूभन्दा खैरा छन्। अपहरणकारी भनेर सार्वजनिक गरिएको मेरो हुलिया र फोटोमा आँखाको रङ खैरो छ। यसैले मैले कालो कन्ट्याक्ट लेन्स लगाएँ। लेन्सले निकै बिझाउँथ्यो। यसैले घरमा बस्दा खोलेर बस्थेँ, सार्वजनिक ठाउँमा जाँदा लेन्स लगाउँथेँ।

चार दिन त्यहाँ आराम गरेपछि जयप्रकाशजीको पुख्र्यौली घर सिताबदेहरातर्फ लाग्यौँ। त्यो ठाउँ गङ्गापारि उत्तर प्रदेशमा पर्दो रहेछ। डुङ्गाबाट गङ्गा तरेर दुई घन्टा पैदल हिँडेपछि हामी सिताबदेहरा पुग्यौँ।

हामी त्यहाँ पुग्दा १९७३ जुन महिना (२०३० को असार) थियो। जयप्रकाश नारायण (जेपी) गाउँमा बस्न थाल्नुभएको रहेछ। भारतीय लोकतान्त्रिक र समाजवादी आन्दोलनका अग्रणी नेता जेपीलाई लोकनायक पनि भनिन्छ।

उहाँ भारतीय लोकतन्त्रमा आएको विकृतिबाट अत्यन्तै निराश हुनुहुन्थ्यो। गाउँका जनतालाई आयआर्जनको बाटो देखाउन बामतमा बसेर माछापोखरी खनाउने काम गर्दै हुनुहुन्थ्यो। त्यसबेला जयप्रकाश नारायणको कामत घरमा समाजवादी युवा जनसभाका कार्यकर्ता आएर विहार राज्यमा दिन–प्रतिदिन बढिरहेको अराजकता, हिंसा, हत्या, अपहरण, महँगी र भ्रष्टाारविरुद्ध गैरदलीय जनजागरण अभियान कसरी निर्माण गर्न सकिन्छ भन्ने विचार गोष्ठीका कार्यक्रम चलाइरहेका थिए। त्यस्ता छलफलहरूमा सर्वोदयी कार्यकर्ताहरूले पनि सहभागिता जनाएको कुरा कामतका पदाधिकारीले हामीलाई सुनाएका थिए। हामीलाई पनि त्यस्तै कार्यक्रमको सहभागीका रूपमा त्यहाँ दुई हप्ता लुकाई राखियो।

दुई हप्ता उत्तर प्रदेशको जेपीको घरमा बसेकै अवधिमा बीपीले हामीलाई महाराष्ट्र बम्बई सहरमा गएर लुकी बस्ने प्रबन्ध मिलाएको खबर आयो।

भाग्दै–भाग्दै बम्बई

सुशील कोइरालासँग उनको पुरानो जान–पहिचान रहेछ। सुशीलले ‘यति सानो कोठामा ६ जना मानिस अटाउन सक्दैनौँ’ भने।

डाक्टरले ‘जसरी भए पनि यसैमा अटाएर बस्नुपर्ने’ बताए। ‘केही समयपछि अर्को व्यवस्था गरौँला,’ उनले भने, ‘बम्बई सरहरमा नोकरी सजिलै पाउन सकिन्छ तर बस्ने ठाउँ पाउन कठिन छ।’

उनी आफ्नो क्लिनिकतर्फ लागे। त्यस स्टोर कोठामा पुस्तकालयका टुटेफुटेका सोफा, कुर्सी र अन्य सामान राखिएको थिए। सुशील कोइरालाले क्लिनिकमा गएर एउटा कुचो ल्याएर कोठालाई आफैँ सफा गर्न थाले। त्यसपछि हामी सबै मिलेर कोठामा भएका सामानलाई एक छेउमा राखेर व्यवस्थित गर्‍यौँ। १० बजेतिर पुस्तकालय खोल्ने मानिस आएपछि हामी स्टोर कोठा बन्द गरेर भित्र बस्यौँ।

कोठामा एउटा मात्र सानो झ्याल थियो। त्यो पनि काठ ठोकेर बन्द गरिएकाले कोठामा ढुसी गनाएर सास फेर्नै गाह्रो भयो। हामीले झ्यालमा ठोकेको काठलाई तोडेर पल्ला खोलिदियौँ। भारतको चर्चित सहर बम्बईलाई महाराष्ट्रियनहरूले मुम्बई भन्दा रहेछन्। मुम्बई भारतको हिन्दी फिल्म र अरू व्यापार व्यवसायको पनि केन्द्र हो। बलिउडको मुख्य केन्द्र भएकाले यसलाई माया नगरी पनि भन्छन्। पहिले नै नाम सुनेको सहर भएकाले बम्बईमा लुकेर बस्ने भन्ने कुराले मलाई रोमाञ्चित बनाएको थियो। तर, पहिलो दिन नै पुस्तकालयको गन्हाउने कोठामा कोचिनुपर्दा कल्पनाभन्दा यथार्थ कति फरक हुन्छ भन्ने बोध भयो। त्यहाँ जेलमा जसरी बस्नुपर्दा हामी निकै निराश थियौँ।

पुस्तकालय बिहान एक–डेढ घन्टा मात्र खुल्थ्यो। बन्द गर्ने बेलामा हामी पनि स्टोरको ढोका खोलेर बाहिर निस्कियौँ। बिहानको १० बजेपछि बल्ल सहरको जीवन प्रारम्भ हुँदो रहेछ। बम्बई महानगरीको दैनिक जीवन मराठी भाषाको माध्यमबाट सञ्चालन हुँदो रहेछ। त्यस भाषामा हाम्रो लिपि र भाषाको उच्चारणमा कुनै समानता थिएन। होटल र रेस्टुराँहरूमा काम गर्नेहरू मराठी मात्र बोल्न जान्ने हुँदा संवाद गर्न निकै कठिन भयो।

त्यसपछिका दिनहरूमा हामीले चर्च गेट, ताज होटल, नरिमन प्वाइन्ट र त्यहाँको प्रसिद्ध सिनेमाहल पत्ता लगायौँ। समुद्रमा घुम्यौँ। मुम्बई सहरमा एक महिना बस्दा सहर एक्लाएक्लै घुमेर दिन बिताउन थाल्यौँ। डा. पारेखले हामीलाई महिनाको दुई सय रुपैयाँ खाना खर्च दिने गरेका थिए। त्यो सबै रकम खानामा खर्च हुँदैनथ्यो। ट्राम चढेर, बस चढेर बम्बई घुम्ने, लुगा किन्ने रकम बचत हुन्थ्यो। मनोहरि बराल, विनोद अर्याल, वसन्त र नगेन्द्रहरूले बम्बईको एउटा गल्लीमा मदिराको पसल पत्ता लगाएका थिए। उनीहरू हप्तामा एक दिन त्यहाँ जान्थे। सुशील र म भने त्यसबेला रक्सी खाँदैनथ्यौँ।

बम्बई अत्यन्तै व्यस्त सहर रहेछ। त्यहाँका मानिसहरू दौडमा भाग लिएजस्तो गरेर तीव्र हिँडिरहेका देखिन्थे। कसैलाई पनि बोल्नेसम्म फुर्सद थिएन। मैले बम्बई सहर घुम्दा बाटो र बस पत्ता लगाउने क्रममा एक जना वृद्धको मद्दत लिएको थिएँ। यात्रुका लागि वृद्धले देखाएको सेवाभावप्रति धन्यवाद दिँदै उनीसँग केही क्षण कुरा गरेँ। उनले भने, ‘वृद्ध मानिसलाई दिनभरि एउटा कोठामा एक्लै समय काट्न अत्यन्त कठिन हुन्छ। उमेरले गर्दा पाएको फुर्सदको समयलाई सदुपयोग गर्ने मजस्ता हातखुट्टा चल्ने धेरै वृद्ध–वृद्धाहरू यस व्यस्त सहरमा यस्तै समाजसेवा गरेर दिन काटिरहेका छन्।’ जीवनको उत्तरार्धमा आएर यस्तो सत्कर्म गर्नेहरूको सहर पनि हो बम्बई।

हामी पुस्तकालयमा बसेको भए पनि पत्रपत्रिका पढ्नबाट वञ्चित थियौँ। किनभने यहाँ जति पनि अखबार आउँथे, ती सबै मराठी भाषाका हुन्थे। मराठी भाषामा पुस्तकालयलाई ग्रन्थसागर भन्दा रहेछन्। यो सागर एउटै जातका माछा मात्र भएको समुद्रजस्तो थियो। यहाँ हिन्दी भाषामा लेखिएको एउटा पनि पुस्तक राखिएको थिएन।, जति थिए– मराठी भाषाका मात्र थिए। गान्धी, नेहरु र गोखलेजस्ता केही सीमित व्यक्तिबारे अङ्ग्रेजी भाषामा लेखिएका पुस्तकहरू पढेर हामी समय बिताउँथ्यौँ।

एक दिन त्यस ग्रन्थसागरको पुरानो दराजमा सन् १९३२ तिर भारत छोडो आन्दोलनबारे हिन्दी भाषामा लेखिएका पत्रपत्रिकाको सङ्कलनको फाइल भोटियो। फाइलमा जन्मभूमिका सम्पादक झावेढचन्द्र मेघाणीले महाराष्ट्रमा भएको सत्याग्रहबारे लेखेको सानो पुस्तिका पनि रहेछ। सम्पादक मेघाणीले आफ्नो परिचय दिँदा एउटी नेपाली महिलासँग विवाह भएको कुरा उल्लेख गरेका रहेछन्।

नेपाली नारीको उल्लेख भएको हुनाले मैले त्यो पुस्तिका प्रारम्भदेखि अन्त्यसम्म पढेँ। त्यो पुस्तिकामा ती महिलाको नेपालमा घर कहाँ थियो भन्ने उल्लेख थिएन। चित्रादेवी दीक्षित १० वर्षमा विधुवा भएकी रहिछन्। उनी २४ वर्षको हुँदा गान्धीजीको सत्याग्रह आन्दोलनमा सामेल भएर १८ महिना जेल परेको उल्लेख थियो। त्यस क्रममा उनको मेघाणीसँग परिचय भएको र जेलबाट छुटेपछि त्यो परिचय प्रणयमा बदलिएको रहेछ। चित्रादेवीकी आमा संस्कृत भाषाकी प्राचार्य भएको उक्त पुस्तकमा उल्लेख थियो।

म नेपाल फर्किएपछि यस विषयमा मदनमणि दीक्षितसँग भेटेर कुरा गर्दा चित्रावादी दीक्षित उहाँको काका हरिहर दीक्षितकी छोरी भएको पत्ता लाग्यो। भारतीय जनसङ्ग्राममा भाग लिने एक मात्र नेपाली नारी चित्रा थिइन् भनेर उहाँले पनि आफ्नो लेखमा उल्लेख गर्नुभएको रहेछ।

पुनाको खस्रो रोटी

युसुफ मेहर अली ग्रन्थसागरको स्टोर कोठामा पाँच महिना बिताएपछि डा. जेजे पारेखले नगेन्द्र र मलाई पुनाका समाजवादी नेता पन्नालाल सुरणाको साथ लगाएर स्थानान्तरण गरिदिए। हामी बम्बईबाट पुनातर्फ लाग्दा १९७४ को जनवरी (२०३० पुस) लागिसकेको थियो। सुरणाजीले बस चढाएर राति भारतको चर्चित सहर पुनाको एउटा कोलनी पुर्‍याए। त्यहाँ पुगेको भोलिपल्ट सहरबाहिरको एउटा गाउँमा बस्ने बन्दोबस्त भएको छ भन्दै जिपमा चढाए।

पुनाबाट दुई सय किलोमिटर पश्चिम–उत्तरको माँडा दाराफाल भन्ने गाउँका एक जना प्रधानाध्यापकको घरमा हाम्रो बस्ने व्यवस्था गरिएको थियो। हामी त्यहाँ पुगेकै दिन प्रधानाध्यापकले त्यस ठाउँमा बसेर पानीको प्रयोग गर्दा विशेष ध्यान दिनुपर्ने कुरा पढाएँ। महाराष्ट्रको त्यस भेगमा पानीको ठूलो समस्या रहेछ। पाँच सय फिटभन्दा गहिरा इनारबाट १० मिनेट लगाएर एक बाल्टी पानी तान्नुपर्ने हुँदा नुहाउन र लुगा धुन प्रयोग गरेको पानीलाई पनि एक ठाउँमा जम्मा गरेर काठेबारीमा पठाउने व्यवस्था मिलाइएको रहेछ। इनारको सञ्चालन महिलाहरूले गरेका थिए।

समाजवादी नेता एवं सांसद मृणालगोरे त्यस क्षेत्रको सहकारी पानी आन्दोलनकी प्रणेता रहिछन्। उनलाई त्यस भेगका महिलाले ‘पानीवाली ताई’ भनेर सम्बोधन गर्दा रहेछन्। त्यहाँको मुख्य बाली चिनियाँ बदाम र बाजरा रहेछ। हामी पुगेको दिन बेलुका बाजराको रोटी र भान्टाको तरकारी खान दिइएको थियो। रोटीमा अनौठो बास्ना थियो। भुसको जस्तो खस्रो, चपाउँदा कुनै स्वाद थिएन। हामीले यस्तो अन्न पहिलोचोटि खाएका थियौँ। एउटा रोटी पनि पूरा चपाउन सकिएन।

प्रधानाध्यापक र उनकी पत्नी गान्धीजीको वर्धा आश्रममा बसेर काम गरेको हुँदा दुुवै हिन्दी र अङ्ग्रेजी भाषा जान्दथे। भोलिपल्ट बिहान चिया खाने बेलामा हामीले बाजराको रोटी खान नसकेको कुरा उठेपछि हामीलाई भातको व्यवस्था गरिदिने कुरा घरकी महिलाले गरिन्। त्यहाँका आममानिसको मुख्य भोजन बाजराको रोटी मात्र थियो। थोरै मानिसले सहर–बजारबाट ल्याएर गहुँको पीठो र चामललाई भोजनमा सामेल गर्दथे।

महाराष्ट्रको दुई सय किलोमिटर गाउँले यात्रामा कतै पानी बगेको खोलानाला देखिएनन्। ठाउँ–ठाउँमा खहरेका डोब मात्र थिए। त्यहाँ वर्षयाममा पनि पानी कम पर्ने। गाउँका सबै महिला–पुरुष बिहानै मजदूरी गर्न सहर जाने र राति अबेला घर फर्कने गर्दा रहेछन्।

यतिञ्जेल जहाज अपहरणको तीन महिनाभन्दा बढी समय बितिसकेको थियो। हाम्रो भाग्ने र लुक्ने क्रम जारी नै थियो। पटनापछि बीपी र गिरिजाप्रसादसँग भेट भएको थिएन। मुम्बईपछि त सुशीलहरू पनि छुटे। त्यसबेला टेलिफोन गर्न सहज थिएन। मोबाइलको त कल्पनै थिएन। हामीलाई आफूले लुटेका पैसा कहाँ पुग्यो, त्यसको कसरी प्रयोग भइरहेको छ भन्ने पनि थाहा थिएन। न खोजी नै गर्‍यौँ। नेताहरूको निर्देशनमा तोकिएको ‘मिसन’ पूरा गर्‍यौँ, बस। पार्टीबाट हामीले महिनाको दुई सय रुपैयाँ गुजारा भत्ताबापत पाउँथ्यौँ। हाम्रो कमाइ यो नै थियो।

नगेन्द्र र मेराबीचमा नेपालको क्रान्ति र अपहरणबारे निकै कम कुरा हुन्थ्यो। एक त हामी भूमिगत थियौँ, आफ्नो परिचय लुकाएर बसेका। त्यसमाथि हाम्रो भविष्य एकदमै अनिश्चित बनेको थियो। आज यहाँ बसे भोलि कहाँ भन्ने थियो। नेपाल र भारतका पुलिसले हामीलाई खोजिरहेका थिए। यसैले पनि हामी धेरै कुरा गर्दैनथ्यौँ।

यसबीचमा नेपालमा पनि कसैसँग पत्राचार भएन। घर–परिवारबाट मलाई खोज्ने कुरै थिएन। पार्टीका साथीहरूले पनि कुनै निश्चित ठेगाना नभएकाले चिठीपत्र पठाएनन्। हामीले पनि पठाएनौँ। पठाएको खण्डमा तिनै चिठीका माध्यमले सरकारी गुप्तचर वा पुलिसहरू हामीसम्म आइपुग्न सक्थे। लुकेका मान्छेले अरूलाई सम्पर्क गर्नु भनेको पक्रिन निम्ता दिनुजस्तै हुन्थ्यो। यसैले हामी आफ्नो देश, पार्टी, क्रान्ति र आफन्तसँग छुटेर यो खडेरीले खाएको ठाउँमा लुकिरहेका थियौँ।

(क्रमश:)

लोकप्रिय