पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थानीय तहका प्रमुखहरुले जिम्मेवारी बाँडफाँटमा ध्यान दिनुपर्ने बताएका छन। स्थानीय तह पनि संघीय सरकार र प्रदेश सरकारजस्तै एउटा सरकार भएकाले नगरपालिका र गाउँ कार्यपालिकामा जिम्मेवार बाँडफाँट हुनुपर्ने उनको भनाइ छ।

जर्ज जोन शिक्षा प्रतिष्ठान पोखराको २३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले पछाडि पारिएका समुदायका तर्फबाट मनोनयन भएर कार्यपालिकामा आउने समुदाय र महिलालाई असक्षम भन्दै जिम्मेवारी नदिने प्रवृत्ति देखिएको बताए। उनले नगरपालिका र गाउँपालिकामा शिक्षा, स्वास्थ्यलगायत विभिन्न शाखा खोलेर कार्यपालिका सदस्यलाई जिम्मेवारी दिन सकिने भन्दै यसतर्फ स्थानीय तहको ध्यान पुग्नु पर्ने बताए।

प्रदेशले कार्यपालिका सदस्यहरुको सुविधा वडा अध्यक्षसरह हुने गरी वृद्धि गरेको बताउँदै मुख्यमन्त्री गुरुङले अब जिम्मेवारी दिने काम नगरपालिका र गाउपालिकाको भएको बताए। स्थानीय तहका प्रमुखको जस्तै उपप्रमुखको जिम्मेवारीसमेत समान रहेकाले उपप्रमुखलाई कार्य सम्पादनमा सहज होस भनेर सवारी साधन पाउने ढोका प्रदेशले खोलिदिएको मुख्यमन्त्रीको भनाइ थियो।

‘योजना अनुगमन गर्ने, न्याय सम्पादन गर्ने र नीति तथा कार्यक्रम गर्ने काम उपप्रमुखले गर्नुपर्छ,’ उनले थपे ‘अब यी सबै काम गर्नलाई सुविधा लिन सक्छन् भनेर प्रदेशले ढोका मात्र खोलिदिएको हो, दिने स्थानीय तहले नै हो।’

जनप्रतिनिधिले दोहोरो सुविधा लिन पाउने विषयमा केन्द्रले नै नजीर बसालेको उनको भनाइ छ। ‘महालेखापरीक्षक, अख्तियार प्रमुखले दोहोरो लिने, अनि निर्वाचित जनप्रतिनिधिलाई दोहोरो सुविधा नलिउँ भनेर कसरी भन्न मिल्छ?’ मुख्यमन्त्रीको प्रश्न थियो।

प्रदेशको कामलाई चुस्त बनाउने ‘हेलो मुख्यमन्त्री’, ‘जनतासँग मुख्यमन्त्री’ र ‘मुख्यमन्त्री वार रुम’ सञ्चालनमा ल्याइएको जानकारी गराउँदै उनले त्यसमार्फत आफ्नो सल्लाह सुझाव प्रदेश सरकारमा राख्न आग्रह गरे।

नरहरि पौड्याल नरहरि पौड्याल
नेपाली पब्लिकका गण्डकी प्रदेश संयोजक हुन्।

लोकप्रिय