वीरगन्ज – बाराको परवानीपुर गाउँपालिका– ५, बहुअरीका वडा अध्यक्ष रामेश्वर साह कलवारले आज वीरगन्जमा पत्रकार सम्मेलन गरी शनिबारको धर्मशाला उद्घाटन कार्यक्रममा भएको घटनाबारे जानकारी गराउँदै प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनल र परवानीपुर गाउँपालिकाका अध्यक्ष हरिनारायण साहमाथि खनिएका छन्।

नेपाल पत्रकार महासंघको भवनमा आयोजित पत्रकार सम्मेलनमा उनले वडाको काममा मन्त्रीजस्तो गरिमामय पद ओगटेर बसेको व्यक्तिले हस्तक्षेप गरी वडा अध्यक्षलाई नै प्रहरी लगाएर कार्यक्रम गर्नु कत्तिको न्यायसंगत कुरा भन्दै प्रश्न गरेका थिए। रामजानकी धर्मशालाको शिलान्यास तमलोपा पार्टीमा भएको बेला मन्त्री सोनलले गरेको र आफनो पार्टीको प्रचारप्रसार र नौतन बुहअरीमा आफ्नो कार्यकर्ता बनाउनका लागि हिजोको काण्ड भएको उनले बताए।

‘यसमा सरासर पार्टी केन्द्रित राजनीति भएको छ, मेयरमा राजपाका साह जितेर आएपछि धर्मशाला निर्माणमा ६२ लाख बजेट विनियोजित भयो, त्यसमा पनि गुणस्तरहीन काम भएको भन्दै अख्तियारमा मुद्दा पनि परेको छ,’ उनले भने, ‘वडा अध्यक्षलाई समेत शिलालेख र कार्यक्रमको निमन्त्रणा कार्डमा बाइपास गरेपछि विरोध र कालो झण्डा देखाएपछि मन्त्रीलाई काखी च्याप्न गाउँपालिका अध्यक्षले दादागिरी गरेका हुन्, अरु केही होइन।’

मन्त्रीको इशारामा गाउँपालिकाका अध्यक्ष साहले सबै नौटंकी गराई धर्मशाला उपभोग गर्ने समुदाय र जनप्रतिनिधिलाई थुनेर कार्यक्रम गर्नु लोकतन्त्रमाथिकै प्रहार भएको उनले बताए। संघीय समाजवादी पार्टी बारा अध्यक्ष अजयकुमार पटेलले प्रदेश २ मा राजपा–फोरमको सरकार भएर पनि एउटा सत्ता सझेदार पार्टीको मन्त्रीको कार्यक्रममा यस्तो निन्दनीय घटना हुनु दुःखद भएकाले पार्टी पंक्तिले यसबारेमा विचार गर्न पनि आग्रह गरे।

‘हामी चुप लागेर बसेका छैनौँ, जिल्लादेखि केन्द्रसम्म यो घटनाबारे जानकारी गराइसकेका छौँ, अदालती बाटो पनि रोज्छौँ। हेरौँ, अब पार्टीले कस्तो एक्शन लिन्छ ,’ उनले भने। पत्रकार सम्मेलनमा उपस्थ्ति अर्का संघीय समाजवादी पार्टी बाराका जिल्ला सदस्य आनन्द यादवले हात्तीले कमिलासँग लडेर जुँगा राख्न खोजेको संज्ञा दिए। उनले मन्त्री जस्तो गरिमा भएको व्यक्तिले विरोध पचाउन नसक्नु र समन्वय गरेर गाउँपालिकाका अध्यक्ष जान नसक्नु दुःखद कुरा भएको उनको धारणा थियो। उनले यसले झनै स्थानीय र गाउँपालिकाका अध्यक्षबीच द्वन्द्व निम्त्याउने ठोकुवासमेत गरे।

लोकप्रिय