काठमाडौँ – २०३५ सालतिर रेडियो नेपालमा रेकर्ड भएको एउटा गीत निकै चर्चित बन्यो। त्यतिबेला रेडियो नेपालमा सबैभन्दा बढी बज्ने गीतको सूचीमा रहेको गीत यस्तो थियोः

‘कहाँमा काट्यो बेतको लौरी, लङ्गुरको वनैमा,

किनमा रोयो न्याउली चरी, विरह चल्यो मनैमा’

त्यतिबेला आफ्नो गीत रेडियो नेपालबाट बजाउनका लागि कलाकारलाई निकै मुस्किल पथ्र्यो। तर, उक्त गीत भने रेडियो नेपालमा रेकर्ड मात्रै भएन, चार वर्षभन्दा बढी समय लगातार घन्किइरह्यो पनि।

रेडियो नेपालमा रेकर्ड भएको लामो समयसम्म चर्चामा रहेको गीत पछिल्लो पुस्ताले भने सुन्ने मौका पाएका थिएनन्। तर, गत वर्षदेखि फेरि उक्त गीतले लोकगीत पारखीमाझ चर्चा पाएको छ। त्यसको कारण होे, त्यस गीतका गायक गंगा वरदान स्वयंले अभिनय गरेर गीतलाई केही परिस्कृत गर्दै युट्युबबाट सार्वजनिक गरे। सन् २०१८ मा युट्युबमा राखिएको उक्त म्यूजिक भिडियोले करिब २० लाख भ्यूज पाएको छ। वरदान भन्छन्, ‘यो नै मप्रति नेपाली सङ्गीतप्रेमीको माया हो।’

‘डाँफे खेल्ने, गुराँस फुल्ने चाँप फुल्ने मेरो देश

आऊ है मैयाँ नाचौँ न छमछमी, बारुले कम्मर भाचौँ न छमछमी’

पुरानो स्वरमा गुञ्जिएको यी शब्द पनि तिनै वरदानले गाएका हुन्। ‘अभया एन्ड द स्टिम इञ्जिन्स्’ले ल्याएको ‘हावा हुरी’ बोलको गीतलाई युट्युबमा राखिएको एक महिनामा करिब १० लाखले हेरिसकेका छन्। यी दुई गीतले नै गंगा वरदानको साङ्गीतिक यात्राबारे प्रष्ट पार्छ।

‘नेपाली बब मार्ली’

लट्टा परेको कपाल। चाउरिएको गाला। चिम्सा आँखा। पातलो ज्यान। झट्ट हेर्दा उनी जमैकन गायक बब मार्लीजस्तै देखिन्छन् पनि। यही हुलियाका कारण फ्यानहरुले उनलाई ‘नेपाली बब मार्ली’को उपमा दिएका छन्। ‘चुस्स परेको दाह्री’ हेर्ने हो भने उनको हुलिया भियतनामी पूर्वराष्ट्रपति हो चि मिन्हसँग पनि मिल्छ। तर उनको वास्तविक नाम चाहिँ गंगा प्रधान हो।

हुलिया जोसँग मिले पनि धेरैले उनलाई चिन्ने उपनाम चाहिँ नेपाली बब मार्ली नै हो। हु्न त यी दुई बब मार्लीको गायनको शैली पनि मिल्छ, एउटै खास धारमा गाउने। जस्तो, जमैकन बब मार्ली उत्पीडितहरुको गीत गाउँदै उपनिवेशवादको विरोध गर्थे। ‘नेपाली बब मार्ली’भने आफू पुगेको स्थानहरुको वर्णन गर्दै गीत बनाउँछन्। भनौँ, पर्यटन प्रवर्द्धन गर्छन्।

‘पर्यटन गायक’

वरदान जहाँ पुग्छन्, त्यहाँको वर्णन गर्दै गीत लेखिहाल्छन्। उनी २०३२ सालताका संखुवासभाको मादीमूलखर्क पुगे। त्यहाँको कृषि मेला हेर्न स्थानीय युवाहरुको साथ लागेर मादी मूलखर्क पुगेका उनले त्यहीको वर्णन गरेर गीत बनाएका छन्ः

‘जिल्ला हजुर संखुवासभा गाउँ मादी मुलखर्क

बाटोे उकाली ओराली छ सँगै जाउँ पर्ख…’

वरदान कसैबाट प्रभावित भएर गीतसङ्गीत क्षेत्रमा प्रवेश गरेका थिएनन्। उनी एउटै वस्तुबाट भने प्रभावित बने। त्यो हो, प्रकृति। उनी भन्छन, ‘म जन्मस्थान दिङ्ला बजार र प्रकृतिबाट प्रभावित भएर गीत सङ्गीतमा लागेको हुँ।’ त्यही भएर उनले धेरै गीत प्रकृति र स्थानबारेमा लेखेका छन् र गाएका छन्।

‘मनै छुने मनाङ रैछ हिमाल वरिपरी

कलकल सलसल बग्छिन् मर्स्याङ्दी…’

मनाङ पुगेपछि उनले त्यहाँको सौन्दर्यलाई गीतमा यसरी उने। उनी ‘उत्ताउलो’ र ‘छाडा’ किसिमका गीत रुचाउँदैनन्। त्यस्ता गीतप्रति उनको घोर आपत्ति छ। त्यसलाई उनी सङ्गीत क्षेत्रको विकृतिका रुपमा लिन्छन्। भन्छन्, ‘गीतको हरेक शब्दले मानिसको जनजीविका, रहनसहन, संस्कारसंस्कृति बोल्नुपर्छ। गीतको भाकामा देशको प्रकृति, देशको माटोको सुगन्ध आउनुपर्छ।’ यही कारण उनले आफूलाई गाउनका लागि अफर आएका थुप्रै गीत गाउन अस्वीकार गरेका छन्। ‘त्यस्तो गीत गाउनुभन्दा नगाएकै जाति। समाजमा अपाच्य गीत गाउँदिनँ। घरपरिवारसँगै बसेर सुन्न मिल्ने गीत मात्रै गाउँछु,’ उनको अडान छ।

‘यथार्थपरक’ गीत गाउने क्रममा गंगा वरदानले मायापिरती, संस्कृतिलगायत जनजीवनका गीतहरु प्रशस्तै गाएका छन्। महत्वपूर्ण कुरा त उनले, धरान, इटहरी, पोखरा, सिक्किम, महेन्द्रनगर, हेटौंडा, दमौली लगायतका शहरहरुको विषयमा गीत बनाएर रेकर्ड गराइसकेका छन्।

‘माछापुच्छ्रे हिमालको शिर फेवाताल जमेको

पश्चिमको याद मलाई पोखरा बजारको’

उनले गीतकै माध्यमबाट सिक्किम, कालेबुङ, मिरिकजस्ता भारतीय शहरहरुको पनि वर्णन गरेका छन्। उनका अधिकांश गीत ठेट लोकभाकामा हुन्छन्।

‘ए गोलो छ है बजार मिरिक

बोली र वचनमा हुन्छु हुरुक्क’

नेपाली सङ्गीत प्रेमीमाझ छुट्टै पहिचान बनाएका गंगा वरदान ‘लिजेण्ड सिङ्गर’ हुन्। आफ्नो परिचयबारे उनी भन्छन्, ‘धेरैले नेपाली बब मार्ली भन्छन्। लेजेण्ड गायक भन्छन्। गाउँमा त केटाकेटीले धराने गायक पनि भन्छन्।’ जसले जे भने पनि त्यसमा उनलाई कुनै आपत्ति छैन, गर्व छ उनलाई। उनले थपे, ‘मलाई माया गरेर जसले जे भने पनि ठीक छ। म आफूलाई गंगा वरदान भन्न मन पराउँछु।’ विशिष्ट गीतलेखन र गायन शैलीका कारण नेपाली सङ्गीत प्रेमीमाझ नेपाली बब मार्ली भनेर चिनिने गंगा वरदान लोकप्रिय छन्।

यस्तो छ विगत

गंगा वरदानको जन्म २००९ सालमा भोजपुरको दिङ्ला बजारमा भएको हो। कक्षा १० सम्म अरुण इङ्लिस स्कुल र प्लस टु केही महिना महेन्द्र बहुमुखी क्याम्पस, धरानमा पढेका वरदानले पढाइलाई बिट मार्दै साङ्गीतिक क्षेत्रलाई अघि बढाउने निधो गरे।

हुन त उनका बुवा पनि कहिलेकाहीँ गीत गाउने गर्थे। दशैँतिहारमा बुवाले मादल बजाउँदै लोकगीत गीत गाउने गरेको उनी सम्झिन्छन्। तर, साङ्गीतिक क्षेत्रमा लाग्नुमा कसैको प्रभाव भने नपरेको वरदान बताउँछन्। साङ्गीतिक क्षेत्रमा किन लाग्नुभयो भन्ने प्रश्नमा उनले ठट्यौली पारामा भने, ‘पढेर जागिर खानुपर्छ, जागिर खानु भनेको अरुको नोकर हुनु हो। गीत गाउने भनेको त आफ्नो तरिकाले गाउने हो, त्यसैले गीत सङ्गीतमा लागेँ।’

भनिन्छ, गीत सङ्गीतको क्षेत्र अथाह छ। त्यहाँ कुनै सीमितता छैन। वरदान पनि त्यही असीमितताभित्र रमाए। उनले गीत मात्र गाएनन्, गीत लेख्नेदेखि अभिनय गर्नेसम्मका काम गरे। उनी भन्छन्, ‘मैले लोकगीत, लोकपप, दोहोरी, आधुनिक, डिस्कोलगायत ८ प्रकारभन्दा बढी गीत गाएको छु।’

२०२५ सालमा भोजपुरमा माविस्तरीय गायन प्रतियोगितामा ‘दाइ त काले भाइ पनि काले, काले काले मिलेर खाउँ भाले’ गीत गाएर उनी सहभागी विद्यालय दोस्रो भएको थियो। २०३१ सालमा धरानमा भएको पूर्वाञ्चल गायन प्रतियोगिताले वरदानलाई चर्चित बनायो। त्यहा उनले ‘छपनीले छानछान डबकीले हान….’ बोलको गीत गाएका थिए। त्यो दिन सम्झदै उनी भने, ‘वान डे हिट’ भएको कलाकार म हुँ।’ त्यसपछि नेपाली गीत सङ्गीतको क्षेत्रमा चर्चामा आएका वरदान २०५५ सालमा ‘भिजिट नेपाल’को तर्फबाट कालापत्थरमा गीत गाउने पहिलो कलाकारसमेत बने।

२०३२ सालमा धरानको वर्णन गरिएको गीत गाउँदै पहिलो गीत रेकर्ड गराएका वरदानले हालसम्म चारवट एकल एल्बम निकालिसकेका छन्। उनले गाएका प्रत्येक एल्वममा ८/८ वटा गीत रहेका छन्, तर ती धेरै गीत रेडियो तथा एफएमम बजेनन्। न त कतैबाट रोयल्टी नै पाएका छन्। केही गीत केही समय रेडियो नेपाल, कान्तिपुर एफएम लगायतका सञ्चारमाध्यमले बजाए पनि त्यसपछि हालसम्म कुनै पनि गीत बजेको उनको स्मरणमा छैन।

नमस्ते व्याण्डसँगको १२ वर्षे यात्रा

अन्य कलाकारजस्तै सम्पूर्ण नेपालीमाझ गंगा वरदान चर्चामा नभए पनि उनका आफ्नै फ्यान र समर्थक छन्। उनले गाउने लोकगीत, पप गीतका छुट्टै फ्यान छन्। त्यहीँ कारण उनी नमस्ते व्याण्डको रोजाईमा परे। त्यहाँ उनले १२ वर्ष काम गरे। गीत सङ्गीतमा रमाए। सो क्रममा उनले मेची–महाकाली साङ्गीतिक यात्रा पनि गरे।

लोकप्रिय

सुत्केरी मसला कसरी बनाउने ?

सुत्केरी मसला कसरी बनाउने ?

२०७६, १८ मंसिर बुधबार १४:१२

‘डिप्रेशन भएको बेला म कुनामा बसेर रुन्थे’: दीपिका पादुकोण

‘डिप्रेशन भएको बेला म कुनामा बसेर रुन्थे’: दीपिका पादुकोण

२०७६, २० मंसिर शुक्रबार १७:५१

१३ औं सागमा नेपालको स्वर्ण संख्या २९, समग्र सागमा सय स्वर्ण पूरा

१३ औं सागमा नेपालको स्वर्ण संख्या २९, समग्र सागमा सय…

२०७६, १८ मंसिर बुधबार २०:३१

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

२०७६, १९ मंसिर बिहीबार १३:२०

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

२०७६, १९ मंसिर बिहीबार १९:४३

बाहिर निस्किएको पेट लाई नियन्त्रण गर्न ओखर खाँनुहोस्

बाहिर निस्किएको पेट लाई नियन्त्रण गर्न ओखर खाँनुहोस्

२०७६, १८ मंसिर बुधबार १०:४४

१३ औं सागः श्रीलंकासँग भिड्दै नेपाल

१३ औं सागः श्रीलंकासँग भिड्दै नेपाल

२०७६, १८ मंसिर बुधबार १२:२८

सुपर मोडल काइलीका २७ करोड फलोअर्स

सुपर मोडल काइलीका २७ करोड फलोअर्स

२०७६, २० मंसिर शुक्रबार ११:५०

लागुऔषधसहित युवक पक्राउ

लागुऔषधसहित युवक पक्राउ

२०७६, १८ मंसिर बुधबार १७:४३

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

२०७६, १९ मंसिर बिहीबार १६:४९

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

२०७६, १९ मंसिर बिहीबार १६:३६

महिला भलिबलको फाइनलपश्चात् खेलाडीको आँखामा छचल्किएको त्यो आँशु!

महिला भलिबलको फाइनलपश्चात् खेलाडीको आँखामा छचल्किएको त्यो आँशु!

२०७६, १८ मंसिर बुधबार १४:५४

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता  (भिडियोसहित)

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता (भिडियोसहित)

२०७६, २० मंसिर शुक्रबार १३:२२

स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन युनिभर्सिटीले हल्ट पुरस्कार सञ्चालन गर्दै

स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन युनिभर्सिटीले हल्ट पुरस्कार सञ्चालन गर्दै

२०७६, १८ मंसिर बुधबार २१:४७

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

२०७६, २० मंसिर शुक्रबार ११:५५