काठमाडौँ – भाग्यवादीहरु भन्छन्, ‘भाग्यमा जे लेखिएको हुन्छ, जीवनमा त्यही हुन्छ अर्थात् भाग्यले नै डोहोर्‍याएर त्यही ठाउँमा पुर्‍याउँछ।’ तर, मानिसले सोचेजस्तो जिन्दगीमा नहुँदो रहेछ। जे सोचिएको हुन्छ, कहिलेकाहीँ जीवनमा त्यस्तो नभइदिँदो रहेछ।

यस्तैयस्तै परिस्थितिको सामना गर्दै अघि बढिरहेको छ, पाथिभरा आयुर्वेदिक हस्पिटल प्रा.लि.का सञ्चालक कविराज बी.पी. (बिजुलीप्रसाद) तिम्सिनाको जीवन। उमेरले ५ दशक पार गरिसकेका तिम्सिनाले जीवनमा सयौँ आरोह–अवरोह भोगेका छन्। निम्नवर्गीय परिवारमा जन्मेका तिम्सिना दुःखकष्टसँग भिड्दै अहिले एक सफल आयुर्वेदिक चिकित्सकका रुपमा परिचित बनेका छन्।

आयुर्वेदिक क्षेत्रमा लागेर देशलाई नै समृद्ध बनाउने र नेपाललाई विश्वमै ‘आयुर्वेदिक हब’का रुपमा चिनाउने महाअभियानमा उनी निरन्तर अघि बढिरहेका छन्।

‘बुवाले नै आयुुर्वेदिक मञ्जन बनाउन सिकाउनु भयो’

२०२२ सालमा पाँचथरको हिलिहाङ गाउँपालिकामा जन्मेका बीपी तिम्सिना ५ वर्षको हुँदा ४ दिनको पैदल यात्राबाट इलाम बसाइँ सरेको अझै सम्झिन्छन्। हाल उनी काठमाडौँमा बस्दै आए पनि जन्मथलोको प्रसङ्ग उठ्दा तिम्सिना भावुक बन्छन्। आफ्नो बालापना, साथीसंगी, वनजङ्गल, भीरपखराकाबारेमा उनी खररर्र बोल्न थाल्छन्। उनका बन्धुवान्धव र दाइभाइहरू अहिले पनि त्यही छन्, उनी पनि समय मिलाएर जडीबुटीको खोजीमा त्यता पुग्छन्।

पाँचथरको हिलिहाङबारे तिम्सिनालाई धेरै याद नभए पनि बसाइँ सरिआएको इलामको सम्झना भने ताजै छन्। उनका बुवा नाम चलेका बैद्य थिए। उनी दैनिक रूपमा हरेक प्रकारका बिरामीको उपचार गरिरहन्थे। बुवाले उपचार गरिरहँदा बी.पी. छेउमै बसेर हेरिरहन्थे।

बी.पी.का बुवा कृष्ण भनिरहन्थे, ‘ए बिजुली, यो ले त, त्यो ले त।’ त्यति मात्रै हैन, यस्ता रोगका लागि यो जडीबुटी, यी रोगका लागि त्यो जडीबुटी अथवा यस्तो प्रकारको रोगको उपचारमा यी जडीबुटी प्रयोग गर्नुपर्छ भनेर सम्झाउँथे र बुझाउँथे पनि। त्यही क्रममा उनले पनि जडीबुटीबारे अलिअलि भेउ पाउन थालिसकेका थिए।

ती दिन सम्झिँदै बी.पी. भन्छन्, ‘बुवालाई काममा सघाउँदा सघाउँदै आयुर्वेदिक मञ्जन बनाउन जानिसकेको थिएँ।’ उनी त्यतिबेला जनता माविमा पढ्थे। स्कुलको मासिक शुल्क तिर्नका लागि उनले आयुर्वेदिक दन्त मञ्जन बनाएर बेच्न थाले। त्यतिबेला त्यहाँ जान्नेबुझ्नेले उनले बनाएको मञ्जन राम्रै मन पराए। उनले बनाएको मञ्जनको पहिलो ग्राहक बने, उनकै विद्यालयका गुरुहरु। गुरुबाट शुरु भएको मञ्जनको व्यापार बिस्तारै गाउँभरि फैलँदै गएको उनी बताउँछन्।

तिम्सिना विद्यालय पढ्दाको रोचक किस्सा सुनाउँछन्। उनले गुरुलाई ‘मञ्जन नदिए गुरुले उनलाई फेल गराइदिन्छु’ भन्थे। मञ्जन दियो भने फेल भए पनि पास गराइदिन्थे। उनी आफू पढाइमा त्यति राम्रो नभएको स्मरण गर्दै भन्छन्, ‘अब त मैले पनि गुरुहरुलाई पास गराईदिने भएमात्रै मञ्जन दिन्छु भन्न थालेँ। कक्षा ६ सम्म त्यही प्रक्रिया चल्यो। कक्षा ७ मा जिल्लास्तरीय परीक्षा हुन्थ्यो। त्यस परीक्षामा त गुरु र मञ्जन दुवैले काम गरेन। उनी फेल भए।

बी.पी. कक्षा ७ को जिल्लास्तरीय परीक्षामा गणित र विज्ञानमा फेल भए, तर विचाराधीनमा उनलाई पास गराइयो। यसरी पास हुने उनी एक्ला विद्यार्थी थिए। गाउँमा पास भएकाहरूका लागि नारा जुलुस गर्दै खुसियाली मनाइयो।

उनी त्यो दुखद क्षण सम्झँदै भन्छन्, ‘र्‍यालीमा सबै खुसी थिए। तर, मलाई दुई विषय लाग्यो भनेर र्‍यालीमा सहभागीमध्ये सबैभन्दा दुःखी मेरो बुवा हुनुभएको मैले महसुस गरेँ। र्‍यालीभरि मेरो बुवाको शिर निहुरिएको निहुर्यै भयो। अनि मलाई पनि साह्रै नराम्रो लाग्यो। त्यसपछि बुवालाई खुसी बनाउनका लागि पनि राम्रोसँग पढ्नैपर्छ भन्ने सोचमा पुगेँ।’

साथीको सङ्गतका कारण पनि त्यहाँ उनको पढाइ राम्रो हुन सकेको थिएन। त्यसपछि कक्षा ८ मा पढ्नका लागि सरस्वती मावि झापा, दमक पुगेका तिम्सिनाले एसएलसी मोरङको मनोहर जनता माविबाट पास गरे। पढाइ पनि राम्रो हुँदै गयो।

बुवाबाट प्रभावित भई जडीबुटीबाट मञ्जन बनाउन थालिसकेका तिम्सिनाको त्यस क्षेत्रमा रुचि थिएन। त्यही कारण त उनले बुवाबाट अन्य कुरा सिक्न चाहेनन् र सिकेनन् पनि। अनि उनी उच्च शिक्षा अध्ययनमा केन्द्रित भए।

आई.एस्सी. मोरङको महेन्द्र क्याम्पस तथा बी.एस्सी. महेन्द्र क्याम्पस सप्तरीबाट पूरा गरेका तिम्सिना आफ्नो विद्यार्थी जीवन यात्रीकोजस्तो भएको बताउँछन्। पाँथथरमा जन्मिएर इलामबाट अध्ययन थालेका तिम्सिनाले झापा, मोरङ हुँदै भारतसम्म अध्ययन गरेका छन् र अझै पनि पढाइलाई निरन्तरता दिँदै आएका छन्। अहिले उनी भारतमा आयुर्वेद विषयमै बीएएमएस अध्ययन गर्दैछन्।

‘न समाजसेवा गर्न पाएँ, न त पढाउन नै’

निम्नवर्गीय परिवारमा जन्मेका उनलाई सधैँ पैसाको अभाव भइरह्यो। उनले त्यही अभाव पूरा गर्न बी.एस्सी. पढ्दापढ्दै शिक्षक बनी पढाउनुपर्ने बाध्यता भयो। जसकारण उनी पढाउनका लागि ताप्लेजुङ पुगे। उनी त्यहाँ पढाउन त थाले तर त्यहाँ पढाउने वातावरण बनेन।

बी.पी.लाई विद्यालय र विद्यार्थीले रुचाए पनि आफ्नै नातेदारले भने रुचाएनन्। राजनीतिक गन्धको आरोप लगाउँदै उनलाई विद्यालयमा पढाउनै दिइएन। उनको प्रगति देखेर आफन्त नै बैरी भएको बताउँदै उनी भन्छन्, ‘सानिमा लगायतका आफन्तले नै मलाई राजनीतिक पावर लगाएर शिक्षक भएको आरोप लगाउँदै शिक्षकबाट हटाउन कम्युनिष्टको बिल्ला भिराए, पुलिसबाट पक्राउ गर्नसम्म लगाए।’

तिम्सिना न कुनै राजनीतिक पार्टीका कार्यकर्ता थिए न त कुनै राजनीतिक दलको पावरका कारण शिक्षक बनेका थिए। तर, उनलाई न कसैले बुझे न त कसैले उनका कुरा सुने। एक जना प्रहरी उनकै साथी रहेछन् सँगै पढेका, उनैले गर्दा प्रहरी चौकीमा थुनिएर बस्नु भने परेन।

जागिर छाड्नु परेर निराश बनेका तिम्सिना आफूलाई थप उत्साहित बनाउँदै सामाजिक सेवा गर्ने मनस्थितिमा पुगे। त्यसका लागि उनी बाटोघाटो र पुलपुलेसा मर्मत गर्न र गराउन थाले, अन्य केही सहयोगीहरुलाई साथमा लिएर। त्यहाँ पनि उनलाई काम गर्न दिइएन। अहिले सामाजिक काम गरेर पछि चुनावमा उठेर हामीलाई हराउँछ कि भनेर त्यहाँका पञ्च नेताले समेत काम गर्न दिएनन्।

अनि आयुर्वेदिक जडीबुटी खोज र उपचारमा

बी.एस्सी. पढ्दै गर्दा विराटनगरमा तिम्सिना एक्कासि बिरामी भए। उनले अस्पतालमा धेरै उपचार गराए, त्यसले केही काम नै गरेन। उनी झन्झन् बिरामी हुन थाले। अस्पतालमा उपचार गराउँदा गराउँदा दिक्क भएका तिम्सिनाले घरमा बुवालाई खबर गरे।

बुवाले रोग र लक्षणबारे सोधिखोजी गरे। त्यसपछि उनले आफ्नी पत्नी धनमायालाई औषधि दिएर विराटनगर पठाएदिए। त्यतिबेला सिकिस्त बिरामी भएको सम्झँदै उनी भन्छन्, ‘अस्पतालको औषधिले अलिकति पनि सन्चो भएको थिएन। बुवाले पठाएको औषधि खाएको केही दिनमै पूरै सञ्चो भयो। त्यो दिनदेखि मलाई आयुर्वेदिक उपचार पद्धतिमा विश्वास लाग्न थाल्यो। र मैले पनि आयुर्वेदकै अनुसन्धान र उपचारमा लाग्छु भन्ने सोच बनाएँ।’

१४ वर्ष राउटेजस्तै जङ्गल र पहाडमा

अनेकौँ समस्याले गर्दा असफल हुँदै गएका तिम्सिनाको जीवनले अब नयाँ मोड लिएको थियो। बुवाले गर्दै आएको आयुर्वेदिकसम्बन्धी काम नगर्ने सोच बनाई विज्ञान पढ्न थालेका उनी अन्य सबै काम छोडेर पूर्वदेखि पश्चिमसम्मका वनजङ्गलमा जडिबुटी खोज्दै हिँडे।

परम्परागत उपचार पद्धतिलाई विश्वास नगरेर विज्ञानमा विश्वास गरी विज्ञानबाटै आई.एस्सी. र बी.एस्सी.सम्म गरेका तिम्सिना अन्ततः फेरि परम्परागत उपचार पद्धति आयुर्वेदको दुनियाँमा फर्किए। उनी भन्छन्, ‘सबैतिरबाट वाक्कदिक्क भएर १४ वर्ष राउटेको जस्तै जङ्गलमा जडीबुटीको खोजी गर्दै जीवन बिताएँ। गाउँ बस्न र मानिसहरू भेट्न मन पर्दैनथ्यो। पूर्वदेखि पश्चिमसम्मका एक–एक जङ्गल घुमेको छु। र, आफैँ आयुर्वेदको स्वाध्ययनमा लागेँ।’

१४ वर्षको अवधिमा आयुर्वेद र जडीबुटीसम्बन्धी थुप्रै ज्ञान हासिल गर्न सफल भएका उनले सोही क्रममा नेपालमा औषधियुक्त ५ हजार किसिमका जडीबुटी रहेको पत्ता लगाए। तिनै जडीबुटीको प्रयोगबाट अहिले तिम्सिना मानवका असाध्य रोगहरुको समेत उपचार गरिरहेका छन्। काठमाडौँको सिनामङ्गलमा पाथीभरा आयुर्वेदिक अस्पताल खोलर झण्डै आठ लाख बिरामीको उपचार गरिसकेको उनी बताउँछन्।

डाक्टरसमेत आयुर्वेदिक उपचार गराउन आउँछन्

१४ वर्ष जङ्गलमा बिताएको अवधि तिम्सिनाका लागि निकै फलदायी भयो। उनी ती दिन सम्झँदै भन्छन्, ‘ती १४ वर्षले नै मलाई केही गर्नसक्ने बनायो र केही गर्ने आँट दिलायो। अहिले त्यसैको फल लिने र बाँड्ने गरिरहेको छु।’

१४ वर्षको परिश्रमले तिम्सिनामा आयुर्वेदमा केही गर्नैपर्छ भन्ने साहस आइसकेको थियो। अनि उनले आजभन्दा १० वर्षअगाडि शुरू गरे, पाथिभरा आयुर्वेदिक हस्पिटल प्रा.लि.। जुन काठमाडौँको सिनामंगलमा रहेको छ। त्यहाँ सामान्य नेपाली मात्रै हैन, एलोपेथिक डाक्टर र विदेशीहरु पनि उपचारका लागि आउने गरेको उनले बताए।

पाथिभरा आयुर्वेदिक हस्पिटल प्रा.लि.मा नेपालका एलोपेथिक डाक्टरहरूले आफ्ना परिवार र सन्तानको समेत उपचार गराउने गरेको तिम्सिना बताउँछन्। उनी भन्छन्, ‘कतिपय मेडिकल डाक्टरले बिरामीलाई समेत रेफर गर्ने गर्छन्।’ दैनिक ५० जनाभन्दा बढी नियमित उपचारका लागि उनको आयुर्वेदिक हस्पिटलमा पुग्ने गरेका छन्। हालसम्म २७ देशका मानिसले उनको आयुर्वेदिक अस्पतालमा उपचार गराइसकेको र उपचार गर्न आउने उनले बताए।

बिरामीको नाडी छामेरै बैद्य तिम्सिना धेरै रोगको पहिचान गर्छन्। पाथिभरा आयुर्वेदिक हस्पिटलमा उनी लगायतको टोलीले पूरापूर भाँचिएको हड्डी, किड्नीको पत्थरी, जन्डिस, टाइफाइड, छारेरोग, टाउको दुख्ने, अल्सर लगायतका रोगको उपचार गर्छन्। विशेष गरेर महिलाको आन्तरिक रोगका उपचारमा तिम्सिनाले निकै नै सफलता प्राप्त गर्दै आएका छन्।

पाथिभरा आयुर्वेदिकमा पाँच जना आयुर्वेदिक डाक्टरको टोली छ। उक्त टोलीले ८० प्रकारका रोगको उपचार गर्दै आएको छ। यसका शाखा १४ जिल्लामा विस्तार गरिएको छ। उनी भन्छन्, ‘हामी आवश्यकता र उपयोगिताका आधारमा उपचार गर्छौं। गरिब र असहायको निःशुल्क उपचार गरिदिन्छौँ।’ पाथिभरा आयुर्वेदिक हस्पिटल प्रा.लि. सञ्चालन गर्नुअघि तिम्सिनाले २०५० सालमा अनामनगर, २०५९ मा महाबाैद्धमा क्लिनिक खोलेर उपचार शुरू गरेका थिए।

यस अस्पतालमा प्रयोग गरिने आयुर्वेदिक औषधिको प्रशोधन केन्द्र झापामा छ। आफूलाई चाहिने औषधिसमेत आफैँ उत्पादन गर्दै आएको छ, यस आयुर्वेदिक हस्पिटलले। झापामा स्थापित वंशलोचन हर्वल प्रा.लि.ले ४९ प्रकारका आयुर्वेदिक औषधिको प्रशोधन गर्दै आएको छ र त्यहाँबाट उत्पादित औषधि पाथिभरा आयुर्वेदिक हस्पिटल प्रा.लि.मा खपत हुँदै आएको छ। ताप्लेजुङमा ५ हजार र मोरङमा २ हजार ८ सय रोपनी जमिनमा जडीबुटीखेती गर्दै आएका तिम्सिनाले मुलुकका विभिन्न स्थानमा ३ सयभन्दा बढी संकलन केन्द्र सञ्चालन गरिरहेका छन्। यसबाट सयौँ व्यक्तिहरुले रोजगारीसमेत पाएका छन्।

नेपाललाई आयुर्वेदिक हब बनाउने चाहाना

नेपालका विभिन्न जङ्गल पुगेर जडीबुटीबारे अध्ययन–अनुसन्धान गरेका तिम्सिना नेपालमा ७ हजारभन्दा बढी प्रकारका जडीबुटी रहेको दाबी गर्छन्। उनले आफैँले ५ हजार प्रकारका जडीबुटी पत्ता लगाइसकेका छन् भने अहिले झण्डै ३ हजार किसिमका जडीबुटीको प्रयोग गरिरहेका छन्। नेपालका आयुर्वेदिक क्यान्सर अस्पताल खोल्ने उनको इच्छा छ।

विश्वबाटै लोप हुने अवस्थामा पुगेका १ सय ३० प्रकारका जडीबुटी नेपालमा मात्रै रहेको बताउँदै तिम्सिनाले भने, ‘सरकारले चाहेमा नेपालले जडीबुटीको माध्यमबाट विश्वलाई नै नेतृत्व गर्न सक्छ, नेपाललाई आयुर्वेदिक औषधिको हब बनाउन सकिन्छ।’ त्यसका प्रशस्त आधार छन् तर सरकारले उचित नीति, नियम र कानून बनाउनु पर्ने उनको भनाइ छ।

उनी थप्छन्, ‘विश्व बजारमा नेपाली जडीबुटीको माग अत्यधिक छ। नेपालमा भर्जिन जङ्गल र जडीबुटी छन्। हामी तिनै आयुर्वेदिक जडीबुटी विश्वसामु लिएर जान सक्छौँ। यसका लागि राजनीतिक र सरकारको नेतृत्वमा रहेकाहरूले इच्छाशक्ति देखाउनु जरुरी छ।’

राजनीतिक शक्तिकेन्द्रमा रहेकाहरूले परम्परागत चिकित्सा पद्धति (आयुर्वेद)लाई बेवास्ता गरेको आरोप लगाउँदै उनले भने, ‘यसबारेमा नेतृत्व तहमा रहेकाहरूमा ज्ञानको कमी छ। त्यसैले उनीहरूले परम्परागत चिकित्सा पद्धतिलाई हेपेर सही र समयसापेक्ष नीति, नियम र निर्देशिका बनाएका छैनन्।’

सरकारले जडीबुटीको चोरीनिकासी नियन्त्रणका लागि पहल नगरेको उनको आरोप छ। उनी भन्छन्, ‘नेपालबाट झन्डै पाँच सय प्रकारका महत्वपूर्ण हिमाली जडीबुटी चोरीनिकासी भइरहेको छ तर सरकारले यसतर्फ कुनै चासो देखाएको छैन। अव्यवस्थित रूपमा तस्करीका निम्ति चोरीछिपी जडीबुटी संकलन गरिँदा जडीबुटीका स्रोत नै नष्ट भइरहेका छन्।’

नेपालमा अहिले आयुर्वेदसम्बन्धी गतिलो शिक्षा दिइँदैन। स्वाध्ययन र भारत तथा नेपालका विभिन्न भागमा पुगेर आयुर्वेदसम्बन्धी शिक्षा लिएका तिम्सिना नेपालमा त्यस्तो शिक्षा विद्यालय तहबाटै शुरु गर्नुपर्ने बताउँछन्। उनी त्यस्तो शिक्षाको शुरुआत भएमा सामान्य पढलेख गरेको जोकोही पनि बेरोजगार बस्नु नपर्ने बताउँछन्। उनी भन्छन्, ‘सरकारले आयुर्वेदको क्षेत्रमा लागेका र बेरोजगार युवालाई आयुर्वेदबारे ज्ञान दिनुपर्छ। हामी आफैँले पनि आफ्ना छोराछोरीलाई आयुर्वेदिकसम्बन्धी शिक्षा दिनुपर्छ।’

अनि राजनीतिक पार्टी खोलेँ

सरकारले परम्परागत चिकित्सा पद्धति (आयुर्वेद)लाई बेवास्ता गर्दै अन्ततः बन्द नै गराउने नीति लिएको तिम्सिनाको ठम्याइ छ। त्यसैले परम्परागत चिकित्सा पद्धतिलाई बचाउन र यसलाई विश्वव्यापी गर्ने उद्देश्यका साथ उनले २०६९ सालमा ‘ग्रिन पार्टी नेपाल’ स्थापना गरे। पार्टी स्थापनाबारे उनले स्पष्ट पार्दै भने, ‘मुलुकका राजनीतिक पार्टी र सत्तासीनहरुले आयुर्वेदप्रति पटक्कै ध्यान दिएनन्। देशमा उपलब्ध जडीबुटीको संरक्षण, सम्वर्द्धन र उत्पादनमा पनि यिनीहरुको ध्यान पुगेन। परम्परागत उपचार पद्धतिलाई विकसित बनाउँदै आयुर्वेदप्रति विश्वकै ध्यान आकर्षित गर्नसक्ने नेपालको क्षमता र साधन हुँदाहुँदै सत्तासीनहरुको नाकारापनका कारण कहिल्यै पनि यो सम्भव हुने नदेखेर हामी आफैँले राजनीतिक पार्टी खोलेर जनसमक्ष जान चाहेका हौँ। सत्तासीनहरुले अङ्ग्रेजी औषधि (एलोपेथिक) आयात गर्ने र बिरामीलाई झन् बिरामी पारी विदेशमा उपचार गर्न पठाउने एकसुत्रीय कार्यक्रमका विरुद्धमा हाम्रो ग्रिन पार्टीको अभियान हो। विदेशीहरू बाहिर देशमा डाक्टर पठाउँछन्, लाखौँ रुपैयाँ कमाउँछन्। हामी कामदार पठाउछौँ, न्यून ज्यालामा काम गर्नुपर्ने बाध्यता छ। त्यसैले हाम्रो पार्टीले युवालाई प्राविधिक ज्ञान दिएर आत्मनिर्भर बनाउने उद्देश्यका साथ गाउँगाउँमा जडीबुटी उत्पादन, औषधि निर्माण र उपचारका विधिका बारेमा तालिम दिइरहेको छ।

ग्रिन पार्टीले हालसम्म ५७ जिल्लामा जिल्ला कमिटी गठन गरिसकेको छ भने ११ हजारले सदस्यता लिइसकेका छन्। ‘पार्टी विस्तारको काम भइरहेको छ,’ उनले भने, ‘पार्टीले अहिले पनि ७ जिल्लामा तालिम सञ्चालन गरिरहेको छ। जनताले हाम्रो कामको स्वागत गरिरहेका छन् भने अन्य राजनीतिक दलले विरोध गरिरहेका छन्।’ तै पनि उनले कार्यकर्तालाई भन्ने गरेका छन्, ‘तपाईंहरू सीप सिक्नूस्, अनि जडीबुटी खेती गर्नुस्, आत्मनिर्भर बन्नूस्।’

पार्टी विस्तारसँगै विभिन्न विभाग बनाएर तालिम सञ्चालन गर्ने योजना रहेको तिम्सिनाले सुनाए। उनी भन्छन्, ‘प्रकृतिको माया गर्नुपर्छ। त्यसले नेपाललाई समृद्ध बनाउँछ र नेपाल र नेपालीको सपना साकार पार्न मद्दतसमेत पुर्‍याउँछ।’ कविराज तिम्सिना स्वास्थ्य उपचारमा खर्च गर्नुभन्दा पनि रोग नै लाग्न नदिनु महत्वपूर्ण रहेको बताउँछन्। ‘स्वास्थ्य रहनका लागि आहारविहार सबैभन्दा महत्वपुर्ण हो,’ उनी भन्छन्, ‘बिहान आफ्नो लागि खानु, दिउँसो मित्रका लागि खुवाउनु र राति शत्रुलाई खुवाउनु।’ आहारविहार र भान्साका सम्बन्धमा पाथिभरा आयुर्वेदिक अस्पतालमा उपचारका लागि आउने बिरामीहरुका निम्ति हरेक महिना बिशेष तालिमको व्यवस्था पनि गरिएको छ। यसबाट औषधिलाई भन्दा खानपानमा बिशेष ध्यान दिनुपर्ने र यसबाट रोग पनि नलाग्ने, उपचार खर्च पनि नलाग्ने विधि तिम्सिनाले सबैलाई सिकाउँछन्।

लोकप्रिय

पक्राउ परे गुण्डा साजन गुरुङ

पक्राउ परे गुण्डा साजन गुरुङ

२०७६, २७ भाद्र शुक्रबार १८:००

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

२०७६, २८ भाद्र शनिबार १६:५४

मेस्सी टिममा फर्कनेमा अझै शंका

मेस्सी टिममा फर्कनेमा अझै शंका

२०७६, २७ भाद्र शुक्रबार ११:१४

राष्ट्र बनाउन युवाहरु जुर्मुराउनु पर्छ

राष्ट्र बनाउन युवाहरु जुर्मुराउनु पर्छ

२०७६, २७ भाद्र शुक्रबार १५:२९

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

२०७६, २८ भाद्र शनिबार १२:४९

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

२०७६, २८ भाद्र शनिबार १७:१४

पहिरोको कारण एकको मृत्यु, चार घाईते

पहिरोको कारण एकको मृत्यु, चार घाईते

२०७६, २७ भाद्र शुक्रबार १२:१७

प्रेममाथी एक गजल

प्रेममाथी एक गजल

२०७६, २७ भाद्र शुक्रबार १३:३९

नागरिक समाजका नाममा राजनीति नगर्न शिक्षामन्त्रीकाे आग्रह

नागरिक समाजका नाममा राजनीति नगर्न शिक्षामन्त्रीकाे आग्रह

२०७६, २७ भाद्र शुक्रबार १८:१९

महिनावारीसम्बन्धि केहि तथ्यहरू

महिनावारीसम्बन्धि केहि तथ्यहरू

२०७६, २८ भाद्र शनिबार १६:१७

स्वास्थका लागि ३० दिन उठबस

स्वास्थका लागि ३० दिन उठबस

२०७६, २७ भाद्र शुक्रबार १८:३०

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

यि सामानहरुले बिगार्न सक्छ तपाईको निन्द्रा

यि सामानहरुले बिगार्न सक्छ तपाईको निन्द्रा

२०७६, २७ भाद्र शुक्रबार १६:५९

अब आलुको बोक्रा फ्याँक्न बन्द गर्नुहोस्

अब आलुको बोक्रा फ्याँक्न बन्द गर्नुहोस्

२०७६, २७ भाद्र शुक्रबार १०:५४