विराटनगर। अज्ञात समूहले झापाको बिर्तामोड नगरपालिकाअन्तर्गत रहेका तीनवटा संयुक्त वडा कार्यालयमा प्रेसर कुकर बम विस्फोट गराएको छ। बिर्तामोड– ९ स्थित ७, ८ र ९ नम्बर वडाको कार्यालय भवनबाहिर सोमबार बिहान साढे ४ बजे प्रेसर कुकर बम विस्फोट भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार बम विस्फोटबाट वडा कार्यालयमा सामान्य क्षति पुगेको छ। कार्यालय भवनको भित्ता, छवटा सिसाका झ्याल, कोठाभित्र रहेका फर्निचरका सामानमा क्षति पुगेको प्रहरीले जनाएको छ।

बिर्तामोड–भद्रपुर सडक खण्डसँगै जोडिएको संयुक्त वडा कार्यालयको भवन अस्थायी प्रहरी चौकी गरामनीबाट ५ सय मिटर उत्तरमा पर्छ। अहिलेसम्म घटनाका बारेमा कसैले पनि जिम्मा लिएकोछैन।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनाली, प्रहरी नायव उपरीक्षक श्रेष्ठ, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक सुनिलकुमार श्रेष्ठ घटनास्थल पुगेर अनुसन्धान शुरू गरेका छन्। प्रहरीले नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताहरूले उक्त बम विस्फोट गराएको हुन सक्ने आशंका गरेको छ।

लोकप्रिय