विराटनगर – उदयपुरको वेलकामा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ। उदयपुरको बेलका नगरपालिका–१ आम्बासीका ६६ वर्षीय राजकुमार तामाङको स्थानीय कालीखोलाले बगाएर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

त्यसैगरी, प्रदेश १ कै खोटाङ जिल्लामा लडेर एक महिलाको मृत्यु भएको छ। खोटाङको बराहपोखरी गाउँपालिका–५ सोह्रखानीकी ५० वर्षीया बाटुली माया सार्कीको सोमबार दिउँसो लडेर मृत्यु भएको हो। घरनजिकै बारीमा लडेर मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

प्रदेश १ कै मोरङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मोरङको ग्रामथान गाउँपालिका–७ नेताचोकका ३५ वर्षीय उमालाल पाँचकोटीको करेन्ट लागेर मृत्यु भएको हो। आफ्नै घरमा विद्युतीय तार जोड्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

लोकप्रिय