काठमाडाैं - डा अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट कोरोना महामारीका कारण परेको प्रभाव न्यूनीकरणमा आधारित हुने बताएका छन्। प्रतिनिधि सभाको आज (आइतबार)को बैठकमा आगामी वर्षको बजेट तथा कार्यक्रमका सिद्धान्त तथा प्राथमिकता संसदमा प्रस्तुत गर्दै डा खतिवडाले यस्ताे बताएका हुन्।
कोरोना भाइरसले विश्वभर ठूलो मानविय आर्थिक क्षेतीसँगै मनोवैज्ञानिक त्रास बढेको उनले बताए। नेपालमा सरकारले गरेको लकडाउन, हवाई उडानमा रोक र सिमानामा कडाईका कारण मानविय क्षती हुन नपाएको उनकाे भनाइ थियाे। उनले भने,‘यो मानव जीवनमाथिको विश्व्यापी संकटले विकासका सिद्धान्त, सामान्यता र प्राथमिकताहरु परिभाषित हुन थालेका छन्।’ स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको उनले बताए।
‘बाह्य क्षेत्रसँगको श्रम, पर्यटन, व्यापार तथा लगानीका क्षेत्रमा कायम अन्तरआवद्धताका कारण श्रम बजार, निर्माण, उत्पादन, पर्यटन तथा आपूर्तिको श्रृङ्खलामा गम्भीर असर परेको छ’ उनले भने, कोभिड १९ को प्रभावलाई न्यूनीकरण गर्दै अर्थतन्त्रलाई गतिशीलता तुल्याउनुपर्नेछ।’ कोभिड–१९ का कारण निजी क्षेत्रको व्यवसायमा परेको असरलाई कर सहुलियत प्रदान गर्नेगरी मौद्रिक नीतिमार्फत सम्वोधन गर्ने उनले प्रतिबद्धता जनाए।
‘कोरोनाका कारण गुमेको रोजगारीलाई पुर्नस्थापना गर्न, वैदेशिक रोजगारीबाट फर्कनेलाई रोजगारी उपलव्ध गराउन र स्वरोजगारी बढाउन कृषि तथा साना घरेलु तथा मझौला उद्योगमा संलग्नता बढाउनेगरी कार्यक्रमहरु तर्जुमा गरिनेछ’ उनले भने।