Mobile Ads After Nav

ओखलढुंगामा पानीको हाहाकार

ओखलढुंगामा पानीको हाहाकार

वैशाख ६, ओखलढुंगा – ओखलढुंगाको सुनकोशी गाउँपालिका १ बलखुकी देवीमाया मगर बेलुकीको खाना खाएपछि गाग्री बोकेर घरबाट निस्किन्छिन्। राती करिब ९ बजे पानी थाप्न पधेँरामा पुगेकी देवीमाया भोलिपल्ट बिहान मात्रै घर फर्किन्छिन्। यो खबर आजको नयाँ पत्रिका दैनिकमा ओखलढुंगाबाट पूर्णप्रसाद न्यौपानेले लेखेका छन्।

‘धेरै भो घरमा बास बस्न नपाएको, एक गाग्री पानीका लागि पधेँरामै रात बिताउनुपर्छ’ गहभरि आँसुपार्दै देवीमायाले भनिन् ‘पानी भर्दै गफ गर्दै रात बित्छ, ओड्ने लगेर त्यहीँ गाग्री बोक्ने डोकोमा पसेर पनि सुत्छौं, पानी भर्ने पालो नआउन्जेल।’ स्थानीयका अनुसार बेलुका ८ बजे पँधेरामा पुग्नेको पालो बल्ल बिहान ४ बजे आउँछ। देवीमाया जस्त ५५ घर स्थानीयले खानेपानीको चरम अभाव झेलिरहेका छन्। साँझ बिहान २४ सै घण्टा भिरगाउँ नजिकै रहेको कुवा र त्यहाँको सानो धारामा पानी भर्ने भीड लाग्ने गरेको छ।

पानी अभावले सरसफाई समेत गर्न नसकेको स्थानीय भक्तमाया मगर बताउँछिन्। ‘यहाँ खानकै लागि पानी छैन, नुहाउन र लुगा धुन त परकै कुरा भो।’ उनी भन्छिन्– ‘ढुंगा, माटो, बालुवा, सिमेन्टको काम गर्नुपर्छ राती पानी थाप्न पधेँरोमा’ । भिरगाउँकी ७० वर्षीया नरिमाया मगरको पनि दैनिकी यस्तै छ । पानी थाप्न उनी आफैँ मुहानमा जान्छिन् । उनले भनिन्– ‘लौरो टेकेर म आफँै पानी लिन जान्छु, घरमा कोही छैनन् आफैँ नगई हुँदैन, साह्रै दुःख पाईयो।’

सुनकोशीको बलखुमा मात्रै होईन ओखलढुंगा जिल्लाभर नै खानेपानीको अभाव बढेको छ।

जिल्लाका सबैजसो नगर तथा गाउँपालिकामा खानेपानीको समस्या बढ्दै गएको हो । २०७२ को भूकम्पपछि पानीको मुहान सुकेको र भएका मुहानहरु पनि यसवर्ष लामो समयको खडेरीले सुकेसँगै धारामा पानी आउन छाडेको रामपुरका स्थानीय भिष्मराज दाहालले बताए।

‘खानेपानीको साह्रै समस्या भयो’ पानी थाप्न लाईन गाग्री बोकेर बसेकाहरुलाई देखाउँदै दाहालले ठट्यौली गर्दै भने ‘जलस्रोतमा धनी हो कि हाम्रो देश गाग्रीमा धनी हो ?’ उनका अनुसार १ गाग्री पानी भर्न घण्टौं लाईनमा बस्नुपर्ने मोलुङ गाउँपालिका २ रामपुरका स्थानीयको बाध्यता छ।

जिल्लाको चम्पादेवी गाउँपालिकामा पर्ने साविकको पलापु गाविसमा पनि पानीको चरम अभाव छ । ‘घरमा एक जनाको काम नै पानी थाप्ने हो हाम्रो त’ स्थानीय सुन्तलीमाया भन्छिन् ‘बिहान जुरुक्क उठेर पँधेरामा गयो फर्किँदा भात खाने बेलाहुन्छ, फेरि बेलुकालाई पानीको जोहो गर्न लाग्नुपर्छ ।’ सुन्तलीमाया जस्तै स्थानीय दर्जनौं घरपरिवारको समस्या उस्तै छ।